- अनन्तकुमार लाल दास
माध्यमिक शिक्षा परीक्षा शुरू हुन अब एक महीना दश दिन मात्र बाँकी छ । यसको तयारीका लागि विद्यालयहरूले लिने आन्तरिक तयारी परीक्षा पनि सकिसकेको छ । विद्यार्थीहरू अब विद्यालयमा अनुपस्थित हुन थालेका छन् । विद्यालयहरूले विद्यार्थीहरू के गरिरहेका छन् भन्ने कुरा उनीहरूकै विवेकमा छाडिदिएका छन् । शिक्षकहरू पनि कक्षा लिन नपरेकोमा खुशी छन् । तर केही विद्यालय विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षामा राम्रो ग्रेड हासिल गरून् भनेर अझै पनि लागिपरेका छन् । अभिभावक आफ्नै जनजीविकामा व्यस्त छन् । उनीहरू विद्यार्थीहरूको इच्छापूर्ति गरिदिने दायत्विसम्म सीमित छन् । तर विद्यार्थीहरूको लागि यो समय पाकेको आँप जस्तै हो, जुन हुरी–बतास वा पानी परिदिएमा खेर जान सक्छ । यसर्थ यस आलेखमार्फत विद्यार्थीहरूलाई जगाउने प्रयास गरिएको छ र सँगसँगै सबै पक्षलाई सचेत गर्न पनि खोजिएको छ, किनभने प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा अगावै यस्ता क्रियाकलाप तीव्र हुन थाल्छन् जसले विद्यार्थीहरूको मनोबल खसाउने काम गर्छ ।
सफलताको बाटो सानो हुँदैन । यस कारण माध्यमिक शिक्षा परीक्षामा, चाहेजस्तो सफलता हासिल गर्नका लागि विद्यार्थीहरूले सबैभन्दा पहिले स्व–अध्ययनलाई बढी महत्व दिनुपर्छ । यो स्वयंलाई सिकाउने यस्तो प्रक्रिया हो, जसले विद्यार्थीहरूको बुझाइलाई प्रस्ट पार्छ । परिवार, समाज र आफ्नै अपेक्षाले ग्रसित आजका विद्यार्थीहरूको मनभित्र अनेकौं प्रश्न उब्जिरहेका हुन्छन् । ती प्रश्नहरूको सही जवाफको अभावमा उनीहरू दिग्भ्रमित हुने सम्भावना बढी हुन्छ । अर्कोतिर आजका धेरै विद्यार्थीहरू विद्युतीय कुलतका शिकार भएका छन् । उनीहरूको बढी समय विद्युतीय उपकरणले अपहरण गरिसकेको छ र उनीहरूलाई यसबाट बाहिर कसरी आउने भन्ने थाहा पनि छैन । यस परिवेशमा यदि अभिभावकले घरमा र शिक्षकले विद्यालयमा उनीहरूमाथि समय खर्च गरेनन् भने उनीहरूको परीक्षाफल बिग्रने सम्भावना बढी हुन्छ ।
त्यहीं अर्कोतिर यदि विद्यार्थीहरूले विद्युतीय उपकरणको सदुपयोग अर्थात् पढ्नको लागि गर्न थाले भने आश्चर्यजनक परिणाम आउने सम्भावना पनि छ । यसर्थ घरमा अभिभावकले, विद्यालयमा शिक्षकले उनीहरूलाई यसको सदुपयोग कसरी गर्ने भन्ने सिकाउनु आवश्यक छ । त्यहीं के पनि देखिएको छ भने विद्युतीय उपकरणको सदुपयोगले उनीहरूको क्षमता र सीपको विकास गर्न सहयोगी भूमिका निर्वाह गर्छ । विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने यो परीक्षाको तयारी गर्ने समय हो । यस समयमा व्यर्थको चिन्ता, तनाव र बेचैनी त्यागेर आफ्नो परीक्षाको तयारी गर्नुपर्छ । तनाव मुक्त भई राम्ररी तयारी गर्ने विभिन्न तरीका छन् । ती तरीकाबारे एक आपसमा छलफल गर्नुपर्छ । अभिभावक र शिक्षकहरूले पनि यस कार्यमा सक्रिय भई उनीहरूलाई सक्दो सहयोग गर्नुपर्छ । विद्यार्थीहरूले के कुरो विशेषरूपले ध्यानमा राख्नुपर्छ भने जबसम्म परीक्षा समाप्त हुँदैन, मस्तिष्कमा व्यर्थको कुरो पस्न नदिन आफूलाई सामाजिक सञ्जाल र टेलिभिजनबाट टाढा राख्नुपर्छ । यो यस कारणले कि सचेत मनले पढेको कुरा लामो समयसम्म याद रहन्छ र समयको सदुपयोग पनि हुन्छ ।
विद्यार्थीहरूले बुझ्नुपर्ने कुरा के हो भने बेग्लाबेग्लै विषय पढ्नका लागि एउटा समयतालिका अवश्य निर्माण गर्नुपर्छ र सोही अनुसार पढाइ गर्नुपर्छ । सँगसँगै समयानुसार ब्रेक लिनु पनि आवश्यक हुन्छ । समयतालिका सँगसँगै विद्यार्थीहरूले आफ्नो पढाइको लागि निश्चित समय निर्धारण गर्नुपर्छ । मानिसहरूको भनाइ अनुसार बिहानको समय कुनै पनि कुरा याद गर्ने उपयुक्त समय हो र सन्ध्याको समय त्यसको अभ्यास गर्दा बढी फाइदा हुन्छ । यसरी पढाइ गर्दा दीर्घ कालसम्म स्मरणमा रहिरहन्छ । विद्यार्थीहरूले के बिर्सनुहुन्न भने परीक्षा महत्वपूर्ण अवश्य हो, तर जीवनभन्दा बढी महŒवपूर्ण होइन । यो पढाइको एउटा अंश मात्र हो । विद्यार्थीहरू परिश्रम र लगनका साथ पढ्दा अवश्य नै सफल हुन्छन् किनभने हरेक विद्यार्थी योग्य हुन्छन् । आवश्यकता मात्र ध्यान दिएर पढ्नु हो ।
यदि विद्यार्थीहरू सफल हुन चाहन्छन् भने अहिले पनि ढिलो भएको छैन । हाम्रो हातमा एक महीनाभन्दा बढी समय बाँकी छ । यसो भनिरहँदा पनि विद्यार्थीहरू त्यस बेलासम्म पढ्दैनन् जबसम्म उनीहरूको भित्री मनबाट पढ्ने इच्छा हुँदैन । धेरैजसो विद्यार्थीहरूको चिन्ता के हो भने अहिलसम्म त मौजमस्ती गरे, मोबाइलमा आफ्नो समय खर्चे, अब के गर्ने ? विद्यार्थीहरूले यो कुरा सोचेर डराउने वा परेशान हुने कुनै आवश्यकता छैन । उनीहरूले मात्र आफूलाई मोबाइलबाट राखेर अब गर्ने परिश्रम र स्वयंमाथि सफल हुने विश्वास राखेर पढाइमा जुट्नुपर्छ । पढाइको लागि चाहिने सबै आवश्यक कुरा जम्मा गर्नुपर्छ । समय तोकेर पढाइ शुरू गरिहाल्नुपर्छ । विद्यार्थीहरूले आफ्नो कक्षा वा कोचिड्ढो नोट्सबाट पढ्नुपर्छ । यसरी पढ्दा कोर्स छिट्टै सकिन्छ र मनको शङ्का पनि हट्छ । केही यस्ता पनि विद्यार्थी हुन्छन् जो प्रतिदिन पढ्दैनन् । यस्ता विद्यार्थीहरूले दिनमा मात्र २–३ घण्टादेखि पढाइ प्रारम्भ गरेर, पछि पढ्ने समय बढाउन सक्छन् । समयानुसार विषयगत महŒवपूर्ण कुरामा ध्यान दिन सक्छन् । यसका साथै विद्यार्थीहरूले स्वयंलाई के विश्वास दिलाउनुपर्छ भने उनीहरू यसभन्दा पनि बढी राम्रो गर्न सक्छन् । परीक्षाको लागि बाँकी रहेको दिन ध्यानमा राखेर आफ्नो इच्छाशक्ति बलियो बनाएर विद्यार्थीहरूले विषयगतरूपमा छनोट गरिएका परीक्षाको दृष्टिले महŒवपूर्ण कुराहरू पढ्दा अवश्य सफल हुइन्छ ।
परीक्षामा राम्रो प्रदर्शनका लागि बाँकी रहेको दिनमा कुनै नयाँ कुरा सिक्न व्यतीत नगरी पढेका कुराहरू रिभिजन गर्नु आवश्यक छ किनभने यसबाट सम्बन्धित विषयमा कतिको दक्ष्ता छ भन्ने कुरा थाहा हुन्छ र नयाँ कुरा सिक्न समय पनि खेर जाँदैन । कुनै एउटा परीक्षाको लागि बनाइएको रिभिजन स्ट्रेटेजी कुनै अर्को परीक्षाको लागि पनि त्यतिकै राम्रो हुन्छ भन्ने छैन, तर केही विशेष तरीका रिभिजन गर्नु धेरै जरूरी छ । जस्तै त्यस विषयको पढाइको विशेष खाँचो हुन्छ जसको सिकाइ अत्यन्त आवश्यक छ । त्यस विषयलाई सरल बनाउनुका लागि जवाफ र सम्बन्धित विषय देखाउन बुलेट नम्बरिङ, विशेष प्रतीक वा माइन्ड मैपिङ अर्थात् डायग्राम उपयोग गर्न सकिन्छ । के गर्दा राम्रो हुन्छ भन्ने कुरा आफ्नो हिसाबले निर्धारित गर्न सकिन्छ । रिभिजन गर्दा सबैभन्दा महत्वपूर्ण कुरा शान्त र सकारात्मक हुनु हो । यसरी रिभिजनबाट आफ्नो कमजोरी थाहा पाउन सकिन्छ जसले पछिको रणनीति तयार गर्न सघाउँछ ।
परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने विद्यार्थीहरूले सबै विषयमा उनीहरूले मन पराएको पाठ र विषय सबैभन्दा पहिले पढ्नुपर्छ । यसबाट उनीहरूको मन पढाइतिर आकर्षित हुन्छ र आत्मविश्वास बढ्छ ।
यस्तो बेला विद्यार्थीहरूले स्वस्थकर र सन्तुलित आहार लिनुपर्छ । केही बेर शारीरिक व्यायाम वा मेडिटेशन गर्नुपर्छ जसले शारीरिक र मानसिक फिटनेस जोगाइराख्छ । यस बेला खासगरी जङ्क फूड, बढी चीनी भएका उत्पाद वा कैफिनबाट बच्ने सल्लाह चिकित्सकहरूले दिएका छन् किनभने यस्ता खानेकुराले हाम्रो शरीरलाई थकाउने काम गर्छ र पढाइमा ध्यान केन्द्रित हुन दिंदैन । विद्यार्थीहरूले आफूलाई जति व्यवस्थित राख्न सक्छन् सफलताको सम्भावना पनि त्यतिकै बढी हुन्छ । यस कारण विद्यार्थीहरूले रिभिजनको लागि एउटा निश्चित कार्यतालिका बनाउनुपर्छ अर्थात् प्रत्येक दिन एउटा निश्चित समयमा रिभिजन प्रारम्भ गरेर समाप्त गर्ने बानी बसाल्नुपर्छ । प्रयास एकाबिहानै रिभिजन गर्ने हुनुपर्छ किनभने यस समय मस्तिष्क ताजा हुन्छ, हाम्रो इन्द्रियहरूसँग पनि खास काम हुँदैन अर्थात् सजिलै पढाइप्रति ध्यान एकाग्र हुन्छ ।
हुनत परीक्षा शब्द नै विद्यार्थीहरूमा भय उत्पन्न गर्न पर्याप्त हुन्छ । अर्कोतिर हामीसबै आआफ्नै किसिमले परीक्षाको तयारी पनि गर्छौं तर सो अनुरूप परीक्षा दिदैनौं । हुनु पर्ने के हो भन प्रारम्भदेखि नै हरेक विषयमा ध्यान दिंदा परीक्षा दिंदा तनाव हुँदैन र परीक्षामा पनि राम्रो ग्रेड सजिलै हासिल गर्न सकिन्छ । तर केही साता मात्र परीक्षाको तयारीका लागि बाँकी रहेको हुनाले ‘मूड’ अनुसार तयारी सम्भव नभएकोले जबर्जस्ती पढाइ गर्ने बानी बसाल्नुपर्छ । प्रायः के देखिएको छ भने ९० प्रतिशत विद्यार्थी परीक्षा हुनुभन्दा केही साता पहिलेदेखि पढ्न शुरू गर्छन् । यसो गर्दा कम समयमा बढी पढाइ गर्नुपर्ने हुन्छ । यस अवधिमा प्रत्येक विषयको सन्तुलित अभ्यास गर्नुपर्छ । प्रत्येक दिन वा प्रत्येक साता शिक्षक, मन मिल्ने साथी वा स्वयं अभ्यास परीक्षा दिइराख्नुपर्छ र विषयगत शिक्षकको सम्पर्कमा रही समस्याको समाधान तुरून्त गर्नुपर्छ । विद्यार्थीहरूले यहाँ ध्यान दिनुपर्ने अर्को कुरा के हो भने घरमा परीक्षा दिन ठीक त्यही बेला बस्नुपर्छ, जति बेला वास्तविक परीक्षा हुन्छ । यसो गर्दा सबैभन्दा ठूलो फाइदा के हुन्छ भने तपाईंको जैव–घडी स्वतः त्यस बेला परीक्षा दिन तयार हुन्छ र परीक्षाको दिन मानसिकरूपले तयार हुन खासै समस्या हुँदैन ।
यहाँ विद्यार्थीहरूले के बुझ्नुपर्ने हुन्छ भने परीक्षाको दृष्टिले मात्र अध्ययन गर्नु सबैथोक नभई हस्तलेखन र सही तरीकाले जवाफ लेख्ने ढङ्ग पनि आवश्यक छ । यसरी ध्यान दिंदा तपाईंको जवाफले अन्यको तुलनामा परीक्षकको ध्यान आकर्षित गर्छ । यो कला जो कोहीले पनि सिक्न सक्छ तर यसको लागि केही बढी अभ्यास आवश्यक पर्छ । परीक्षाको तयारी गर्दा ब्रेकमा विद्यार्थीहरूले कसैको जीवनमा आधारित लघु फिल्म हेर्नुपर्छ । उनीहरूले गरेको सङ्घर्ष हेरेर मनमा जीत हासिल गर्ने उम्मीद पैदा हुन्छ र तपाईं तनावमुक्त भई परीक्षाको तयारी गर्न सक्नुहुन्छ । कुनै पनि काम गर्दा चाहे त्यो पढाइ नै किन नहोस्, निरन्तरता अत्यन्त आवश्यक हुन्छ, किनभने यसले हामीलाई असम्भव कुरोलाई सम्भव बनाउन सहयोग गर्दछ । यहाँ विद्यार्थीहरूले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने कुनै पनि परीक्षा अन्तिम परीक्षा नभई एउटा मापदण्ड मात्र हो जसबाट हामीले आफ्नो तयारीको मूल्याङ्कन गर्न सक्छौं । जीवनमा अझ कैयन परीक्षा दिन बाँकी छ । यदि हामी एउटै परीक्षाबाट डराउन थाल्यौं भने यो हाम्रो लागि सही होइन । परीक्षा र समस्या हाम्रो जीवनका अभिन्न अङ्ग हुन् र यसबाट नै हाम्रो व्यक्तित्वलाई एउटा विशेष पहिचान हासिल हुन्छ । अन्त्यमा परीक्षा दिने सबै विद्यार्थीहरूलाई सफलताको अग्रिम शुभकामना दिंदै के भन्न चाहन्छु भने ‘जाग विद्यार्थी जाग, जति कठिन सङ्घर्ष हुन्छ, जीत पनि त्यतिकै शानदार हासिल हुन्छ ।’