- सञ्जय मित्र
तपाईंको जन्म किन भएको हो ? यस प्रश्नलाई कसैले बेतुकको बताइदिन सक्छ । सबैलाई थाहा छ कि कोही पनि आफूले चाहेर जन्मेको होइन । आफूले नचाहेर जन्मेको हो भन्ने पनि होइन । तर आफूले चाहेर जन्मेको होइन भन्ने कुरामा त लगभग सबै सहमत हुनुपर्छ । तपाईंको जन्म किन भएको हो भन्ने प्रश्नको उत्तर दिन चाहनेले त आफ्नो जन्म किन भएको हो भन्ने प्रश्नलाई पनि स्वीकार गर्छ । हो, उत्तर सजिलो चाहिं होइन ।
शास्त्रहरूले जीवनको उद्देश्य धर्म, अर्थ, काम र मोक्ष बताउने गरेका छन् । धर्म, अर्थ, काम र मोक्षमध्ये शास्त्रहरूले फेरि पनि प्रथम धर्म र त्यसपछि मोक्षलाई महत्व दिएका छन् । जीवनका गुणको विषयमा पनि शास्त्रहरू एकदम स्पष्ट छन् तर शास्त्रलाई पढ्ने कतिजना ? अझ शास्त्रलाई मान्ने कतिजना ? शास्त्रको अध्ययन र मनन गर्नु एउटा पक्ष हो भने शास्त्रलाई मानेर त्यसअनुरूप व्यवहार गर्नु अर्को पक्ष हो । शास्त्रले मानिसलाई बाटो देखाउने हो । शास्त्र आफू नै बाटो होइन र शास्त्र आफूचाहिं बाटोमा हिंड्ने होइन । शास्त्रले देखाउने बाटोलाई मूर्त मान्ने कि अमूर्त भन्ने पक्ष पनि बलियो छ । अमूर्त मान्ने पनि छन् र मूर्त मान्ने पनि छन् । मूर्त मान्नेले दैहिक संसारलाई बढी देख्छन् र अमूर्त मान्नेले दैहिक संसारलाई कम महŒव दिन्छन् ।
जीवन पनि नियुक्ति वा करार हो ? अर्थात् जन्मनुपूर्व नै कोही कसैको केही उद्देश्य निर्धारित हुन्छ ? आधुनिक विज्ञानले त जीवनलाई केवल जैविक बताउँछ । के पनि अनुमान गरिन थालिएको छ भने कुनै दिन मानिसको जीवन पनि उद्योगमा निर्माण हुन थाल्नेछ । मानिस तब ‘मेड इन …’ भनेर चिन्न थालिनेछ । यो असम्भव पनि छैन तर जुन दिन यो सम्भव हुन्छ, त्यस दिन मानिसको जीवनको व्याख्या बदलिन्छ । मानिसको जीवनको सम्पूर्ण कुरा अलग्गै किसिमले निर्धारण हुन थाल्नेछ । मानिस बन्ने उद्योगको स्थापना पनि कुनै दिन मानिसले देख्न पाउने अनुमान वा स्वेर कल्पनालाई अहिले धेरै महत्व नदिऊँ तर मानिसलाई कसैले निर्देशित गरिरहेको हुन्छ त ? सधैं वातावरणले मानिस निर्देशित हुन्छ भनिन्छ तर यसप्रति सबैले आँखा चिम्लेर विश्वास गर्दैनन् । तब जिनको प्रभाव अर्थात् पितापुर्खाको प्रभावको पक्ष पनि बलियो भएर आउँछ ।
पूर्वजन्म र पुनर्जन्मलाई आफ्नै किसिमले विश्वास वा अविश्वासपूर्ण रीतिले हेरौं तर कोही कसैले के ग¥यो किन भनिन्छ त ? जीवनको मूल्याङ्कन नै भइरहेको हुन्छ यसरी । कसैले मैले जीवनमा सबैथोक गरें तर खासमा केही गरेको जस्तो लाग्दैन भनेर किन भन्छन् त ? यसलाई अझ सरल तरीकाले बुझ्ने हो भने हामीले सफल भएको धेरैलाई देखेका छौं तर कसैको जीवन पूर्ण असफल भएको हामीले थाहा पाएका छौं ? सम्पूर्णतः नै असफल जीवनको खोजी कसैले गरेको हुन्छ त ? वास्तवमा कहीं कतै हामी यतातिर विचार नगरेर पनि जीवनको सार्थकता र निरर्थकताबारे स्पष्ट हुन सकौंला त ?
तपाईंको जन्म किन भएको हो ? मानिसले आफ्नो उमेर अनुसार यसको उत्तर दिन सक्छ । एक बालकलाई सोध्ने हो भने खेल्नलाई तथा एक युवती वेश्यालाई सोध्ने हो भने अरूलाई मनोरञ्जन गराउनलाई भनिदिन सक्छन् तर यही प्रश्न यदि जीवनका तीन चौथाइ पूरा गरिसकेका व्यक्तिलाई सोध्ने हो वा जो सम्पूर्ण जीवन बाँचेर अब मर्न थालेका छन्, त्यस्तालाई सोध्ने हो भने आफूले जीवनमा गरेका राम्रा कामको सम्झना गर्दै तिनै असल काम गर्नलाई जन्मेको बताउन पुग्छन् । हो, यसमा तिनका आफ्ना सन्तानले राम्रो गरेको पनि तिनले बताउन सक्लान् । यसैगरी, कसैलाई तपाईं आफ्नो जीवनको एक सर्वोच्च उपलब्धि बताउनुहोस् भनेर सोध्ने हो भने पनि बूढो मानिसले बताउने र नवयुवकले बताउने उत्तरमा फरक पर्न सक्छ । यदि विवाह समारोहमा यही प्रश्न गर्ने हो भने दुलहाले दुलही पाउनुलाई जीवनको सर्वोच्च उपलब्धि बताइदिन बेर लाग्दैन, दुलहीले दुलहाको प्राप्तिलाई सर्वोच्च उपलब्धि बताउन सक्छन् र दुवैका पिताले आफ्ना छोराछोरीको विवाह गराइ आफू निवृत्त हुन पाएकालाई बताउन सक्छन् तर के एक राजा वा एक संन्यासी वा एक गुरुलाई यही प्रश्न तिनको जीवनको अन्तिम समयमा सोध्ने हो भने तिनले दिने उत्तर के हुन सक्छ ?
तपाईंले यस समाजलाई के दिन सक्नुभयो ? भन्ने प्रश्नको उत्तरमा सबैले धेरै कुरा दिएको भनी बताउन सक्छन् । यो सार्थक होओस् कि निरर्थक भन्नेतिर त्यत्ति बताउन सक्दैनन् । वास्तवमा जसले तपाईंको जन्म किन भएको हो ? भन्ने प्रश्नको गहिराइलाई बुझ्न सक्दैनन् तिनले समाजलाई केही दिन सक्नेगरी आफ्नो हठपूर्ण उत्तरबाहेक अरू केही पनि हुन सक्दैन । के जीवन आफैंमा उत्तर हो ? एक ठाउँमा होइन भन्ने पाएको छु । जीवन प्रश्न हो रे उत्तर होइन । उत्तर त कर्तव्य हो, कर्म हो । जीवन बाँच्नुको सार्थकता झल्किने कर्ममा निहित भाव नै जीवनको उत्तर हो रे । र जीवनको उद्देश्य पहिल्याउने व्यक्तिले अलिकति आफूलाई सचेत बनाइसकेको हुन्छ । जन्मनु र मर्नुबीचमा केही काम गरिसकेको हुन्छ । केही काममा आफूलाई अरूको लागि काम लाग्न सक्ने बनाइसकेको हुन सक्छ भन्ने भाव नै लुकेको छ । जसले जीवनलाई चिन्न जान्दछ, उसले नै म किन जन्मेको हुँ भन्ने प्रश्नको उत्तर दिन सक्छ । अर्थात् तपाईंको जन्म किन भएको हो भन्ने प्रश्नको उत्तर दिन आफूलाई चिन्नेले नै दिन सक्छ । फेरि आफूलाई नचिन्ने को होला त ? के कोही यस्तो पनि मानिस हुन्छ, जसले आफूलाई चिन्न सक्दैन ?
प्रतिभा हरेकमा हुन्छ । प्रस्फुटनको अवसर चाहिन्छ भन्नुको वैज्ञानिक तात्पर्य पनि यही हो कि उसलाई चिनाउन अरू कोहीको आवश्यकता पर्दछ । यसको अर्थ यो पनि हो कि तपाईंको जन्म किन भएको हो भन्ने बुझाउन पनि उसलाई कोही मार्गदर्शक वा गुरु चाहिन्छ । यो प्रकृति वा वातावरणले कहिलेकाहीं आफैं पनि प्राप्त हुने हो । कोही अरूलाई देखेर वा कतै केही विशेष भोगाइले पनि जीवनको लक्ष्यतिर लम्किन सक्छ । तर जीवनको उद्देश्य बुझिहाल्नु चाहिं चानचुने कुरो होइन । अझ दैनिक जीवनमा आफूलाई अभ्यस्त बनाएर र सबै सांसारिक कर्तव्य निर्वाह गरेर अर्थात् गृहस्थ जीवनलाई जिम्मेवारीपूर्वक निर्वाह गरेर आफूलाई आफ्नो जीवनको उद्देश्यमा सफल बनाउनु भनेको घरमा नै तपस्या गर्नु हो । र कुनै पनि किसिमले यदि कसैले आफ्नो जन्मको आवश्यकतालाई बोध गर्न सकेको छ भने उसले कुनै पनि मूल्यमा आफ्नो कर्तव्यलाई गरिरहेको हुन्छ । आफूलाई आफ्नो कर्मको माध्यमले चिनाइरहेको हुन्छ । जसरी कस्तुरी मृगको नाइटोमा कस्तुरी जम्न शुरू हुन्छ, तब उसलाई थाहा हुँदैन तर दुनियाँलाई थाहा हुन्छ । ठीक त्यसरी नै उसको कर्तव्यले उसलाई आफ्नो पथमा लम्काइरहेको हुन्छ, जसरी ऊ अनेक सांसारिक कर्म गरिरहेको हुन्छ ।
वास्तवमा कर्म नै प्रधान हो । कर्ममा आफ्नो जीवनको उद्देश्य विम्बित हुन्छ । जीवनको उद्देश्यलाई बुझेर कर्म गर्ने हो भने कर्मबाट विचलित हुने वा अनेक बाधा अवरोध आउँदा पनि विचलित हुने सम्भावना भने कम हुन्छ ।
फेरि पनि कसैले तपाईंको जन्म किन भएको हो भनेर सोध्ने हो भने सजिलो गरी भन्न सकिन्छ– मैले जीवनमा यी यी काम गरें । शायद यसैको लागि भएको हो । तर यसरी भनिरहँदा व्यक्तिगत स्वार्थभन्दा कति माथि उठ्न सकेको हुँ भन्ने कुरा हृदयमा बलिरहेको हुन्छ । यही बलिरहेको उज्यालोले जीवन आलोकित पार्नेमा विश्वस्त हुन सकिन्छ ।