पाटन, ३० असोज/रासस

पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रोपटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गरेका जोशी विसं २०१५ मा पुरातŒव र संस्कृति विभागका पहिलो निर्देशक भएका थिए ।

जोशीले विसं २०१६ मा पाँचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा लागिपरेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि ‘उज्ज्वल कीर्तिमान राष्ट्रदीप’ले सम्मानित गरेको छ । तीन पटक ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करीब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायत विषय समेटिएका छन् ।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेखेका छन् । समालोचकले उनको ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महŒवपूर्ण मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्वीर अङ्कित चाँदीको सिक्का निष्कासन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्वीर छ भने अर्कोतिर सगरमाथाको तस्वीर रहेको छ ।

काठमाडौं विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गरेका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मेका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन् ।

राष्ट्रले अभिभावक गुमायो :राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन् ।

जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको राष्ट्रपतिको भनाइ छ ।

जोशीको आज बिहान किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रपतिले जोशीप्रति श्रद्धाञ्जलिसमेत अर्पण गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here