– कृष्ण दवाडी

कास्की, २९ असोज/रासस

बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न शुरू गरेको १२ वर्षभन्दा बढी भयो ।

विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न शुरू गरिन् ।

जिल्लामा राम्रो गरेपछि उनी विभागीय टोलीको नजरमा परिन् । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो । विभागीय टोलीमा रहेर खेलकूदमा लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।

पोखरा रङ्गशालामा नवौं राष्ट्रिय खेलकूदको एथलेटिक्स अन्तर्गत महिला १०० मिटर दौडमा यस अघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जितेपछि उनी असाध्यै खुशी छिन् ।

सरस्वतीले १२.१३ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उनको खेल जीवनमा उत्साह थपिएको छ । यस अघि हिटमा लुम्बिनी प्रदेशका निशा चौधरीले १२.१५ सेकेन्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोडिन् । निशाले निर्धारित दूरी पूरा गर्न १२.२२ सेकेन्डको समय लगाएकी थिइन् ।

यस अघि देवीमाया पनेरूको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२.१५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । यस अघि दाङमा भएको आठौं राष्ट्रिय खेलकूदमा पनि उनले स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यस बेला उनले १२.१९ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । आठौंदेखि नै उनको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिं नसोचेको बताइन् ।

उनले भनिन्–“जिल्लास्तरमा खेल्दादेखि नै सबैले तिमी राम्रो गछ्र्यौ भन्थे, मैले पनि आफूलाई कमजोर सोचेकी थिइनँ । राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएकी हुँ । सक्छु कि सक्दिनँ भनेर मनमा लागिरहन्थ्यो । कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।”

चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउँछिन् । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उनले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताइन् ।

 “जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द गुरुले ल्याउनुभयो ।

पछि आर्मी ज्वाइन गरेपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलें”–चौधरीले भनिन् । उनी विसं २०७४ देखि विभागीय नेपाली सेनामा आबद्ध छिन् ।

यसैगरी पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरीका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले निर्धारित दौड १०.५६ सेकेन्डमा पूरा गरे । पार्कीले यस अघि सन् १९९९ मा रामकृष्ण चौधरीले १०.७१ सेकेन्डको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । एथलेलिक्टमा एकैदिन सात स्वर्ण पदकको छिनोफानो भएको छ ।

आजदेखि पोखरामा थप विभिन्न १२ खेल भएका छन् । असोज २३ देखि केही खेल शुरू भएका थिए भने अधिकांश खेल उद्घाटनपछि शुरू भएका हुन् । प्रतियोगिता अन्तर्गतका केही खेल असोज २३ देखि नै शुरू भएका थिए । अधिकांश प्रदेशका आठ जिल्लामा खेल भइरहेका छन् ।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकूदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीका ६,१५७ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here