- सञ्जय मित्र
साहित्यलाई पनि संस्कृतिसित किन राखिन्छ भने यसले हरेक संस्कृतिलाई जोगाउनमा सहयोग गरेको छ । साहित्य र संस्कृतिको निकै नजीकको नाता हुन्छ । जसरी जीवनलाई पनि बाँच्ने कला मानिन्छ, जसरी कलालाई अभिव्यक्ति पनि मानिन्छ, त्यसरी नै साहित्यलाई जीवनको कला मानिन्छ । जीवनको कला भने पनि संस्कृति मात्र नभएर धेरै थोक हो । वास्तवमा दशैंले समग्र जीवनमाथि हस्तक्षेप नै गरेको छ । कसको जीवनलाई प्रभावित पारेको छैन र दशैंले ? एउटै लयमा चल्न नदिनुको अर्थ यहाँ प्रभावित पारेको हो भन्ने हो ।
हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा ।
भयो भवानीको पूजा, चल्यो आनन्दको वर्षा ।।
कसले नपढेको होला यो कविता । यसले पनि त जीवन बोलेको छ नि । तर यसपटक हिलोमैलो हटेको छैन किनभने पानीको वर्षा हराएको छैन । अहिलेसम्म पानी परेको छ तर यो कविता लेख्दाको जमाना जस्तो वा यो कविता पढ्दाको जमाना जस्तो अहिले हिलोमैलो सडक हुने अवस्था पनि रहेको छैन ।
अर्का एक कवि पनि यसरी कविता लेख्छन् :
दशैं आयो हाम्रो सुखद रसिलो चाड गतिलो ।
सुक्यो वर्षा भारी सब घर जम्यो भाव रसिलो ।।
यसमा भनिएको जस्तो भारी वर्षा अहिले सुकेको त छैन तर बाँकी भाव भने रसिलो भएको अवस्था हो । अहिले दशैं आएको छ । दशैंले अधिकांश मानिसलाई यही सुखद भावले पर्व मानेको सन्देश दिइरहेको छ । अहिले खेतमा धान निकै राम्रो भएर आएको किसानहरूको भनाइ छ । यही भावले दशैंको आनन्द बढाइदिएको छ । हर घरमा सुन्दर भाव जमाएको भने सही हो ।
साँच्चिकै विदेशमा रहेका एक कविले दशैंको समयमा यस्तो कविता लेखेका छन् :
रेगिस्तानको ताता हावा बहिरहने
बाफिलो बाफिलो भावरमा
पिठ्यूँमा आफ्नो सिङ्गै देश बोकेर
भोकाएका गिद्धहरूबाट जोगाउँँदै
भेंडाका बथानहरू चराउँदै गर्दा
एक्कासि फोनको घण्टी बज्छ
र, सानी छोरीले तोतेबोली लर्बराउँदै सोध्छिन्
बाबा दशैं आयो
घर कहिले आउनुहुन्छ ?
म झसङ्ग हुन्छु
ए, दशैं पो आएछ ।
कोही कता छन् र कोही कहाँ छन् । कुन अवस्थामा छन् र पनि दशैं आएको छ । हो, जीवनको सम्पन्नता हो दशैं र त यसमा अभावको पनि भाउ छ र अभावको पनि मूल्य छ । धेरै कविता दशैंका यस्ता पनि छन्, जसमा अभाव र पीडाका साथै आक्रोश पनि अभिव्यक्त हुन्छ । आक्रोश बोल्नु पनि कविताको धर्म हो र धर्मले निर्वाह गर्न दिएको विषयवस्तुको स्वरूप कवितामा आउनु स्वाभाविक हो । दशैं मान्दै र दशैंको अवधिमा नै एक आक्रोशित कविले लेखेको एउटा अमूर्त लामो दशैं कविताको प्रारम्भका दुर्ई पङ्क्ति :
दशैंबाट दशैं हराएको खबर
छ छैन अखबारमा ?
वास्तवमा दशैंको मूल दिनमा त अखबार बन्द हुन्छ । कविलाई यो थाहा नहुने कुरो त होइन नि । तर साहित्यमा त थाहा नभएको विषय पनि लेख्न पाइन्छ र थाहा भएको विषयमा पनि अज्ञान बन्न पाइन्छ । अझ दशैं त आफूले खोजेको जस्तै भइनदिने हो भने कविको भाव त फुटिहाल्छ नि । भाव फुट्नु भनेको कविता फुर्नु न हो, विषयवस्तु जुर्नु न हो ।
अर्का एक कविले अभिभावकीय दायित्व निर्वाह गर्दाको क्रममा सम्भवतः दशैंलाई अप्ठ्यारो पर्वको रूपमा अथ्र्याएको हुनुपर्छ । विदेशमा रहेका अर्का कविले परिचयात्मक किसिमले दशैंप्रति सौम्य व्यङ्ग्य यसरी गर्छन् :
हरेक साल
बालबालिकाहरूको मनमा
उमङ्ग लिएर आउने दशैं
अभिभावकहरूको सामु
बहीखाता लिएर आउने गर्छ ।
कविताले जीवन र प्रकृतिलाई पनि जोड्दछ । जीवन र संस्कृति त एक अर्काका अभिन्न अङ्ग हुन् नै । संस्कृतिलाई दर्शाउनु त कविताको धर्म पनि हो र जीवनलाई दर्शाउनु कविताको कर्म हो । धर्म र कर्म एकसाथ मिलेपछि कविताको भावमा उच्चता आउँछ नै । एक कविले लेखेको कविताको यो अंश निकै महŒवपूर्ण छ :
कावा खाइरहेका चङ्गाहरूसँगै
उडेका मनमा सांस्कृतिक सुगन्ध
टीका जमरा बडाको आसिक
हार्दिक औ जीवन्त सम्बन्ध ।
अनन्त गहिराइमा रहेका मनका भावहरूलाई सतहमा ल्याउन शब्द त हुनैपर्छ । शब्दको चयन गर्ने बेलामा कविहरूले हास्यात्मकतालाई पनि प्रयोग गर्दछन्, व्यङ्ग्यात्मकताको पनि सहारा लिन्छन् । हुनत व्यङ्ग्यात्मकतालाई शैली अन्तर्गत राखिन्छ । यद्यपि शैली नै पनि त कविको निजत्व हो । एक कवि आफ्नो कवितामा व्यङ्ग्यात्मक शैलीमा यसरी लेख्छन् :
विदेशी रक्सीको मातमा
आफ्नो भाषा संस्कृति सबै बिर्सिएर
विदेशी गीत गाउनुपर्छ
आफ्नै स्वाभिमान लुछ्नुपर्छ
राष्ट्रियताको टालोले मुख पुछ्नुपर्छ
दशैं आएछ ।
कुनै एक कविले दशैंलाई दशा भनेर पनि लेखेका रहेछन् । दशैंलाई दशा नै त नभनौं किनभने आफ्नो सामथ्र्यलाई बिर्सेर देखासिकी वा अन्ध अनुकरण गर्ने हो भने त जुनसुकै विषय वा पक्षले पनि नकारात्मकता बोकेको हुन्छ । दशैंलाई दोष दिनुभन्दा मान्ने र मान्ने तरीकामा त्रुटि हुन्छ । हाम्रा चाडपर्वले त सत्कर्म र सत्धर्मको सन्देश दिएका छन् । दशैं त हाम्रो सभ्यता हो र संस्कृति पनि हो । र यो अमूर्त पनि छ । दशैंले मलाई मान भनेर भन्न आउँदैन । हरेक पल, हरेक घण्टा, हरेक दिन र हरेक महीना बित्ने चक्रमा ऋतुसँगै दशैंको पनि पालो आउँछ । दशैंप्रतिको भावलाई मानवीकरण गरी एक कवि आफूलाई यसरी उतार्छन् :
मीठो चोखो मसिनाको भात चाख्नलाई
आँगनीमा कालो बोको बाँधी राख्नलाई
यो मन भन्छ त्यसो गर्न पाए नि हुन्थ्यो
नत्रभने जाबो दशैं नआए पनि हुन्थ्यो ।
हाम्रो घरमा खुशियाली छाए पनि हुन्थ्यो
नत्रभने जाबो दशैं नआए पनि हुन्थ्यो ।
दशैंलाई मानवीकरण गरी यसलाई राम्रो मान्ने अर्थात् रमाइला मान्नेहरू पनि कम छैनन् । दशैंको प्रतीक्षा नै गर्नेहरू धेरै छन् । दर्शैं त धेरैको लागि शुभैशुभ पनि हो । र रमाइलोभन्दा पनि बढी शुभ चाहिं के हुन सक्छ र ? रमाइलो भन्नु आफैंमा शुभ हो, आनन्द हो । आनन्दको आफ्नै रङ हुन्छ, पहिचान हुन्छ । आनन्दलाई दिनु पनि चाडपर्वहरूको धर्म हो । एक कवयित्री दशैंलाई मानवीकरण गर्दै दशैंको बारेमा लेख्छिन् :
हरेक वर्ष आउँछ दशैं
उही मिति, उही तिथिमा
उस्तै महीना, उस्तै महिमा बोकेर
आउन त आउँछ
हरेक वर्ष दशैं,
आउँदा मात्रै फरक–फरक कथा, व्यथा बोकेर आउँछ ।
हो, यसमा सहमत बन्ने आधारको खोजी गर्न सकिन्छ । दशैं सकिएपछि यसमा आएको खुशीको बाढीले कतै ऋणको भारी त छोडेर गएको छैन । यद्यपि फेरि पनि माथि भनिएजस्तै आफ्नो घाँटी हेरी हाड ननिल्ने हो भने घाँटीमा अड्किन सक्छ । यस अवस्थामा दशैंलाई दोष दिनु केवल दोषारोपण हुनुपर्छ । यद्यपि कविको भावलाई, बुझाइलाई प्रवाहित गर्न र कुनै पनि विषयवस्तुप्रति आफ्नो भावलाई प्रस्फुटन गराउन कसैले रोक्न सक्दैन ।
दशैं जस्तै अन्य चाडपर्वमा समयले भने प्रभाव पारेको हुन्छ । कोरोनाकालमा दशैंले पारेको प्रभावलाई कवितामा कैद गरिएका अनगिनती दृष्टान्तहरू रहेका छन् । कोरोना समयमा धेरैलाई धेरै किसिमले अप्ठ्यारो परेकै थियो । समयलाई कैद गरी एक कविले दशैंको विषयमा नै लेखेको यस कविताले कोरोनाको पीडालाई स्मृति दिलाउँछ :
एकापसमा टाढिएर
मनाउने दशैं कस्तो पो होला र
साथीभाइबीच छुट्टिएर मनाउने दशैं
के रमाइलो होला र ?
दशैं आओस् तर यसपालि जस्तो
निर्मोही दशैं कहिल्यै नआओस्
दुःखैदुःखका बीच पनि
सबै नेपालीमा खुशियाली छाओस् ।
चाडपर्वहरूमा सबैभन्दा बढी दशैंमा नै कविता लेखिएको हुनुपर्छ । देखिएको मात्र नभई दशैंमा पढिएको पनि हुनुपर्छ । यसरी दशैंको भाव कवितामा सबैभन्दा बढी किसिमले विम्बित भएको हुनुपर्छ । दशैंलाई सबैभन्दा बढी कवितामा उतार्ने कविहरूले पनि दशैंमाथि हस्तक्षेप गरेका छन् । यसै सन्दर्भले यो पनि स्पष्ट पार्दछ कि दशैंले कविहरूलाई मात्र प्रभावित पारेको होइन, समयलाई पनि प्रभावित पारेको छ र समयको विम्बले दशैंको अनुहारमा केही परिवर्तनका रेखाहरू कोर्दै हरेक वर्ष नवनव हुँदै आइरहेको छ । र साहित्यको एक महŒवपूर्ण अङ्ग बनिसकेको छ– दशैं ।