• अनन्तकुमार लाल दास

आयुर्वेदमा लेखिएको छ–जुन कुराको प्रयोगले रोग हुन्छ यदि त्यही कुरोलाई प्रशोधित गरेर प्रयोग गरियो भने त्यो रोग निको गर्ने औखति हुन सक्छ । यो अद्भूत सिद्धान्त हो । यसको अर्थ के हुनसक्छ भने विष खाँदा मानिस मर्छ तर यदि विषलाई प्रशोधित गरेर जहर खाएको मानिसलाई खुवाइयो भने जहरको असर समाप्त हुन्छ । यो आलेख यसै सिद्धान्तमाथि आधारित छ । यस कारण यदि विद्यार्थीहरूले आफ्नो कमजोरीलाई बुझेर त्यसको सही तरीकाले उपयोग गर्न प्रारम्भ गर्छन् भने त्यो नै उनीहरूको ताकत बन्न सक्छ । वास्तवमा भन्ने हो भने एउटै कुरो हाम्रो कमजोरी र ताकत दुवै हुन सक्छ । हरेक आमाबुवाका लागि उनका सन्तान उनका कमजोरी हुन् । यदि सन्तानलाई केही कष्ट हुन्छ भने आमाबुवा उनीहरूको लागि गलत–सही जे पनि गर्न तयार हुन्छन् तर त्यही सन्तान वृद्धावस्थामा उनीहरूको ताकतको रूपमा देखापर्छ ।

भन्न के खोजिएको हो भने हरेक मानिसमा केही न केही कमजोरी हुन्छ । यो कम वा बढी हुन सक्छ । यो बेग्लाबेग्लै वा समान पनि हुन सक्छ । मानिसहरू लगातार आफ्नो कमजोरीसँग सङ्घर्ष गरिरहेका हुन्छन् । केही मानिस कमजोर भएकै कारण कमजोरीको सामना गरिरहेका हुन्छन् भने कोही लापरवाहीका कारण कमजोर भएका हुन्छन्, त कोही त्यस कमजोरीबाट छुटकारा पाउनका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । यहाँनिर ‘छुटकारा’ शब्दको दुईवटा अर्थ निकाल्न सकिन्छ । पहिलो हामीभित्र रहेको कमजोरी लोप भएपछि त्यसबाट स्वतः छुटकारा पाउन सकिन्छ भने अर्को आफ्नो कमजोरीलाई बुझेर त्यसको उपयोग आफ्नो क्षमता वृद्धिका लागि गरे मात्र त्यस कमजोरीबाट छुटकारा पाउन सकिन्छ ।

धेरै विद्यार्थी गाउँबाट शहर र एक शहरबाट अर्को शहरमा पढ्नका लागि जाने गर्दछन् । आजभोलि त्यस्ता विद्यार्थीहरूमा देखापर्ने एउटा प्रमुख कमजोरी हो ‘होम सिकनेस’ । नयाँ ठाउँमा गएर छात्रावास वा डेरा लिई बसेर पढिरहेका विद्यार्थीहरूलाई गाउँ वा आफ्नो शहरको धेरै सम्झना हुने अनुभवले देखाएको छ । कहिलेकाहीं त उनीहरू यसको परिणामस्वरूप बिरामी पनि पर्छन् । यस्ता थुप्रै विद्यार्थीहरू देखा पर्छन् जोे होम सिकनेसले गर्दा डिप्रेशनको शिकार भएका छन् । मेरा एक अभिन्न मित्र जो यस कमजोरीले गर्दा बीचमैं पढाइ छाडे, आज दिनमा कैयनपटक त्यस बेला लिएको निर्णयले गर्दा पछुताउने गर्छन् ।

यो होम सिकनेस धेरै भावुकताले गर्दा उत्पन्न हुन्छ । घरबाट टाढा जानुको अर्थ सधैंका लागि जानु हैन । लामो समयका लागि पनि त्यहाँ जानु हैन । मात्र के हुन्छ भने तपाईं प्रत्येक दिन आफ्नो घर नगएर कुनै–कुनै दिन केही दिनका लागि मात्र आउनुहुन्छ तर घरका सदस्य, गाउँ वा शहरका साथीहरू तपाईंलाई त्यतिकै माया गर्छन् जति पहिले गर्दथे । सही त के हो भने उनीहरूसँगको दूरीले आपसी सम्बन्धलाई झन् बलियो बनाउँछ ।

तर भावुकताले गर्दा विद्यार्थीहरूको समझमा यो कुरो आउँदैन । उनीहरूलाई के भ्रम हुन्छ भने सबैसँग र सधैंका लागि टाढा भएको हो । यहाँ स्मरण गर्नुपर्ने कुरो के हो भने चौध वर्षको वनवासबाट भगवान् राम घर फर्केका थिए कि थिएनन् ? घर फर्कंदा अयोध्यावासीले उनीहरूको स्वागत कसरी गरेका थिए ? तपाईंले पनि केही हासिल गर्न केही दिनको लागि गृहत्याग गरेको हो । जुन दिन तपाईं आफ्नो लक्ष्य प्राप्त गरेर फर्कनुहुन्छ त्यस दिन तपाईंको पनि भव्य स्वागत गरिन्छ, किनभने तपाईंलाई माया गर्ने सबै खुशीपूर्वक तपाईंको स्वागत गर्न बसेका हुन्छन् । विद्यार्थीहरूलाई धैर्यतापूर्वक त्यस दिनको प्रतीक्षा गर्नुपर्छ ।

तपाईं घरबाट टाढा हुँदा, घरमैं बसेर पढ्दा कति राम्रो हुन्थ्यो भन्ने यदि सोच्नुहुन्छ भने तपाईंको यो सोच वैज्ञानिक नभई भावुकताले भरिएको सोच हो । यदि तपाईंले घरमैं बसी पढिरहेका साथीलाई सोध्नुहुन्छ भने उनीहरूले तपाईंलाई भाग्यशाली र आफूलाई दुर्भाग्यशाली बताउँछन् । यहाँसम्म कि उनीहरूका परिवारजन पनि धेरै खुशी हुँदैनन्, किनभने उनीहरूले आफ्नो सन्तानलाई बाहिर पढ्न पठाउन सकेनन् । अर्को कुरो के भने तपाईंलाई बाहिर पठाएर तपाईंको परिवारजन पनि सा¥है खुशी छैनन् तर यी दुवै परिवारको आँखाको आँसुले दुईवटा कुरा बयान गर्छ । तपाईंको साथीको परिवारको आँसु स्थायी दुःखका आँसु हुन् भने तपाईंको आमाबुवाको आँसु बिदाइका आँसु हुन् अर्थात् खुशीका आँसु हुन् । के यो ठूलो अन्तर होइन ?

हरेक मानिसलाई आफ्नो जिन्दगीमा केही न केही गर्नुपर्ने हुन्छ र त्यसका लागि एउटा उमेर निर्धारित गरिएको हुन्छ । त्यस निर्धारित उमेरसम्म मात्र विद्यार्थीहरूले घरपरिवारको सहारा लिनुपर्ने हुन्छ । कसैसँग आउने सात पुस्तासम्म केही नगरी खाने सम्पत्ति हुन्छ तर उसका आमाबुवा पनि के चाहन्छन् भने उनका सन्तानले केही राम्रो काम गरून्, आफ्नो नाम उज्ज्वल गरून् । तपाईं पनि स्नेहपूर्ण घर छाडेर गरेर यही गर्न जानुभएको त हो नि १ विद्यार्थीहरूले घरबाहिर जाने निर्णय आपैंm वा आमाबुवाको सल्लाहले लिने गर्छन् किनभने उनीहरू केही विशेष दक्षता हासिल गर्न चाहन्छन् । वास्तवमा भन्ने हो भने विशेष दक्षता प्राप्त गर्न केही विशेष गर्नुपर्ने हुन्छ । घर बाहिर गएर तपाईंले यही त गर्नुभएको छ । तपाईंले जे गर्नुभएको छ त्यो धेरै कमलाई प्राप्त हुन्छ । धेरैले त यसको कल्पना मात्र गर्ने गरेका छन् । यसमा चिन्ता वा दुःखी हुने कुनै कारण नै छैन । यो गर्व र खुशीको कुरो हो ।

यदि तपाईंमा होम सिकनेसको कमजोरी छ भने त्यो केही कम भएको पक्कै महसूस गर्नुभएको होला । यदि यो अहिले पनि विद्यमान छ भने तपाईंलाई आफ्नो सोचमा केही सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता छ । विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरो के हो भने ‘नो पेन, नो गेन’ । आफ्नो यस होम सिकनेसको कमजोरीलाई ताकतमा परिवर्तन गर्नुछ भने सोचेर हेर्नुहोस् नेपालका कति प्रतिशत विद्यार्थीलाई यो सुनौलो अवसर प्राप्त भएको छ ? कति प्रतिशतले आफ्नो घरको त्याग गरी निश्चिन्त भएर आफ्नो सम्पूर्ण समय र ध्यान पढाइमा मात्र लगाउने गरेका छन् ? यस्तो एक प्रतिशत मानिसले मात्र गर्न पाउँछन् र तपाईं तीमध्ये एक हुनुहुन्छ । बाँकी आफ्नो घरमैं बसी पढाइ पूरा गर्छन् । ईश्वरले तपाईंलाई मात्र यो सुनौलो अवसर प्रदान गरेका छन् । यो यस कारणले भनिएको छ किनभने तपाईं केही विलक्षण काम गर्नुहोस् भन्ने ईंश्वरको चाहना पनि रहेको छ ।

यस कारण तपाईं आफ्नो मनलाई यति फराकिलो बनाउनुहोस् जसबाट यस पृथ्वीमा बसोवास गर्ने अरू विद्यार्थीहरू, जसलाई ईश्वरले यो अवसर प्रदान गरेका छैनन् तिनको भलो गर्न सक्नुहोस् । यो मात्र तपाईंको इच्छा हैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने हामी माध्यम मात्र हौं । यसर्थ ईश्वरको इच्छा पनि यही भएको कारण त्यस इच्छाको पूर्तिका लागि तपाईंले आफ्नो समस्त क्षमता उपयोग गर्नुपर्छ । यसरी सोचेर नै तपाईंले आफ्नो परिवारजन, समाज र राष्ट्रका लागिस र अर्को शब्दमा भन्ने हो भने ईश्वरीय इच्छासँग पनि सही न्याय गर्न सक्नुहुन्छ । यस कारण आफ्नो यस अस्थायी गृहत्याग जसले तपाईंलाई कमजोर बनाइरहेको छ त्यसलाई आफ्नो ताकत सम्झनुहोस् । यो यस्तो बल हो जो तपाईंको जिन्दगीमा अर्कोपटक पाइने छैन ।

तपाईंले घर बाहिरको संसारमा धेरै थरीका र धेरै ठाउँका साथी पाउनुहुन्छ जसले तपाईंलाई विश्वभरि पैmलाउने काम गर्छन् । तपाईं एकपटक एउटै ठाउँ घुम्न सक्नुहुन्छ तर साथीहरूको माध्यमले तपाईं एकपटकमा धेरै ठाउँमा बसोवास गर्न सक्नुहुन्छ । यो यस्तो सुनौलो मौका हो जसको माध्यमबाट तपाईंले आफूलाई धेरै ठाउँमा पैmलाउन सक्नुहुन्छ । यस कारण आफ्नो मित्रताको दायरा फराकिलो पार्नुहोस् । एक अर्कासँग परिचय गर्नुहोस् र त्यसमा भावुकता झानेर त्यसलाई सम्बन्धमा परिवर्तित गर्नुहोस् । यसबाट तपाईंलाई बल प्राप्त हुनेछ र सफलताको बाटो पनि प्रशस्त हुनेछ । यसबाट तपाईंको आत्मविश्वास बलियो र भविष्य उज्ज्वल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here