चाउमिन, मन्चुरियन र स्प्रिङरोलमा राखिने अजिनोमोटोले स्वाद बढाउँछ तर यसको थुप्रै नकारात्मक असर पनि हुन्छ । इलाहाबाद युनिभर्सिटीका बायोकेमिस्ट्री डिपार्टमेन्टका अनुसन्धानकर्ताका अनुसार यस्ता खाद्य कुरा सेवन गर्नेहरूलाई मुटुसम्बन्धी थुप्रै समस्या उत्पन्न भइरहेको छ ।
अजिनोमोटो एक प्रकारको केमिकल नून हो । यसलाई मोनो सोडियम ग्लुमेट (एमएसजी) पनि भनिन्छ । सन् १९०९ मा यो एउटा ब्रान्डको रूपमा व्यावसायिक रूपमा आएको थियो । स्वाद बढाउन यसको प्रयोग नूडल्स, मःमः, चिप्स, सुप आदिमा गरिन्छ । मोनो सोडियम ग्लुमेट गोलभेंडा र चिजमा प्राकृतिकरूपमा हुन्छ ।
अजिनोमोटोलाई सन् १९०८ मा पहिलोपटक जापानका रासायनिक वैज्ञानिक किकुनाय एकेडाले खोजेका थिए । यसमा एमिनो एसिडको मात्रा सबैभन्दा बढी हुन्छ । पहिले भएको कैयौं शोधमा पनि यस पदार्थलाई स्वास्थ्यको लागि हाानिकारक बताइएको छ ।
इलाहाबाद युनिभर्सिटीको यो अनुसन्धान इन्डियन जर्नल अफ क्लिनिकल बायोकेमिस्ट्रीमा प्रकाशित भएको छ । वैज्ञानिकहरूको भनाइ छ एमएसजीको कम खुराकले पनि स्वास्थ्य खराब गर्न सक्छ । निर्धारित मात्रा लिंदा पनि यसबाट अक्सिडेटिभ स्टे«स र सुन्निनेजस्ता परेशानीको खतरा हुन्छ । अजिनोमोटोले उच्च रक्तचाप, हृदयरोग र चाँडै बूढो हुने समस्या निम्त्याउँछ ।
अनुसन्धानमा भनिएको छ–बच्चाको लागि एमएसजी निकै खतरनाक हुन्छ । उनीहरूलाई यसको लत चाँडै बस्छ । साना बच्चा र हुर्किंदै गरेको भ्रूणमा रक्त–मस्तिष्कको समस्या हुन सक्छ । आजभोलिका बच्चाहरू जङ्कफूड धेरै खान्छन् । जसले गर्दा उनीहरूलाई घरको खाना स्वादिलो लाग्दैन ।
अनुसन्धानमा मुसालाई तीन सातासम्म लगातार अजिनोमोटो सेवन गराइएको थियो । अजिनोमोटोको एक मात्रा ३० मिलिग्राम र अर्को मात्रा १०० मिलिग्राम तय गरिएको छ । परिणाममा ३० मिलिग्रामको खुराकपछि कुनै प्रभाव देखिएन, त्यस्तै १०० मिलिग्राम एमएसजी लिएपछि नराम्रो प्रभाव देखियो । मुसाको दिमागमाथि यसको असर देखिएको थियो ।