• सञ्जय मित्र

आधुनिक युगले धेरै कुरामा आधुनिकता ल्याउन खोज्दैछ । जुन कुरामा आधुनिकता आउँदैन, त्यो बिस्तारै हराएर जान्छ । स्थानीय कला, साहित्य, सङ्गीत र सिर्जनाले आधुनिक युगसित मितेरी गाँस्न नसक्दा अँध्यारोतिर धकेलिंदै गएको देखिन्छ ।

हेर्दाहेर्दै होलीको गीत र तरीका हरायो, छठ पबनीका गीतहरू बिलाए, छठका लोककथाहरू हराए, गाउँघरबाट झिंझिया गायब भयो, जरजटिनको नामोनिसान भेटिंदैन । चैतावर गाउने शायदै कोही छन्, बरमासा मुस्किलले कतै सुन्न पाइन्छ, रोपाइँको गीत लगभग हराइसक्यो, ब्याडमा बीउ काढ्दा गाइने गीत, हरवाहाले हलो जोत्दा गाउने गीत कहाँ गयो कहाँ ? बाटोमा हिंड्ने बटुवाहरू पनि चुपो लागेर हिंड्दैनथे । झुमर, चाँचर जस्ता अनेक गीत गाइरहन्थे । अहिले सबै हराएका छन् । अब त संस्कार गीतहरू बिस्तारै हराइरहेका छन् । समाजमा प्रचलनमा रहेका विभिन्न लोकगाथाहरू सम्झने अब बाँकी छैनन् । यस्तै हराउँदै गएको तर अवशेषको रूपमा बाँकी रहेको एउटा संस्कृति हो– सामाचकवा ।

सामा–चखेवा, सामा चकेवा, सामाचकवा आदि विभिन्न नामबाट जानिने यो एउटा यस्तो संस्कृति हो, जुन परिवेश अनुसार लोकनृत्य, लोकनाट्य, लोकगीत तथा लोकगाथा गरेर लोकअभिव्यक्तिका विभिन्न रूपमा प्रकट हुन्छन् । तर सबै क्षेत्रमा भने लोकगीतको रूपमा प्रचलनमा रहेको अवश्य हो । बिस्तारै यसबारे चेतना विस्तार हुँदै जाँदा यसको उद्भव र विस्तार तथा शास्त्रीय मान्यताबारे खोजी हुँदै गयो । यी सबैको विषयमा केही पनि जानकारी नभएको एउटा ग्रामीण समुदायमा निरक्षर दिदीबहिनीले जसरी यसलाई मनाउँदै आएका थिए, जब यसबारेको चेतनाको आलोक विस्तार हुँदै आयो, तब यो संस्कृति साँघुरिंदै आयो । उद्भव र विस्तारको मान्यतासित सहमति वा असहमतिको पाटो अर्को हो तर यसको स्वरूप र यसका पात्रको विषय पनि कम रुचिपूर्ण होइन । यसको कथानकमा पनि रोचकता रहेको छ । कथानकको एक पात्र हो– चुङ्ला ।

सामान्यतया चुङ्ला शब्दको अर्थ बुझ्ने मानिसको मनमा हास्यरसको उत्पत्ति हुन्छ । चुङ्ला भनेको त्यो व्यक्ति हो, जो दुवैतिर कुरो लगाउँछ । जसको उद्देश्य फरक हुन्छ । मूल कुरो बिगारेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ । यस्तो गर्ने कामलाई चुङ्लई भनिन्छ ।

व्यवहारमा के देखिएको छ भने जब चुङ्लाको भण्डाफोर हुन्छ, तब उसको जगहँसाइ हुन्छ । ऊ हाँसोको वा घृणाको पात्र बन्छ । विभिन्न लोकआहान, लोककथा, लोकगाथा तथा अन्य लोकसम्पदामा यस प्रकारको अभिव्यक्ति पाइन्छ । लोकगाथाको रूपमा समेत रहेको सामाचकवामा पनि चुङ्लाको भूमिका यही रूपमा रहेको छ । निहित स्वार्थ पूरा गर्नको लागि चुङ्लई गर्ने पात्र चुङ्लाको प्रतिमा वा प्रतिकृति सामाचकवासँगै देख्ने बित्तिकै दर्शकको मनमा हास्यरसको उत्पत्ति हुन्छ ।

यद्यपि रसको दृष्टिकोणले सामाचकवाको गीतमा शान्त रसको प्रधानता छ, कथानकमा कतै वीररस पनि पाइन्छ । चुङ्लाको भूमिकाले बीभत्स रसको उत्पादन पनि गर्दछ तर जहाँ सामाचकवाका विभिन्न प्रतिकृतिमा चुङ्लाको दर्शन हुन्छ, त्यहाँ हास्यरसको मनोभाव उत्पन्न हुने हुन्छ ।

सामाचकवाको कथानकमा चुङ्लाको वास्तविक नाम चूडक हुन्छ । ऊ कुटिल स्वभावको हुन्छ । श्रीकृष्णको द्वारिकाको बासिन्दा हुन्छ चूडक । उसको दरबारमा आवतजावत हुन्छ । श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फकी छोरी साम्बाप्रति ऊ आकर्षित हुन्छ । एकतर्फी आकर्षित भएको र मन पराएको चूडकले साम्बालाई पाउन सक्दैन । साम्बाको बिहे चारुवाक नामक युवकसित हुन्छ । साम्बा भगवान् शिवकी भक्त थिइन् । दिनहुँ वनमा रहेको शिवालयमा पूजा गर्न जान्थी । दिनहुँ एक्लै वनमा पूजा गर्न जाने गरेको कुरालाई नै चूडकले श्रीकृष्णलाई बढाइचढाइ गरेर नराम्रो चरित्रको भएको कुरो लगाउँछ । श्रीकृष्ण चूडकको कुरोमा लागेर छोरीलाई चरो बन्ने श्राप दिन्छन् । अन्तमा सही कुरो पत्तो लाग्छ । श्रापबाट मुक्ति पाउने उपाय बताउँछन् र त्यस अनुसार गरेपछि श्रापमुक्त भई साम्बा र चारुवाकले सुखमय जीवन बिताउँछन् । उता चूडकलाई देश निकाला हुन्छ । अनावश्यक आरोप लगाएर श्रीकृष्णकी छोरी साम्बामाथि चरित्रहीनको दाग लगाउन खोज्ने चूडकलाई चुङ्ला भनिएको हो । चरो बन्नु परेको साम्बा नै सामा र चरो बनेको चारुवाक नै चकवा हो अथवा सामाचकवा भनेका साम्बा र चारुवाक हुन् भन्ने मान्यता रहेको छ ।

चूडक अर्थात् चुङ्लालाई देश निकाला गरिएको र अपमानित गरिएको भएपनि हाम्रो समाजमा विभिन्न रूपमा चुङ्ला अहिले पनि रहेका छन् । चुङ्लाको चरित्रप्रति घृणाभाव वा बीभत्स रस तथा चुङलाको आकृतिप्रति हास्यभाव वा हास्यरस समाजमा स्वाभाविकरूपले विद्यमान रहेको छ । अहिले पनि सामाजिक चुङ्लाहरू समाजमा विद्यमान छन्, जसले सही कुरालाई ठाउँसम्म पुग्न नदिई त्यसलाई आफूअनुकूल बनाएर वा बताएर आफ्नो स्वार्थसिद्ध गरिरहेका छन् । यसले गर्दा सामाचकवाको चुङ्लालाई प्रतीक बनाएर समाजमा अझै पनि अनेक किसिमले गाली दिने गरिन्छ । त्यो गाली गीतमा अभिव्यक्त हुन्छ अर्थात् सामाचकवाका अहिलेसम्म प्रचलित केही लोकगीतमा चुङ्लालाई गरिने गालीमा वर्तमान समाजका चुङ्लालाई गाली गरेको जस्तो भाव हुन्छ । र स्वाभाविकरूपमा जब छोरीचेलीहरूले चुङ्लालाई गाली गर्दै उसको जुँगामा आगो लगाउँछन्, मुखमा आगो झोंस्छन्, तब एकातिर आक्रोशको भाव अर्थात् वीररसको उत्पत्ति भएको हुन्छ भने अर्कोतिर हास्यभावको उदय भएको हुन्छ । चुङ्लालाई गीतमैं गाली गर्दा किन नहोओस् तर त्यहाँ पनि हास्यात्मकता प्रस्तुत भइहाल्छ । छोरीचेलीले गीत नै गाउँदा पनि हाउभाउमा केही व्यङ्ग्यात्मकता भने आइहाल्छ ।

सामाचकवा हास्यात्मकताको दृष्टिकोणले परिचित होइन, न त यो व्यङ्ग्यात्मकताप्रधान कथानक नै हो । यसको गीतमा पनि व्यङ्ग्यात्मकताको मात्रा कम पाइन्छ, यसले हास्यरसको उत्पादन निस्सन्देह अल्प नै हुन्छ तर विशिष्टतामा र व्यावहारिक परिवेशमा हेर्दा जब चुङ्लाको प्रसङ्ग आउँछ, तब हास्यको स्वाभाविक रसोत्पत्ति हुन्छ । यसरी हेर्दा चुङ्लाको व्यावहारिक प्रयोग हास्यरसको स्थायी भावको रूपमा रहेको देखिन आउँछ ।

चुङ्लाको प्रतिमामा भएको दा¥ही–जुँगालाई डढाउनु र हरेक दिन उक्त प्रतिमालाई गीतसँगै कुटपिट गर्नुले पनि हास्यात्मकताको सिर्जना गर्छ । यसैगरी, पूर्णिमा राति जब सामाचकवाको रूपमा रहेका सबै प्रतिमालाई कुनै पवित्र जलाशयमा सेलाउनुभन्दा पहिले भाँच्ने काम गरिन्छ, तब सबैभन्दा पहिले चुङ्लाप्रति नै निर्दयता देखाइन्छ । यसैगरी, सेलाउने क्रममा जहाँ चरो, सामा, चखेवा र अन्य प्रतिमाहरूलाई जलाशयमा सेलाइन्छ, त्यही चाहिं चुङ्लाको प्रतिमालाई फोहोर विसर्जन गर्ने ठाउँमा वा फोहोरमा नै फालिन्छ । आजभोलि शौचालय वा यस्तै फोहोर ठाउँमा चुङ्लालाई मिल्काउने गरिन्छ । त्यहाँ पनि गाली गरिन्छ । यसबाट यो स्पष्ट हुन आउँछ कि चुङ्लाप्रतिको सामाजिक दृष्टिकोण निकै पहिलेदेखि नै नकारात्मक थियो । असत्य र पापको प्रतीकको रूपमा रहेको चुङ्लाप्रति घृणा र विद्वेष फैलाउने काममा सामाचकवाको पनि अप्रत्यक्ष भूमिका रहेको देखिन्छ ।

सामाचकवा हाम्रो समाजमा छठको पारन अर्थात् कात्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म खेलिने लोकसांस्कृतिक सम्पदा हो । अब अवशेषको रूपमा मात्र बाँकी छ बाजी समुदायमा तर अझै पनि थारू समुदायमा भने तुलनात्मकरूपमा राम्रोसित मनाइन्छ । अब सामा महोत्सव पनि हुन थालेको छ तर यस संस्कृतिको गरिमालाई बुझ्नेहरूले भनिरहेका छन्– सामाचकवा अब लोप भइसक्यो । यदि यसको संरक्षण गर्ने हो भने यसमा वर्तमान समाजलाई काम लाग्ने धेरै कुरा निकाल्न सकिन्छ । कात्तिक महीनालाई धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक र चेतना दिने महीनाको रूपमा परिभाषित गर्न सामाचकवाले पनि भूमिका निर्वाह गरेको यथार्थलाई अस्वीकार गर्न सकिन्न ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here