• ओमप्रकाश खनाल

एकजना बेलायती प्रधानमन्त्रीले भनेका थिए– अमेरिका विकसित भएर त्यहाँको सडक राम्रो भएको होइन, सडक राम्रो भएकोले अमेरिका विकसित भएको हो । सडक विकासको प्राथमिक पूर्वाधार हो । जहाँ सडक पुग्छ, त्यहाँ पछिपछि विकास पनि पुग्छ । हामीकहाँ सडक त बने, तर तिनको गुणस्तर र मापदण्डलाई पूरै बेवास्ता गरिंदा राजमार्ग कि मृत्युमार्ग भन्ने प्रश्न उठने गरेको छ । सडक र सवारी सञ्चालनको प्रभावकारी नियमन नहुँदा बर्सेनि सयौं मानिसले अकालमा ज्यान गुमाइराखेका छन् । हामीकहाँ चाडपर्वको समयमा मानिसको आवागमन मात्र होइन, दुर्घटनामा समाचार पनि बढी आउँछन् । यसमा सडकको दुरवस्था पनि एउटा मुख्य कारण हो ।

विसं २००७ मा करीब ३७० किलोमिटर रहेको नेपालको सडक अहिले करीब एक लाख किलोमिटर पुगेको छ । सबैजसो जिल्लामा सडक पहुँच पुगेको छ । सडक विभागले ३० हजार किलोमिटर र स्थानीय सरकार अन्तर्गत ६० हजार किलोमिटर सडक निर्माण भएको सरकारी तथ्याङ्क छ । ३२ हजार किलोमिटर सडकमा त बा¥है महीना सवारी चल्छन् ।

विकास भनेकै सडक हो भन्ने मानसिकता विकास भएको छ । हो, सडकले सुविधा त दिएको छ । तर सडकको सुरक्षाको पक्षलाई कत्ति पनि ध्यान दिइएको छैन । यसले दुर्घटना बढाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययन अनुसार सवारी (सडकमा हुने) दुर्घटनामा दैनिक ३६ सय मानिसको मृत्यु हुने गरेको छ । बर्सेनि दुई करोडदेखि पाँच करोड मानिस घाइते हुन्छन् । पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री बढी परेका छन् । विश्वमा पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको कारण सवारी दुर्घटना नै बढी हुने गरेको छ । धेरै देशले आफ्नो जिडिपीको तीन प्रतिशतसम्म रकम यस्ता दुर्घटनामा खर्च भइरहेको तथ्याङ्क यो बहुपक्षीय निकायको अध्ययनले उजागर गरेको छ ।

अध्ययनको अर्को तथ्य यो पनि छ कि यस्ता दुर्घटनाका कारणले हुने मृत्यु विश्वका धनी देशभन्दा नेपालजस्ता गरीब तथा अल्पविकसित देशहरूमा बढी हुन्छ । दुर्घटनामा मृत्यु हुनेमध्ये गरीब देशमा ९० प्रतिशतभन्दा बढी हुने तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनको छ । नेपाल प्रहरीका अनुसार बितेका पाँच वर्षमा सवारी दुर्घटानामा १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सडकमा हुने दुर्घटनाको ग्राफ बर्सेनि बढिराखेको छ । सवारी दुर्घटनामा बढी दोष चालकको लापरवाहीलाई दिने गरिएको छ । खराब अवस्थाका सवारीसाधन र सडकको दुरवस्थालाई कमै मात्र हेर्ने गरिएको छ । आज अधिकांश दुर्घटना सडकको खराब अवस्थाका कारण भएका छन् ।

जथाभावी अन्धाधुन्ध सडकको ट्र्याक खोल्ने काम भइराखेको छ । स्थानीय सरकारमा गएका जनताका प्रतिनिधि नै डोजरका साहु भएपछि डाँडा खोतलेर सडकको ट्र्याक बनाइएको छ, तर त्यसको सुरक्षाको पाटोलाई पूरै बेवास्ता गरिएको छ । यस्ता नाम मात्रका सडकमा सवारीसाधन कुदेका छन् । त्यस्ता सडक सुरक्षाका दृष्टिले उपयुक्त छन् कि छैनन् ? सडक बनाइएको स्थानको भूगर्भ सडकयोग्य छ कि छैन ? यस्ता कुरामा कसैको ध्यान गएको पाइँदैन । कतिपय स्थानमा पहरा खोतल्दा पहिरो गएको छ । परिणाम, त्यस्ता सडक मानिसको अकाल मृत्युको कारण बनेको अवस्था छ । सडक मानिसका लागि थापिएका धरापजस्ता बनेका छन् ।

अहिले चाडपर्वको माहोल शुरू भएको छ । प्रायः चाडपर्वमा मानिसको आवागमन बढी हुन्छ । नेपालीहरूको मुख्य पर्व दशैंमा सवारीसाधनमा सर्वसाधारणको भीडभाड नै लाग्ने गर्छ । मानिसको आवागमन बढी हुने भएकाले यो बेला दुर्घटनाका सामाचार पनि बढी आउने गरेका छन् । सडकमा सबैभन्दा बढी दबाब पर्ने भनेकै पर्वको समयमा हो । यो बेला कुनै पनि दुर्घटना भयो भने सरोकारका निकायहरू सवारीको तीव्र गति र चालकको कमजोरीलाई कारण देखाएर जिम्मेवारीबाट पन्छिने गरेका छन् । तर सडकको दुरवस्था सुधार्नेतर्फ कसैको ध्यान गएको देखिंदैन । आज पछिल्लो समयमा बनेका केही सडक (ती पनि नयाँ भएकाले मात्रै ठीक देखिएका हुन् । कति निर्माण नसकिंदै बिग्रिन शुरू भइसकेका छन् ।)बाहेक सबैजसो मुख्य मार्गहरू सही हालतमा छैनन् ।

मुख्य मार्ग मानिएको पूर्व–पश्चिम राजमार्गको दुर्गति नै यसको भेउ पाउन पर्याप्त हुन सक्छ । राजमार्गको हबिगत हेर्न लायक छैन । ठाउँठाउँमा खाल्डाखुल्डी र भत्किएका सडक दुर्घटना निम्त्याउने कारण बनेका छन् । पूर्व–पश्चिम राजमार्ग मात्र होइन, कुनै पनि सडकमा सुरक्षित यात्रा गर्न सक्ने स्थिति छैन । कतिपय सडकको त कालोपत्र भत्किएर बगरजस्तो देखिन्छ । कतै बाटोमा होइन, खोलाको बगरैबगर गाडी कुदाउनुपर्ने अवस्था छ । अरू त परको कुरा, देशको मुख्य प्रशासनिक केन्द्र भनिएको काठमाडौं उपत्यकाका सडकसमेत सद्दे अवस्थामा छैनन् । राजधानीकै सडकमा बनेको खाडलमा जमेको पानीमा डुबेर मानिसको मृत्यु भएका खबर पढिएकै हो । भत्किएको सडक र त्यहाँका खाल्डाखुल्डी दुर्घटनाका मुख्य कारण बनेका छन् ।

दशैंको समयमा खासगरी सङ्घीय राजधानी काठमाडौंबाट बाहिर जानेहरूको भीड बढ्ने गर्दछ । सवारीसाधनको सङ्ख्या कम हुनुले सीमित सवारीमा यात्रु कोचेर यात्रा भइराखेको छ । पुराना सवारीमा खचाखच भरिएका यात्रु र सडकको बेहाल दुर्घटनाका कारण हुन् । हामीकहाँ कुनै ठूलै घटना दुर्घटना भएपछि मात्रै सवारी सुरक्षाको चेत आउँछ । त्यो घटना बिर्सिंदै जाँदा चेतना मात्र होइन, सतर्कतासमेत हराएर जान्छ ।

स्मरण हुन्छ, केही वर्षअघि दशैंको केही दिनअघि भएको एउटा ठूलो सवारी दुर्घटना (मानवीय क्षतिका हिसाबले)ले त्यो बेला सवारीसाधनले सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने नियम कडाइका साथ लागू गरिएको थियो । त्यो वर्ष दशैंतिहारमा यात्रुले सुविस्तासँग यात्रा गर्न पाएका थिए । त्यसको केही समयपछि त्यो सबै नियम हावा खायो । त्यति बेला चाहिएजति सवारीसाधान व्यवस्थापन गर्न सक्ने यातायात व्यवसायीहरू अहिले सवारीसाधनको सङ्ख्या कम भएको बताइराखेका छन् । यात्रुलाई आलुका बोरा कोचिएझैं यात्रा गर्न विवश पारिएको छ ।

त्यस बेला सवारीधनीहरूले विरोध पनि गरेका थिए । तर सरकार कडा भएपछि उनीहरूको विरोधको स्वर हराएर गयो । सवारी व्यवसायीहरूको मनोमानीमा पनि लगाम लगाउन जरुरी छ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु कोचेर व्यवसाय गर्न पाउनुपर्दछ भन्ने व्यवसायी होइनन्, ती यमराज हुन् । त्यस्ताविरुद्ध सरकार कठोर हुनुपर्दछ । तर कतिपय अवस्थामा यस्तो अराजकता र सिन्डीकेटको अगाडि सरकार लाचार भएको देखिएको छ । यस्तोमा मिलेमतोको गन्ध पनि नआएको होइन ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीमा चल्ने सवारीसाधनमा दुईजना चालक अनिवार्यरूपमा राख्नुपर्ने व्यवस्थाका साथै प्रत्येक चार घण्टामा थकाइ मेट्ने, चालक परिवर्तन गर्नेलगायतका व्यवस्था गरेको छ । यातायात व्यवसायीले त्यसको पालना गरेका छैनन् । ‘टाइम कार्ड’ लागू गरिएको भएपनि त्यो नाम मात्रको छ । यात्रु चढाउन बाटोमा ढिला गर्ने अनि समयमा पुग्न तीव्र गतिमा सवारी दौडाउँदा दुर्घटनाको जोखिम बढेको छ । कतिले त यात्रुलाई चढ्न र ओर्लिनमा पनि हतार गरेको देखिएको छ । यसले पनि दुर्घटनाको सम्भावनालाई बढाएको छ ।

अर्को, सवारी चालक अनुमतिपत्र लिंदा पनि ड्राइभिङ स्कूलबाट तालीम प्राप्त गरेको हुनुपर्ने, लिखित र प्रयोगात्मक परीक्षा पास गरेको हुनुपर्ने भएपनि यी सबै रकमी खेलमा खुम्चिएका छन् । सवारी चालक अनुमतिपत्र वितरणमा पैसाको लेनदेनले अदक्ष चालक उत्पादन भइराखेको छ, जो दुर्घटनाका कारण बनेका छन् । अनुमतिपत्र पाएकालाई परीक्षणकालमा राख्ने, वर्षमा लगातार पाँचपटक ट्राफिक नियम उल्लङ्घन गरेमा चालक अनुमतिपत्र खारेजीजस्ता नियम पनि कडाइका साथ लागू हुन आवश्यक छ । सवारीसम्बन्धी ऐन नियम, जो असान्दर्भिक छन्, त्यस्ता कानूनमा संशोधन आवश्यक भइसकेको छ ।

अन्त्यमा, सडक विकासकार आधारभूत पूर्वाधार हो भन्नेमा विवाद छैन, तर हामीकहाँ अधिकांश सडक कामचलाउ खालका छन्, गुणस्तरीय छैनन् । सडकको गुणस्तरभन्दा पनि लोकप्रियताका लागि किलोमिटर नाप्ने परिपाटी बढी देखिएको छ । गुणस्तरीय सडकले विकासलाई सघाउने मात्र होइन, मानिसलाई अकाल मृत्युबाट पनि जोगाउन सक्छ भन्ने तथ्यलाई पूरै बेवास्ता गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here