• अनन्तकुमार लाल दास

विद्यार्थीहरू अनुत्तीर्ण भए भने सबैले– तिनका अभिभावक, विद्यालयका शिक्षक र साथीहरूले समेत विद्यार्थीलाई नै दोषी ठान्ने गर्दछन् । परिणामतः सबैद्वारा अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई अयोग्य, नालायक, बदमाश, पढाइ नगर्ने, पढाइमा ध्यान नदिने, कसैलाई नटेर्ने आदि संज्ञाले विभूषित तथा प्रताडित गरिएका थुप्रै उदाहरण छन् । कतिपय अभिभावक त आक्रोशित भई विद्यार्थीलाई पिट्ने तथा मानसिक आघात पु¥याउन पनि पछि पर्दैनन् । तर के हामीले कहिल्यै सोचेका छौं कि विद्यार्थी अनुत्तीर्ण हुनुमा को जिम्मेवार छ ?

विद्यार्थीहरू अनुत्तीर्ण हुनुको पछाडि मात्र विद्यार्थी जिम्मेवार नभई थुप्रै कारणहरू हुन सक्छ । यस आलेखमा त्यही कारण पत्ता लगाउने जमर्को गरिएको छ । यसरी अनुत्तीर्ण हुनुको कारण खोतल्दा शिक्षकहरूबाट विद्यार्थीहरू राम्ररी प्रशिक्षित नहुनु, विद्यालयमा शिक्षकहरू फेरिइरहनु, अभिभावकहरूबाट विद्यार्थीको पढाइ सम्बन्धमा खोजखबर नलिनु, परीक्षाको बेला विद्यार्थीहरूमा अनावश्यक भय–त्रास उत्पन्न गराउनु र स्वयं विद्यार्थीद्वारा पढाइमा ध्यान नदिनु, समस्या सम्बन्धमा विषयगत शिक्षकसँग सोधपूछ नगर्नु, कक्षामा ध्यान दिएर नपढ्नु आदि थुप्रै कारण हुन सक्छ । तर यी कारणमध्ये सबैभन्दा प्रमुख एवं महत्वपूर्ण भूमिका अभिभावक, शिक्षकवर्ग तथा विद्यालय व्यवस्थापनको नै हुन्छ । यीमध्ये कसैले पनि लापरवाही देखायो भने परिणाम विद्यार्थीहरूले भोग्नुपर्ने हुन्छ । तर विडम्बना के छ भने कुनै पनि पक्ष आफ्नो अयोग्यतामाथि विचार गर्नुको साटो विद्यार्थीहरूलाई नै दोषी ठानी उनीहरूमाथि खनिने गर्दछन् । यसबाट के प्रस्ट हुन्छ भने कहीं आफ्नै अयोग्यता ढाकछोप गर्नका लागि विद्यार्थीलाई दोष दिने त गरिइँदैन ?

विद्यार्थीहरू आआफ्नो मानसिक स्तरले भ्याएसम्म लेखपढ गर्छन् । उनीहरूको क्षमता विकसित गर्ने कार्य अभिभावक, शिक्षक र समाजले सामूहिक रूपमा लिनुपर्दछ । हामी सबैलाई थाहा भएकै कुरो के हो भने कक्षामा पढ्ने सबै विद्यार्थीको मानसिक स्तर वा उनीहरूको पारिवारिक स्तर समान हुँदैन । परिणामतः एकै शिक्षकद्वारा पढाइने विद्यार्थीहरूको परिणाम पनि फरक–फरक हुने गर्छ । यसर्थ अनुत्तीर्ण  हुनुमा विद्यार्थीहरूलाई मात्र दोष दिनु उचित हुँदैन किनभने विद्यार्थीहरूको समग्र विकासमा अभिभावक र शिक्षकहरूको पनि अहम् भूमिका हुन्छ । तर धेरैजसो अभिभावक र शिक्षकले विद्यार्थीहरूलाई मात्र दोष दिने गर्दछन् ।

मनोचिकित्सकहरूका अनुसार धेरै मानिसमा आफ्नो आक्रोश रोक्ने क्षमता हुँदैन । धेरैजसो त आप्mनो अयोग्यताजन्य अन्तद्र्वन्द्वबाट सल्केको आगोलाई अरूमाथि आक्रोश पोखेर निभाउन चाहन्छन् । उदाहरणस्वरूप कतिपय शिक्षक र अभिभावकद्वारा विद्यार्थीहरूलाई दिइने अमानवीय दण्डलाई लिन सकिन्छ । यहाँ सोच्नुपर्ने के हो भने के कुटपीट वा गालीगलौजबाहेक विद्यार्थीलाई सफलताका लागि ऊर्जा प्रदान गर्ने अर्को उपाय छैन ?

अनुत्तीर्ण विद्यार्थीहरूको मनोबल खस्केको हुन्छ र मनोबल बढाउनुको साटो अभिभावक र शिक्षकहरूबाट गरिने व्यवहारको ‘डर’ विद्यार्थीहरूको कलिलो मस्तिष्कमा डेरा जमाएर बसेको हुन्छ । यही कारण हो उनीहरू प्रायः बिर्सने गर्छन्, उनीहरूको ध्यान पढाइमा एकाग्र हुँदैन । उनीहरू पढाइबाट भाग्न खोज्छन् । यस कारण विद्यार्थीहरूको मनोबल बढाउनु एउटा योग्य र समझदार अभिभावकको कर्तव्य हो । मेरो विचारमा विद्यार्थीहरूलाई के भन्नुपर्छ भने तिमीहरूले वर्षभरि मन लगाएर पढेका हौ । यस कारण परीक्षामा भय र चिन्ता लिनु आवश्यक छैन । आरामले परीक्षा देऊ । तिम्रो परिणाम राम्रै आउँछ । विद्यार्थीप्रति अभिभावक र शिक्षकको सकारात्मक दृष्टिकोणले उनीहरूलाई हौसला र प्रेरणा प्रदान गर्छ । शिक्षक र अभिभावकद्वारा विद्यार्थीहरूमा सकारात्मक सोच विकास गराउनु नै उनीहरूलाई सफल हुने बाटो देखाउनु र त्यस बाटोमा हिंड्न सिकाउनु हो ।

अभिभावक र शिक्षकले सधैं विद्यार्थीहरूलाई मानसिक तनावबाट मुक्त राख्ने प्रयास गर्नुपर्छ । उनीहरूको मनःस्थितिलाई ध्यानमा राखी सधैं नयाँ उत्साह प्रदान गर्नुपर्छ जसले गर्दा ऊ मानसिक तनाव र त्रासबाट मुक्त हुन सकोस् । सकारात्मक सोचले उनीहरू भित्रको आत्मविश्वास प्रबल हुन्छ, उनीहरूमा परिवर्तन देखापर्छ जसले उनीहरूलाई लक्ष्यसम्म डो¥याउने ऊर्जा प्रदान गर्छ भन्ने कुरालाई सहर्ष स्वीकार गर्नुपर्दछ । यसरी सरसर्ती हेर्दा विद्यार्थीहरूको सफलता वा असफलताका लागि विद्यार्थीबाहेक अभिभावक र शिक्षक जिम्मेवार हुने गर्दछन् । यीमध्ये कुनै एक पक्षको गैरजिम्मेवारीले गर्दा असफलता हात लाग्छ ।

यस कारण प्रत्येक जागरूक अभिभावकले सोच्नुपर्ने र मनन गर्नुपर्ने विषय के हो भने वर्षैभरि विद्यार्थीहरूको पढाइमा ध्यान दिनु, उसलाई चाहिएको वस्तु समयमा उपलब्ध गराइदिनु र विद्यालयमा गई विद्यार्थीहरूको प्रगति सम्बन्धमा समय–समयमा जानकारी लिनु जस्ता कार्य नियमित भएमा अनुत्तीर्ण हुने सम्भावना न्यून भएर जान्छ । एउटा उखान छ–रोग लाग्नुपूर्व त्यसको रोकथाम गर्नु उचित हो । रोग लागिसकेपछि गरिने उपचारभन्दा पहिले नै त्यको कारण पत्ता लगाई उपचार गर्नु बढी फाइदाजनक हुन्छ ।

वर्तमान सामाजिक एवं राष्ट्रिय परिवेशमा हामी अभिभावक र शिक्षकले सर्वप्रथम आत्मचिन्तन गर्ने खाँचो छ । यसर्थ अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई मात्र दोष दिनु मेरो दृष्टिकोणमा कदापि सही र उचित होइन । यहींनिर हामी सबैले के विचार पु¥याउनु नितान्त आवश्यक छ कि के हामी विद्यार्थीहरूलाई पढ्ने उचित वातावरण दिइरहेका छौं ? कतिपय घरमा लोग्नेस्वास्नीबीच हुने आपसी मनमुटाव, घरेलु झगडा, पाहुना र साथीहरूको जमघट, हरदम खुला टेलिभिजन, विद्यार्थीहरूलाई घरायसी काममा लगाउने चलनजस्ता क्रियाकलापले विद्यार्थीहरूमा पढ्ने क्षमता भएर पनि अवरोध उत्पन्न हुने गर्दछ । यसले विद्यार्थीहरूको पढाइमा बाधा पु¥याउने काम गर्छ । यसका साथै धेरै न्यून आय भएका परिवारमा विद्यालय नपठाउने, पढाइको बेला अर्थोपार्जनमा लगाइदिने, विभिन्न बहानामा उनीहरूको आवश्यकता टार्नेजस्ता कारणले यदि विद्यार्थीहरू अनुत्तीर्ण हुन्छन् भने यसमा उनीहरूको के दोष ?

विद्यार्थीहरू अनुत्तीर्ण हुनुको पछाडि अन्य कारण पनि छ । मानौं कुनै विद्यार्थीलाई कुनै पाठ बुझ्न गा¥हो भएको छ र उनीहरूले सहायता मागेको बेला अभिभावकले बेवास्ता गर्छ र उसलाई ट्युशनको व्यवस्था पनि मिलाइदिंदैन, कुनै–कुनै बेला विद्यार्थीले नबुझेका कुराहरू शिक्षकसँग बारम्बार बुझ्न चाहँदा झर्को मानिदिने वा त्यस्ता शब्द प्रयोग गरिदिने जसबाट विद्यार्थीको मनोबल खस्कने र पुनः सोध्न हच्किनेजस्ता कुराले गर्दा यदि विद्यार्थी अनुत्तीर्ण हुन्छ भने त्यसमा उसको के दोष ? यी कारणहरूले गर्दा उनीहरूको जिज्ञासा, पढाइबाट अन्यत्र मोडिने गर्दछ । यस्ता विद्यार्थीहरू शारीरिकरूपले कक्षा कोठामा उपस्थित भए तापनि मानसिकरूपले कक्षा कोठामा अनुपस्थित हुने गर्दछन् ।

एउटा विद्यार्थी उत्तीर्ण वा अनुत्तीर्ण हुनुमा शिक्षकको योग्यताले पनि काम गरिरहेको हुन्छ । यो भन्नुको अर्थ शिक्षकहरूले पनि स्वमूल्याङ्कन गर्न जरूरी छ । जब, म स्वयं आफ्नो विद्यार्थी जीवनलाई नियालेर हेर्छु, मलाई सधैं हिसाब पढाउने शिक्षकको सम्झना आउँछ किनभने म सबै विषयमा अव्वल थिएँ तर हिसाबमा कमजोर हुनुको पछाडिको कारण हिसाब पढाउने शिक्षक नै हुन् भन्ने अनुभूति हुन्छ । म हिसाबलाई राम्ररी बुझ्ने प्रयत्न गर्दथें र यसका लागि पटक–पटक शिक्षककहाँ पुग्थें तर उनले जहिले पनि मेरो जिज्ञासाको कदर गर्नुको साटो “फर्मूला याद गर्दैन, जति भने पनि बुझ्दैन, तिमी गोबर–गणेश हौ ।” तर उनले कहिल्यै पनि मलाई कुन फर्मूलाको प्रयोग कुन हिसाबमा कसरी गरिन्छ र फर्मूलाको आधारमा कसरी हिसाब बनाउन सजिलो हुन्छ भनेर सम्झाएनन् । उनको यस्तो प्रवचनले गर्दा उनीसँग सोध्ने इच्छा दमित हुँदै गयो । परिणामस्वरूप हिसाबमा आजसम्म म कमजोर छु र ती शिक्षकलाई आप्mनो सम्पूर्ण कमजोरीको कारक तत्व मान्दछु ।

कतैकतै त व्यवस्थापनको कमजोरी वा विद्यार्थीहरूको भविष्यप्रतिको बेवास्ताले गर्दा उत्पन्न समस्याको परिणाम विद्यार्थीहरूले भोग्नुपर्छ । यसरी एउटा अक्षम शिक्षकको कारण विद्यार्थी अनुत्तीर्ण हुन्छ र उसले समाजमा आप्mनो सम्मान घटेको महसूस गर्छ । यसबाट ऊ एउटा नकारात्मक भविष्यतर्पm लम्कन सक्छ । खासगरी संस्थागत विद्यालयहरूमा पढाउने शिक्षकहरूको सरूवा हुँदा पनि समस्या देखा पर्दछ । यसले गर्दा नयाँ आउने शिक्षक र विद्यार्थीबीच तालमेल बस्नैमा निकै समय व्यतीत हुन्छ । जसले गर्दा परीक्षा परिणाममा पनि अन्तर आउने धेरै सम्भावना हुन्छ ।

वर्तमानमा भनसुन, लेनदेन वा कुनै राजनीतिक दलको चाकरी गरी शिक्षण पेशामा सामेल हुने कतिपय शिक्षकहरूसँग विषयगत ज्ञान नै हुँदैन । यस्ता शिक्षकहरू विद्यार्थीहरूले सोधेका प्रश्नको जवाफ दिनुको साटो जथाभावी भनेर टाल्ने गर्छन् । त्यस्ता शिक्षकबाट विद्यार्थीहरूको सफलताप्रति कस्तो आशा गर्ने ? यसतर्पm जिम्मेवार पक्षको गम्भीर चिन्तन आवश्यक छ ।

आज धेरैजसो विद्यार्थी मोबाइलको गोलचक्करमा पढाइप्रति उदासीन बन्दै गएका छन् । उनीहरू आजको पढाइलाई भोलि गरौंला भनेर पन्छाउने गर्दछन् । यस्तो गर्ने विद्यार्थीहरूको पढाइ कहिल्यै पनि राम्ररी अगाडि बढ्न सक्दैन । पढ्नुको साटो दिनभरि साथीभाईसँग घुम्ने वा नचाहिंदो काममा अल्मलिने, धेरै मोबाइल चलाउने विद्यार्थीहरू पनि परीक्षामा अनुत्तीर्ण हुने सम्भावना बढी हुन्छ । कतिपय अभिभावक विद्यार्थीलाई शिक्षकहरूको सजायबाट बचाउन स्वयं गृहकार्य गरेर विद्यालय पठाउने गर्दछन् । कठिन परेको विषयमा मार्गनिर्देशन दिनुको साटो पाठको समस्याबाट विद्यार्थीहरूलाई वञ्चित गराइदिनु उनीहरूको भविष्यमा विष घोल्नु वा अवरोध तेर्साउनु हो । निष्कर्षतः विद्यार्थी यदि पढाइमा कमजोर छ भने उनीहरूका कमी–कमजोरी हटाउने सक्दो प्रयास जिम्मेवार सबै पक्षले गर्नुपर्छ अनि मात्र कुनै पनि विद्यार्थी कहिल्यै पनि अनुत्तीर्ण हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here