- सञ्जय मित्र
जाडोले उकुसमुकुस भइरहेको छ जनजीवन । यसैमा लेखपढ गर्नुपर्नेछ । कामको धपेडी छुट्टै छ । अनि विद्यालयमा चर्चा चल्न थाल्छ सरस्वती प्रतिमा किन्ने ।
एकैछिनको बसाइमा शिक्षकहरूले आफूखुशी यति दिन्छु भन्दै एउटा कागजमा कबोल गरिहाल्छन् । तत्काल करीब पचहत्तर हजार आउने भयो । एक दुई बाँकी शिक्षकलाई फोन गरेर एक लाख रुपियाँको जोहो हुन्छ । तत्काल पैसा तिर्नुपर्दैन । कल्याण कोषबाट निकालेर दिने र पछि तलब आएपछि तिर्नुपर्ने सहुलियत हुन्छ ।
मन्दिर तयार छ । रौतहटको गरुडास्थित श्री नमुना माध्यमिक विद्यालयमा सरस्वती मन्दिर तयार भइसकेको छ । गजुर र मूर्तिविना मन्दिर निष्प्राण देखिन्छ । सरस्वती पूजा आउनै लागेको छ र यस वर्ष जसरी पनि वसन्त पञ्चमीका दिन सरस्वती पूजा यही मन्दिरमा गर्नुपर्नेछ ।
छिमेकी गाउँ जिंगडियामा बनारसबाट सरस्वती प्रतिमा ल्याइएको छ । प्रतिमा निकै राम्रो छ । सर्वत्र प्रशंसा भइरहेको छ । यसैले मन्दिरमा सरस्वती प्रतिमा बनारसबाटै ल्याउँदा राम्रो हुने रायमा सबै शिक्षक एकमत छन् र मौजेलाल राय यादवको नेतृत्वमा बनारस जाने करीब तय हुन्छ ।
मलाई पनि जान भन्छन् तर म बनारस नजाने बरु जयपुर जाने भए जान्छु भन्छु । जयपुर कहिल्यै नगएको ठाउँ हो, यसैकारण नयाँ ठाउँ डुल्न पाइन्छ भन्ने तर्क पनि गर्छु । बनारस यस अघि दुईपटक डुलिसकेको छु, यसकारण मलाई खासै रुचि छैन ।
बिहीवारको दिन माघ १२ मा सरस्वती पूजा छ । आज ५ माघ हो । अहिले बिहानको करीब सवा छ बजेको छ । म आफ्नो साधना कक्षमा कम्प्युटरमा टाइप गरिरहेको छु एउटा आलेख । शनिवार प्रकाशित हुनुपर्नेछ प्रतीक दैनिकको वाटिकामा । किशुनदयाल श्रीकृष्णले ह्वाट्सएपमा फोन गर्छन् र फोन रिसिभ गर्दा अभिभादनसँगै देखिने दृश्य मेरै घर अगाडिको हो । बोली मोबाइलबाट पनि सुनिन्छ र बाहिरबाट पनि । घरैमा आएर फोन गरेका छन् ।
यसको अर्थ म अब नगई हुन्न । ढोका खोल्छु र लिएर आउँछु । अब त जानैपर्ने भयो । किशुन सर बनारस जान तम्तयार भएर आएका छन् । भन्नुको तात्पर्य उनी झोलासोला बोकेर आएका छन् बनारसको लागि । सोधें–‘गाडी कति बजेतिर छ ?’
‘दश बजे ।’
अनि थप्छन् – म खाना यहीं खान्छु । यहींबाट खाना खाएर यात्रा गर्ने हो । मैले आग्रह गरें – मलाई छुट्टी चाहियो । आज मैले एउटा बैठक बोलाएको छु । कम्तीमा अध्यक्षज्यूलाई तपाईंले नै फोन गरेर मलाई छुट्टी मिलाइदिनुहोस् ।
उनले फोन गरे र मलाई छुट्टी मिलाइदिए । यसरी विनापूर्वतयारी र जाने मनसाय नहुँदाहुँदै बनारसको यात्रामा सरिक हुन पुगें । हामी गरुडाबाट निस्कँदा दिउँसोको १२ बज्न केही मिनेट मात्र बाँकी थियो ।
अगाडिको सिटमा मौजेलाल यादव सर हुनुहुन्छ, टोली नेता । बीचको लाइनमा चार सिटमा खाँदिएका छौं चारजना । स्कारपिओजस्तै देखिने गाडी छ, बिआर ३० पिए ४४४६ नम्बर । बाहिरबाट हेर्दा राम्रो तर भित्र भने साँघुरो । बीचमा बसेका हामी चारजनामध्ये देबे्रतिर छेउमा छन् मौजेलाल सरका नाति । हामी चार जनामा सबैभन्दा मोटो छ ऊ । दाहिनेतिर छेउमा छन् किशुनदयाल सर । उनी हुन् मौजेलाल सरको भतिजा । तीनैजनाको भनाइ छ कि शीशा छेउमा नबस्दा अप्ठ्यारो हुन्छ । अनि बीचमा म र गरुडा नगरपालिका–८ जिंगडियाका वडाध्यक्ष पञ्चसाहेब भन्ने वशिष्ट यादव ।
उसो त बनारस राति साढे एघार बजे नै पुग्छौं तर लज खोज्दा पाएको दुःख र सम्भवतः हाम्रो गाडीको ड्राइभरले खान खोजेको कमिशनको चक्करले होटलमा वास बस्न निकै दुःख सहनुपर्यो । बनारस रेल्वे स्टेशनको छेउमा एउटा होटेलमा राति दुई बजे वास बस्न पुग्यौं ।
बनारस आएपछि दर्शन त गर्नुपर्यो काशी विश्वनाथको । दर्शन गर्न सबैभन्दा पहिले गङ्गास्नान गर्नुपर्छ । गङ्गा डुल्नतिर लाग्छौं । बाटो जहाँतहीं ब्लक । दुई किलोमिटर जानुपर्ने ठाउँका लागि साढे ११ किलोमिटर यात्रा गर्छौं टेम्पोमा । तर पनि फेरि हिंड्नुपर्छ पैदल आधा किलोमिटर । कारण के रहेछ भने बनारसमा आएका छन् उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र साथमा छन् भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपि नड्डा । अनि बनारसको सुरक्षा व्यवस्था अत्यन्त कडा ।
फर्किने बेला रिक्सामा चढ्दा जानाजान म अगाडि बस्छु । मलाई उल्टो दिशातिर बस्न अप्ठ्यारो हुन्छ । पहिले नै रिक्सामा सम्मुख भएर दुईदुईजना बसेपछि चालकसित टाँस्सिएर बस्नुको विकल्प हुँदैन । बस्छु र चालकसित कुरा शुरू गर्छु ।
संवाद हिन्दीमा छ । म हिन्दीमा बोल्दा पनि लवज बज्जिकाको बनाएको छु । उनी हिन्दीमा बोल्दा स्थानीय लवजमा बोलिरहेका छन् । कुरैकुरामा म भन्न पुग्छु – तपाईं बनारसको हुँदै होइन ।
“तपाईंलाई के चाहिन्छ ? भन्नुस् । म बनारसकै हुँ, लोकल बनारसको । यहीं जन्मेहुर्केको । तपाईंलाई बनारसको बारेमा के सोध्नुछ वा कस्तो जानकारी लिनु छ ? कहाँ जानु छ ?” स्वाभिमानमा अलिकति ठेस लागेर हो कि यायावरलाई बताउन चाहने उत्सुकता बढेर हो । गर्व र दर्प मिश्रित बोलीमा रिक्साचालक अगाडि रिक्सा बढाउँदै छेउमा बसेको मतिर छड्के दृष्टिले हेर्छन् ।
मेरो निशाना ठीक ठाउँमा लागेको छ । बाटो कटेको सार्थक भइरहेको छ । मैले सही मानिस भेटाएको छु भन्ने मनमा भएको छ । मैले सोधें– “एउटा रेल्वे स्टेशनको नाम बनारस, अर्कोको वाराणसी सिटी, यो शहरको नाम काशी । यो बनारस र वाराणसी कसरी के हो ?”
लोकल मानिसले त सही जवाफ दिन्छन् होला । तीस–पैंतीस वर्षका छन् चालक । रिक्सा उनको आफ्नै हो । उनी भन्न शुरू गर्छन् –“वरुणा र अस्सी मिलेर वाराणसी बनेको हो । गङ्गा नदीको अर्को नाम वरुणा हो । वरुणा नदीमा अर्को नदी मिसिएको छ, जसको नाम हो –अस्सी । वरुणा र अस्सी मिलेर वाराणसी भएको हो ।”
मैले पहिले सुनेको थिएँ कि बनारसमा गङ्गा किनारमा असीवटा घाट छन् । त्यहीं असी र वरुणा मिलेर वाराणसी भएको हो । वास्तवमा असी घाट मात्रै छ जस्तो लाग्दैन । कैयौं किलोमिटरको गङ्गालाई सम्पूर्णतः घाट नै बनाइएको छ । शहरको विस्तारसँगै घाटको विस्तार पनि हुँदै जानु स्वाभाविक हो । पहिलेदेखि त होइन, तर अहिले मनमा शङ्का उठ्छ कि जतिखेर यो बस्ती बस्यो, त्यति नै बेला असीवटा घाट त बनेन होला । अनि विशाल बस्ती बन्नुभन्दा पहिले नै बस्तीको नामकरण भएको हुनुपर्छ । यथार्थ कुनै एउटा होला तर अहिले जान्न पाएको कुरो पनि रोचक छ । वरुणा नदी र अस्सी नदीको सङ्गमस्थल नै वाराणसी हो ।
रिक्सा चालक हुन् घनश्याम । उनले थरसहित पूरा नाम बताएनन् । यसैले सोधें कि घनश्याम के ?
अलिकति झर्केर हो वा अलिकति गर्वको मात्रा बढाएर हो । उनले बताए – घनश्याम दास । घनश्याम दास केवट ।
अनि जिज्ञासा बढ्यो । “गङ्गामा हजारौंले बोट खिआएका छन् । तपाईं केवट भएर पनि रिक्सा ?”
“बुवा यहीं गङ्गामा बोट चलाउनुहुन्थ्यो । मैले चाहिं चलाइनँ ।”
अनि फेरि जिज्ञासालाई मोडें बनारसतिरै । सोधें – “यदि यो वरुण र अस्सीको सङ्गमस्थल हो भने यसको नाम बनारस पनि किन ?”