- अनन्तकुमार लाल दास
प्रत्येक अभिभावकको चाहना उसको सन्तान पढाइलेखाइमा राम्रो होस् भन्ने हुन्छ । यसका लागि आआफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्न पनि उनीहरू तयार हुन्छन् । राम्रो विद्यालयमा अत्यधिक शुल्क तिरेर पनि आफ्ना सन्तानलाई पढाउन चाहन्छन् । यसका साथै घरमा पनि निजी शिक्षकको व्यवस्था गरेर अतिरिक्त व्ययभार बोक्न पछि हट्दैनन् र अपेक्षा राख्छन् कि उनका सन्तान अरूभन्दा अग्रस्थानमा आओस् । धेरैजसो अभिभावकको दृष्टिमा महँगो विद्यालय र महँगो शिक्षकको ट्युशन नै उत्तम पढाइको मापदण्ड हो । आखिर किन यी सबै सुविधाका बावजूद विद्यार्थीहरू राम्ररी लेखपढ गर्न सकिरहेका छैनन् ? के यी सबै सुविधा उपलब्ध गराइदिएपछि अभिभावक आफ्नो जिम्मेवारीबाट मुक्त हुन्छ त ?
अभिभावकहरूको यो सोच मेरो दृष्टिमा कदापि सही र उचित होइन । घरमा आएर पढाउने शिक्षकले यदि विद्यार्थीहरूको आत्मविश्वासलाई जगाउँछ भने त्यस्ता शिक्षकहरूको प्रशंसा गर्नुपर्छ । तर परिस्थिति ठीकविपरीत छ, किनभने गृह शिक्षकलाई हटाइदिंदा विद्यार्थी केही गर्न सक्दैनन् । यसैगरी धेरैजसो विद्यालयहरूले विद्यार्थीहरूलाई अत्यधिक गृहकार्यको बोझ लादिदिएर आफ्नो दायित्व पूरा भएको ठान्छन् । यस कारण सचेत अभिभावकले समय–समयमा शिक्षकहरू र विद्यालयसँग सम्पर्क गरिरहनु नितान्त आवश्यक छ ।
कतिपय अभिभावकको गुनासो हुन्छ कि गृह–शिक्षकले विद्यार्थीहरूको गृहकार्य पूरा गराएर आफ्नो दायित्व पूरा भएको ठान्ने गर्छन् र विद्यार्थीहरूलाई आफ्नो गृहकार्य आपैंm गर्नुपर्छ भनी प्रोत्साहनसमेत दिंदैनन् । यस कुराले गृह शिक्षकको उक्त परिवारबाट सधैं ट्युशन फी असुल्ने प्रवृत्ति रहेको बुझिन्छ । त्यसैले सचेत अभिभावकले सधैं गृह शिक्षक र विद्यालयको अनुगमन गरिराख्नुपर्छ । यदि अभिभावक स्वयं पढाउँछन् भने पनि विद्यार्थीहरूलाई व्यक्तिप्रति आश्रित बनाउनु राम्रो होइन । यसबाट विद्यार्थीको क्षमता र ऊर्जा बिस्तारै हराउँदै जान्छ । कहिलेकाहीं अप्ठेरो परेको बेला सुझाव दिनु जरूरी हुन्छ, तर सधैं अरूको मुख ताक्ने बानी लगाउनु होइन ।
यस कारण शिक्षक वा अभिभावकले सकभर उनीहरूलाई नै समस्याको समाधान खोज्ने अभ्यास गराउनुपर्छ, जसले उनीहरूमा आत्मनिर्भरताको भावना विकसित हुन्छ । पढाइमा आत्मनिर्भरताको भावना जाग्रत हुनु ठूलो उपलब्धि हो किनभने परनिर्भर व्यक्ति कहिल्यै पनि एक्लै हिंड्ने आँट गर्दैन । यस कारण विद्यार्थीले गरेको प्रयासलाई हौसला र प्रोत्साहन प्रदान गर्दै थप सहयोग र निर्देशन दिनु विद्यार्थीहरूको पढाइप्रति आत्मनिर्भरताको सर्वोत्तम उपाय हो ।
सानी छँदा मेरी छोरी विद्यालयबाट फर्केपछि सधैं आमालाई गृहकार्य गर्न मदत गर्न आग्रह गर्थिन् । आमा पनि पाठ हल गर्न तथा सिकाउन मदत गर्थिन् । एक दिन आमा व्यस्त भएको बेला छोरीले मलाई सिकाइदिन आग्रह गरिन् । मैले सोधें यी सबै त विद्यालयमा पनि सिकाउने गरिन्छ नि, विद्यालयमैं किन नसिकेकी ? छोरीले जवाफ फर्काइन्–जब आमाले घरमैं सिकाइदिनुहुन्छ भने स्कूलमैं किन सिक्नुप¥यो ? म छक्क परें । केही सोचें र भने–“उसो भए अबदेखि तिमी आफ्नै कक्षाका सर–मिसले पढाएको ध्यान दिएर सुन र आपैंm प्रश्न हल गर्ने प्रयास गर । यदि कुनै समस्या भएमा मात्र म वा आमासँग सोध्नु र हामी कक्षामा प्रयास गर्दागर्दै नबुझेका कुरा मात्र सिकाइदिन्छौं ।” धेरै दिनपछि मैले छोरीलाई सोधें–“छोरी, तिमी आजभोलि पढाइको विषयमा केही पनि सोध्दिैनौ, किन ?” छोरीले जवाफ दिइन्– “आजभोलि म कक्षामा ध्यान दिएर सुन्छु र सबै कुरा बुझ्छु ।” यो एउटा सामान्य उदाहरण हो । कतिपय घरमा आमाबुवा नै पढेका हुँदैनन् र घरमा कोही पनि पढाउने नभएकाले पनि विद्यार्थी कक्षामा ध्यान दिएर नपढ्ने हुन सक्छ । यस्तो अवस्थामा पनि अभिभावकहरूले विचार पु¥याउनु आवश्यक हुन्छ । यस कारण विद्यार्थीलाई ट्युशन पढाउनु फेशन अथवा क्षमता प्रदर्शन नभई अति आवश्यक परेको अवस्थाबाहेक निकै सोचविचार गर्नुपर्ने आवश्यक हुन्छ ।
अर्को ध्यान दिनुपर्ने कुरो के हो भने पढाउने बेला विद्यार्थीहरूप्रति अनावश्यक रिस पोख्नु नकारात्मक पक्ष हो । उनीहरूले नबुझेको कुरामा गाली गर्नुको सट्टा आफ्नो पढाउने तरीकाप्रति विचार पु¥याउनुपर्छ । कहीं आफ्नै कमजोरीले त उनीहरू अबुझ बनेका हुन् कि ? यस सन्दर्भमा हामीलै सधैं ध्यान राख्नुपर्ने हुन्छ कि प्रत्येक विद्यार्थीको मानसिक स्थिति एकनासको हुँदैन । यस कारण सबैलाई एकै ढङ्गले बुझाउने तरीका पर्याप्त हुँदैन । यसका लागि शिक्षक स्वयं अप–टू–डेट हुनैपर्छ । अर्को कुरो विद्यार्थीलाई पढाउँदा सधैं के ध्यान राख्नुपर्छ भने उनीहरू खुशी भएर उत्साहपूर्वक पढून् ।
धेरै अभिभावक, मेरो छोरो बदमाश भयो, यसलाई बेस्सरी नपिटी भएन । सरहरूले पनि कक्षामा कहिल्यै पिट्नुहुन्न । त्यसैले घरमा कसैको कुरा टेर्दैनजस्ता गुनासो लिएर आउँछन् । अभिभावकका आफ्नै किसिमको भनाइसँग धेरैपटक मैले साक्षात्कार गर्नुपरेको छ । त्यस्ता अभिभावकले विद्यार्थी ध्यान दिएर पढोस् भन्ने चाहना त राख्छन् तर त्यसका लागि पालन गरिने विधि नितान्त गलत हुन्छ । मैले धेरैपटक अभिभावकहरूलाई राय दिएको छु, पिटेर पढाउने वा अनुशासनका लागि प्रयोग गरिने दण्डले गर्दा विद्यार्थी चुप लागेर किताब खोली पढेकोजस्तो त गर्छन् तर दिमागमा उपेक्षाले जन्माएको तनाव रुमलिइरहेको हुन्छ । यस कारण पढाइका लागि भयमुक्त वातावरणको निर्माण अति आवश्यक हुन्छ ।
यस कारण पढाइमा ध्यान दिने अभिभावक वा शिक्षकले सबैभन्दा पहिले सोच्नुपर्ने विषय के हो भने पढाइको बेला उपयुक्त वातावरण कसरी निर्माण गर्ने ? अपमानजनक शब्द वा छडीको भयबेगर पढाइको वातावरण कसरी तयार गर्ने ? कतिपय अवस्थामा कुनै विषयको कुनै पाठ पढ्दा–पढ्दै रुचि मर्न सक्छ । त्यस्ता पाठलाई कसरी रुचिकर बनाउने ? कुनै कथा वा हाँसोको प्रसङ्ग जोडेर कसरी पढाउने ? यसरी त्यस्ता पाठहरूलाई रुचिकर बनाएर पढाइयो भने सजिलै चाहिएको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने मेरो लामो अनुभव रहेको छ ।
अहिलेको युग सञ्चारको युग हो । सञ्चारका विभिन्न माध्यमहरूले पनि विद्यार्थीहरूलाई जिज्ञासु बनाएको छ । उनीहरूले थाहा पाउन खोजेका नयाँ–नयाँ विषयमा धेरै प्रश्न र अडकलबाजी गर्दछन् । यसबाट के प्रस्ट हुन्छ भने अहिलेका विद्यार्थीहरूलाई परम्परागत तरीकाले पढाएर सन्तुष्ट पार्न सकिंदैन किनभने त्यस्ता प्रश्नहरू कहिलेकाहीं निकै अप्ठेरो पनि महसूस हुन्छ । यस कारण विद्यार्थीलाई हप्काएर चुप लगाउनुभन्दा शिक्षक वा अभिभावकमा पनि पढ्ने वा सञ्चारको प्रयोग गर्ने बानी बसाल्नु नितान्त आवश्यक छ । यसरी गरे मात्र विद्यार्थीहरूको प्रश्नको तर्कपूर्ण जवाफ दिन सकिन्छ । कतिपय प्रश्नको जवाफ दिन अप्ठेरो हुन्छ, त्यस बेला ठूलो भएपछि यो कुरा थाहा पाउने छौ भनी चित्त बुझाउन सकिन्छ ।
कहिलेकाहीं छडी वा अन्य तरीकाले विद्यार्थीहरूको जिज्ञासालाई जबरदस्ती दमन गर्न खोजियो भने विद्यार्थी विद्रोही बन्ने मार्ग रोज्न पुग्दछ भने कहिलेकाहीं प्रलोभन दिंदा बढी मेहनेत गरेर पढ्ने कार्य पनि गर्दछन् । तर ध्यान दिनुपर्ने के हुन्छ भने यो उसको बानी नबनोस् । यसरी सन्तानको शिक्षाप्रति अभिभावक वा शिक्षकले एक पक्षमा मात्र नभई अन्य पक्षमा पनि दृष्टि पु¥याउनुपर्ने हुन्छ । यहाँ के स्मरण गर्नु जरुरी हुन्छ भने विद्यार्थीहरूले गरेको कार्यको समय–समयमा निरीक्षण गर्नुको अर्थ उसको खेदो नै गर्नु होइन । त्यसैले समयानुसार उसको कापी–किताब पल्टाएर हेर्नुपर्छ । समय–समयमा शिक्षकहरूद्वारा पनि विद्यार्थीहरूको झोला, कापी, किताब निरीक्षण गर्नु राम्रो हो । तर उनीहरूसँग कुनै त्रुटि भएको छ भने अविलम्ब भनिहाल्नु हुँदैन । कहिलेकाहीं प्रधानाध्यापकसँग भेटघाट र विद्यालयका अन्य शिक्षकहरूसँग विद्यार्थी सम्बन्धमा जानकारी लिनु विद्यार्थीका लागि नै हितकर हुन्छ । यसरी गर्दा विद्यार्थीहरूलाई नकारात्मकताबाट सजिलै बचाउन सकिन्छ ।
आजभोलिका अधिकांश अभिभावक वा शिक्षक विद्यार्थीप्रति त्यति सकारात्मक र सन्तष्ट देखिएका छैनन् । शिक्षण पेशामा संलग्नहरूलाई कहिलेकाहीं ‘ट्युशनको धन्धा गर्ने वा व्यापार गर्ने पक्ष’ भनेर आरोप लाग्ने गरेको छ । यो प्रहार कुनै एक शिक्षकमाथि नभई यस पेशामा संलग्न सबैको आत्मसम्मानमा ठेस पु¥याउने विषय हो । यस कारण यस पेशामा संलग्न सबैले यसप्रति गम्भीरताका साथ ध्यान दिनुपर्ने आवश्यकता मैले महसूस गरेको छु । म त चाहन्छु कि यस पेशामा संलग्न सबैको काम सन्तोषजनक होस् जसले गर्दा कुनै पनि विद्यार्थी, अभिभावक वा समाजले कसैको व्यक्तिगत नाम लिएर उपेक्षापूर्ण दृष्टिले नहेरोस् । अभिभावक वा समाजले पनि ध्यान राख्नुपर्छ कि विद्यार्थीको अगाडि कुनै शिक्षकको सम्बन्धमा नकारात्मक कुरा नगरून् किनभने विद्यार्थीहरूको मनोमस्तिष्कमा शिक्षकहरूप्रति सम्मानको भावना जाग्रत गराए मात्र विद्यार्थीहरू पढाइको क्षेत्रमा अत्यधिक सफलता हासिल गर्न सक्छन् ।
यसै सन्दर्भमा केही कुरा अध्यापन कार्यमा संलग्न पक्षसँग पनि राख्न चाहन्छु । त्यो के भने शिक्षकहरूको सन्तान पनि कुनै न कुनै विद्यालयमा अध्ययन गर्ने गर्दछन् र त्यस विद्यालयका सम्बन्धमा धेरैजसो शिक्षकले के भन्ने गरेको पाइएको छ विद्यालयमा विद्यार्थीहरूको पढाइप्रति एकदमै ध्यान दिइन्न । उनीहरूको गृहकार्य पनि राम्ररी जाँच्ने गरिन्न । फलानो विद्यालयले त शिक्षालाई पनि व्यापार नै बनाएको छ, आदि–इत्यादि । तर जुन विद्यालयमा आफू कार्यरत छौं, त्यहाँ पनि त तपाईंजस्तै कसैको सन्तान उज्ज्वल भविष्यको चाहना बोकी भर्ना भएको हुन्छ । हुन सक्छ त्यहाँका अभिभावक पनि तपाईं कार्यरत विद्यालय र त्यहाँको पढाइको सम्बन्धमा त्यस्तै टीका–टिप्पणी गर्दा होलान् । यो विषय यदि प्रत्येक शिक्षण पेशामा संलग्न रहेका पक्षले आत्मचिन्तनसहित व्यावहारिक आन्दोलनको रूपमा प्रयोग गर्ने हो भने शिक्षा क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सकिन्छ ।