- सञ्जय मित्र
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको तुलना जब भारतीय साहित्यकारसित गरिन्छ तब एउटा वाक्य भन्न वा लेख्न कसैले छुटाउँदैन कि भारतका महापण्डित राहुल सांकृत्यायनले भनेका थिए – देवकोटा हिन्दी साहित्यका पन्त, प्रसाद र निरालाका त्रिवेणी हुन् ।
यी पन्त, प्रसाद र निराला को हुन् ? यतातिर खासै कसैको ध्यान जाँदैन । यिनै त्रिमूर्तिमध्ये एक भनिएका निरालाको पूरा नाम सूर्यकान्त त्रिपाठी निराला हो । निरालाको जन्म भारतको पश्चिम बङ्गाल प्रान्तको मेदिनीपुर जिल्लाको महिषादल रियासतमा सन् १८९९ फरवरी २१ का दिन भएको हो । उनका पिताको नाम पण्डित रामसहाय तिवारी थियो । तिवारी मूलरूपमा उत्तर प्रदेशको उन्नाव जिल्लाको गढागोला गाउँका निवासी थिए तर जागिरको क्रममा त्यहाँ पुगेका थिए । तिवारी महिषादलमा सिपाहीको नोकरी गर्दथे ।
हाई स्कुलसम्मको शिक्षा मात्र औपचारिकरूपमा लिएका निरालाले हिन्दी, संस्कृत तथा बङ्गला भाषाको स्वाध्ययन गरेका थिए । विपन्न परिवार तथा पिताको अत्यन्त सानो पदमा जागीर भएको हुँदा दुनियाँलाई निकै नजीकबाट अनुभूति गर्न पाएका निरालाको परिवारमा प्रथम विश्वयुद्धको निकै नकारात्मक प्रभाव परेको थियो । उसो त उनकी माताको मृत्यु यिनी तीन वर्षको हुँदा नै भएको थियो, बीस वर्षको हुँदा पिताको संरक्षकत्वबाट पनि विमुख भए । संयुक्त परिवारको पालनपोषणको कार्यभार काँधमा आयो । सन् १९१८ मा पत्नी मनोहरादेवी तथा छोरीसहित परिवारका अन्य केही सदस्यको मृत्युको पीडाले हृदयदेखि नै विह्वल भएका निरालाको जीवन आर्थिक–सङ्घर्षको एउटा दुर्लभ दृष्टान्त बन्न पुग्यो ।
करीब चार वर्ष महिषादलमा नोकरी गरेका निरालाको मनोविज्ञानमा साहित्य पहिलेदेखि नै थियो । एकपछि अर्को पीडादायी भोगाइ तथा मुटुको स्पन्दनमा परिरहेको चोटले प्रभावित निरालाको मन झन् साहित्यतिर उन्मुख भयो । सानैदेखि विभिन्न भाषाका साहित्य पढिरहेका र सम्भव भएसम्म गुनगुनाइरहेका निराला सन् १९२२ पछि साहित्य सेवामा लीन भए । सम्पादन, स्वतन्त्र लेखन तथा अनुवाद कार्यमा नै उनको जीवन बित्यो । १९२२ देखि १९२३ सम्म कलकत्ताबाट प्रकाशित हुने समन्वय भन्ने पत्रिकाको सम्पादन गरे । यसैगरी मतवाला भन्ने पत्रिकाको सम्पादक मण्डलमा रहेर काम गरे । त्यसपछि १९३५ सम्म लखनऊमा गङ्गा पुस्तकमालाको कार्यालयमा नियुक्ति लिई सुधा पत्रिका सम्पादनमा आबद्ध रहे । जीवनको लामो समय उनले यसैमा बिताएको देखिन्छ । करीब पाँच वर्ष उनले स्वतन्त्र जीवन बिताएको देखिन्छ । सन् १९४० देखि १९४२ सम्म अर्को एउटा पत्रिकामा संलग्न रहेर साहित्यको सेवा गर्दै त्यसपछिको समय भने इलाहाबादमा बिताएको देखिन्छ । मृत्युपर्यन्त इलाहाबादमा रहेर स्वतन्त्र लेखन तथा अनुवाद कार्यमा समर्पित रहे । सन् १९६१ अक्टुबर १५ मा आँखा चिम्ले ।
निरालाको साहित्यिक जीवनमा अनेक कृतिको सिर्जना भएको पाइन्छ । निरालाका अनामिका, परिमल, गीतिका, अनामिका द्वितीय, तुलसीदास, कुकुरमुत्ता, अणिमा, बेला, नये पत्ते, अर्चना, आराधना, गीतकुञ्ज, साध्य काकली, अपरा (सञ्चयन) काव्य सङ्ग्रह प्रकाशित छन् । यसैगरी अप्सरा, अलका, प्रभावती, निरूपमा, कुल्ली भाट, बिल्लेसुर बकरिहा, चोटीकी पक्कड, काले कारनामे, चमेली, इन्दुलेखा उपन्यास प्रकाशित छन् । यसैगरी लिली, सखी, सुकुलकी बीबी, चतुरी चमार र देवी कथा सङ्ग्रह प्रकाशित छन् । निरालाका रवीन्द्र कविता कानन, प्रबन्ध पद्म, प्रबन्ध प्रतिमा, चाबुक, चयन तथा सङ्ग्रह निबन्ध कृति प्रकाशित छन् ।
मनुष्यको मुक्तिजस्तै कविताको पनि मुक्ति हुन्छ भन्ने विचार राख्ने सूर्यकान्त निरालाको जन्म नै साहित्य सेवाको लागि भएको मानिन्छ । उनले जति पत्रिकाको सम्पादन गरे र जति कृतिको सिर्जना गरे, त्यति कृतिको सिर्जना र पत्रिकाको सम्पादन सामान्यतया एकजनाले गर्न ज्यादै कठिन छ ।
बङ्गालमा साहित्य सिर्जन गर्न प्रारम्भ गरेका निरालामा छायावादको प्रभाव पाइन्छ । यसैगरी उनी रहस्यवादका पनि चामत्कारिक सर्जक हुन् । यथार्थवाद त उनका काव्यको प्रमुख विशेषता नै हो । यदि यथार्थवाद मुखरित हुन्छ भने स्वाभाविकरूपमा प्रगतिवादी चिन्तन आउँछ । निराला एक प्रगतिवादी स्रष्टा थिए । साहित्य कलामा चमत्कारपूर्ण प्रयोगका विशिष्ट सर्जक निरालाका रचनामा सङ्घर्षले कहिल्यै विराम पाउँदैन ।
कतिपय समालोचकले साहित्यकार निरालामा फरक प्रकृतिको अध्यात्मवादी पनि देख्दछन् । कतिपय काव्यमा अत्यधिक दार्शनिक भाव र दार्शनिक गहिराइका कारण सामान्य पाठकका लागि बोधगम्यताको अभाव अवश्य देखिन्छ तर रहस्यवादको निकटताले उनका रचनाहरू अध्यात्मको निकट बन्न पुगेका छन् भन्ने भनाइ छ । हुनत रहस्य र अध्यात्म एउटै होइन, तर पनि निरालाको सन्दर्भमा केही समालोचक कठोर बनेका देखिन्छन् ।
करीब ६२ वर्ष बाँचेका निरालाले ६० भन्दा बढी कृतिको सिर्जन तथा अनुवाद गरेका थिए । यो चानचुने कार्य होइन । यसै कारण के भनिन्छ भने विधा, सिर्जन तŒव तथा विषय विविधताका साथै साहित्यिकवादलाई पनि निरालाले आफ्नै प्रवाह दिए वा आफूसित बाँधेर प्रवाहमय बनाइरहे । आफ्नो युगमा हिन्दी साहित्यलाई नेतृत्व प्रदान गरेका निरालाले साहित्यलाई के दिएनन् ? के भनिन्छ भने निरालाको साहित्यिक प्रवाह यति तीव्र थियो कि साहित्य यसमा बहन्थ्यो ।
साहित्यलाई निरालाले उचाइ दिए, साहित्यले निरालालाई उचाइ दियो । एकले अर्कालाई सम्मान गरेको देखिन्छ । यस कारण निराला विभिन्न सम्मानबाट सम्मानित देखिन्छन् र सबै औपचारिक पुरस्कार तथा सम्मानभन्दा माथि यो देखिन आउँछ कि हिन्दी साहित्यमा निरालाको नाम अत्यन्त श्रद्धा र सम्मानका साथ लिइन्छ । यो उपलब्धि सबैभन्दा ठूलो यस अर्थमा पनि हो कि साहित्य परिचर्चामा निराला हिन्दी साहित्यसँगै विश्वभर पुगेका छन् ।
यो स्पष्ट छैन कि निरालाको प्रभाव नेपाली साहित्यमा कतिको परेको छ तर कतिपयले निरालाको प्रभाव तत्कालीन भारतीय हिन्दी साहित्यमा अत्यन्त बलियो भएकोले त्यसको प्रभाव नेपाली साहित्यकारमाथि पर्नु र नेपाली साहित्यकारले सिर्जना गर्ने साहित्यमा पर्नु स्वाभाविक भएको मानेका छन् । यद्यपि वर्तमान अवस्थामा पनि नेपाली साहित्यकारले निरालाबाट विभिन्न प्रभाव र प्रेरणा ग्रहण गर्न सक्ने देखिन्छ । निरालाका कृतिहरूले पाठकलाई ऊर्जा मात्र दिने होइन कि लेखनको विषय र नवीन किसिमले सिर्जन गुण पनि दिने देखिन्छ ।