- विश्वराज अधिकारी
हेलो संस्कृति
अमेरिकाको ‘हेलो’ संस्कृति पनि अनौठो प्रकृतिको छ । अमेरिकामा कुनै व्यक्तिलाई ‘हेलो’ भन्नका लागि उक्त व्यक्तिलाई चिनेको हुनुपर्छ भन्ने छैन । कुनै अपरिचित व्यक्तिलाई पनि ‘हेलो’ भन्न सकिन्छ । यहाँ अपरिचित व्यक्तिलाई पनि ‘हेलो’ भन्ने संस्कृति छ । ‘हेलो’ भन्नु सामान्य कुरा हो ।
रूसमा अपरिचित व्यक्तिलाई ‘हेलो’ भन्न वा ‘के छ हालखबर ?’ भनी सोध्न अथवा अभिवादन गर्नका लागि भनिने कुराहरू भन्न सकिंदैन । कसैलाई ‘हेलो’ भन्नका लागि उसलाई चिनेको नै हुनुपर्छ । अपरिचित व्यक्तिलाई ‘हेलो’ भन्नु अनौठो मानिन्छ । यस्तै स्थिति नेपाल, भारत तथा दक्षिण एशियाका देशहरूमा पनि छ । नेपाल र भारतमा कतिपय अवस्थामा अपरिचित व्यक्तिलाई ‘के छ तपाईंको हालखबर ?’ भनी सोध्नु अमर्यादित नै पनि हुन पुग्छ ।
अमेरिकामा कुनै पनि अपरिचित व्यक्तिलाई ‘हेलो’ भन्न सकिन्छ । ‘के छ तपाईंको हालखबर ?’ भनेर सोध्न सकिन्छ । कुराकानी नै पनि गर्न सकिन्छ । बाटो हिंड्दा, पार्कमा भेटिंदा, कुनै पसलमा देखादेख हुँदा वा कुनै समारोहमा सामुन्ने पर्दा अपरिचित व्यक्तिलाई ‘के छ हालखबर ?’ भनेर सोध्न सकिन्छ । त्यसरी ‘के छ हालखबर ?’ भनी सोध्नुलाई राम्रो मानिन्छ । उल्टो, त्यस किसिमबाट नसोध्नुलाई अनौठो मानिन्छ । बाटो हिंड्दा परबाटै नै कसैलाई अभिवादन गर्न हात माथि उठाएर हल्लाउन सकिन्छ ।
कतिपय देशहरूमा आँखा जुधाएर कुरा गर्नुलाई अमर्यादित मानिन्छ । प्रायः आफूभन्दा ठूलासँग कुरा गर्दा, उच्च पदमा रहेका व्यक्तिहरूसँग कुरा गर्दा वा अति आदर गर्नुपर्ने व्यक्तिसँग कुरा गर्दा आँखा नजुधाएर कुरा गर्नुलाई संस्कारी मानिन्छ । तर अमेरिकामा यसको विपरीत आँखा नजुधाएर कुरा गर्नुलाई मर्यादित मानिंदैन । अमेरिकमा कसैसँग आफूले आँखा जुधाएर कुरा गर्नुको अर्थ आफूले उक्त व्यक्तिलाई सम्मान दिनु हो । उसको कुरा आफूले ध्यानपूर्वक सुनेको प्रमाण दिनु हो । कुराकानीलाई महत्व दिनु हो ।
अमेरिकामा व्यक्तिहरूले कुरा गर्दा कानेखुसी गरिएको प्रायः देखिंदैन । दुई व्यक्तिबीच कुरा हुँदा कुरा गर्ने ती व्यक्तिहरूबीच दुईदेखि चार फिटको दूरी कायम गरिएको हुन्छ । धेरै टाढा होइन तर एक निश्चित दूरी राखेर दुई व्यक्तिबीच कुराकानी हुन्छ ।
नेपाल वा भारतमा ‘के छ हालखबर ?’ भनेर सोधेझैं अमेरिकामा ‘हाउ यार यू ?’ भनेर सोध्ने गरिन्छ । ‘हाउ यार यू ?’ भन्नुको अर्थ स्वास्थ्यसम्बन्धी हालखबर नसोधेर केवल अभिवादन गरेको भनेर बुझ्नुपर्ने हुन्छ । यसैगरी, ‘हाउ आर यू ?’ भनेर सोध्दा वा हेलो भन्दा भन्ने व्यक्तिको मुखमा हाँसो हुन्छ वा हुनुपर्छ । अर्थात् अमेरिकामा हाँसेर ‘हेलो’ भन्ने चलन छ । हाँस्नु पनि एक किसिमको राम्रो अभिवादन हो । जुनसुकै उमेरका व्यक्तिलाई पनि हाँसेर अभिवादन गर्न सकिन्छ ।