• अनन्तकुमार लाल दास

वास्तवमा गैरसरकारी संस्था भनेको त्यस्ता संस्था हुन् जसको उद्देश्य फाइदा हासिल गर्नुहुँदैन । सामाजिक कार्य र मानव सेवा यसको पवित्र उद्देश्य हुन्छ । यस्ता संस्था एक प्रकारले सरकारको सहयोगी हुन्छन् । यस कारणले होला सरकारले पनि यस्ता संस्थाहरूलाई वित्तीय सहयोग दिने गरेको छ । यी यस्ता संस्था हुन्, जसको गठन वैधानिक रूपले गरिन्छ । विश्व बैङ्कका अनुसार गैरसरकारी संस्था एउटा निजी सङ्गठन हो, जुन मानिसको दुःख निवारण गर्न, गरीबहरूको हित संवद्र्धन गर्न, पर्यावरणको रक्षा गर्न, सामाजिक सेवा प्रदान गर्न वा सामुदायिक विकासको लागि विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्ने काम गर्दछ । विश्व बैङ्कले गैरसरकारी संस्थालाई दुई वर्गमा बाँडेको छ । पहिलो वर्गमा स्वैच्छिक सङ्गठनहरू पर्दछन्, जसले विकाससम्बन्धी कार्य गर्छन् र दोस्रो वर्गमा पर्ने सङ्गठनहरूले अन्तर्राष्ट्रिय नीति र कार्यपद्धति अनुसार काम गर्छन् । यस कारण वैश्विक परिवेशमा गैरसरकारी संस्थाहरूको विशेष महŒव छ ।

नेपालको सन्दर्भमा इतिहासलाई नियाल्दा त्यस बखत सामाजिक कार्य गर्न पहाडतिर ढिकुर र काठमाडौंमा गुठीको विकसित रूप नै वर्तमानको गैरसरकारी संस्थाहरू हुन् । सन् १९४७ सालमा दुःखीहरूको सेवा गर्न दयावीरसिंह कंसाकारद्वारा परोपकार संस्थाको स्थापना भई आजको अवस्थासम्म आइपुगेको इतिहास छ । त्यसपछि पञ्चायती शासकहरूले गैरसरकारी संस्थाको आवश्यकता महसूस गरी २०३४ सालमा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् स्थापना गरेको इतिहास भेटिन्छ । परिषद् स्थापना भएको तीन वर्षपछि यसलाई अझ बलियो बनाउन श्रम तथा समाज कल्याण मन्त्रालय स्थापना भयो र २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि राष्ट्रिय समन्वय परिषद्को नाम समाज कल्याण परिषद् राखियो । एक तथ्याङ्क अनुसार हाल नेपालमा लगभग ६ हजार गैरसरकारी संस्था समाज कल्याण परिषद्मा दर्ता छन् तर अनुमान के छ भने करीब १५ हजार गैरसरकारी संस्था विभिन्न क्षेत्रमा कार्यरत छन् । नेपाल सरकारले पनि ती सबै संस्थाहरूको नियमन गर्न सकिरहेको छैन ।

२०७८ को जनगणनाले नेपालको जनसङ्ख्या तीव्र गतिले वृद्धि भइरहेको देखाएको छ । जुन अनुपातमा जनसङ्ख्या वृद्धि भइरहेको छ सोही अनुपातमा समस्या पनि बढ्दै गइरहेको छ । २०६२–०६३ को जनान्दोलन पछि सङ्घीयता लागू भए तापनि हालसम्म नेपालमा देखा परेका समस्याहरूको समाधान हुन सकेको छैन भने त्यहीं पुराना समस्या यथावत् छ र नयाँ–नयाँ समस्या पनि अस्तित्वमा आइरहेको छ । हाम्रोजस्तो विकासशील र जटिल भौगोलिक अवस्था भएको मुलुकमा सरकारले मात्रै सबै समस्या समाधान गर्न सक्दैन । सरकारलाई पनि सहयोगको खाँचो छ, जसमा गैरसरकारी संस्थाहरूले सघाइरहेका छन् । गणतन्त्र बलियो बनाउन पनि उनीहरूले प्रशंसनीय भूमिका निर्वाह गरिरहेका छन् । यसै कारणले होला, गैरसरकारी संस्थालाई लोकतन्त्रको पाँचौं स्तम्भको रूपमा हेर्न थालिएको छ । यदि यस क्षेत्रले निष्पक्षता, पारदर्शिता र इमानदारीसाथ काम गर्छ भने देशको अनुहार फेरिन बेर लाग्दैन ।

देशमा सरकारको रवैया अधिकांश गैरसरकारी सङ्गठनप्रति सकारात्मक रहेको छ तर जिल्लामा भएका गैरसरकारी संस्थाहरू सामाजिक सेवाको भावनाभन्दा कसरी पैसा बचाउनेतफृ लक्षित रहेको पाइन्छ । दलित, महिला, बालबालिका, अपाङ्ग, जनजाति आदिको क्षेत्रमा काम गर्ने उद्देश्यसहित दर्ता भएका संस्थाहरूले पनि त्यस वर्गका लागि कुनै ठोस काम गरेको भेटिंदैन बरु गोष्ठी, सेमिनारजस्ता काममा रकम सकाउने परिपाटी विकसित हुँदै गएको छ भने दर्ता भएका संस्थाहरूको राम्ररी अनुगमन समेत हुने गरेको छैन । कुन गैरसरकारी संस्थाले कहाँ, कसरी कुन काम गरिरहेको छ जिल्ला प्रशासनलाई थाहा हुँदैन । प्रत्येक वर्ष नवीकरणको बेला पेश गरिएका कागजहरू कसरी तयार गरिएको हो, कति काम भएको हो, त्यसको छानबीन हुँदैन । सरकारले जुन नीति बनाएको छ त्यसमा एउटा सुदृढ र प्रभावपूर्ण गैरसरकारी क्षेत्र विकसित गर्ने कुरामा बल दिएको छ ।

हाम्रो देशमा गैरसरकारी सङ्गठन विकसित हुने पर्याप्त सकारात्मक वातावरण छ । त्यसैले पनि गैरसरकारी सङ्गठनले राम्रो भूमिका निर्वाह गरिहेका छन् । महानगरपालिकादेखि दुर्गम क्षेत्र तथा ग्रामीण भेगमा पनि गैरसरकारी सङ्गठनहरू सक्रिय छन् र राष्ट्र निर्माणको कार्यमा सहयोग गरिरहेका छन् । जनताको सेवा गर्नुका साथै यी संस्थाहरू आम नागरिकको हकको पनि वकालत गर्ने गर्छन् र जनकल्याणकारी सरकारी योजनाको लाभ सामान्य मानिससम्म पु¥याउने प्रयास गर्छन् । यस कारण यिनीहरूको भूमिका निरन्तर फराकिलो भइरहेको छ । केही गैरसरकारी सङ्गठनहरूको प्रतिष्ठा विदेशमा पनि बढेको छ । यस कारण अन्य देशबाट पनि उनीहरूलाई अनुदान प्राप्त भइरहेको छ । संस्था सङ्ख्या वृद्धिले के पनि प्रस्ट हुन्छ भने यिनको लोकप्रियता बढिरहेको छ । यस कारण के भन्न सकिन्छ भने सेवा प्रदायकको भूमिकामा गैरसकारी संस्थाहरूले आम मानिसलाई सहुलियत प्रदान गरिरहेका छन् ।

विश्वका अन्य देशको तुलनामा हाम्रो देशमा पनि गैरसरकारी संस्थाहरूको सङ्ख्या कम छैन, जसको उद्देश्य लाभ हासिल गर्नुछैन । यस परिवेशमा देशको कायापलट हुनुपर्ने हो तर यसो भइरहेको देखिंदैन । यस कारण उनीहरूमाथि औंला र्तेिर्सनु स्वाभाविक हो । उनीहरूलाई हालको दिनमा प्रभावशाली मानिसको औजारको रूपमा पनि हेर्न थालिएको छ । गैरसरकारी सङ्गठनहरूको कार्यपद्धतिमा जहाँ अपारदर्शिताको शिकायत बढेको छ त्यहीं उनीहरूको आपत्तिजनक आधारमाथि पनि कहिले काहीं प्रश्न उठ्ने गरेको छ । यस्ता कुराले जहाँ उनीहरूको उपादेयता संदिग्ध बनाएको छ सम्पत्ति दुरुपयोग र आयव्यय दुरूस्त नहुने आरोप पनि खेप्नुपरेको छ । त्यहाँ पनि भ्रष्टाचारले आफ्नो डेरा जमाउन थालेको छ जसलाई लोकतन्त्रको पाँचौं स्तम्भ भनिन्छ ।

जहाँ केही गैरसरकारी सङ्गठन भ्रष्टाचारमा लिप्त छन् त्यही केही निष्क्रिय पनि छन् । केही त कागजमैं सीमित छन् । यसले गर्दा बिस्तारै आम मानिसमा नकारात्मक धरणा बन्दै गएको छ । जुन गैरसरकारी सङ्गगठनहरू सेवा र समर्पणको पर्याय थिए, ती अब खाने–कमाउने भाँडोको रूपमा हेरिइन्छन् । यस परिवेशमा के आवश्यक छ भने यस्ता सङ्गगठनहरूको मूल्याङ्कन र सूक्ष्म निगरानीको लागि प्रभावकारी र पारदर्शी संयन्त्र विकसित गर्नु आवश्यक छ । अनि मात्र तिनको उपादेयता बढाउन सकिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गगठनहरूको नाममा आउने डलर अपारदर्शी ढङ्गले हाम्रो देशमा खर्च भइरहेको छ । विडम्बना के छ भने लगभग नेपालको एक आर्थिक वर्ष बराबरको विदेशी डलरले नेपाली समाजमा कति विकास भयो भन्ने तथ्य न सरकारसँग छ, न अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गगठनहरूले नै खुलासा गरेका छन् । सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी सङ्गठनहरूलाई विदेशी दूतावास, दातृ निकाय वा संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क र एशियाली विकास बैङ्कजस्ता अन्तर्राष्ट्रिय संस्था र दातृ नियोगहरूबाट रकम प्राप्त हुन्छ । यसरी आएको सहयोग रकम सदुपयोग भए भएन भनी हेर्ने निकायविना यो सत्प्रयास खेर गइरहेको छ ।

लोकतन्त्रमा आम मानिसलाई जागरूक बनाउने दिशामा केही गैरसरकारी सङ्गगठनहरू कार्यरत छन् । तिनको विश्वसनीयतामाथि कसैले औंलो ठड्याएको छैन । लोकतन्त्रलाई बलियो बनाउन पनि यिनीहरूले योगदान गरिरहेका छन् । आवश्यकता उनीहरूलाई चिन्नु रहेको छ । त्यसैले अब चनाखो हुनु जरूरी छ । गाउँ वा जहाँ पनि कुनै संस्था कामका लागि आएको छ भने प्रश्न गर्नुपर्छ –कार्यक्रमको सहयोगदाता को हो ? यसले के सुधार ल्याउँछ ? तालीम भए कस्तो तालीम हो ? त्यो तालीमले स्वरोजगारी बनाउन सक्छ कि सक्दैन ? सन्तोषजनक जवाफपछि मात्र उनीहरूलाई सहयोग गर्नुहोस् । अन्यथा तपाईंको फोटो र सबैखाले तथ्याङ्क त्यस्ता संस्थाहरूले तपाईंलाई चिया–खाजा खुवाएकै भरमा लैजानेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here