काठमाडौं, २९ चैत/रासस
वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि पालिकाहरूसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुआत गरेको छ ।
वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि पालिकास्तरमैं उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुआत गरेको बोर्डले जनाएको छ । सातै प्रदेशका विभिन्न ८१ पालिकासँग कार्यक्रम सञ्चालनका लागि बोर्डले सम्झौता गरिसकेको बोर्डका निर्देशक रामा भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि वाग्मती प्रदेशका २१ पालिकाले बोर्डसँग सम्झौता गरिसकेका छन् भने मधेस प्रदेशका १६ पालिकाले यो कार्यक्रम गर्न बोर्डसँग सम्झौता गरेका छन् । यसैगरी, कोशी प्रदेशका १३, गण्डकी प्रदेशका १४, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी १८ पालिकाले वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दैछन् ।
उक्त कार्यक्रमबाट वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवा लाभान्वित हुने बोर्डले जनाएको छ । पुनः एकीकरण कार्यक्रमका लागि वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षमा रु १५ करोड २५ लाख छुट्याएको जनाइएको छ । यही बजेट अनुसार कार्यक्रम गर्न बोर्डले सुरक्षित आप्रवासन सामी कार्यक्रम लागू भएका देशका ३९ जिल्लाका पालिकालाई प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।
त्यसमध्ये पालिकाहरूले २४ हजार जनालाई यो कार्यक्रममा सहभागी गराउने गरी रु ४३ करोड माग गरेका थिए । बोर्डले यो कार्यक्रम सञ्चालनका लागि छुट्याएको रकम अनुसार पहिलो चरणमा निश्चित पालिकामार्फत थोरै सङ्ख्यामा यो कार्यक्रम लागू गरिएको बोर्डको भनाइ छ । बोर्ड र पालिकासँग भएको सम्झौता अनुसार पालिकाले यस आवमा कतिजनालाई पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने हो, त्यसबमोजिम बोर्डमार्फत रकम पाउनेछन् ।
पालिकाहरूले आफ्नो पालिकास्तरको आवश्यकता र चाहना अनुसार आफूले गर्ने कार्यक्रमसहित बोर्डमा प्रस्ताव पेश गरेका छन् । बोर्डबाट विनियोजन भएको रकममा धेरैजसो पालिकाले ५० प्रतिशत रकम थप गरेर कार्यक्रम सञ्चालन गर्ने सहमति भएको पनि बोर्डले जनाएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्किएकाका लागि पहिलोपटक पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम सञ्चालनका लागि बोर्डले छुट्टै निर्देशिका नै ल्याएको छ ।