- – कुमार रुपाखेती
तत्कालीन मेयर पशुपति घोषले आदर्शनगरको खाका कोरेर नगरको अवधारणा अनुसार शहर बसाएका थिए । त्यतिखेर केही स्थानीय र भर्खर रङ्गुनबाट नेपाल छिरेका रङ्गुनिया भनिनेहरूले आदर्शनगरको प्लट किनेका थिए । पशुपति घोषले निर्माण गरेकोले यो क्षेत्रलाई पशुपति आदर्शनगर भनिन्छ । बिस्तारै–बिस्तारै यो क्षेत्र वीरगंजकै व्यापारिक क्षेत्रमा परिणत भयो । २०४५ सालसम्म यो क्ष्Fेत्र फरेन गुड्स पाइने क्षेत्रको रूपमा चिनिन्थ्यो । फरेन गुड्स अर्थात् विदेशी सामान खरीद गर्न भारतबाट समेत ग्राहक आउँथे । आइतवारका दिन यहाँ फरेन गुड्स किन्ने भारतीयहरूको भीड नै लाग्दथ्यो । २६ जनवरी र १५ अगस्तका दिन त्यतिखेर रेल निश्शुल्क हुने भएकोले ग्वारग्वार्ती भारतीयहरू आदर्शनगर आउँथे, विदेशी सामान किन्न । अचेल पशुपति आदर्शनगरमा न पहिलेजस्तो विदेशी सामानका पसल छन्, न ग्राहक नै । अचेल आदर्शनगरको स्वरूप परिवर्तन हुँदै बैंक, होटलहरूको सङ्ख्या बढ्दो छ । उति बेला आदर्शनगरमा फरेन गुड्स खरीद गर्ने र नजीकैको होटल कैलाश र होटल दियालोमा खाना, नाश्ता गर्थे भारतीयहरू । मैले पनि युवाकालमा पशुपति आदर्शनगरमा काउब्वाय जिन्सको पाइन्ट पहिलोपटक खरीद गरेको सम्झना छ । अचेल त आदर्शनगरलाई हरियाली बनउने भन्दै फूटपाथ मासेर तारबार गरेर रूखबिरुवा लगाउनाले फूटपाथको स्वरूप मात्र बिग्रिएको छैन, अपाङ्ग र केटाकेटीहरूलाई फूटपाथबाट हिंड्न गा¥हो भएको तथा फूटपाथ तारबारमा अल्झिएर ज्येष्ठ नागरिक र आँखा कमजोर भएकाहरू घाइतेसमेत भएका छन् । पशुपति आदर्शनगरलाई हरियाली (हरितनगर) बनाउँछौं भन्नेहरू आफ्नो इन्च–इन्च जग्गामा घर बनाउँदै बहालमा दिन्छन् । किनकि यहाँ घर, पसल भाडा वीरगंजमैं सबैभन्दा महँगो छ । बरु महानगरपालिकाले कम्मर कसेर यहाँ घरबहाल कर उठाउने हो भने महानगरको मासिक करोडौं आम्दानी बढ्ने देखिन्छ । पशुपति आदर्शनगरमा धेरै अघिदेखि नै नगर पञ्चायत कार्यालय, ठाकुर राम क्याम्पस, नेपाल राष्ट्र बैंक र नेपाल बैंकको क्षेत्रीय कार्यालय थियो । आदर्शनगरबाट फरेन गुड्स हराएझैं वीरगंजको लोहारपट्टिबाट लोहाका पसलहरू लोप भएका छन् । पुरानियाहरू यहाँको रामगुलाम मिस्त्रीको साइकल पसल अझैं सम्झन्छन् ।
सेल पकाउने ताप्के पाइने प्रमुख स्थल लोहारपट्टि नै थियो । यहाँका लोहारहरूले आगोमा पिटिपिटी फलामलाई गलाएर नम्बरी ताप्के बनाउँथे । अहिलेको आधुनिक युगमा मेशिनले बनाएका सेलरोटी पकाउने ताप्के पाइन्छ । अब लोहारपट्टि नाम मात्र छ, लोहार नदारत
भइसके ।
त्यस्तै वीरगंजको कुम्हालटोल माटोको भाँडाका लागि प्रख्यात थियो । कुम्हालहरूको बाक्लो बस्ती भएकोले यस टोलाको नाम कुम्हालटोल भएको हो । अचेल यहाँ माटोको भाँडा बनाउनेहरू छैनन् । कुम्हालेहरूले आफ्नो थर परिवर्तन गर्दै परित र प्रजापति लेख्न थाले । त्यस्तै दरबारियाहरूले रेशमको कीराको खेती गर्ने, रेशमको धागो बनाउने भएकाले त्यस क्षेत्रको नाम रेशमकोठी रहेको हो । रेशमको साथ त्यहाँबाट रेशमकोठी दरबारसमेत लोप भइसक्यो । रेशमकोठी दरबारको चिह्न भनेको त्यहाँको नारायणी स्पोटर््स क्लब हो, जसको निर्माणका लागि २०२५ सालमा रविविक्रम शाह (शिवराजा)ले पाँच धुर जग्गा दान गरेका थिए, जहाँ अहिले मुख्यमन्त्री लालबाबू गद्दीले २५ लाख दिएपछि नारायणी स्पोटर््स क्लबको नयाँ भवन निर्माण हुँदैछ । कुनै बेला कुम्हालटोल कुँवा (इनार)को लागि समेत प्रख्यात थियो । हामी केटाकेटी हुँदासमेत यहाँ करीब–करीब १० अथवा १२ कुँवा रहेको मलाई हेक्का छ । अचेल यो टोलमा एउटा पनि इनार चलनचल्तीमा छैन । सबै पुरिए र केही टाठाबाठाहरूले आफ्नो नम्बरी जग्गा बनाइसके ।
राजा महाराजाहरूका पाला, राणाकालमा डाँडा कटाउने चलन थियो । यस्तै डाँडा कटाइएकाहरूको बिर्ता थियो हालको वडा नं. ४ बिर्ता बजार । अचेल यहाँ पनि बिर्तावाल छैनन् । तर नाम भने बिर्ताले नै प्रख्यात छ । यहाँ बिर्तामाईको पुरानो मन्दिर पनि छ । श्रीपुरको फूलबारी टोल पनि उति बेलाका राजा र साहेबज्यूका फूलबारी, आँपबारी हो । त्यसैले अझै पनि यसलाई धेरैले फूलबारी टोल भन्छन् । वीरगंज कारागारको पूर्व पाँचवटा रूख भएको एउटा ठूलो चौर थियो, जसलाई पचगछिया भनिन्थ्यो । नयाँ पुस्तालाई यहाँ पचगछिया थियो भन्ने थाहा छैन । गहवामाईको मन्दिर भएकोले माईस्थानलाई गहवा पनि भनिन्छ तर अचेल यहाँ सोनारको पसल भएकोले सोनारपट्टि भन्न थालेका छन् । जमानामा माईस्थानको सेकुवा र बगेडी खासै प्रख्यात थियो ।