• कुमार रुपाखेती

जुन ठाउँलाई अहिले भगवती टोल भनिन्छ, त्यसलाई पहिले माईराम टोल भनिन्थ्यो । नजाने कुन कारणले हो माईराम टोल त्यतिखेर पनि चर्चामा थियो र अहिले पनि छ । माईराम टोलमा रहेको पोखरी जहाँ अहिले चिल्ड्रेन पार्क छ, त्यसको क्षेत्रफल वास्तवमा चार बिघाभन्दा बढी हो र यो ऐलानी जग्गा हो । अहिले चिल्ड्रेन पार्क १९ कट्ठामा सीमित भएको छ र यो महानगरको स्वामित्वमा ल्याउने श्रेय तत्कालीन हाकिम विष्णु कोइरालालाई जान्छ । २०२१ सालको नापीसम्म सार्वजनिक रहेको यो पोखरी क्षेत्र २०४९ सालको नयाँ नापीपछि सँधियारहरूले मिच्दै, माँस्दै गएको देखिन्छ । डा बिके प्रसादबाहेक अन्यको घडेरी तीन धुरदेखि सात धुसम्म हो र बिके प्रसादको पनि एक कट्ठा मात्र हो । अहिले तीन र सात धुरका मालिकहरू कट्ठौंकट्ठाका मालिक बनेका छन् । भनिन्छ, अलखियामठका महन्थ गिरी भन्ने व्यक्तिसँग रु ९९ प्रतिधुरका दरले रकम दिएर त्यतिखेर त्यहाँ ससाना टुक्रा जग्गा किनेर सुकुमबासी खालका मानिसहरू त्यहाँ बसेका थिए । अहिले त्यहाँ सुकुमबासीहरूको हालीमुहाली देखिन्छ । हैसियत अनुसार सँधियारहरूले माईराम पोखरीको डिल मिचेर आफ्नो जग्गा विस्तार गर्न थाले । पञ्चायतकालदेखि नै नगरपञ्चायतको पालादेखि नै यहाँ विवाद चर्कने र मत्थर हुने गरेको इतिहास छ । नगरपञ्चायतका तत्कालीन प्रधानपञ्च विमल श्रीवास्तवले समेत कब्जा जग्गा फिर्ता गराउने फलस्वरूप कहिले हथौडा चल्ने, कहिले तोडफोड हुने अनि टाँयटाँय फिस्स हुने गरेको थियो । विमल श्रीवास्तवको पालामा पुर्जी काट्ने, हथौडा चलाउने, थर्काउने अनि मिलापत्र हुने गरेको समेत देखिन्छ । त्यसो त श्रीवास्तवको अथक प्रयासले नै पुरानो बसपार्कको जग्गा केडियो अर्गनाइजेशनसँग खोसेको पनि इतिहास छ । त्यस बखत शायद लक्ष्मणलाल कर्ण नगरपञ्चायतका कानूनी सल्लाहकार थिए ।

अचेल त माईराम पोखरीको त्यो ऐलानी जग्गा मालपानी तान्ने गुल्लरको फूलको नामले कुख्यात छ । गुल्लरको फूलको कमाल किंवदन्ती बनिसके पनि माईराम पोखरीको जग्गाले पुनः गुल्लरको फूलको महत्व देखाएको छ ।

नयाँ जोगीले बढी खरानी घस्छ भनेझैं अथवा नयकी घोडीको चालझैं मेयर राजेशमान सिंहसमेतले फागुन २ गतेदेखि त्यहाँ हात हाले, तोडफोड गरे र अहिले पस्त देखिन्छन् । ठीक छ, त्यहाँ श्रीराम हस्पिटल छ, तर हस्पिटलबाहेक अन्य कब्जाईहरूलाई खाली गराउन किन कतराइरहेको होला ? जसको जोत उसको पोतको जमाना होइन अहिले । कसले कति मिच्यो भन्नेबारे मेयर वाकिफ छन्, अनि किन लाटोले केरा हेरेझैं लाटो बुङ्गो बनेका छन् । पूर्व प्रदेशसभा सदस्यले हस्पिटल हो भन्दै मोहलत माग्नु जायज हो तर अन्यलाई मोलाहिजा किन ? के त्यहाँ फेरि हथौडा र बुल्डोजर देखाएर भित्रभित्रै मोलमोलाइ हुँदैछ भन्ने शङ्का–उपशङ्का हुनु स्वाभाविकै हो । भनिन्छ, मेयर‘साप त माईराम पोखरीलाई कब्जा मुक्त गर्ने मात्र होइन, मेनरोड फराकिलो पार्ने पक्षमा पनि देखिन्छन् । ठाउँकुठाँउ यस्तो भाषण पनि ठोकेका छन् तर मियाँ के दौड मस्जिद तक भनेझैं यिनको खाने र देखाउने दाँत अर्कै देखिन्छ ।

किनकि बिर्ता मेनरोडमा मालपोत कार्यालयको पूर्वपट्टि रहेको महानगर स्वामित्वको खाली जग्गामा मेयर‘सापले ल्याब बनाउँदैछन् र त्यो ल्याब सडक विभागले कायम गरेको २५ मिटरभित्र बन्दैछ, नपत्याउनेले त्यहाँ गएर ल्याब निर्माणाधीन स्थल गएर अवलोकन गरे हुन्छ । मेनरोड फराकिलो गर्ने भाषण ठोक्ने अनि अटेर गरेर सरकारी ल्याब निर्माण गर्न मिल्छ । के मेयरले नियम कानून मान्नुपर्दैन । राजेशमानको देखासिकी गर्दै वडा नं १ का अध्यक्ष मनोज कुर्मीले पनि २५ मिटर लत्याउँदै करीब १० मिटर मात्र अगाडि छोडेर एएमसीनिर महल बनाउँदैछन् ।

भन्नेहरू त भन्छन् मेनरोड, माईराम पोखरी, मीनाबजार कम्प्लेक्स, मेयर र मेनरोड घण्टाघरको तरकारी बजारको कहानी उस्तैउस्तै हो । हाम्रो चाहना त माईराम पोखरी र मेनरोड माँगी खाने भाँडो नबनोस् र जो अगुवा उही बाटो हगुवामा परिणत न हुन् । त्यसो त अचेल शहरमा नगरप्रहरीको समेत चर्चा छ । नगरभित्र जनपद प्रहरीभन्दा हरियो वस्त्रधारी नगरप्रहरी निकै सङ्ख्यामा उछलकूद गरिगरेको देख्दा मलाई ‘जय हो जजमान की’ भन्न मन लागेको छ । अदालतले मेनरोडको सडक फराकिलो गर्नेबारेको बहस यही जेठ ३१ गते तोकेको कुरा मेयर‘सापलाई पनि अवगत छ, अनि अदालतले मेनरोड विस्तार गर्ने निर्णय गरेको खण्डमा मालपोतअगाडिको ल्याबलाई फेरि तोडफोड गर्ने, नगरपालिकामा अचेल सेवाग्राहीभन्दा कर्मचारी सङ्ख्या बढी देखिन्छ भन्ने पनि हल्लाखल्ला छ । अब भन्नुस् हाम्रो रगतपसिनाको कमाइ राजस्वको नाममा कागती निचोरेझैं निचोरेर लिने, जथाभावी निर्माण गर्ने अनि भाँच्ने, माईराम पोखरीको पर्खाल भाँच्ने अनि फेरि निर्माण गर्ने, परिणाम हात लाग्यो शून्यमा झार्ने, अपच किसिमले कर्मचारी भर्ना गर्ने अनि सङ्घ र प्रदेश सरकारले बजेट दिएन भनेर रुने काम तत्काल बन्द गर्नुपर्छ । भन्नेहरू त भन्छन् अहिले स्थानीय सरकारको नीति नै ‘आए बापका, गए आपका’ जस्तै छ रे ।

एकबार फिरसे बोलो, ‘जय बोलो जजमानकी जय बोलो ।’ माईराम पोखरीको जग्गामा पनि किंवदन्ती झल्किन्छ । न बेचेको देखिन्छ, न किनेको देखिन्छ तर जग्गा बढेको बढ्यै देखिन्छ ।

वर्तमान मेयरले, ‘हमाममे सब नङ्गे हैं’ भन्ने उखान चरितार्थ नगरून् । वर्तमान मेयर सिंहले निवर्तमान मेयर सरावगीलाई भ्रष्टाचारको फाइल खोलेर जेल हाल्छु भन्थे तर अग्रगासे मच्छीका भनेझैं कुर्सीमा बस्नासाथ मेयर सिंहलाई अख्तियारले पत्र काटेर सोधपूछ गरेको जगजाहेर छ । अख्तियारको पत्रबारे त्यतिखेर आफ्ना भन्ने सबैलाई बहादुरीका साथ सुनाउँथे । तर माईराम पोखरी, मीनाबजार, मेनरोड, मालपोतअगाडिको महानगरको जग्गा, मेयरको नगरप्रहरी, मेनरोड घण्टाघरको बजारको कहानी र मेयरलाई हामी कसरी बिर्सन सक्छौं होला । नेपाली फिल्म निर्देशक दीपेन्द्र खनालले ‘भष्मे डन’ भन्ने नेपाली फिल्मको निर्माण गर्दैछन् । मेयरस्तरका जनप्रतिनिधिलाई ‘भष्मे डन’ हेर्न मेरो सुझाव छ । रु चार लाख खर्चेर सौराहामा पत्रकारहरूको बैठक राख्ने मेयरले महानगर बोर्ड बैठक करोडौं खर्चेर सिङ्गापुर र थाइल्यान्डमा राख्ने चर्चा बजारमा छताछुल्ल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here