• अनन्तकुमार लाल दास

सानो बच्चालाई कुनै कुरासँग डर हुँदैन । जब बच्चाको उमेर बढ्दै जान्छ, उसले आमाबुबाले भनेका कुरा मान्न छाड्छ । उसको अभिभावकले उसलाई आफ्नो आज्ञाकारी बनाइराख्न विभिन्न खाले हाउगुजीको प्रयोग गर्छन् । जुन कुरासँग ऊ धेरै डराउने हुन्छ, अनि त्यसको सहारा लिइन्छ । उसले खान नमानेमा खाना खुवाउन, नुहाउन नमाने नुहाउन वा अन्य कुनै उट्पट्याङ गरे, त्यसबाट रोक्न ।

मनोविज्ञहरूका अनुसार यस्तो हाउगुजी देखाएर बच्चाबच्चीलाई तह लगाउनु नराम्रो बानी हो र यसले बालबालिकाको मनोविज्ञानमा नराम्रो असर गर्दछ । तर पनि अधिकांश अभिभावक यस्तो हाउगुजीको प्रयोग कुनै न कुनै रूपमा गर्छन् । यसको असरका बारेमा थाहा नभएर यसो गर्नु त अज्ञानतावश हुन गएको भूल होला तर शिक्षित भनिएका परिवारमा नै हुने यस्तो कुरालाई के भन्ने ? अब प्रसङ्ग माध्यमिक शिक्षा परीक्षाको । यो परीक्षा विद्यार्थी जीवनको एउटा नियमित परीक्षा हो । विद्यार्थी जीवनमा यस्ता कैंयन परीक्षाहरूको सामना गर्नुपर्दछ । हामीले त्यही एउटा नियमित परीक्षालाई हाउगुजी बनाइदिएका छौं । यस प्रकारको हाउगुजी बनाउनेमा विद्यार्थी स्वयम्, तिनका अभिभावक, शिक्षक र सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण छ ।

माध्यमिक शिक्षा परीक्षालाई छोडेर कक्षा १ वा नर्सरीदेखिकै कुरा गर्ने हो भने स्नातकोत्तरसम्मको अध्ययन सक्दा विद्यार्थीले करीब २६ वा सोभन्दा बढी परीक्षामा सामेल हुनुपर्दछ । तर सबै परीक्षाका जम्मै समाचारलाई जोड्दा जति सङ्ख्या हुन्छ, त्यसको पचास गुणा बढी माध्यमिक शिक्षा परीक्षाको मात्र समाचार सञ्चारमाध्यमहरूमा आउने गर्छन् । माध्यमिक शिक्षा परीक्षा प्रारम्भ हुनुपूर्व र नतीजा प्रकाशन भइसकेपछिको एक महीनासम्म कुनै न कुनै रूपमा माध्यमिक शिक्षा परीक्षासँग जोडिएका समाचारहरू आइरहन्छन्, हाम्रा माझमा । मानौं जिन्दगीको यो नै सबैभन्दा ठूलो परीक्षा हो र यसलाई जसरी पनि उत्तीर्ण गर्नुपर्छ भनेजस्तो । रमाइलो कुरो त के हो भने माध्यमिक शिक्षा परीक्षाको मात्र यतिधेरै समाचारले विभिन्न समाचारमाध्यममा स्थान पाइरहँदा माध्यमिक शिक्षा परीक्षा तथा यसपछिका  विभिन्न परीक्षा कहिले सञ्चालन हुन्छन्, कहिले त्यसका नतीजा प्रकाशित हुन्छन् भन्ने नियमित कक्षामा जाने विद्यार्थीबाहेक अन्यलाई थाहा नै हुँदैन । यसरी हामीले माध्यमिक शिक्षा परीक्षालाई सगरमाथाभन्दा अग्लो पहाड बनाइदिएका छौं, जसलाई जसरी पनि वारपार गर्नुपर्छ ।

माध्यमिक शिक्षा परीक्षा भनेको लामो विद्यालय जीवनबाट पार पाउने एउटा तह होे । तर माध्यमिक शिक्षा परीक्षालाई पछिल्लो समयमा ठूलो हाउगुजी बनाइएको छ । समाजका प्रायः सबैजसोले यसलाई फलामे ढोका भन्ने गरेका छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भइएन भने संसार डुब्छ भनेर सिकाउँदै आइएको छ । यस्तै सिकाइका कारणले माध्यमिक शिक्षा परीक्षा दिनानुदिन अमर्यादित बन्दै गएको छ । यसै कारणले प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षामा नक्कली परीक्षार्थी भेटिन्छन् । निरीक्षक नै परीक्षार्थीलाई सिकाउनेलगायतका विभिन्न अमर्यादित कार्य गर्नु यसैको परिणाम हो । हुन पनि यति ठूलो हाउगुजीको सामना गर्न त सबै प्रकारले तयार हुनैपर्यो नि, अनि किन नभेटिऊन् बोराका बोरा चिट परीक्षाहलमा । साँच्ची नै हामीले यो परीक्षालाई जीवनकै ठूलो परीक्षा हो भन्ने भान विद्यार्थीहरूमा पारिदिएका छौं कि परीक्षामा सामेल भएका आधाजतिले उच्च शिक्षाको बाटोतिर अघि बढ्दै गर्दा आधाजति अनुत्तीर्णको बिल्ला भिरेर गन्तव्यविहीन हुन्छन् । यी गन्तव्यविहीनमध्ये केहीले आत्महत्या गरेका विगतका अनुभव हामीमाझ छन् ।

विद्यार्थीहरूलाई जसरी पनि माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतीजा ल्याउन बाध्य पारिनुहुँदैन । हुनत विद्यालयका धेरै विद्यार्थीले उत्कृष्ट नजीता ल्याए सबैका लागि राम्रो हुन्छ । तर माध्यमिक शिक्षा परीक्षालाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै माध्यमिक शिक्षा परीक्षाको परिणाममा नाप्नुचाहिं गलत हो । माध्यमिक शिक्षा परीक्षालाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरिन्छ, उति नै यसको परिणाम पनि ओरालो लाग्छ । अर्कोतिर नेपालका धेरैजसो विद्यार्थीलाई सबैभन्दा धेरै डर केको लाग्छ भनेर सोध्ने हो भने अपवादबाहेक सबैले उत्तर दिने गर्छन्– परीक्षाको । परीक्षाको बुझाइ परिस्थिति र अवस्था अनुसार फरक–फरक हुन्छ । तर नेपालमा परीक्षा भन्ने बित्तिकै अधिकांशको मस्तिष्कमा पहिला आउने प्रक्रिया हो, किताब वा नोटबुकका शब्दहरू रट्ने र परीक्षामा उतार्ने । शिक्षकले पढाएका कुरा बुझ्न र त्यसलाई जस्तोसुकै अवस्थामा आफ्नै तरीकाले व्यक्त गर्नलाई कहिल्यै समस्या नहुने विद्यार्थीको मुटुमा पनि परीक्षाले भने ढ्याङ्ग्रो बजाइदिन्छ । विद्यार्थी जतिसुकै पढेर सबै कुरा जानिसकेपछि पनि परीक्षा भवनमा प्रवेश गर्नुअघि निश्चिन्त हुन सक्दैन । कताकता तनाव भइरहन्छ । कक्षा बढ्दै गएसँगै परीक्षाफलका अङ्कहरू भारी हुन थाल्छ ।

माध्यमिक शिक्षा परीक्षा, अध्ययनको एउटा तह मात्र हो, मानवजीवनको अन्तिम परीक्षा होइन । अनुत्तीर्ण हुँदैमा पुनः परीक्षा दिन नपाइने पनि होइन । अर्को कुरा माध्यमिक शिक्षा परीक्षा बिग्रँदैमा उच्च शिक्षा पनि बिग्रन्छ भन्ने पनि छैन । कतिपय विश्वप्रसिद्ध व्यक्तिहरू पनि अध्ययनमा अनुत्तीर्ण भएका उदाहरणहरू हामीसामु छन् । यसको अर्थ अध्ययनमा अनुत्तीर्ण भएपनि हुन्छ भन्ने चाहिं होइन । अर्थ के मात्र हो भने माध्यमिक शिक्षा परीक्षाको अङ्कले मात्र जीवन सफल वा असफल भन्ने हुँदैन । विलियम सेक्सपियर ५ कक्षामा दुईपटक फेल भए, रवीन्द्रनाथ टैगोर माध्यमिक शिक्षा परीक्षामा सातपटक फेल भए, महात्मा गाँधी तेस्रो श्रेणीमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भएका जस्ता थुप्रै उदाहरण हाम्रासामु छन् ।

त्यसैले अभिभावक, शिक्षक, विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षालाई विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्ने गरी यो परीक्षा नै जीवनको सबैभन्दा ठूलो परीक्षा हो भन्ने भ्रम उत्पन्न गर्ने खालका कुरा गर्न आजैबाट छाड्नुपर्दछ । सञ्चारमाध्यमहरूले पनि माध्यमिक शिक्षा परीक्षाको मात्र समाचार प्रकाशन प्रसारण गर्नुभन्दा शिक्षाका अन्य विभिन्न पाटा केलाएर खोजमूलक शैलीका समाचार पस्कने प्रयास गर्नुपर्छ । यो कार्यले माध्यमिक शिक्षा परीक्षा मर्यादित मात्र बनाउँदैन, माध्यमिक शिक्षा परीक्षामा अनुत्तीर्ण भएमा गलत कार्य गर्नुपर्ने र आत्महत्यासमेत गर्न पछि नपर्ने विद्यार्थीहरूलाई त्यसबाट रोक्नसमेत मदत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here