- कुमारबन्धु रुपाखेती
वीर शम्शेरले वीरगंज बसाउनुभन्दा धेरैअघिदेखि नै श्रीसिया नदी सफा पानीका साथ कलकल गरी निरन्तर बगिरहन्थ्यो । त्यतिखेरको निर्मल श्रीसिया नदीमा मान्छेहरू नुहाउने, लुगा धुने र गाईवस्तुलाई पानी खुवाउने गर्दथे । श्रीसिया नदीको पानीमा डुबुल्की लगाएर पवित्र भएपछि त्यतिखेरका मान्छेहरू धार्मिक कार्यमा सरिक हुन्थे । उहिले उहिले नदी, पोखरी र पानीको मुहान भएको स्थानमा मान्छेहरूले बस्ती बसाल्थे । क्रमशः वीरगंज विशाल, आधुनिक, विकसित हुँदै गयो भने श्रीसिया नदी खुम्चिने, फोहर हुने र प्रदूषित हुन थाल्यो । आधुनिक वीरगंजका घरघरमा, कोठाकोठामा पानी धारा जडान हुन थालेपछि यहाँका जनताले श्रीसिया नदीको महŒवलाई बिर्सिन थाले । यसरी जीवनदायिनी श्रीसिया नदीको हरिबिजोग हुँदै गयो । कुनै बखत श्रीसिया नदीमा देखिने विभिन्न प्रजातिका माछा, कछुवा, गड्यौंला, पानी सर्प र अन्य जलचर प्राणी लोप भए । अहिले श्रीसियाको चौडाइ र गहिराइ पनि घटेको छ । श्रीसिया नदीको वरपर पर्यावरण बिग्रिएकोले त्यताको रूखमा चराचुरुङ्गीसमेतले गुँड लगाउन छाडे ।
श्रीसियाको डिल मासेर बस्ती बसेको छ र यस्ता बस्तीहरूको डम्पिङ साइट (फोहर फाल्ने) पनि श्रीसिया नदी नै बनेको छ । अचेल श्रीसिया नदी जलचरको वासस्थलको सट्टा झिङ्गा, लामखुट्टेको प्रजनन केन्द्रको रूपमा परिणत भएको छ । श्रीसिया नदीको छेउछाउमा स्थापना गरिएका कलकारखानाको फोहर र प्रदूषित पानी फाल्ने ठाउँ पनि सोही नदी नै हो । घरका फोहर कसिङ्गर, पुराना ओछ्यान, गुन्द्री र मरेका चौपायासमेत यहाँ फालिन्छ । राम तेरी गङ्गा मैली हो गई, पापीयों के पाप धोते धोते ।
छठ पर्वको बेला र निर्वाचनका बखत श्रीसिया नदीको उद्धारबारे जोडसोडले हल्ला उठ्छ र सेलाउँछ । यहाँका उद्योगीहरूसमेतलाई यो क्षणिक हल्ला हो भन्ने ज्ञान छ, त्यसैले त पर्व र निर्वाचनताका केहीको खल्ती गरम गराइन्छ र कानमा तेल हालेर बसिन्छ । यसरी अचेल यो पवित्र नदी मागीखाने भाँडो पनि बन्दैछ । वीरगंजको मेनरोड फराकिलो हुने र श्रीसिया नदी प्रदूषणमुक्त हुने कुरा उस्तै–उस्तै हो । नकचराहरूले त निर्वाचनताका वीरगंज चिनीमिल र कृषि औजार कारखानासमेत सञ्चालन गर्ने हौवा पैmलाउँछन् । ‘न रही बाँस, ना बजी बाँसुरी’को तालमा यी कारखाना बन्द गर्नेहरू अहिले सत्तामैं छन् । श्रीसिया नदीलाई अहिले नालामा परिणत गर्ने हामी नै हौं । आफैं बिगार्ने अनि आफैं हल्ला मचाउने हाम्रो प्रवृत्ति नै हो । दुई/चारजनाले हल्ला गर्दैमा, सस्तो विज्ञप्ति दिंदैमा यो विकराल समस्या रातारात समाधान हुनेवाला छैन । सबैलाई थाहै छ, सम्बन्धित हाम्रF सरकारी निकायहरू झाडातिरुवा काम गरेर थामथाम र थुमथुम पार्न माहिर छन् । भिस्वा डाँडा र श्रीसिया नदीलाई पर्यटकीय क्षेत्रमा परिणत गर्न सकिन्छ तर यो तालले होइन । यो पाराले त श्रीसियाको प्रदूषणले सम्पूर्ण वीरगंजको पर्यावरणलाई दूषित पार्ने देखिन्छ । छठ तराईको महान् पर्व हो, कुनै बखत श्रीसिया नदीको किनारामा छठव्रती र दर्शनार्थीहरूको ठूलो घुँइचो लाग्थ्यो तर अचेल श्रीसिया किनारमा छठ गर्नेहरू अन्यत्र तलाउ, पोखरीमा जान थाले । दर्शनार्थीहरूको घुँइचोसमेत घडीअर्वातिर गयो । वीरगंजमा सबै राजनीतिक दलले आफूलाई बलियो र सक्षम ठान्छन् तर श्रीसिया नदीको मामिलामा कमजोर प्रतीत हुन्छन् । जाबो एउटा नदी बचाउन नसक्नेले देश चलाउँछु भन्ने स्वाङ रच्छन् । यस्तै छ पवित्र श्रीसियाको रामकहानी । यो राजनीतिक समस्या हो । कुर्सीमा बसेका अन्धा मान्छेको शहर हो वीरगंज, जहाँ श्रीसिया बग्छ ।