• विश्वराज अधिकारी

नेपालीे राजनीतिमा कम्युनिस्टहरूको बलियो प्रभाव रहेसम्म, कम्युनिस्टहरू दलगतरूपमा बलियो भएसम्म र कम्युनिस्टहरू सरकार बनाउने स्थितिमा रहेसम्म नेपालमा तीव्र आर्थिक विकास सम्भव छैन । यो कुरा सुन्दा अप्रिय लाग्न सक्छ तर यथार्थ यही हो । खासगरी कम्युनिस्ट विचारधारा नजीक रहेका पाठकहरूलाई यो कुरा रुचिकर नलाग्न सक्छ । तर यो निष्पक्ष विश्लेषण हो । प्रमाणहरूको आधारमा प्राप्त निष्कर्ष हो ।

नेपाली राजनीतिमा कम्युनिस्टहरूको अति प्रभावको कारण नेपालको आर्थिक विकासको गति अति सुस्त हुन पुगेको हो । नेपालीहरू अहिले केवल श्रम मात्र बिक्री गरेर, रेमिट्यान्सको भरमा बाँच्नुपर्ने स्थितिमा पुगेका हुन् । यो यथार्थ कल्पनाको भरमा भनिएको होइन, २०४७ सालदेखि हालसम्मको मूल्याङ्कनको निष्कर्ष हो । कम्युनिस्टहरूले निरन्तर नेपालको राजनीतिलाई अनिश्चित र अस्थिर पार्दै आएका छन् । नेपालमा विदेशी हस्तक्षेप बढाएका छन् । कम्युनिस्टहरूकै कारण नेपालमा आआफ्नो प्रभाव वृद्धि गर्न अहिले भारत र चीनबीच प्रतिस्पर्धा हुने गरेको छ ।

२०४७ देखि २०६२ सम्म नेपालको राजनीतिमा कम्युनिस्टहरूको अति बलियो प्रभाव थियो । यो कालमा नेपालको आर्थिक अवस्थामा कुनै पनि किसिमको सुधार आउन सकेन । राष्ट्रिय राजनीतिमा हुने अनेक किसिमका उथलपुथलले गर्दा आर्थिक विकासको लागि चाहिने अनुकूल वातावरण पटक्कै निर्माण हुन सकेन । मन्द गतिमा चलिरहेको नेपालको आर्थिक विकासको गाडी माओवादीहरूको रक्तपातपूर्ण सङ्घर्षले गर्दा झनै सुस्त हुन पुग्यो । माओवादीहरूले चलाएको दस वर्षे (२०५२ देखि २०६२ साल) सशस्त्र सङ्घर्षले नेपालको आर्थिक विकासको गाडीलाई सुस्त गतिमा पनि अगाडि बढ्न दिएन, उल्टो प्रतिगमनको अवस्थामा पुर्यायो । यो कालमा माओवादी नेताहरूको निर्देशनमा बैंक लुट्ने र  भौतिक संरचना ध्वस्त पार्नेजस्ता अनेक कार्यहरू भए । माओवादी नेताहरूले व्यापारीहरूलाई धम्क्याउने र चन्दा असुल उपर गर्नेजस्ता कार्यहरू गरे जसले गर्दा स्थिर र शान्त व्यापारिक वातावरण भयभीत र तनावपूर्ण हुन पुग्यो अनि देशको आर्थिक अवस्था अनिश्चित एवं दयनीय भएको कारणले गर्दा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रोजगारको खोजमा देश छाडे ।

कम्युनिस्टहरूको माझमा पुष्पकमल दहाल नेतृत्वको माओवादी दल नेपालमा विदेश हस्तक्षेप बढाउन एक पाइला अगाडि नै देखियो । तत्कालीन सरकार र आफूबीच हुने १२ बुँदे शान्ति सम्झौतामा माओवादीले भारतलाई मध्यस्थता गर्न लगाएर नेपालको राजनीतिमा भारतलाई सबैले देखिनेगरी र प्रत्यक्ष हस्तक्षेप गर्ने मौका दियो ।

कम्युनिस्टहरूले गर्दा नेपालको राजनीतिले अहिले पनि स्थिरता प्राप्त गर्न सकेको छैन । गरीबीका कारण अहिले पनि रोजगारका लागि ठूलो सङ्ख्यामा नेपाली युवाहरू विदेशतिर लाग्ने क्रम जारी छ । नेपालको राजनीतिलाई स्थिरता दिन सक्नेगरी बलियो स्थितिमा रहेका कम्युनिस्ट दलहरू– एमाले, माओवादी एवं समाजवादी, नेपाली राजनीतिलाई अस्थिर पार्न सक्रिय छन् ।

काङ्ग्रेसको कुरा नगरौं । कम्युनिस्टहरूले झैं, काङ्ग्रेसले गरीबलाई धनी हुने सपना देखाएको छैन । यो कारणले गर्दा काङ्ग्रेसलाई कम्युनिस्टहरू जति दोषी ठहर गर्न सकिंदैन । हुनत काङ्ग्रेसीहरूसँग नेपालको आर्थिक विकासका लागि ठोस योजना तथा कार्यक्रम नै छैन । जसरी भए पनि सदाकाल सत्तामा रहनु काङ्ग्रेसको एक मात्र र प्रमुख उद्देश्य हुन पुगेको छ । नेपालको आर्थिक विकासको लागि काङ्ग्रेससँग स्पष्ट योजना छैन । २०६३ सालदेखि नेपालको आर्थिक विकास सम्बन्धमा काङ्ग्रेसले ढुलमुले नीति लिंदै आएको छ ।   

यस आलेखमा नेपालको राजनीतिमा कम्युनिस्टहरूको भूमिका प्रभावकारी र निर्णायक भएसम्म नेपालको आर्थिक विकास तीव्र गतिमा किन हुन सक्दैन त्यसबारे विस्तृत चर्चा गरिने छ । नेपाल भित्र होइन, नेपाल बाहिरका कारक तत्वहरूले नेपालमा कम्युनिस्टहरू बलियो अवस्थामा रहेसम्म किन र कसरी आर्थिक विकासमा अवरोध पुर्याउने छन् त्यसबारे चर्चा गरिने छ ।

अहिले पश्चिमा देशहरू धनी छन् र पैसा पनि उनीहरूसँग नै छ । विदेशमा गएर लगानी गर्न सक्ने स्थितिमा पनि उनीहरू नै छन् । तर पश्चिमा देशहरू कम्युनिस्ट शासन व्यवस्था रुचाउँदैनन् । कम्युनिस्ट व्यवस्थाद्वारा कुनै राष्ट्रको आर्थिक विकास हुन सक्छ भन्ने कुरामा उनीहरूलाई पटक्कै विश्वास छैन । नेपालको राजनीतिमा कम्युनिस्टहरूको भूमिका निर्णायक र प्रभावकारी भएकोले नै पश्चिमा राष्ट्रहरूले नेपालमा उद्योग, व्यापार, व्यवसाय सञ्चालन नगरेका हुन् । पश्चिमा राष्ट्रहरू चीनमा लगानी गर्छन् तर नेपालमा लगानी गर्न हच्कन्छन् ।

नेपालमा लगानी गरेर यहाँ उत्पादित वस्तु चीनतर्फ जान दिन चीन पनि तयार छैन । नेपालका कम्युनिस्टहरूमाथि चीनले पटक्कै विश्वास गरेको छैन । चीनले नेपालका कम्युनिस्टहरूको स्थिति र मनोविज्ञानको केवल उपयोग मात्र गरेको छ, उनीहरूमाथि विश्वास गरेको छैन । आफ्नो स्वार्थका लागि नेपालका कम्युनिस्टहरू भारतसँग पनि घाँटी जोड्न जान सक्छन् भन्ने चीनलाई अनुमान मात्र होइन, विश्वास छ । पुष्पकमल दहालले माओवादी सशस्त्र सङ्घर्षको नेतृत्व भारतबाटै गरेका थिए । त्यति मात्र होइन, उनले १२ बुँदे सम्झौता अन्तर्गत भारतलाई सक्रिय भूमिका खेल्न आग्रह पनि गरेका थिए । चीनले कम्युनिस्टहरूको यस्तो द्वैध चरित्रको अवलोकन मात्र गरेको छैन, निगरानी पनि गरिरहेको छ ।

चीन पक्का व्यापारी देश हो । नेपाल जस्तो राजनीतिमा सदा अस्थिर रहने देशमा उसले लगानी गर्दैन । उल्टो चीनले नेपाललाई त्यो स्थितिसम्म कमजोर पार्ने चेष्टा गर्छ जुन स्थितिमा नेपालमाथि आफ्नो नियन्त्रण कायम गर्न उसलाई सजिलो होस् । वर्तमान स्थितिमा नेपाल धनी होस् भन्ने मनस्थितिमा चीन छैन ।

नेपालमा एक किसिमका यस्ता कट्टर कम्युनिस्टहरू छन्, जो पूँजीलाई शोषणको माध्यम ठान्छन् । पूँजीपतिलाई वर्गीय शत्रु देख्छन् । सम्पत्ति भएर लगानी गर्न सक्ने स्थितिमा भएका व्यक्तिहरूलाई सामन्त, शोषक एवं दलाल भन्छन् । निजी रूपमा गरिने सम्पत्ति सृजना, सङ्ग्रह र प्रयोगलाई अपराध ठान्छन् । यी कट्टर कम्युनिस्टहरूले सम्पत्तिमाथि व्यक्तिको होइन कम्युन (समाज) को स्वामित्व होस् भन्ने लक्ष्य राख्छन् । निजी पूँजीले समाजको शोषण गर्ने भएकोले पूँजी समुदायको नियन्त्रणमा होस् भन्ने सिद्धान्त राख्छन् । लगानी गर्ने बजार (समाज र त्यसको मनोविज्ञान)ले, यस्तो स्थितिमा कसरी नेपालमा लगानी गर्ने त ?

कम्युनिस्ट सिद्धान्तलाई गरीबहरूको हितमा रहेको भनेर व्याख्या गरिए तापनि यथार्थमा यो सिद्धान्तले केही नेताहरूलाई शासक हुन सहयोग गर्नुबाहेक केही गर्न सकेको छैन । भारतको पश्चिम बङ्गालमा लामो समयसम्म कम्युनिस्टहरू सत्तामा रहे । कम्युनिस्टहरूले पश्चिम बङ्गाललाई धनी होइन उल्टो गरीब बनाए । कम्युनिस्ट नेता ज्योति बसु सन् १९७७ देखि २००० सम्म पश्चिम बङ्गालको मुख्यमन्त्री भए । पाँचपटक मुख्यमन्त्री भएर २३ वर्षसम्म सत्तामा रहँदा ज्योति बसुले पश्चिम बङ्गालको अर्थ व्यवस्थामा सुधार ल्याउन के योगदान पुर्याए ? केही खास योगदान पुर्याएनन्, उल्टो पश्चिम बङ्गाललाई झन् गरीब पारे । ३४ वर्षसम्म कम्युनिस्टहरूलाई काँधमा बोकेको (सत्तामा पुर्याएको) पश्चिम बङ्गालको जनताले गरीबीबाहेक केही पाएन । भोको पेट बसेर, कम्युनिस्टहरूलाई विजयी गराए, सत्तामा पुर्याए । तर यस्तो गरेर पश्चिम बङ्गालको जनताले के पायो ?

संसारका लगानीकर्ताहरूले पश्चिम बङ्गालको स्थिति नियालेर हेरे । त्यसको विश्लेषण गरे । अहिले पनि भारतका अन्य राज्यमा विदेशी लगानीकर्ताहरूले तुलनात्मकरूपमा पश्चिम बङ्गालभन्दा बढी लगानी गरिरहेका छन् ।

नेपालको स्थिति पनि भारतको पश्चिम बङ्गालजस्तै भएकोले विदेशी लगानीकर्ताहरूले नेपालको आर्थिक वातावरणलाई पत्याइरहेका छैनन् । नेपालमा गरिने लगानी लाभदायक हुन्छ भन्नेमा उनीहरूलाई पटक्कै विश्वास छैन । नेपालमा कम्युनिस्टहरूको अति प्रभावले नेपालको राजनीतिलाई निरन्तर अस्थिर पार्ने र अस्थिर राजनीतिले अर्थनीतिलाई पनि अस्थिर र अनिश्चित पार्ने भएकोले बाह्य लगानीकार्ताहरू नेपालमा लगानी गर्न डराइरहेका छन् ।

नेपालको राजनीतिमा कम्युनिस्टहरूको भूमिका महत्वपूर्ण एवं निर्णायक रहेसम्म नेपालले जतिसुकै उदार अर्थनीति निर्माण गरे पनि विदेशीहरूले लगानी गर्ने सम्भावना देखिंदैन । विडम्बना १ २००७ सालदेखि अहिलेसम्म नेपालको शासन व्यवस्थामा कम्युनिस्टहरूको बलियो प्रभाव रहँदै आएको छ । २०६३ पछि त नेपालको अर्थतन्त्र नै कम्युनिस्टहरूको नियन्त्रणमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here