• सञ्जय मित्र

हेटौंडेली साहित्यिक कार्यक्रमहरूमा म २०५० देखि नै सहभागी हुन थालेको हुँ । मकवानपुर बहुमुखी क्याम्पसमा बिए पढ्न थाल्दा नै साहित्यिक कार्यक्रमको खोजी गर्दै साहित्य सङ्गम मकवानपुरको कार्यक्रमहरूमा सहभागी हुन थालेको थिएँ । त्यति बेला महीनाको एक दिन कार्यक्रम हुन्थ्यो र त्यसको हस्तलिखित सूचना टाँसिन्थ्यो, सूचना केन्द्रको भित्तामा । उपस्थिति थोरै हुन्थ्यो, उत्साह भने औंधी । सहभागी हुन थालेदेखि मैले शुरूका वर्षहरूमा कुनै पनि कार्यक्रम छुटाइनँ । कहिले भुटनदेवी मावि, कहिले मकवानपुर क्याम्पस त कहिले चौघडामा कार्यक्रम हुन्थ्यो । कहिले कुनै साहित्यकारको घरमा छलफल, गोष्ठी र अन्य कार्यक्रम आयोजन भइरहन्थ्यो । जानकारीमा आएसम्मका कार्यक्रममा उपस्थित हुन्थें, भइरहन्थें । कार्यक्रमहरूमा पुग्दा कसैलाई अनुहारले, कसैलाई नामले चिनिन्थ्यो । मैले तुरून्तै कुनै मान्छेलाई चिन्दिनँ, यो मेरो ठूलो कमजोरी हो । चिनजानको मात्रा बाक्लो भएपछि मात्र मलाई कसैको नाम सम्झना
हुन्छ ।

साहित्यकार गणेशकुमार पौडेलसित कहिले चिनजान भयो ? उत्तर नदारद छ । साहित्यलाई स्वाभाविक दैनिक गतिविधिमा लिने साहित्यकार पौडेल आफ्नै दैनिक गतिविधिमा पनि साहित्यलाई मिसाउनुहुन्थ्यो । स्वास्थ्यकर्मीको हैसियतले बङ्गलादेशको यात्रा गरेपछि साहित्यकार पौडेलले कवितामा लेख्नुभयो – ‘बङ्गलादेशको सफर’ । यस कृतिको प्रकाशन हुनुभन्दा निकै पहिले हामीबिच दोहोरो चिनजान भइसकेको थियो ।

कविता विधामा मात्रै पौडेलको कलम चल्थ्यो भन्ने होइन । मनको बह कुन विधामा कह ? साहित्यकारको मनले दिने उत्तर हुन सक्छ । जसरी अभिव्यक्ति दिन स्वाभाविक लाग्दछ, हुने त त्यसरी नै हो । साहित्यकार पौडेलले आफ्नो कृति मलाई दिएपछि मैले सोधेको थिएँ – बङ्गलादेश कस्तो छ ?

जवाफमा पाएका शब्दहरू जस्ताको तस्तै अहिले मलाई सम्झना छैन तर बङ्गलादेशबारे तत्कालीन मनको ब्याडमा उम्रेका जिज्ञासामूलक बेर्नाहरूलाई मैले पहिलोचोटि हो फराकिलो जवाफको तयार पारेको बारीमा रोपेको ।

एउटा सत्सल्लाह कहिल्यै बिर्सन्नँ । भर्खर बिहे गरेको थिएँ । एक दिन हेटौंडा अस्पतालमा पुग्यौं । पारिवारिक सल्लाह लिनुथियो । अस्पतालमा पुग्नासाथ मुस्कानसाथ स्वागत गर्नुभयो पौडेल सरले । म र धर्मपत्नी थियौं । मलाई त पहिलेदेखि नै चिन्नुहुन्थ्यो । राम्रै चिन्नुहुन्थ्यो । त्यस दिन धर्मपत्नीलाई पनि चिन्नुभयो ।

हामीले समस्या भन्यौं । समस्या भनिसकेपछि केही दोहोरो संवाद भयो । अधिकांश प्रश्नको उत्तर धर्मपत्नीले दिनुपर्ने थियो । समस्या समाधान हुने भयो । र, भयो पनि ।

२०६१ साउनसम्म निरन्तर कार्यक्रमहरूमा सहभागी हुँदा सहयात्री पौडेल सर हुनुहुन्थ्यो ।

म कहिल्यै कुनै पदमा जान चाहिनँ । सङ्गमको सदस्यता लिनुपर्छ भनेर एकजना साहित्यकारले दिएको सुझाव अनुसार सदस्यता लिएको थिएँ । निर्वाचनमा भोट पनि हालेको छु तर म आफू कार्य समितिमा जान कहिल्यै चाहिनँ र गइनँ पनि ।

हेटौंडा छाडेपछि धेरै साहित्यकारहरूसित सम्पर्क चिसिएको छ । सामाजिक सञ्जालमा सक्रिय रहनेहरूसित र अझ जो मसित सरोकार राख्दछन्, उनीहरूसित भने सम्पर्कमा छु । वर्षको एक वा दुई कार्यक्रममा हेटौंडा पुग्ने भने गरेको छु । साहित्यकार पौडेलसित भने सामाजिक सञ्जालमा खासै कुराकानी हुँदैनथ्यो ।

हेटौंडा साहित्यिक राजधानी हो, देशको नेपाली साहित्यको । यहाँको वातावरण साहित्यमय भइसकेको छ । सामाजिक सञ्जालमा हरेक दिन साहित्य र यससित सम्बन्धित व्यक्ति तथा संस्थाको कुनै न कुनै खबर आउँछ । जब साहित्यकार पौडेललाई अर्बुद रोग लागेको खबर थाहा पाएँ, निकै दुःख लाग्यो । अरूले जस्तै सामाजिक सञ्जालमा लेख्नुपर्ने शब्द र भाव लेखेर औपचारिकता पूरा गरें तर वास्तवमा एकचोटि भेट्ने अभिलाषा भने मनमा बसेको थियो ।

गत २०७८ फागुन २० र २१ म हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँचल साहित्य कलापुञ्ज हेटौंडाले रोयल पार्टी प्यालेसमा बृहत् साहित्य महोत्सवको आयोजन गरेको थियो । त्यस कार्यक्रममा म पनि सहभागी थिएँ । कार्यक्रममा पुगेर पहिलो दिन सहभागीहरूसित अनौपचारिक छलफल चलिरहेको थियो । त्यसै बेला रोयल पार्टी प्यालेसमैं साहित्यकार पौडेल– “के छ सञ्जय साहजी ?” भन्दै मुस्कुराउँदै मतिर आउनुभयो । मैले नमस्कार गरें, उनले फर्काएँ । मैले हालखबर सोधें । उनले के छ यस्तै हो भन्नुभयो ।

अनुहारमा उही मुस्कान । शरीर उत्रै तर जीउ निकै दुब्लो । मेरो अनुहारमा उम्रेको विस्मयको भावलाई साहित्यकार देवराज खरेलले पढ्नुभयो । खरेलले भन्नुभयो – पौडेल सरले त क्यान्सरलाई जित्नुभयो । अनि दुब्लो हुनु स्वाभाविक हो । उहाँ त आफैं एक योद्धास सानोतिनो युद्ध जित्नु भएको होइन । मृत्युमाथि विजय प्राप्त गरेर अहिले हामीमाझ साहित्यिक कार्यक्रममा हुनुहुन्छ ।

खरेल सरको बोलीमा गर्वको अनुभूति थियो, वीरताको भाव पनि । वास्तवमा यी दुई भावभित्र लुकेका थिए प्रेम र सम्मानस सद्भाव त थियो नै । नम्रताले सबैलाई छोपेको थियो । वास्तवमा एक साहित्यकारले पाउनुपर्ने पनि यत्ति नै हो नि १ एउटा साहित्यकारलाई अर्को साहित्यकारले दिने पनि यही नै हो । पौडेल सरको अभिव्यक्ति आयो – जीवन यस्तै हो ।

उहाँले यति भन्दा आत्मविश्वास झल्केको थियो । जीवनप्रति अनुराग उर्लेको थियो । सबैभन्दा महŒवपूर्ण कुरो त जीवनलाई सरलताका साथ बाँच्नुपर्छ भन्ने भाव थियो । जीवनलाई आफ्नै सरलता र तरलतामा बग्न दिनुपर्छ भन्ने मलाई पनि लागेको छ तर जीवनको गतिमाथि कहाँ कसैको नियन्त्रण हुन्छ ? यसको आफ्नै गति छ, आफ्नै लय छ र आफ्नै सुर छ ।

पौडेल सरको रुचि व्यङ्ग्य रचनामा पनि थियो । मैले पनि दशकौंदेखि हास्यव्यङ्ग्य लेख्दै आएको छु । हेटौंडा हुँदाको अवस्थामा हरेक हप्ता हिमालय टाइम्स दैनिकमा एउटा र स्पेसटाइम दैनिकमा एउटा व्यङ्ग्य प्रकाशित हुन्थे मेरा । अहिले त्यति लेख्न सकिंदैन । जब हेटौंडाबाट रौतहट फर्कें तब व्यङ्ग्य लेखनको तलतल अनेकानेक नामबाट वीरगंजको प्रतीक र अन्य दैनिक पत्रिकाहरूमा लेखें । व्यङ्ग्य कृति प्रकाशनतिर कहिल्यै सोच गएन, तर नवप्रज्ञापन द्वैमासिकमा प्रकाशनार्थ एउटा रचना पठाएपछि प्रकाशित गरेर सम्पादक नवराज रिजालले मौखिकरूपमा दिएको हौंस्याइँपूर्ण प्रतिक्रियाले कृति प्रकाशनतर्फ ध्यान गएको हो । आँचलको बृहत् साहित्य महोत्सवको समयसम्म मेरो व्यङ्ग्यम् हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भइसकेको थियो तर म केवल तीन प्रति बोकेर हेटौंडा पुगेको थिएँ । त्यस कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजालले कृति पढ्न पाए हुन्थ्यो भन्ने अपेक्षा गर्नुभएको थियो तर मसित थिएन, साहित्यकार पौडेलले पनि कृतिको अपेक्षा गर्नुभएको थियो, तर दिन सकिनँ ।

केही समय पहिले जब सामाजिक सञ्जालमा अवसानको खबर पढें तब मन दुख्नुसम्म दुख्यो । छतिवनमा सँगै बसेको, यात्रा गरेको, कैयौं कार्यक्रममा निर्णायक पनि बसेको र अन्य सहकार्यको सम्झनाको तूफानले विस्मित तुल्यायो । संवेदित भएँ । अझ थकथक लागिरह्यो –मैले उहाँको हातमा आफ्नो हास्यव्यङ्ग्य निबन्धको सङ्ग्रह व्यङ्ग्यम् प्रदान गर्न सकिनँ ।

त्यहीं अन्तिम भेट होला भन्ने पूर्वाभास पाएको भए त्यो कृति उहाँको हातमा जसरी पनि उपलब्ध गराउँथे । अहिले पनि त्यस दिनको मुस्कानसाथ हार्दिक अभिवादन सम्झिइरहेको छु र कृति उपलब्ध गराउन नसकेकोमा पछुतो मनाइरहेको छु । अब केहीगरी पनि उपलब्ध गराउन सक्दिनँ । अब यही रचनाकृति उहाँको नाममा समर्पण हुन सक्छ र शायद यसैगरी अन्य रचनाहरूमा नै उहाँलाई चिनाउन सकिन्छ होला १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here