• अनन्तकुमार लाल दास

विश्वभरिका बालबालिका आफ्नो बेग्लाबेग्लै आवश्यकताको लागि मोबाइल फोन प्रयोग गर्छन् । कोही आफ्नो साथीसँग लामो समयसम्म गफिन्छन् भने कोही लामो समय गेममैं रमाउँछन् । कोही यसबाट ज्ञान हासिल गरिरहेको भेटिन्छन् भने कोही भिडियो हेर्न र कसैसँग च्याट गर्न व्यस्त रहन्छन् । तर चिन्ताको कुरो के हो भने निरन्तर यसको उपयोग र स्क्रीन एक्सपोजरले गर्दा विद्यार्थीहरूमाथि नकारात्मक प्रभाव परिरहेको छ । के तपाईंले कहिल्यै मोबाइल फोनबाट हुने नकारात्मक असरबारे सोच्नुभएको छ ? मलाई यस्तो लाग्दैन, किनभने यस प्राविधिक युगमा कसैसँग यसबाट हुने हानिबारे सोच्ने समय नै छैन । मोबाइल फोन सबैको जीवनको लागि अनिवार्य उपकरण बनेको छ तर यसको अर्थ यो होइन कि मोबाइल फोन बेगर जीवनको आनन्द प्राप्त हुँदैन ।

आज हरेक आमाबुवाको एउटै गुनासो छ–उनको सन्तान हमेशा मोबाइलसँगै टाँसिएको हुन्छ जस कारण उसको पढाइ र भाषा खराब हुन थालेको छ र उसमा झर्किने बानी विकसित भइरहेको छ । आज सोशल मिडिया मानवीय जीवनको अहम् हिस्सा बनेको छ । चाहँदा नचाहँदै मानिस यसबाट स्वयंलाई टाढा राख्न सकिरहेको छैन । समस्या त्यस बेला देखापर्छ जब बुजुर्गहरू नै मोबाइल खेलाइरहन्छन् जसबाट केटाकेटीहरू प्रभावित हुन थाल्छन् । यस्ता अभिभावकहरूलाई के थाहा हुनुपर्ने हो भने विद्यार्थीहरूको विकासमा सामाजिक सञ्जालले के असर पु¥याउँछ ? आज मानिस पैसा कमाउनका लागि अन्धो भइसकेको छ । मानिसले गर्ने क्रियाकलापको असर उसको सन्तान, समाज र राष्ट्रमाथि कस्तो पर्छ भन्ने कसैले सोच्दैन । लामो समय मोबाइल र टेलिभिजनमा व्यतीत गर्दा बालबालिकाको मस्तिष्कमा गहिरो नकारात्मक असर पर्दछ जसबाट उसको पढाइ–लेखाइ र भविष्य निर्माणमा असर पर्छ ।  

जब हामी मोबाइलले विद्यार्थीमा पार्ने नकारात्मक असरबारे कुरा गर्छौं भने यो त्यस विद्यार्थीमाथि निर्भर छ जसले मोबाइलको उपयोग गर्छ । विद्यार्थीहरू मोबाइलबाट आफूलाई अझ राम्रो बनाउन सक्छन् वा त्यसबाट नै आफ्नो जीवन बिगार्न सक्छन् । यी सबै कुरा उसले कसरी यसको प्रयोग गर्छ भन्ने कुरामा निर्भर हुन्छ । हुनत कोरोनाकालमा हरेक विद्यार्थीको हातमा घरमै बसेर पढ्नका लागि मोबाइल दिइयो तर यसको परिणाम के देखा प¥यो भने विद्यालय खुलेपछि विद्यार्थीहरू लती बनेका र शिक्षकले मोबाइलबाट प्रश्नको जवाफ खोज्न भन्नुहुन्छ भनेर मोबाइल अभिभावकलाई दिएनन् भने कतिपयले उनीहरूमाथि विश्वास गरेर माग्दा पनि मागेनन् । तर जब परीक्षाको रिजल्ट आयो तब विद्यार्थीहरूको प्रगति हेरेर सबै चिन्तित छन् र के गर्ने भन्ने सोच्न थालेका छन् । यस आलेखमार्फत मोबाइलले कसरी विद्यार्थीहरूलाई हानि पु¥याइरहेको छ र अभिभावकहरूले यस लतलाई कसरी न्यून गर्न सक्छन् भन्ने विषयमा बहस चलाउन मात्र खोजिएको हो । 

मोटोरोला कम्पनीका शोधकर्ता मार्टिन कूपरले ३ अप्रिल सन् १९७३ मा मोबाइल फोनको आविष्कार गरे तर आज मोबाइल फोन नहुने शायद नै कोही होला । आज मानिस यसको आदि बनिसकेको छ र कोरोनाकालमा यो आम विद्यार्थीको हातमा पुग्यो । विद्यार्थीहरू इमानदारी साथ मोबाइलको बढी प्रयोग गरिरहेकोको स्विकार्छन् साथै मोबाइल छोड्न चाहँदाचाहँदै पनि छोड्न न सकिरहेको बताउँछन् । एक दिन मोबाइल छोड्दा उनीहरूले बेचैनी र निद्रा नलाग्ने कुरा स्विकारेका छन् । यसबाट के प्रस्ट हुन्छ भने उनीहरू विद्युतीय कुलतका शिकार भएका छन् । हाम्रो चाहना उनीहरूले मोबाइल प्रयोग नगरून् भन्ने नभई थोरै समय प्रयोग गरून् र बढी समय आफ्नो पढाइमा ध्यान दिऊन् र यसबाट हुने हानिबाट आफूलाई जोगाउन सकून् भन्ने मात्र हो ।

हिजोआज विद्यार्थीहरू घण्टौं मोबाइलमा आँखा गाडेर गेम खेलिरहेका हुन्छन् । यदि केही समयको लागि उनीहरूसँग मोबाइल लियो भने झर्को मान्छन् । सामाजिक सञ्जालको यो कुलत उनीहरूको मानसिक बदलावको प्रतीक मानिन्छ । सामाजिक सञ्जालको क्षेत्र व्यापक भएको हुनाले उनीहरू कहिले के हेरिरहेका छन् भन्ने निगरानी र नियन्त्रण गर्नु सजिलो छैन । यस परिवेशमा विद्यार्थीहरू अश्लील र हानिकारक वेबसाइटसम्म पुग्न सक्छन् जसले उनीहरूको सोच्ने प्रक्रिया प्रभावित हुन सक्छ । २१ औं शताब्दीमा हुने यौनजन्य गतिविधि र हिंसक घटनाहरू यसकै परिणाम हो । यही कारण हो आज हामी धेरै विद्यार्थीहरूलाई सिगरेट र ड्रग्सको आदि बनेको देख्छौं ।   विद्यार्थीहरू विद्युतीय कुलतको शिकार छन् वा छैनन्, यसको जाँच गर्न उनीहरूले एक दिनको लागि मोबाइल छोड्दा के अनुभव गर्छन् भन्ने कुराको अवलोकन गर्नुपर्छ । यदि उनीहरूमा बैचैनी देखियो, पटक–पटक मोबाइलतिर ध्यान गयो वा कुनै काममा मन लागेन भने उनीहरू यस कुलतको शिकार भएको बुझ्नुपर्छ र सतर्क हुनुपर्छ किनभने अब यसले भविष्य बिगार्न लागेको छ भन्ने कुरा बुझ्नुपर्छ । 

मोबाइलको लत एक प्रकारको नशा हो । यसैगरी मोबाइलको बढी प्रयोग गर्ने जो कोही डिप्रेशनको शिकार हुने सम्भावना बढी हुन्छ । यो समस्या विद्यार्थीहरूमा बढी देखापर्छ । यस्ता विद्यार्थीहरूमा आफ्नो दैनिकी राम्ररी पूरा नगर्ने आम समस्या देखिएको छ । दिमागमा रासायनिक प्रतिक्रिया उत्पन्न भई स्मरण शक्ति कमजोर बन्छ । कलिलो उमेरमा उनीहरू के ठीक र के बेठीक बुझ्दैनन् र सामाजिक सञ्जालले सजिलै उनीहरूको सोच र व्यवहारमा परिवर्तन ल्याइदिन्छ । विद्यार्थीहरूमा मोबाइलले गर्दा अनिद्राको बीमारी बढिरहेको छ । विद्युतीय कुलतका कारण उनीहरू अबेरसम्म सामाजिक सञ्जालमा ब्राउजिङ गर्न रुचाउँछन् जस कारण निद्रा पूरा हुँदैन र उनीहरू अनिद्राबाट पीडित हुन थाल्छन् । शारीरिक तथा मानसिक वृद्धि र विकासमा बाधा पर्छ । अर्कोतिर मोबाइल चलाउँदा समय गएको थाहै हुँदैन र पढाइ प्रभावित हुन थाल्छ र आत्मविश्वास डगमगाउन थाल्छ ।

विद्युतीय उपकरण नभएको कालखण्डमा विद्यार्थी र उसको परिवार सँगसँगै बसेर समय व्यतीत गर्दथे तर आज हात–हातमा मोबाइल छ र एउटै घरमा बस्दा पनि कसैको कसैसँग कुरा नहुनुले जीवनमा परिवारको के महत्व छ उनीहरूलाई थाहा नै हुँदैन र परिवारबाट परस्पर माया, संस्कार, संस्कृति, आफूभन्दा ठूलाको सम्मान, अनुशासन, के ठीक र के बेठीक आदि कुरा सिक्न पाउँदैनन् जसले गर्दा कसैले सजिलै उनीहरूबाट फाइदा उठाउन सक्छ । यस कारण आमाबुवाले कम्तीमा आफ्नो सन्तानसँग बसेर रातिको खाना खानुपर्छ र उनीहरूसँग खुलेर कुरा गर्नुपर्छ, उनीहरूको समस्या बुझ्ने गम्भीर प्रयास गर्नुपर्छ । एउटा शोधले के देखाएको छ भने मोबाइलबाट निस्कने विकिरणको नराम्रो असर वयस्कभन्दा बढी विद्यार्थीहरूमाथि पर्दछ । धेरै समयसम्म यसको प्रयोग गर्ने विद्यार्थीहरूको कान र मस्तिष्कको लागि घातक र ट्यूमर हुने सम्भावना बढी हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘सम्भावित कार्सिनोजेन’ को रूपमा वर्गीकृत गरेको छ जो कैंसरको सम्भावित जोखिमको कारण मानिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने मस्तिष्कको आफ्नै सञ्चार तन्त्रिका हुन्छ र मोबाइलको आफ्नै । एउटा शोधले के देखाएको छ भने २ मिनेट मोबाइलबाट कुरा गर्दा बालबालिकाको मस्तिष्कको इलेक्ट्रिक एक्टिभिटी परिवर्तन हुन सक्छ । यसबाट उनीहरूको व्यवहार र प्रवृत्तिमा परिवर्तन देखापर्छ । हिजोआज विद्यार्थीहरू विद्यालय र क्याम्पसमा मोबाइल लिएर जान्छन् र ब्रेकको बेला साथीसँग चैटिङ वा गेम खेल्नु दिन प्रतिदिन बढ्दै गइरहेको छ । परिणामस्वरूप उनीहरूले पढाइ र परीक्षाबारे राम्ररी जानकारी हासिल गर्न पाउँदैनन् । मोबाइल विद्यार्थीलाई पढाइबाट मात्र विचलित नगरी परीक्षामा चीट गर्ने साधन पनि बन्न थालेको छ जसले गर्दा उनीहरूको भविष्य नै चौपट हुने सम्भावना बढेको छ । यसबाहेक यसको प्रयोग अब गलत उद्देश्यको लागि पनि हुन थालेको छ । विद्यार्थीहरू समूहद्वारा साझा गरिएको सन्देश, टेक्स्ट, फोटो एकअर्कालाई पठाउन सक्छन् । सानै उमेरमा उनीहरू पोर्नोग्राफीको आफ्नै तरीका खोज्न सक्छन् जसबाट उनीहरूको धारणा र विचारमा परिवर्तन आउन सक्छ ।

विद्यार्थीहरू मोबाइल छोड्न किन सकिरहेका छैनन् ? एक छिन सम्झनुहोस् त्यो क्षण जुन बेला तपाईंको सन्तान आफ्नो मनको कुरा पोख्न तपाईं कहाँ आउँछ र तपाईंले ऊसँग कुरा नगरी उसलाई मोबाइल दिनुहुन्छ । तसर्थ अभिभावकहरूले आफ्नो सन्तानमा भएको विद्युतीय कुलत छुटाउन स्वयं उनीहरूको साथ हरेक दिन केही समय व्यतीत गर्ने कोशिश गर्नुपर्छ । यसो गर्दा उनीहरू राम्रो अनुभूति गर्छन् र उनीहरूको मस्तिष्कको विकास पनि हुन्छ । आमाबुवा आफ्नो सन्तानसँग बसेर राम्रो कुरा, राम्रो सबक दिने फिल्म, कथा, धार्मिक कुरा र मोबाइलबाट हुने हानिको भिडियो आदि देखाउन र सिकाउन सक्छन् । यसबाट उनीहरूको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ । साथै उनीहरूको मोबाइल चलाउने समय फिक्स गर्न सक्छन् जसबाट मोबाइलमा थोरै मात्र समय खेर जान्छ । यसो गर्दा तपाईंले उनीहरूमाथि ज्यादति गरेको ठहर हुँदैन । सन्तान सुत्ने कोठामा कहिल्यै पनि मोबाइल, टेलिभिजन वा ल्यापटप राख्नुहुँदैन । आफ्नो सन्तानसँग कुन भिडियो गेम, कस्तो फिल्म र टेलिभिजनमा कुन कार्यक्रम राम्रो हुन्छ भन्ने कुराको चर्चा अवश्य गर्नुहोस् । यसरी गर्दा के ठीक र के बेठीक हो उनीहरू आफैंले बुझ्छन् । यो यस कारणले भनिएको हो भने जो खाली समय मात्र मोबाइलमा टाँसिएको हुन्छ उनीहरू कुनै पनि प्रकारको शारीरिक श्रम गर्दैनन् र न स्वच्छ हावा नै लिन्छन् । यसबाट उनीहरूमा मोटापा र अन्य बिमारी हुने खतरा बढी हुन्छ जुन पछि गएर डायबिटिज र हाइपरटेंशनजस्तो हानिकारक बिमारीको रूपमा विकसित हुन्छ । यसबाहेक सामाजिक सञ्जालमा बालबालिकाहरू साइबर बुलिड्ढो सम्पर्कमा आउन सक्छन् जसले उनीहरूलाई परेशान गर्न सक्छ ।

यस कारण १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई मोबाइल दिनुहुँदैन । कमजोर सिंग्नल भएको ठाउँमा मोबाइल प्रयोग नगर्न सल्लाह दिनुहोस् किनभने यस्तो ठाउँमा सिग्नल खोज्न उपकरणले स्वयं विकिरण बढाउँछ जुन केटाकेटीहरूको लागि हानिकारक हुन्छ । जागरुक अभिभावकका लागि के आवश्यक छ भने केटाकेटी नजीक हुँदा मोबाइलको उपयोगमा प्रतिबन्ध गर्नुहोस् । यसलाई व्यवहार–पैटर्न नै बनाउनुपर्छ । आफ्नो सन्तानलाई मोबाइल लिएर विद्यालय र क्याम्पसमा जान पूर्ण प्रतिबन्ध लगाउनुहोस् । विद्यालय र क्याम्पसको नम्बर लिने र आपात्कालको लागि आफ्नो नम्बर दिनुहोस् । विश्वको हरेक प्रविधि वा उपकरणजस्तै मोबाइलको पनि लाभ र दुष्प्रभाव हुन्छ । मोबाइल आजको सबैभन्दा शक्तिशाली र खतरनाक ग्याजेट हो । यसबाट केटाकेटीहरूले धेरै कुरो सिक्न सक्छन् तर यसको उपयोगसँगै धैर्य राख्नु उनीहरूको भलाईका साथै उनीहरूमा राम्रो बानी विकसित र सुनिश्चित गर्नु आवश्यक हुन्छ जो जीवनभरि उनीहरूको काम आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here