- अनन्तकुमार लाल दास
पछिल्लो केही दशकमा नयाँ–नयाँ कैरियरका सम्भावना थपिंदै गएको र सँगसँगै आम्दानीका स्रोतहरूमा पनि वृद्धि भइरहेको छ । उदारीकरण, वैश्वीकरण र प्रविधिको विकासले कैरियरको विकल्प वृद्धि हुँदा राम्रो शिक्षक वा कर्मचारी कुनै पनि निजी विद्यालय–संस्था छोडेर अर्को निजी विद्यालय वा संस्थामा आउनेजाने क्रम बढेको छ । यस परिस्थितिमा विद्यालय वा संस्थाले अनुभवहीन युवालाई भर्ती गर्छ । केही महीना वा वर्ष काम गरेर अनुभव हासिल गरेपछि उनीहरू पनि काम छोडेर जान्छन् । परिणामस्वरूप विद्यालय वा संस्थाले शिक्षक–कर्मचारी तयार गर्न गरेको निवेश खेर जान्छ र काम गर्ने कर्मचारीको अभावमा संस्था वा विद्यालयको कार्यक्षमतामा प्रतिकूल प्रभाव पर्छ । शिक्षक होस् वा कर्मचारी, उनीहरू कैयन कारणले जागीर त्यागेर जान्छन् । पहिले ती कारण खोतल्नु आवश्यक छ, अनि मात्र राम्रो कर्मचारी वा शिक्षकलाई संस्थासँग बाँधेर कसरी राख्ने बुझ्न सकिन्छ ।
हुनत विद्यालय व्यवस्थापक वा संस्थाप्रमुखको व्यवहार, न्यून तलब, कैरियरको प्रशस्त सम्भावना, शिक्षक/कर्मचारीले गरेको कार्यले प्रोत्साहन नपाउनु, योग्यता र डिग्री अनुसार काम नभेटिनु, पदोन्नतिको अभाव, समयमा तलब नपाउनु, कर्मचारीहरूबीच आपसी विवादजस्ता कैयन कारणले शिक्षक/कर्मचारी चाहँदा नचाहँदै संस्थाको सदस्यता त्यागेर जान्छन् । राम्रो शिक्षक वा कर्मचारी संस्थालाई छोडेर नजाऊन् भन्ने कुरा समय छँदै बुझेर समाधान गर्नुपर्छ । अन्यथा ‘तब पछताए का होत है, जब चिडिया चुग गई खेत’ भन्ने हाल हुन्छ । प्रस्तुत आलेखमा के गर्दा राम्रो शिक्षक–कर्मचारीलाई संस्थामैं रोक्न सकिन्छ भन्ने बहसको उठान गर्न मात्र खोजिएको छ ।
कुनै पनि संस्थाको प्रतिष्ठा, त्यहाँ कार्यरत कर्मचारीलाई जोगाइराख्नु, संस्थाको कार्यप्रणाली, व्यवस्थापकको व्यवहार तथा कार्यशैलीमा निर्भर गर्दछ । केही मानिसमा बढी अहम् हुन्छ । यदि अधीनस्थ कर्मचारी बढी प्रतिभावान् छ भने उसलाई प्रमुखको अहम्ले उसलाई हतोत्साहित गर्ने काम गर्छ । यस्ता व्यक्ति यदि व्यवस्थापक वा प्रमुख छ भने त्यो संस्था वर्तमान परिवेशमा कहिल्यै प्रगति गर्न सक्दैन । प्रविधिको विकास तथा प्रतिस्पर्धाको यस युगमा एकाधिकारको नीति लिएर कोही पनि अघि बढ्न सक्दैन । यस कारण संस्था प्रमुखको व्यवहार शिक्षक/कर्मचारीप्रति मित्रतापूर्ण र सौम्य हुनुपर्छ । अन्यथा विकल्पको कमी नभएकोले उनीहरू संस्थामा बस्न रुचाउँदैनन् । कर्मचारीको असन्तोषको कारण थाहा भएर पनि यदि संस्था प्रमुख सतर्क छैनन् भने असल कर्मचारी गुमाउँछन् । यदि कुनै कर्मचारी व्यवहारजन्य कारणले गइरहेका छन् भने तुरून्त ऊसँग कुरा गर्ने र उसको असन्तुष्टिको कारण हटाउने प्रयास गर्नुपर्छ । यदि असन्तोषको निवारण संस्था प्रमुखको हातमा छैन भने उसलाई सान्त्वना दिएर तत्काल माथिल्लो निकायलाई जानकारी गराउनुपर्छ ।
धेरैजसो मानिस कैरियरको राम्रो विकल्पले गर्दा संस्था त्याग्छन् । यस परिवेशमा संस्थाले प्रतिभावान् शिक्षक/कर्मचारीलाई अघि बढ्ने अवसर पाउने खालको नीति बनाउनुपर्छ । धेरैजसो संस्थाले कसैलाई जागीर दिएपछि उसमाथि उपकार गरेको ठानेर उसको पदोन्नतिमा ध्यान दिंदैनन् । यस परिस्थितिमा उसलाई विस्तारै उकुसमुकुस हुन थाल्छ र ऊ अर्को बाटो खोज्न थाल्छ । कुनै पनि संस्थामा बोनस, भत्ता, तलब वृद्धि र पदोन्नतिबारे प्रस्ट नीति–नियम हुनुपर्छ सँगसँगै नीति लागू गर्ने तत्परता पनि हुनुपर्छ । यदि कुनै कर्मचारीमा विशिष्ट प्रतिभा छ भने संस्थाद्वारा निर्धारित नियममा छुट दिएर पनि उसलाई अघि बढ्ने अवसर प्रदान गर्नुपर्छ । ऊर्जावान् वर्तमान पुस्ताले कुनै पनि काम तीव्रताका साथ गर्छ र आफूलाई स्थापित गर्न खोज्छ । साथै राम्रो प्रोत्साहन र बढी तलब पाउने आशा पनि राख्छ ।
प्रायः हरेक संस्थामा पुरानै तलब दर कायम हुन्छ जसलाई समयानुसार संशोधन गर्नुपर्ने हुन्छ किनभने आज महँगीको दर दिन प्रतिदिन बढिरहेको छ । यस कारण तलब दरमा पनि समयानुसार यथोचित संशोधन गरिराख्नुपर्छ । आधुनिक युग आर्थिक युग हो । यस युगमा हरेक व्यक्ति जुनसुकै काम गर्दा त्यसमा कति फाइदा हुन्छ भन्ने सोच्दछ । बढीभन्दा बढी लाभ हासिल गर्ने उसको चाहना हुन्छ । हुनत आज पनि यस्ता मानिस भेटिन्छन्, जो अर्थभन्दा कामलाई बढी महत्व दिन्छन् तर यस्ता मानिसको सङ्ख्या थोरै छ । यसको अर्थ के पनि होइन भने कर्मचारीले पनि माग राख्दा त्यसको पूर्ति गर्नैपर्छ, तर बजार र संस्थाको आर्थिक स्थिति अनुसार तलबमा समयानुसार संशोधन गरिराख्नुपर्छ ।
धेरैजसो शिक्षक/कर्मचारी संस्थाको लागि मरिमेटी काम गर्छन् तर उनीहरूले गरेको कामको सराहना हुँदैन । यस्तो कर्मचारी जब अन्य संस्थामा आफ्नो साथीलाई भेट्न पुग्छ त्यहाँ आफ्नो तुलना गर्दा निराश हुन्छ । संस्था प्रमुखले के सोच्नुपर्छ भने मात्र तलबको आधारमा कुनै कर्मचारीलाई रोक्न सकिन्न । यस्तो परिवेशमा त्यो जाँगरिलो कर्मचारी के सोच्न थाल्छ भने संस्थाको लागि आखिर बढी काम किन गर्ने ? कुनै पनि संस्थामा कोही त्यस बेला मात्र काम गर्न मन पराउँछ, जब उसले गरेको कामलाई बुझ्ने त्यहाँ कोही हुन्छ र उसले गरेको कामको कसैले प्रशंसा गर्छ । अन्यथा शिक्षक वा कर्मचारीविशेष संस्था छोड्न बाध्य हुन्छ ।
धेरैजसो कर्मचारी कुनै संस्थासँग जोडिएपछि त्यहाँ यदि काम र योग्यतामा भेदभाव देख्छ भने उसमा असन्तोष उत्पन्न हुन्छ । यदि संस्था तथा कर्मचारीको सहमतिले यस्तो भएको छ भने पनि उचित योग्यताको आधारमा उचित कार्य वा उत्तरदायित्व सुम्पिनुपर्छ । यहाँ योग्यताको अर्थ मात्र डिग्री होइन । तर पनि यदि कुनै कर्मचारीमा असन्तोष देखा पर्छ भने त्यसको समाधान तत्काल गर्नुपर्छ । हुनत यस प्रकारको विवाद हुनु स्वाभाविक हो, तर त्यसको समाधान आपसी छलफलबाट गर्न सकिन्छ । संवादको कमीले असन्तुष्टिमा वृद्धि हुन्छ र कर्मचारी संस्था त्याग्न बाध्य हुन्छ । यहाँ संवादको अर्थ के पनि होइन भने संस्था प्रमुखले मात्र बोल्ने र कर्मचारीले सुन्ने । कर्मचारीको कुरा पनि संस्था प्रमुखले सुन्नुपर्छ ।
जहाँ दुईजना बस्छन् त्यहाँ आपसी विवाद र असन्तोष हुनु स्वाभाविक पनि हो । घरमा त कहिलेकाहीं विवाद हुन्छ भने कुनै संस्थामा विवाद हुनु स्वाभाविक नै हो । एक आपसमा संवादको कमीले गर्दा विवाद झगडामा परिणत हुने सम्भावना हुन्छ । राम्रो त के हुन्छ भने यस्ता विवादहरूको समाधान सँगै बसेर गर्नुपर्छ । जहाँ धेरै मानिस हुन्छन् त्यहाँ उनीहरूको विचार, स्वभाव, बानी, संस्कार र व्यवहारमा भिन्नता हुनु स्वाभाविक हो । यस प्रकारको भिन्नताले गर्दा विवाद हुने गर्छ तर यदि समय छँदै समाधान गरिएन भने सङ्घर्षको स्थिति उत्पन्न हुन सक्छ । यस कारण बैठक वा बेग्लै बसेर विवादलाई प्रस्ट पार्नु आवश्यक हुन्छ । यस्ता विवादहरूको समाधान गर्ने धेरै तरीका छन् । वास्तवमा कामको कमी वा कामको बोझले गर्दा यस्ता विवाद हुने गर्छन् । यसबाहेक एउटा अर्को कारण के पनि छ भने जब कर्मचारी वा अधिकारी एक अर्काभन्दा आफूलाई श्रेष्ठ ठान्छन् त्यस बेला पनि विवाद हुन्छ । यस परिस्थितिमा एक अर्काको विचारलाई सम्मान दिनु मात्रले यस प्रकारको विवादको हल हुन्छ । यसबाहेक एउटा अर्को समाधान के पनि हो भने संस्थाको वातावरण सृजनात्मक र रचनात्मक भएपछि शिक्षक/कर्मचारी नयाँ–नयाँ कुरो सिक्ने र नयाँ ज्ञानको सिर्जना गर्न आफ्नो समयको सदुपयोग गर्छन् । विवाद भए तापनि एक अर्कालाई क्षमा गर्नु र धैर्य गुमाउनुहुँदैन । अनि मात्र उन्नतिको नयाँ बाटोको निर्माण हुन्छ र सँगसँगै कर्मचारी र संस्था पनि अघि बढ्छ । अर्थात् टीम वर्क, सहयोग र समन्वयको साथ काम गर्न सिक्नुपर्छ ।
अन्त्यमा एउटा रोचक कथा अनुसार एउटा विद्यार्थी गणितको सवाल हल गर्न नसकेको कारण परेशान थियो । निरन्तर प्रयासपछि थाकेर निदायो तर उसको अवचेतन मन पटक–पटक त्यही सवालको हल खोज्नमा व्यस्त थियो । अचानक उसलाई शास्त्रमा लेखिएको एउटा देवदूतको स्मरण हुन्छ जो कुनै पनि समस्याको हल सजिलै गर्न सक्छ । उसले त्यस देवदूतलाई गुहार लगाउँदा उनी प्रकट भए र जुन सवाललाई निरन्तर प्रयास गर्दा पनि हल गर्न सकेको थिएन, त्यो सवाल हल भइसकेको थियो । सवालको हल पाएर ऊ अचम्ममा पर्छ कि कसरी यो सवाल हल भयो । त्यस सवालको हल हेर्दाहेर्दै उसले के सोच्यो भने सबै सवालको हल यसैगरी भइदिने हो भने ठूलो सङ्कट टल्थ्यो । उसले जसरी यो सोचेको थियो त्यसैगरी उसका सबै सवाल हल भए । अब त्यस विद्यार्थीले के सोच्यो भने कहीं देवदूत यी सवालहरू हल गर्नुको बदलामा कुनै शुल्क त माग्दैनन् ? त्यसै बेला देवदूतले सवाल हल गरेबापत मेरो शुल्क कहाँ छ भनेर सोधे ? विद्यार्थी डरले काम्न थाल्यो । यस कथाको भावार्थ के हो भने हामी मनमा जस्तो कुरो खेलाउँछौं, त्यस्तै हाम्रो व्यवहार पनि हुन जान्छ । यदि हाम्रो सोच सकारात्मक छ भने हाम्रो शरीरको सम्पूर्ण ऊर्जा कुनै पनि समस्याको हल गर्नमा लागिपर्छ । यदि हामी नकारात्मक सोच्छौं भने हाम्रो शरीर पनि त्यस विद्यार्थीजस्तै काम्न थाल्छ । कुनै पनि संस्था वा संस्था प्रमुखले विचार पुर्याउनेपर्ने मूल कुरो यही हो ।