भूराजनीतिक हिसाबले सामरिक दृष्टिकोण अति संवेदनशील र महत्वपूर्ण राष्ट्र नेपालमा राजनीति स्थायित्व र संसदीय व्यवस्थाको दिगो विकास छैन भन्ने कुरा आजसम्मको राजनीतिक अभ्यासले देखाएको छ। गलत राजनीतिक अभ्यासका कारण देशको राजनीतिमा गलत नीति र व्यवहार झाङ्गिन पुगेको छ। राजनीतिक विकासका प्रबल आधार– प्रतिस्पर्धा, वर्ग सङ्घर्ष, वैचारिक सङ्घर्ष, वर्ग समन्वय यतिखेर नेपालमा छैन। सत्ता साझेदारी, सत्ता भागबन्डा, मेलमिलाप सत्ता गठबन्धनले यतिखेर प्रश्रय पाएको छ। यो अप्राकृतिक अस्वाभाविक क्षणिक स्वार्थी राजनीतिको दिगो भविष्य छैन। राजनीतिलाई महत्वका साथ हेर्ने हो भने गठबन्धन राजनीतिक संस्कृति एक लज्जाबोध हो। राष्ट्रिय राजनीतिको हुर्मत लुटिएको हो। राजनीति प्रक्रिया, विधि, पद्धति, सिद्धान्त बाहिर गएर संस्थागत र दिगोरूपमा चल्न सक्दैन।
राजनीति भनेको देश र जनतामाथि खेलवाड गर्ने स्वार्थी तत्वहरूको साधन र माध्यम पनि होइन। राजनीति व्यवस्था र सरकार स्थायित्व नभएसम्म देशमा शान्ति, विकास, सिर्जना र आवश्यक परिवर्तन केही हुँदैन। देश र जनता सदैव यथास्थितिमैं रहनुपर्ने नियति बन्न जान्छ। विश्वमा धेरै थरीका राजनीतिक व्यवस्था त्यहाँको हावा, पानी, माटो, देश, काल, परिस्थिति अनुकूल चल्दा कहीं शान्ति र विकास भएका छन्, कहीं अशान्ति, द्वन्द्व कायम छन्। राष्ट्रिय एकता बलियो हुने भनेको सबल र सफल राजनीतिक विचारबाट नै हो। राजनीतिक विचार र विपक्षविनाको व्यवस्था राजनीति नै होइन। विपक्षीको रचनात्मक सहयोग र सत्तामा रहनेहरूको गतिशीलताविना राजनीतिक स्थायित्व र विकास सम्भव छैन। राजनीतिक अधिकार सबैका लागि सधैंका लागि सुव्यवस्थित र सुनिश्चित हुन सक्नुपर्दछ। वर्गीय समाजमा वर्गीय पक्षधरता हुन्छ नै। त्यहाँ वर्ग सङ्घर्षको निरन्तरताको माध्यमबाट स्थायी समन्वय हुन सक्नुपर्दछ। परिवर्तन स्थिर हुन सक्दैन।
आज राम्रो मानिएको व्यवस्था भोलि नराम्रो बन्दै जान पनि सक्दछ। कुराको खेती मात्र गरेर राजनीति व्यवस्था सबल र सफल हुन पनि सक्दैन। जन अपेक्षा र राष्ट्रको आवश्यकता, समयको माग अनुसार राजनीतिले कोल्टे फेर्न, सुधार र परिमार्जन गरेर उत्कृष्टता थप्दै जान सक्नुपर्दछ। विद्यमान सबैखाले चुनौती र समस्याको समाधान सबल र सफल राजनीतिक टीमवर्ग र नेतृत्वले मात्र गर्न सक्दछ। बाह्य प्रभाव, दबाब र जलवायु परिवर्तन, दुर्घटनाको असरले राजनीतिलाई तरङ्गित बनाइरहेको हुन्छ। राजनीतिक व्यवस्था र सरकारको एउटै उद्देश्य बहुजन हिताय, बहुजन सुखाय मात्र हो। सीमित स्वार्थी र अवसरवादी तत्व र शक्तिको हित अनुकूलको व्यवस्था राजनीति होइन। त्यस्तो व्यवस्था जतिखेर पनि अनिष्टकारी र प्रत्युत्पादक बन्न सक्दछ।
नेपालको वर्तमान अवस्था र व्यवस्था सर्वोत्कृष्ट नभएर निष्कृष्ट बन्न पुगेको छ। जसले गर्दा देश र जनता असफल हुँदै जाने, विदेशी प्रभाव बढ्दै जाने क्रम बढेको छ। नेपाली समाज दिन प्रतिदिन पतनोन्मुख हुँदै गइरहेको छ। देखिएका भौतिक विकासका आधारहरू आम जनताका लागि सन्तोषप्रद बन्ने खालका छैनन्। राजनीति, पेशा–व्यवसाय र अनैतिक व्यक्तिहरूको प्रवेश थलो बनेको छ। राज्यबाट उपलब्ध साधन स्रोतको दुरुपयोग भइरहेको छ। राजनीतिक व्यवस्था सीमित व्यक्ति हिताय परिणत भएको छ। भित्रभित्र आक्रोशित जनताको आक्रोश कुनै पनि बेला विस्फोट हुन सक्दछ। अहिलेको संसदीय गठबन्धन सरकार अन्तिम सरकार हो। यसले संसदीय व्यवस्था असफल र कमजोर हुँदै गएको प्रमाणीकरण गर्दछ। राजनीतिक व्यवस्था असफल हुनु भनेको देश र जनता नै असफल हुनु हो। यथास्थितिमा परिवर्तनको संवाहक शक्ति भनेका असन्तुष्ट, आक्रोशित, दीनहीन र असहाय जनता हो। हुँदा खाने, परिश्रमी जनता हो। राजनीतिक व्यवस्थाले सिर्जना गरेको अवस्था सहज साध्य नभएपछि शोषणकारी, दमनकारी, दलाल व्यवस्थाका विरुद्ध जनता सडकमा उत्रिएपछि राजनीतिक निर्णय युद्ध हुन्छ। व्यवस्था र अवस्थाको विकल्प खोजिन्छ। यो चल्दै आइरहेको राजनीतिक प्रक्रिया हो। नेपालको समग्र पक्षलाई भ्रष्टाचार, अख्तियार दुरुपयोग, ढिलासुस्ती, विदेशी हस्तक्षेपले प्रभाव पारेको छ। यसको एउटै कारण देशभक्त, क्रान्तिकारी नैतिकवान राजनीतिक नेतृत्वको कमी हुनु हो। पदाधिकारीहरूले मात्र सहुलियत, सुविधा, सुखी र खुशी जीवन बिताउन पाऊन्, बाँकी सबैले गरेर पनि खान नपाऊन्स अभाव र अशान्तिको जीवन झेल्न बाध्य हुन् भन्ने जनसरोकारविहीन अहिलेको राजनीतिक चिन्तन र व्यवहार हो।
प्रचण्ड नेतृत्वको सरकारले हिजोभन्दा राम्रो गर्नेछ भनेर विश्वास गर्ने आधारभन्दा थप चुनौती, जटिलता थपिने छ भनी आशङ्का गर्ने प्रशस्त ठाउँ उब्जिएको छ। वर्तमान गठबन्धन सरकारले मेलमिलापका साथ एउटै धारणा, एउटै विचार, एउटै साझा विकास, निर्माण र उन्नतिको एजेन्डा ल्याउन सक्यो भने नेपाल र नेपाली समृद्ध र सुखी हुन सक्दछ तर सरकार र संसद्मा रहेका मानिसहरूको प्रकृति, प्रवृत्ति देश र जनताको चाहना अनुकूल बन्दै जाने अवस्था देखिंदैन। भत्ता र सत्तावाला जनप्रतिनिधिहरूको चिन्ता र चासो– काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर जस्तो देखिन्छ। यसले व्यवस्थामा केही नयाँ मानिस बदलिए पनि देशको यथास्थितिको अवस्थामा जन सन्तुष्ट हुने अवसर कायम गर्न नसक्ने भविष्यवाणी गर्न सकिन्छ। वर्तमान गठबन्धन सरकार संसदीय व्यवस्थाको अन्तिम सरकार हुने र उनीहरूले पनि अनुभूति गर्ने अवस्था देखिन्छ। आमूल परिवर्तन, देश र जनताको दिगो भविष्यको सुनिश्चितताका लागि एकीकृत जनक्रान्ति सम्भव छ र त्यो हुन्छ पनि।