विश्व स्वास्थ्य सङ्गठनले भारतको एउटा औषधि कम्पनीको चारवटा कफ र कोल्ड सिरफ (खोकी र रुघाखोकीको औषधि)बारेमा चेतावनी जारी गरेको छ । डब्लुएचओले यो चेतावनी अफ्रिकी देश गाम्बियामा ६६ बच्चाको मृत्युपछि जारी गरेको हो ।
डब्लुएचओले वैश्विक स्वास्थ्यमाथि सञ्चारकर्मीहरूसँग छलफलको क्रममा भनेको हो । जेनिभामा डब्लुएचओका प्रमुख टेड्रोस ग्रेबियेससले भने, डब्लुएचओले गाम्बियामा पाएको चारवटा औषधिलाई लिएर एउटा चिकित्सा उत्पाद चेतावनी जारी गरेको छ, जसको तीव्रताले मिर्गौला क्षतिग्रस्त र ६६ बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । यो मृत्यु ती परिवारको लागि अत्यन्त दुःखदायी हो । यो चार औषधि कफ र कोल्ड सिरफ हो, जुन भारतमा मैडेन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ ।
डब्लुएचओले भारतको नियामक प्राधिकरणसँग मिलेर जाँच गरिरहेको छ । यो दूषित उत्पाद अहिलेसम्म गाम्भियामा नै पाइएको छ, तर यो अन्य देशमा पनि वितरित भएको हुन सक्छ । डब्लुएचओले रोगीलाई नोक्सान नहोस् भनेर सबै देशलाई यी उत्पादको जाँच गर्न र त्यसलाई हटाउन सल्लाह दिएको छ ।
डब्लुएचओको दाबी छ कि भारतीय कम्पनीले यी औषधिको सुरक्षा ग्यारेन्टी पनि दिएको छैन । डब्लुएचओले जुन चारवटा औषधिको नाम लिएको छ, त्यो हो प्रोमिथाजाइन ओरल सोल्युशन, कोफेक्सामलिन बेबी कफ सिरफ, मेकअफ बेबिए कफ सिरफ र मैगरिप एन कोल्ड सिरफ हो ।
डब्लुएचओको भनाइ छ अहिलेसम्म यी औषधि केवल गाम्बियामा मात्र पाइएको छ तर सम्भव छ अन्य देशमा पनि यी औषधि पठाएको हुन सक्छ । स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ कि यी औषधिको सेवनबाट विशेषगरी बच्चामा गम्भीर चोट वा मृत्यु हुने आशङ्का छ ।
डब्लुएचओले भनेको छ– भारतको सेन्ट्रल ड्रग्स स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेशनले सङ्केत दिएको छ कि भारतयि कम्पनीले केवल गाम्बियामा नै यी औषधि पठाएको छ, तर यो औषधि अन्य देशमा पनि पठाएको आशङ्का छ । कम्पनीले यस्तै दूषित पदार्थको प्रयोग अन्य औषधिमा पनि गरेको हुन सक्छ ।
गाम्बियाले यसको सूचना डब्लुएचओलाई दिएको थियो । त्यसपछि डब्लुएचओले जाँच शुरू गरेको थियो । डब्लुएचओले जाँच गरेपछि भनेको छ, यी औषधिको नमूना ल्याबमा जाँच गर्दा यो कुराको पुष्टि भएको छ कि औषधिमा बढी मात्रामा डाइइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल थियो ।
स्वास्थ्य सङ्गठन अनुसार ती पदार्थ विषाक्त हुन्छन् र त्यसको कारण पेट दुख्ने, बान्ता, पखाला, पिसाब गर्न समस्या, टाउको दुख्ने, मानसिक स्थितिमा बदलाव र मिर्गौलामा तीव्र चोट हुन सक्छ, जसले गर्दा मृत्यु पनि हुन सक्छ ।
यसबारेमा औषधि निर्माता कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन । बिबिसीले पनि यस मामिलामा कम्पनीलाई एउटा मेल पठाएको थियो । जसको जवाफ पनि कम्पनीले दिएको छैन । बिबिसीका सहयोगी पत्रकार सत सिंह जब कारखानामा पुगे, कारखाना बन्द थियो र त्यहाँ कोही पनि थिएनन् । यस कम्पनीले एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा आफ्नो औषधि निर्यात गर्दछ ।
यो औषधि भारतीय बजारमा उपलब्ध छन् कि छैनन् भन्नेबारे कुनै जानकारी छैन तर समाचार एजेन्सी एएनआईले अल इन्डिया केमिस्ट एन्ड डिस्ट्रिब्यूटर्सको हवाला दिंदै भनेको छ, यो कम्पनीले भारतीय बजारमा औषधि वितरण गर्दैन । एजेन्सी अनुसार यो कम्पनीले औषधिलाई केवल निर्यात मात्र गर्दछ तर यदि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाको तर्फबाट कुनै दिशानिर्देश जारी भयो भने त्यो पालना गरिनेछ ।
डाइइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल के हो ?
एनसाइक्लोपिडिया अफ टक्सिकोलोजी अनुसार औषधिलाई लिएर २०औं शताब्दीमा भएको ठूलो घटनामा डाइइथिलिन ग्लाइकोल सामेल थियो । यो एक प्रकारको विलायक (सलवेन्ट) हो । सन् १९३७ मा अमेरिकामा एउटा औषधि बनाइएको थियो, जसमा सलवेन्टको रूपमा यसको प्रयोग गरिएको थियो । त्यति बेला यसको कारण सयभन्दा बढीको मृत्यु भयो, जसमा बच्चा पनि सामेल थिए । त्यति बेला बच्चालाई रुघाखोकीको लागि यो औषधि दिइन्थ्यो । यस घटनापछि सन् १९३८ मा फूड, ड्रग एन्ड कस्मेटिक एक्ट बनाइयो ।
कम्प्रिहेन्सिभ टक्सिकोलोजी अनुसार डाइइथिलिन ग्लाइकोल एउटा इन्डस्ट्रियल केमिकल हो, जसको प्रयोग एन्टिफ्रिजको रूपमा गरिन्छ । यो किडनी फेल हुने कारण पनि बन्न सक्छ ।
दिल्लीस्थित मौलाना आजाद मेडिकल कलेज अस्पतालका प्राध्यापक र कम्युनिटी मेडिसिनकी निर्देशिका डा सुनीला गर्गले बिबिसी संवाददाता मानसी दासलाई भनिन्, यदि यी दुई केमिकल कुनै कारणले मान्छेको शरीरमा प्रवेश गर्छ भने पेट दुख्ने, झाडापखाला हुने, पिसाब गर्न समस्या, टाउको दुख्ने, मानसिक स्थितिमा बदलाव र मिर्गौलामा गम्भीर समस्या हुन्छ र मृत्यु पनि हुन सक्छ ।
कफ सिरफ किन्ने बेलामा सावधानी अपनाऔंः भारतमा अधिकांश मानिसले ज्वरो, रुघाखोकी भएपछि चिकित्सकको सल्लाहबेगर सीधैं पसलबाट औषधि किन्छन् । जुन खतरनाक साबित हुन सक्छ । डा सुनीला भन्छिन्– प्रेसक्रिप्सन लिएर औषधि लिन आउनेहरूमाथि पनि निगरानी गर्नुपर्छ । कफ सिरफ बच्चाको लागि बढी प्रयोग हुन्छ । यसै कारण गुणस्तरहीन औषधि चिकित्सकले पनि लेख्नुहुँदैन । कफ सिरफमा यस्तो पदार्थ हुन्छ, जसले निद्रा लगाउँछ । बच्चालाई पछि यसको लत लाग्न सक्छ ।
उनले यस मामिलाको जाँच हुनुपर्ने र औषधि बनाउने बेलामा के कुराको कमी भयो, त्यो हेर्नुपर्छ । औषधि बनाउने फर्मुलालाई स्वीकृति दिइएको छ कि छैन, त्यसको सही प्रकारले पालन भएको छ कि छैन, त्यो सबै जाँच गर्नुपर्छ । उनले यो औषधि अन्य गुणस्तरीय औषधिभन्दा सस्तो छ । यो औषधि गाम्बिया कसरी पुग्यो, औषधि निर्यातका सबै नियम पालना गरिएको छ कि छैन, त्यसबारे अनुसन्धान अगाडि बढाउनुपर्छ । –बिबिसी हिन्दीबाट अनुवाद