•  विश्वराज अधिकारी

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पु¥याउन सकेको देखिएको छैन । यस व्यवस्थाले देश र जनतालाई झन्झन् गरीब पार्दै लगेको अनुभव गरिएको छ । सङ्घीयता र गणतन्त्र समाविष्ट भएको वर्तमान संविधानले राष्ट्रलाई स्थिर राजनीति र स्थिर सरकार दिन सकेको छैन । वर्तमान संविधानले केही निश्चित नेताहरूलाई सदाकाल सत्ता र शक्तिमा रहने सुन्दर अवस्था सृजना गरिदिनुबाहेक अरू केही पनि गर्न सकेको छैन ।

कुनै समय हाम्रो देशले गार्मेन्ट, कारपेट, नेपाली हस्तकालका सामान, खाद्य वस्तु आदि निर्यात गथ्र्यो । ३० को दशकमा धान, चामल, छाला आदि निर्यात गथ्र्यो । विभिन्न वस्तु निर्यात गर्ने हाम्रो देशसँग अहिले निर्यात गर्न केही छैन । अहिले हामीसँग निर्यात गर्न केवल एउटा कुरा छ–श्रम । अहिले हामी केवल श्रम निर्यात गरिरहेका छौं । संसारका विभिन्न देशमा हामी श्रम बिक्री गरिरहेका छौं र त्यो बिक्रीबाट आएको आम्दानीले राष्ट्रिय खर्च धानिरहेका छौं । विदेशमा श्रम बेचेर हाम्रो दैनिक गुजारा चलिरहेको छ ।

कस्तो विडम्बना १ अहिले हामीसँग विदेशमा निर्यात वा बिक्री गर्नका लागि केवल श्रम छ, श्रमबाहेक केही छैन । के गणतन्त्रको उपलब्धि यही हो, सङ्घीयताको उपलब्धि यही हो ?

देशको कृषि, पर्यटन र उद्योगको स्थिति दयनीय हुन पुगेको छ । नेपालभित्र कृषि कार्यका लागि जनशक्तिको ठूलो अभाव छ किनभने कृषिका लागि आवश्यक जनशक्ति अहिले देशभित्र छैन, बाहिर छ । नयाँनयाँ उद्योग स्थापना हुन सकेको छैन भने भएकै उद्योगको कुशलता र क्षमतामा वृद्धि गर्न सकिएको छैन । उद्योगको स्थिति दयनीय भएर सामान्य उपभोक्ता वस्तु पनि भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । भारत र चीनबाट हामीले आयात नगर्ने हो भने हाम्रो दिनचर्या समेत चल्न कठिन छ । यस्तै स्थितिका लागि गणतन्त्र ल्याइएको हो ?

सन् २०१९ को पेन्डेमिकले सुस्त पारेको पर्यटन क्षेत्रको गति अहिले पनि मन्द छ । विदेशबाट पर्यटकहरू ठूलो सङ्ख्यामा नेपाल आउने र लामो समयसम्म बस्ने एवं भ्रमण गर्ने वातावरण तयार हुन सकेको छैन ।

कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि यी क्षेत्रको निरन्तर सूक्ष्म विश्लेषण गर्नुपर्छ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आएको परिवर्तनसँगै कृषि, उद्योग र पर्यटनको विकासका लागि अनेक कार्यक्रम, योजना एवं रणनीति निर्माण गर्नुपर्छ । तर गणतन्त्रले निर्माण गरिदिएको राष्ट्रिय राजनीति यस्तो हुन पुगेको छ जसले कार्यक्रम, योजना एवं रणनीति तयार पार्नेहरू केवल सत्ता र शक्तिमा लिप्त हुन पुगेका छन् । अनेक किसिमका योजना र कार्यक्रम निर्माण गर्नेतर्फ लाग्नुको साटो केवल गठबन्धन, छलकपट, दाउपेचमा लीन हुन पुगेका छन् । सरकार बनाउन र खसाउन व्यस्त हुन पुगेका छन् । आर्थिक विकासका लागि मुलुकले नीति–निर्माताहरूबाट अनेकौं योजना तथा कार्यक्रम निर्माण होस् भनी माग गरिरहेको छ, नीति निर्माताहरू भने निजी स्वार्थपूर्तिमा मात्र लागेका छन् । स्वार्थपूर्ति र सत्तारोहण मात्र उनीहरूको जीवनको मुख्य ध्येय बनेको छ । निष्कर्षमा सङ्घीयता र गणतन्त्रले स्वार्थी नेता उत्पादन गर्नेभन्दा बढी केही गर्न सकेको छैन ।

केवल श्रममात्र बढी निर्यात गरेर देशको अर्थतन्त्रलाई रेमिट्यान्समुखी पार्नुका बेफाइदाहरू के के छन् अब त्यसबारे चर्चा गरौं ।

नेपालको जनसङ्ख्याको आधा भाग अहिले रेमिट्यान्स प्राप्त गर्दछ । आधा जनसङ्ख्याको प्रत्येक परिवारबाट कम्तिमा एकजना वैदैशिक रोजगारमा गएको छ । अर्थात् जनसङ्ख्याको आधा भागको आम्दानी केवल रेमिट्यान्स हुन पुगेको छ । यो सुखद कुरा होइन । यस्तो हुनुको अर्थ हाम्रो उत्पादक श्रमलाई हामीले आफ्नो राष्ट्र निर्माणमा उपयोग गर्न सकिरहेका छैनौं, विदेशले गरिरहेको छ । हाम्रो श्रम निरर्थक हुन पुगेको छ ।

नेपालले बर्सेनि लगभग ९.२ बिलियन अमेरिकी डलर रेमिट्यान्स प्राप्त गर्दछ । र रेमिट्यान्स नेपालको कुल गार्हस्थ्य उत्पादनको २४ प्रतिशत जति हुन पुग्छ । रेमिट्यान्सलाई गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा नेपाल विश्वमंै चौथो देश हुन पुग्छ जसले कुल गार्हस्थ्य उत्पादनको तुलनामा बढी रेमिट्यान्स प्राप्त गर्दछ । हाम्रो कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको भाग ठूलो हुनुको अर्थ हाम्रो राष्ट्रिय उत्पादन घट्नु र श्रम निर्यात बढ्नु हो । यो दुःखद स्थिति हो । उत्पादन बढ्नु राम्रो कुरा हो, निर्यात बढ्नु राम्रो कुरा हो ।

सीपयुक्त होइन, कोरा श्रम बिक्री गरेर नेपालले साउदी अरेबिया, कतार र मलेशियाबाट राम्रो परिमाणमा रेमिट्यान्स प्राप्त गर्दछ । नेपालले अरबका देशलगायत अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया आदिबाट राम्रो परिमाणमा रेमिट्यान्स प्राप्त गर्दछ । नेपालले यसरी प्राप्त गर्ने रेमिट्यान्स केमा खर्च गर्दछ त ? यो सर्वाधिक ठूलो र महŒवपूर्ण प्रश्न हो । यस प्रश्नको उत्तर हो नेपालले विदेशमा दुःख गरेर कमाएको पैसा, रेमिट्यान्स, केवल दैनिक उपभोग्य वस्तु दाल, चामल, तरकारी आदिमा खर्च गर्छ । भारत, चीन, फिलिपिन्सजस्तो आर्थिक विकासका लागि चाहिने उद्योग, सडक, पुल आदिको निर्माणमा खर्च गर्दैन । ऊर्जा उत्पादनमा खर्च गर्दैन ।

भारत, चीन, मेक्सिको, फिलिपिन्स, इजिप्ट, पाकिस्तान, फ्रान्स, बङ्गलादेश, जर्मनी र नाइजेरिया क्रमशः विश्वका पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं, सातौं, आठौं, नवौं तथा दशौं राष्ट्र हुन् जसले सर्वाधिक बढी रेमिट्यान्स भिœयाउने गर्छन् । भारतले विश्वमा नै सर्वाधिक रेमिट्यान्स प्राप्त गर्दछ । भारतले अधिक रेमिट्यान्स प्राप्त गर्नु र नेपालले अधिक रेमिट्यान्स प्राप्त गर्नुमा ठूलो फरक छ । भारतले प्राप्त गरेको रेमिट्यान्स राष्ट्रिय अर्थतन्त्रको विकासमा खर्च गरिरहेको छ भने हामीले प्राप्त गरेको रेमिट्यान्स केवल दुई छाक खानमा खर्च गरिरहेका छौं । भारत आफूसँग अत्यधिक राष्ट्रिय उत्पादन भएको स्थितिमा छ । राष्ट्रलाई आवश्यक पर्ने  खाद्यान्न उत्पादन गर्न भारत सक्षम छ । तर नेपाल आफूलाइ आवश्यक पर्ने जति खाद्यान्न उत्पादन गर्न सक्षम छैन । खाद्यान्न मात्र होइन, फलफूल, तरकारी, अन्डा, मासु आदिको लागि पनि नेपाल भारतको भर पर्नुपर्ने स्थिति छ ।

चीनले पनि ठूलो मात्रामा रेमिट्यान्स प्राप्त गर्दछ । चीनको पनि भारतजस्तै स्थिति छ । चीनले प्राप्त गरेको रेमिट्यान्स राष्ट्रको आर्थिक विकासमा खर्च गरिरहेको छ ।

आफ्नै देशको कुरा गरौं । नेपालमा दिन प्रतिदिन रेमिट्यान्सको मात्रा वृद्धि हुनु सुखद कुरा होइन । रेमिट्यान्सको मात्र वृद्धि हुनुको अर्थ हामीले अन्य वस्तु उत्पादन नगरेर केवल श्रम उत्पादन गर्नु हो । त्यो श्रम बिक्री गरेर बाँच्नु हो । ज्याला मजदूरी गरेर पेट पाल्नु हो ।

हामीले हाम्रो राष्ट्रिय श्रमलाई स्वदेशमा नै उपयोग गर्नु राम्रो कुरा हो । तर गर्न सकेका छैनौं । श्रमिकहरूको अभावमा हाम्रो कृषि दयनीय स्थितिमा पुगेको छ ।

रेमिट्यान्समाथि अति निर्भरताले राष्ट्रिय अर्थतन्त्रको भविष्य अनिश्चित र असुरक्षित समेत पार्छ । कसरी ? यदि कुनै ठूलो कारणले, जस्तै युद्ध भएर, महामारी फैलिएर, श्रम निर्यात गरिने देशसँग सम्बन्ध खराब भएर नेपालले कामदारहरू विदेश पठाउन नसक्ने स्थिति आयो भने नेपालमा आम्दानीको सङ्कट उत्पन्न हुन पुग्छ । आफूले केही पनि उत्पादन नगरेर केवल श्रम मात्र बिक्री गरिरहेको स्थितिमा त्यो हुनु वा सङ्कट आउनु स्वाभाविक पनि हो ।

राष्ट्र निर्माणका लागि स्वदेशी श्रम प्रयोग गरेर चीन अहिले विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति बन्न पुगेको छ भने भारत तेस्रो ठूलो आर्थिक महाशक्ति हुने प्रयासमा छ । यी दुवै राष्ट्रले प्राप्त गरेको रेमिट्यान्स आफ्नो राष्ट्रको आर्थिक विकासमा खर्च गरिहेका छन् । हामीले सकेका छैन ।

माथि रेमिट्यान्सले ल्याउने केवल आर्थिक समस्याको मात्र कुरा गरियो । पारिवारिक, सामाजिक र मनोवैज्ञानिक समस्याको कुरा गरिएको छैन । नेपालमा रेमिट्यान्सले गर्दा कतिपय परिवार टुक्रिएको र दुःखद स्थितिमा पुगेको हामीले देखे–भोगेको कुरा हो ।

सङ्घीयता र गणतन्त्रले नेताहरूको इमान त क्षय गरेकै छ, राष्ट्रिय अर्थतन्त्रको पनि क्षय गरेको छ । राष्ट्रिय अर्थतन्त्रलाई टाउको तल र खुट्टा माथिको स्थितिमा पु¥याइदिएको छ । देशको अर्थतन्त्रलाई रेमिट्यान्समुखी पारिदिएको छ । उत्पादन केही नगरेर श्रम मात्र बिक्री गरेर बाँच्ने स्थितिमा पु¥याइदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here