• कुमारबन्धु रुपाखेती

 “परतन्त्रभन्दा स्वतन्त्र राम्रो अनि पार्टीको झन्डाभन्दा चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झन्डा हाम्रFे” भन्दै पर्सा जिल्लाका केहीले स्वतन्त्र बनेर निर्वाचनमा भाग लिंदैछन् । पर्सा जिल्लाका अधिकांश स्वतन्त्रले आफ्नो पार्टीबाट भूतपूर्व बन्दै वर्तमान राष्ट्रिय झन्डालाई हतियार बनाएका छन् । रातो चन्द्र र सूर्य मात्र बोके कसो जङ्गी निशान हाम्रो भनेका छैनन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता स्थलमा भीडभाड नगर्न भने पनि दलहरूले मेला नै लगाइदिएका छन् । निर्वाचन आयोगको निर्देशन उल्लङ्घन गर्नुलाई दलहरूले आफ्नो सान नै ठान्छन् र उम्मेदवारी दर्ता दिन उर्लेको भीडलाई आफ्नो शक्ति प्रदर्शन ठान्ने परम्परा छ ।

सीमित खर्च गर्नु भन्ने निर्वाचन आयोगको आदेशलाई समेत उम्मेदवारहरूले बेहिसाब खर्च गरेर चुनौती दिने गरेका छन् । पर्सा जिल्लामा यसपटक गठबन्धनसमेत गतिलो देखिंदैन । एमाले र जसपा अनि काङ्ग्रेस र लोसपाको अनहोनी र अनौठो गठबन्धनले पर्सामा मात्र नभई पूरै मधेस प्रदेशमैं अन्योलता छाएको देखिन्छ । राष्ट्रिय राजनीतिलाई चुनौती दिंदै रातारात तयार भएको यो गठबन्धनको परिणाम धेरैका लागि घातक हुने सङ्केत देखिन थालेको छ । अजयकुमार द्विवेदीले चारतारे झन्डा त्यागेर स्वतन्त्ररूपमा लड्नुपर्ला भनी सपनामा पनि सोचेका थिएनन् । करीमा बेगम र जन्नत अन्सारीहरूको अवस्था पनि कमोवेश यस्तै छ । विमल श्रीवास्तवजस्ता स्थानीय हस्तीले अङ्गुर खट्टे है भनेर चित्त बुझाउनुपरेको छ ।

मलाई समग्र पर्सा जिल्लाको हालचाल त थाहा छैन, तर पर्सा क्ष्Fेत्र नं १ को वर्तमान राजनीतिक अवस्थाको अवगत छ । पर्सा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा प्रदीप यादव र प्रदेशसभा सदस्यमा मुख्यमन्त्री लालबाबूराउत गद्दीको सम्भावना बढी देखिन्छ । किनकि यहाँ पूर्व काङ्ग्रेसी र वर्तमानमा स्वतन्त्र अजय द्विवेदीको उपस्थितिले गठबन्धनका लक्ष्मणलाल कर्णलाई राम्रै मर्का पर्ने देखिन्छ अर्थात् द्विवेदीका कारण कर्ण कमजोर देखिन्छन् । प्रदीप यादवसँग कर्णको मुकाबिला राजा भोज र गङ्गु तेलीसरह देखिन्छ । त्यसै पनि कर्णभन्दा यादव युवा र चलताफिरता सक्रिय नेता देखिन्छन् । त्यसै पनि लक्ष्मणलाल कर्णले धेरैलाई कानूनी दाउपेच सिंकाइरहन्छन् भने प्रदीप यादव राजनीतिक लक्कडपेंचमा माहिर मानिन्छन् । यो निर्वाचनमा महानगरका प्रमुख राजेशमानले पनि करिश्मा देखाउलान् नै । जहाँसम्म मुख्यमन्त्री गद्दीको सवाल छ, यिनको छवि बौद्धिक किसिमको छ । यिनी कसैको बिगार गर्न चाहँदैनन्, सक्ने काम गरिदिन्छन् । यिनी जनतामा भिजेका पनि छन् र आफ्नो सफल पाँच वर्षे कार्यकाल निर्विघ्न पूरा गरेका छन् । अन्य क्षेत्रको जहाँसम्म मलाई अलिअलि जानकारी छ, काङ्ग्रेसका अजय चौरसिया, एमालेका राजकुमार गुप्ता र काङ्ग्रेसका रमेश रिजालको अवस्था राम्रो छ । सुरेन्द्र चौधरी पनि पुरजोर कोशिशमा छन् ।

स्थानीय निर्वाचनमा साइकल बनाम एमाले बनेका विमल श्रीवास्तवले यसपटक कता दोस्ताना हात फैलाउँछन् भन्न गा¥हो छ ।

तर जेसुकै भएपनि काङ्ग्रेस र एमालेको बुई चढेर निर्वाचनमा होमिएका मधेसवादी दलहरूले प्रतिनिधिसभा र प्रदेशसभामा पर्साबाट विगतको आफ्नो केही विरासत गुमाउने निश्चित देखिन्छ । प्रदेशसभा सदस्य पदमा जसपा पर्साका अध्यक्ष रामनरेश यादव बलिया देखिन्छन् ।

नेपालको राष्ट्रिय झन्डा सिभिल इन्जिनीयर शङ्करनाथ रिमालले राजा महेन्द्रको आग्रहमा डिजाइन गरेका हुन् । १६ डिसेम्बर १९६२ अर्थात् ५९ वर्षअघि । त्रिभुजाकारले हाम्रो हिमाल दर्शाउँछ भने राम्रो सिम्रिक रङ्गले हाम्रो विजय र बहादुरी दर्शाउँछ । चन्द्र शीतलता र ठण्डाको प्रतीक हो भने सूर्यले मुलुकको दीर्घायु दर्शाउँछ ।

हाम्रो झन्डाले दुई धर्म हिन्दू र बौद्धको सन्देशसमेत दिन्छ । कुनै बेला राष्ट्रियता दर्शाउन राष्ट्रिय झन्डा प्रयोग गरिन्थ्यो । केही समयदेखि राजावादीहरूको झन्डा बनेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झन्डा अचेल राजनीतिमा निर्वाचनताका उम्मेदवारहरूको रहर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here