- विश्वराज अधिकारी
अर्थशास्त्रीहरूले आर्थिक विकासका लागि नयाँनयाँ मोडेल तयार पार्छन् । आर्थिक विकासका लागि ती मोडेलले सहयोग पुर्याउने विश्वास पनि गर्छन् । अर्थशास्त्रीहरूका ती सोच–मोडेलहरूले काम पनि गर्छ । तर यी सबै कुरा विकसित राष्ट्रहरूको लागि हो । विकसित राष्ट्रमा नागरिकको चेतनाको स्तर ज्यादै उच्च हुने हुनाले अर्थशास्त्रीहरूका आर्थिक मोडेलहरूले प्रभावकारी किसिमले काम गर्न पाउँछन् । ती मोडलेहरूले सकारात्मक परिणाम पनि दिन्छन् । मोडेलहरूले देश र जनताको आर्थिक अवस्थामा सुधार ल्याउँछन् । देश धनी र विकसित हुन पुग्छ । फ्रान्स, ब्रिटेन, जर्मनी, निदरल्यान्ड्स, डेनमार्क, नर्वे, स्वीडेन, अमेरिका धनी भएझैं ।
केही युरोपेली राष्ट्रहरूले साझा बजारको अवधारणा विकास गरे । युरोपेली युनियन (साझा बजार) स्थापना गरे । युरोपेली युनियनका सदस्य राष्ट्रहरूको सङ्ख्या अहिले २८ छ । यो युनियनको सहयोगबाट सदस्य राष्ट्रहरूले आआफ्नो देशभित्र व्यापारको विकास गरेका छन् । राम्रो आर्थिक फाइदा उठाइरहेका छन् । तर यस्तै उद्देश्यले स्थापना भएको सार्क (SAARC– South Asian Association for Regional Cooperation) ले यस क्षेत्रको जनताको आर्थिक विकासमा केही गर्न सकेको छैन । निकम्मा भएको छ । भारत–पाकिस्तान शत्रुतापूर्ण सम्बन्धले गर्दा यो सङ्गठन अर्थहीन बन्न पुगेको छ । भारत र पाकिस्तानबीचको सम्बन्ध किन खराब छ भन्ने कुरा सर्वविदित नै छ ।
यदि समग्रतामा कुरा गर्ने हो भने संसारभरि, पूर्वको तुलनामा पश्चिमका देशका जनतामा चेतनाको स्तर ज्यादै उच्च छ । महत्वपूर्ण र मानव–जीवन उपयोगी खोज, अनुसन्धान, आविष्कार पश्चिमका राष्ट्रहरूमा हुनुले पनि यस कुराको पुष्टि गर्छ । अफ्रिकी मुलुकका जनतामा पनि चेतनाको स्तर ज्यादै दयनीय छ । दक्षिण अफ्रिकी राष्ट्रहरूमा चेतनाको स्तरको कुरा गर्दा रवान्डामा भएको त्यो डरलाग्दो जातीय सफाया वा नरसंहार तत्काल दिमागमा आइपुग्छ ।
विकासशील राष्ट्रमा आर्थिक विकासका नयाँनयाँ मोडेलहरूले काम गर्न पाउँदैन । विकासशील राष्ट्रमा जनताको चेतनाको स्तर ज्यादै दयनीय हुन्छ । जनताको चेतानको स्तर न्यून भएको हुनाले उसले छनोट गर्ने राजनीतिक नेता वा नेतृत्वकर्ता पनि अक्षम, अयोग्य, स्वार्थी हुन्छन् । नेताहरूमा शिक्षा, अनुभव, ज्ञान आदिको अति अभाव हुन्छ । सामाजिक दायित्व वहन गर्नुपर्छ भन्ने भावना पटक्कै हुँदैन । विकासशील राष्ट्रहरू गरीब हुनुको प्रमुख कारण नै जनतामा चेतनाको स्तर न्यून हुनु हो । जनचेतनाको स्तर न्यून भएको कारणले नै विकासशील राष्ट्रहरूले वर्षौं सङ्घर्ष गर्दा पनि आफ्नो मुलुकलाई गरीबीको कुचक्रबाट बाहिर ल्याउन सकेका छैनन् । नयाँनयाँ आर्थिक मोडेलहरूले काम गर्न सकेका छैनन् ।
गरीबीको कुचक्र के हो त्यसबारे छोटो चर्चा गरौं । जनतामा चेतनाको स्तर कमजोर भएकोले उसले आफ्नो स्वार्थका लागि वा अज्ञानताले गर्दा अक्षम नेतृत्व चयन गर्छ । अक्षम नेतृत्व सत्ता र शक्तिमा पुग्छ । उसले केवल आफ्नो हित र आफूलाई फाइदा हुने कार्य मात्र गर्छ । आफ्ना महŒवाकाङ्क्षाहरू मात्र पूरा गर्छ । राज्यको स्रोत तथा साधनको भरपूर उपयोग केवल आफ्नो स्वार्थ पूर्तिको लागि गर्छ । राज्यका साधनहरूको दुरुपयोग प्रचुर मात्रामा गर्छ । यसरी जनताद्वारा निर्वाचित त्यो नेतृत्वले जनता र देशलाई धनी त पार्दैन नै, उल्टो गरीब पार्छ । राष्ट्रले असल नेतृत्व नपाउँदा देश धनी हुनुको साटो उल्टो गरीब हुन पुग्छ । देश गरीब भएपछि उसले आफ्ना नागरिकलाई असल शिक्षा, सूचना, जानकारी, संस्कृति दिन सक्तैन । असल शिक्षा, जानकारी, संस्कृतिको अभावमा जनताको चेतनाको स्तर दयनीय हुन पुग्छ । चेतनाको स्तर दयनीय हुँदा जनताले पुनः अक्षम नेतृत्व चयन गर्छ । अक्षम नेता पुनः शक्ति र सत्तामा पुग्छ । अक्षम नेतृत्वले पुनः देश र जनतालाई गरीब पार्ने कार्य गर्छ । यसरी कुनै पनि राष्ट्रमा गरीबीको कुचक्रले कार्य गर्छ । गरीबीको कुचक्र भनेको एउटा खास स्थिति हो । एउटा खास समयमा पश्चिमका राष्ट्रहरू आफ्नो देशभित्र रहेको गरीबीको कुचक्र तोड्न सफल भए । पूर्वका देशहरूले भने तोड्न सकेका छैनन् ।
संसारमा त्यस्ता धेरै देश छन् जो गरीबीको कुचक्रभित्र परेका छन् । दक्षिण अमेरिकाको ग्वाटेमाला, होन्डुरस, अल्साल्भाडोर आदि राष्ट्र हुन् वा अफ्रिकाका नाइजेरिया, सुडान, सोमालिया, कंगो, रवान्डा, माली आदि सबै गरीबीको कुचक्रभित्र परेका छन् । एशियाका अफ्गानिस्तान, पाकिस्तान, नेपाल, भारत, बर्मा आदि राष्ट्र पनि गरीबीको कुचक्रमा परेका छन् ।
अफगानिस्तानको कुरा गरौं । अफगानिस्तान यस किसिमले गरीबीको कुचक्रमा परेको छ कि यो राष्ट्र आउने पचास वर्षसम्म यसबाट बाहिर आउने सम्भावना देखिंदैन । अहिलेको युगमा शिक्षालाई आर्थिक, सामाजिक र राजनीतिक विकासको सर्वाधिक महत्वपूर्ण कारक मानिन्छ । अर्थात् शिक्षाद्वारा नै सामाजिक रूपान्तरण गर्न सकिन्छ । तर अफगानिस्तान मात्र यस्तो देश हुन पुगेको छ, जसले महिला शिक्षाको विरोध गर्छ । महिलाहरूलाई स्कूल, कलेज, विश्वविद्यालय जान दिंदैन । शिक्षालय जान खोज्ने महिलाहरूलाई दण्डित गर्छ, ज्यान लिने धम्की दिन्छ । अफगानिस्तानको जनताको चेतनाको स्तर दयनीय भएको हुनाले नै अक्षम समूहको हातमा देशको नेतृत्व रहन पुगेको छ ।
आफ्नै देशको कुरा गरौं–हाम्रो देशमा जनताको चेतनाको स्तर उच्च भएको भए एउटै व्यक्ति पाँचपटक प्रधानमन्त्री हुने स्थिति आउने थिएन । पाँचौंपटक प्रम भएको व्यक्तिले आजीवन प्रम हुने (सत्ता र शक्तिमा हुने) आकाङ्क्षा राख्ने थिएन ।
अमेरिकामा कुनै व्यक्ति दुईपटक राष्ट्रपति भएमा तेस्रोपटक राष्ट्रपति हुन नपाउने व्यवस्था छ । साथै राष्ट्रपति भइसकेको व्यक्तिले राष्ट्रिय राजनीतिबाट सन्न्यास लिने वा निष्क्रिय हुने चलन छ । अझै अमेरिकामा राष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिबाट सदाका लागि बिदा भएर समाजसेवामा लाग्ने परम्परा छ । जस्तै पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले ‘कार्टर सेन्टर’ स्थापना गरेर समाजसेवा गरिरहेका छन् भने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले ‘क्लिन्टन फाउन्डेशन’ स्थापना गरेर समाजसेवा गरिरहेका छन् । जिम्मी कार्टर ९८ वर्षको उमेरमा पुग्दा पनि समाजसेवामा सक्रिय छन् । तर दक्षिण एशियाका नेताहरू एकपटक सत्ता र शक्तिमा पुगेपछि सदाकाल सत्ता र शक्तिमा रहन खोज्छन् । त्यसका लागि अनेक दाउपेच गर्छन् । गाउँबाट निर्वाचित भएर शहर पुग्छन् । शहर पुगेपछि राजधानी शहर पुग्छन् र आजीवन राजधानी शहरमैं बस्छन् । आफू निर्वाचित भएर आएको गाउँमा कहिले पनि फर्केर जाँदैनन् । देउवा, झलनाथ खनाल, माधव नेपाल, ओली, पुष्पकमल दहाल आदि के आफ्नो क्षेत्रमा पुगेर, आफूलाई स्थानीय विकासमा समर्पित गर्लान् ?
जागरुक, प्रगतिशील, चेतनशील र बौद्धिक समाजले नै इमानदार र असल नेतृत्व उत्पादन गर्छ । देशले इमानदार र असल नेतृत्व पाएपछि मात्र मुलुकको आर्थिक, सामाजिक विकास हुन्छ । पाकिस्तानको समाज परम्परागत रहेकोले नै त्यहाँ सेनाले लामो समयदेखि शासन गरिरहेको छ । बाहिरबाट हेर्दा देशमा प्रजातन्त्र भए तापनि भित्र भने जनप्रतिनिधिहरूले होइन, सेनाले देशको शासन व्यवस्था आफ्नो हातमा लिएको स्थिति छ । भारत र पाकिस्तान एकैपटक स्वतन्त्र भएका राष्ट्र हुन् । भारतको आर्थिक स्थिति दिन प्रतिदिन मजबुत (पाकिस्तानको तुलनामा) हुँदै गएको छ भने पाकिस्तान यथास्थितिमैं छ । त्यस्तो किन भएको होला ? किनभने तुलनात्मक रूपमा भारतीय समाज पाकिस्तानी समाजभन्दा प्रगतिशील छ । जागरुक छ ।
हाम्रो नेपालमा जनताको चेतनाको स्तर उच्च नभएकोले नै केही नेता पटक पटक निर्वाचित भएका छन् । उनीहरूले आजीवन राजनीति गर्ने र सदा शक्ति र सत्तामा बस्ने मौका पाएका छन् । नेपालको राष्ट्रिय राजनीति केवल पाँच–सात नेताको वरिपरि घुमिरहने स्थिति हाम्रो चेतनाको स्तर र खास सामाजिक मनोविज्ञानले गर्दा हो ।
हाम्रो चेतनाको स्तर कमजोर भएको हुनाले नै एउटा नेता आउँछ, हामीलाई त्यो हाम्रो शत्रु हो भन्छ । त्यो शत्रुलाई नाश पारौं भन्छ । हामी त्यसै नेताको पछि लागेर उसले भनेको शत्रुलाई नाश पार्नतिर लाग्छौं । उसले शत्रु भनेको व्यक्ति वा वर्गलाई समाप्त पार्न आफ्नो ज्यान दिन्छौं । तर आश्चर्य के भने, जसलाई त्यो हाम्रो शत्रु हो भनेर नेताले देखाएको हुन्छ, पछि त्यही शत्रुसँग मिल्न पुग्छ । अहिले हाम्रो राष्ट्रिय राजनीतिको प्रकृति र संस्कृति यस्तै हुन पुगेको छ ।
एउटा नेता आउँछ र हामीलाई भन्छ–“यी शोषक, दलाल र निरङ्कुशहरूलाई समाप्त पारौं । आर्थिक समृद्धिका लागि देशमा सङ्घीयता र गणतन्त्र ल्याऔं ।” हामीलाई त्यस नेताको भनाइ ठीक लाग्छ । १७ हजारभन्दा बढीको ज्यान दिएर हामी त्यो नेताको अभियानमा लाग्छौं । पछि त्यो नेता तिनै शोषक, दलाल र निरङ्कुशहरूको असल मित्र बन्न पुग्छ ।
समस्याको बयान गरेर मात्र हुँदैन, समाधान पनि दिन सक्नुपर्छ । हाम्रो समस्याको समाधान के हो भने स्थानीय स्तरमा गाउँगाउँ, शहरशहरमा शिक्षाको विस्तार र विकास गरौं । मतदाताहरूलाई जागरुक र चेतनशील तुल्याएर उनीहरूले असल प्रतिनिधि निर्वाचित गरेर पठाउने वातावरण सृजना गरौं । जनतामा चेतनाको स्तर उच्च नभएसम्म, सामाजिक मनोविज्ञान सकारात्मक नभएसम्म असल जनप्रतिनिधि निर्वाचित हुने वातावरण तयार हुँदैन । र असल जनप्रतिनिधि निर्वाचित नभएसम्म देशको आर्थिक विकास सम्भव छैन । यी सन्देशहरू हरेक मतदातासम्म पुर्याऔं ।