- श्रीमन्नारायण
विगत केही दशकयतादेखि कृषिजन्य उत्पादनमा विषादीको प्रयोग हुँदै आएको छ । शुरूमा कृषिविज्ञहरूले नै सीमित मात्रामा यसको प्रयोग गर्न सुझाव दिने गर्दथे । बढी उत्पादन गरी अत्यधिक नाफा कमाउने उद्देश्यले किसानहरूले आआफ्नो बालीमा विषादीको प्रयोग अत्यधिक मात्रामा गर्ने गरेका छन् । नेपालमा मात्रै होइन विश्वभरिका किसानहरूले यस्तै गर्दै आएका छन् । हाम्रो देशका शहरी बजार क्षेत्रमा मात्रै होइन अपितु गाउँघरका बजार र चोकहरूमा पनि कीटनाशक औषधिका पसलहरू व्यापकरूपमा खुलेका छन् । रासायनिक मल र कीटनाशक औषधि अथवा विषादी त वर्तमान अवस्थामा खेतको निम्ति प्राणवायु नै बन्न गएको छ । रासायनिक मलको विकल्पको रूपमा अर्गानिक मलको उपयोग गर्नेबारे तीव्र गतिमा प्रयासहरू भइरहेका छन् । तर रासायनिक मललाई पूर्णरूपमा विस्थापित गर्न कम्तीमा पनि एक/डेढ दशक लाग्नेछ । हाम्रो देशमा यदाकदा कृषि उत्पादनमा विषादीको प्रयोगप्रति चिन्ता व्यक्त गर्ने गरिन्छ । केहीले दक्षिणी छिमेकी भारतबाट आयात हुने गरेका फलफूल र तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेकामा चिन्ता व्यक्त गर्ने गर्छन् । विषादीको प्रयोग भारतबाट आयात हुने तरकारी र फलफूलमा मात्रै होइन अपितु विश्वका जुनसुकै देशबाट आयात भइरहेका फलफूलमा पनि विषादी प्रयोग भएको विषयमा दुई मत हुने ठाउँ नै छैन । हाम्रो आफ्नो देशको उत्पादनमा पनि अनिवार्यरूपमा विषादीको प्रयोग हुने गरेको छ । अर्गानिक मलको उत्पादन सीमित मात्रामा हुने गरेका कारण तत्काल विषादीयुक्त कृषि उत्पादनको उपयोग गर्न हामी बाध्य छौं । विनातयारी यसको विरोधलाई अर्थहीन नै मान्नुपर्छ ।
सङ्घ, प्रदेश तथा स्थानीय तहले अर्गानिक खेतीका लागि पर्याप्त लगानी गर्ने तथा प्रोत्साहन दिने काम गरेमा मात्रै यो सम्भव हुनेछ । अहिले त रासायनिक मलको आयात गर्दा पनि समयमा खेतीका लागि किसानहरूलाई आवश्यक मल पुग्न सकिरहेको छैन । यस्तोमा अर्गानिक मलको कुरा गर्नु भनेको नयाँ घरको सपना हेर्ने बित्तिकै आफू बस्दै आएको घरलाई तहसनहस पार्नुजस्तै हो । विषादीको विरोध गर्नमा त राम्रो लाग्छ तर त्यसको विकल्प के ? हाम्रो देशको आवश्यकता अनुसारको अन्न, फलफूल तथा तरकारीको उत्पादन देशमा सम्भव भइरहेको छ त ? यदि छैन भने भारतबाट आयात नगर्नुको विकल्प के ? उत्तरी छिमेकीले विगत सात वर्षदेखि आफ्नो मुख्य नाका पनि सुचारु हुन दिएको छैन ।
नेपालको संविधानले जनताको खाद्य अधिकारलाई मौलिक अधिकारको रूपमा परिभाषित गरेको छ । तसर्थ स्वच्छ, पोषणयुक्त, विषादीरहित र पर्याप्त खाद्यान्न जनतालाई उपलब्ध गराउनु सरकारको दायित्व हो । हाम्रो संविधानले स्वास्थ्यलाई पनि मौलिक हक अन्तर्गत राखेको छ । सायद त्यसैले होला आफ्नो क्षमताले भ्याएसम्म जटिल र महँगो रोग लागेका बिरामीलाई सरकारले आर्थिक सहयोग पनि उपलब्ध गराइरहेको छ । विषादीयुक्त फलफूल र तरकारीले मानव शरीरमाथि गम्भीर असर पार्न सक्छ, यसमा शङ्का गर्ने ठाउँ नै छैन तर भारतबाट आयात गरिने तरकारी र फलफूलमा मात्रै होइन अपितु अन्य देशबाट आयात हुने र हाम्रो देशमा उत्पादन हुने फलफूल र तरकारीलाई समेत पनि विषादीमुक्त बनाइनु आवश्यक छ । जबसम्म यसको विकल्प तयार हुँदैन, तबसम्म यस विषयमा अनावश्यक चर्चा गर्नुको अर्थ छैन । आयात भइरहेका खाद्यान्न, फलफूल र तरकारीमाथि रोक लगाउनुपर्ने माग गरेर देशभित्र कृत्रिम अभाव सिर्जना गरी महँगी सिर्जना गर्ने मानसिकता भएकाहरूले समयसमयमा यस्ता विषयहरूलाई चर्चामा ल्याउने गर्छन् ।
हाम्रो देशमा विषादी परीक्षणको समुचित व्यवस्था पनि छैन । देशमा रहेका कीटनाशक औषधिका पसलहरूमा ताल्चा लगाउनुपर्छ । त्यसपछि हामीले भारत, चीनलगायत विश्वका सबै देशलाई प्रस्टरूपमा भनिदिनुपर्छ कि नेपालमा विषादीयुक्त फलफूल र तरकारीको उपभोगमाथि रोक लगाइएको छ, तसर्थ यस्ता उत्पादनहरूको निर्यातको सान्दर्भिकता अब नेपालको निम्ति रहेन । जिल्ला–जिल्लामा खोलिएका कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले पनि विषादीको प्रयोगबारे किसानलाई सुझाव–सल्लाह दिन बन्द गर्नुपर्छ । नेपालका किसानहरूले आफ्नो खेतीमा विषादी हालेर उत्पादन गरेका तरकारी र फलफूललाई स्वदेशी विषादी भनेर उपयोग गर्दा त्यो स्वास्थ्यवर्धक हुने तर विदेशबाट आयातित तरकारी र फलफूल खाँदा त्यो हानिकारक हुने दोहोरो मापदण्ड स्वयम् हाम्रैनिम्ति घातक साबित हुनेछ । हाम्रो देशमा भ्रष्टाचार र कमिशनतन्त्रको जुन खेल चलिरहेछ, त्यसमा जाँचकर्ताले यदि नाजायज लाभ लिई विषादीयुक्त कृषिजन्य उत्पादनलाई पनि विषादीरहितको प्रमाणपत्र वितरण गर्यो भन्ने के गर्ने ? प्रत्येक व्यक्ति र प्रत्येक किसानको उत्पादनलाई विषादीमुक्त बनाउन सकिंदैन ।
हाम्रै देशका काभ्रे, धादिङलगायतका किसानहरूले पनि आफ्नो उत्पादनमा अत्यधिक मात्रामा विषादीको प्रयोग गर्ने गरेको तथा यसबाट क्यान्सरजन्य रोगको प्रकोप बढेको आशयका समाचारहरू पनि प्रकाशित हुँदै आएका छन् । विषादीबारे सतर्कता राम्रो कुरा हो । देशभित्रका र बाहिरबाट आउने कृषिजन्य पदार्थमा विषादी परीक्षण हुनुपर्छ । यसको निम्ति पहिले अन्तरमन्त्रालय समन्वय हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय दायित्वको पालन सरकारले गर्नेछ । परीक्षण हुनुभन्दापूर्व सम्बन्धित मित्रराष्ट्रहरूलाई हाम्रो आधारभूत मापदण्डबारे पूर्वजानकारी दिइनुपर्छ । सम्बन्धित मित्रराष्ट्रसित छलफल गर्ने, सम्बन्धित देशको प्रयोगशालाको ल्याब पनि अध्ययन गर्ने विषयमा समन्वयको अभाव रहेको देखियो । हाम्रो आफ्नो देशको कृषि नीति किसानमैत्री रहेको छैन । कृषि विकासको नाममा छुट्याउने गरिएको रकमको लाभ गैरकिसान अथवा नक्कली किसानहरूले उठाइरहेका छन् । हाम्रो आवश्यकता अनुसारको खाद्यान्न, तरकारी अथवा फलफूलको उत्पादन हामीले गर्न सक्नुपर्छ । किसानहरूलाई वैज्ञानिक खेतीका निम्ति मानसिकरूपले तयार पार्नुपर्छ हिमाल, पहाड र तराईमा वातावरण अनुसारको खेतीमा जोड दिइनुपर्छ । किसानले सडकमा दूध खन्याउने, गोलभेंडा फाल्ने अथवा सुन्तला कुहिने अवस्थामाथि रोक लगाउन शीतगृह र भण्डारणको समुचित व्यवस्था गर्नु आवश्यक छ । जनताको आवश्यकता अथवा माग अनुसारको वस्तुको आपूर्ति सम्भव हुन नसकेमा बाहिरबाट मगाउनुको विकल्प हुँदैन । भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीमा विषादी भएको कुरालाई आधार बनाएर दुई पक्षीय व्यापारमा नकारात्मक प्रभाव पार्ने काम ठीक होइन । हामीले पनि अत्यधिक उत्पादन गरेर त्यसलाई भारतमा निर्यात गर्न सक्छौं । जसरी अहिले बिजुलीको निर्यात अथवा बिक्री गर्दै आएका छौं ।
सरकारले अर्गानिक खेतीलाई महत्व दिनुपर्छ । अर्गानिकखेती गर्नेलाई विशेष सहुलियत पनि दिनुपर्छ । सरकारी सहायता पाउने किसानले विषादीको प्रयोग नगरून् भन्ने कुरामा तिनको समर्थन र सहमति लिनुपर्छ । इलामलगायतका पूर्वी नेपालका केही जिल्लाहरूमा अर्गानिकखेतीलाई महत्व दिइएको छ । दक्षिणी छिमेकी भारतमा त्यहाँको सरकारले अर्गानिकखेतीलाई ठूलो प्रोत्साहन गर्ने गरेको छ । भारत सरकारले त्यस्ता किसानलाई धेरै सहुलियत पनि दिने गरेको छ । अर्गानिकखेतीबाट उत्पादन भएका खाद्यान्न, फलफूल तथा तरकारीको उपयोग गर्ने इच्छा भएपनि त्यो महँगो हुने गरेको कारण बहुसङ्ख्यकहरूको पहुँचभन्दा टाढाको विषय हुने गरेको छ । सरकारी सहायता प्राप्त भएमा यिनीहरू मनपरी मूल्यको निर्धारण गर्न पाउनेछैनन् । सरकारले रासायनिक मलखाद र विषादीको विकल्पबारे निरीक्षण गर्नु आवश्यक भएको छ । एकातिर निजीस्तरबाट किसानको चिन्ता गरिन्छ भने अर्कोतिर रासायनिक मलको मूल्य बढाइन्छ । आयातित तरकारी र फलफूलमा विषादीको बखेडा निकालेर कृत्रिम अभाव सिर्जना गराइ देशभित्र महँगी बढाउने सुनियोजित षड्यन्त्रबाट सतर्क हुनु आवश्यक छ ।