सन्दर्भ : अन्तर्राष्ट्रिय साक्षरता र राष्ट्रिय शिक्षा दिवस
- अनन्तकुमार लाल दास
जसरी बादलविना वर्षाको कल्पना गर्न सकिंदैन, त्यसैगरी शिक्षाबेगर शान्त, सुरक्षित, संरक्षित र वास्तविक जीवनको परिकल्पना सम्भव छैन । शिक्षा देखेर, पढेर, सुनेर, अनुभव गरेर वा सिकेर हासिल गर्ने ज्ञान हो । आँखाले हामी बाह्य संसार हेर्न सक्छौं तर जीवनलाई बुझ्नका लागि शिक्षारूपी आँखा आवश्यक हुन्छ । यस कारण शिक्षालाई जीवनको तेस्रो आँखा पनि भन्न सकिन्छ । जोसँग शिक्षारूपी आँखा छैन, उसको जीवन अन्धकारमय हुन्छ । शिक्षाले असल र सफल जीवन दिन सक्छ । जीवनमा शिक्षाको महŒवपूर्ण योगदान रहेको कुरा कसैसँग लुकेको छैन । शिक्षा जीवनको गौरव हो । शिक्षाबाट सरल र विशिष्ट आचरण हासिल गर्न सकिन्छ । साक्षरता र सिकाइ दुवै शिक्षाका दुई पाटा हुन् । साक्षरताको बाटो भएर नै शिक्षाको फराकिलो बाटोमा हिंड्न सकिन्छ । साक्षरताको अर्थ भनेको लेखपढ गर्न जान्नु हो । साक्षरताबेगर शिक्षाको विस्तार, सभ्य, सुसंस्कृत, सुखी र समृद्ध नेपालको परिकल्पना गर्न सकिंदैन ।
शिक्षा र स्वास्थ्यलगायत गाँस, वास कपास नहुनु भनेको राज्यबाट प्रदत्त आधारभूत सुविधाहरूबाट वञ्चित हुनु हो । वर्तमान नेपालको कुरा गरिराख्दा अहिले पनि थुप्रै यस्ता समूह छन् जो आधारभूत सुविधाबाट वञ्चित छ । यस श्रेणीमा महिला, अपाङ्ग, अल्पसङ्ख्यक, दलित, जनजाति र पिछडिएको समुदाय र तेस्रो लिङ्गी पर्छन् । यिनीहरूका लागि शिक्षा र स्वास्थ्य आकाशे फलजस्तै रहेको छ । गरीबी निवारण नहुन्जेल यस्ता समुदायका लागि साक्षरता अभियान बालुवामा पानी हालेजस्तै हुन्छ । ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र ४३ औं राष्ट्रिय शिक्षा दिवस मनाउन लाग्दासम्म पनि शिक्षामा चाहिंदो सुधार नहुनु दुःखद हो । शिक्षा सुधारका लागि बनाइने नीति नियमको कार्यान्वयन फितलो हुनुको जिम्मेवारी कसले लिने ? विज्ञान र प्रविधिको वर्तमान परिवेशमा पनि मानिस अझै पूर्ण साक्षर नहुनु हामी सबैको लागि लज्जास्पद कुरो हो । यसै कारणले होला यस वर्षको नारा ‘साक्षरता सिकाइ क्षेत्रमा रूपान्तरण’ राखिएको छ । अब पनि शिक्षाको यो हविगत रहिरहनु भनेको बजेटको धेरै भाग अन्यत्र खर्च हुनु वा सही ढङ्गले खर्च नहुनु हो । यस अर्थमा आधुनिकताको कुरा कति सार्थक हुन्छ ?
साक्षरताविना विकास र समृद्धिको कुनै अर्थ हुँदैन भन्ने कुरा सबैलाई थाहा भएकै हो । सबैको लागि शिक्षा कार्यक्रम, हरेक वर्ष चल्ने भर्ना अभियान कार्यक्रम प्रभावकारी ढङ्गले लागू नहुँदाको जिम्मेवारी कसले लिने ? कहिलेसम्म वातानुकूलित कोठामा बसेर हरेक प्रकारको सुविधाको उपभोग गर्दै बनाइएको नीतिले भुईंसतहमा बसेका मानिसहरूको समस्या नबुझ्ने ? यस कारण त्यस ठाउँमा गएर तिनका वास्तविक समस्या पहिचान गरेर साक्षर बनाइयो भने त्यो कारगर हुनेछ ।
विश्वमा शिक्षालाई आधारभूत मानव अधिकारसँग जाडेर हेर्ने चलन रहे तापनि हाम्रै छेउछाउ बसोवास गरिरहेका हरेक उमेर समूहका कोही न कोही निरक्षर सजिलै भेटिन्छन् । लेखपढ गर्न जान्नु सबैको मौलिक अधिकार हो । यस कुरोलाई कागजको पानाबाट बाहिर ल्याउन जरूरी छ । २०७८ को जनगणना अनुसार नेपालमा साक्षरता दर जम्मा ६७.९१ प्रतिशत रहेको छ अर्थात् अहिले पनि ३२.०९ प्रतिशत मानिस निरक्षर रहेको तथ्याङ्कले देखाएको छ । त्यसमा पनि महिला साक्षरता दर जम्मा ४९ प्रतिशत छ । यस तथ्याङ्कले हामी शिक्षा क्ष्Fेत्रमा चुकेको प्रस्ट हुन्छ । केही सुधार देखिए पनि यो स्थिति चिन्ताजनक नै रहेको छ । अर्कोतर्फ हालसम्म चलाइएका विभिन्न शैक्षिक सुधार कार्यक्रमहरू पूर्ण रूपले सफल हुन सकेका छैनन् ।
उदाहरणका लागि सबैका लागि शिक्षा, प्रौढ साक्षरता, लैङ्गिक विभेद हटाउने, बालविकास सुधार, गुणस्तरीय शिक्षाका लागि सुधारलगायत अन्य कार्यक्रम पनि पूर्णरूपले सफल भएको देखिंदैन । अर्थात् लक्ष्य अनुरूप खासै उपलब्धि भएको देखिएको छैन । शिक्षा दिवसको नारा जति मोहक र लक्ष्य उच्च राखे पनि तदनुरूप कार्य नहुँदा वञ्चितिमा परेका समुदायलाई कुनै लाभ हुनेछैन । उनीहरू अझ पनि शिक्षाको पहुँचबाट टाढा छन् । नेपालमा नयाँ शिक्षा प्रणालीको शुरूआत २०२८ साल देखि भएको हो । हालसम्म विद्यालय शिक्षामा पहुँच विस्तार र गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । जस्तै सामुदायिक विद्यालय सहयोग, शिक्षाका लागि खाद्य, विद्यालय क्षेत्र सुधार, तालीम अभिवृद्धिजस्ता कार्यक्रमहरू प्रमुख छन् । नेपाललगायत दक्षिण एशियाका धेरैजसो मुलुकमा साक्षरता दर कमजोर नै छ ।
नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकको रूपमा स्थापित गरेको छ । यसका लागि कैयन नीति सुधार गरिएको छ । विद्यालयमा सबैको पहुँच भन्ने लक्ष्य सरकारले राखेको छ, तर ती कुरा दस्तावेजमा मात्र सीमित हुन पुगेका छन् । शिक्षामा व्यावहारिक र प्रायोगिक पक्षको अभाव भएको हुनाले शिक्षातर्फ आकर्षण बढाउन सकिएको छैन । प्रमाणपत्रधारी बेरोजगारहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ भने पलायनको क्रम घट्ने नाम लिइरहेको छैन । भ्रष्टाचारमा ‘दिन दुना रात चौगुनन’ वृद्धि भएको छ । शैक्षिक जनशक्तिको सम्मान र उचित व्यवस्थापन नहुँदा अन्यलाई सिकाइतर्फ आकर्षित गर्न सकिएको छैन । कोरोनाकालमा सीमान्तकृत र विपन्न वर्गका केटाकेटीको शिक्षा, स्वास्थ्य र पोषणमा नराम्रो प्रभाव परेको कुरा विश्व स्वास्थ्य सङ्गठनले समेत जनाएको थियो ।
वञ्चित समुदायमा शिक्षा र सिकाइको पहुँच चुनौतीपूर्ण देखिए पनि, हरेक समस्याले आफ्नो साथ कैयन ठूला अवसर पनि ल्याउने भएकोले सोलाई चिनेर सोही अनुरूप अघि बढ्ने प्रयास गर्नुपर्ने हुन्छ । कोरोनाकालले दिएको सबक पनि यही हो । त्यसबेला वैकल्पिक माध्यमको खोजी गरियो । शिक्षा दिने विभिन्न माध्यमहरू थाहा भयो जसको उचित व्यवस्थापनबाट शिक्षामा क्रान्ति ल्याउन सकिन्छ । यसले गर्दा प्रविधिको प्रयोग गर्ने बानीसमेत विकास हुँदै गएको छ । आज प्रविधिको प्रयोगले गर्दा एकातिर विद्यालयहरू अनलाइन र अफलाइन दुवै मोडमा शिक्षा दिन सक्छन् जसबाट अप्ठेरो परिस्थितिमा पनि सिकाइलाई सजिलै निरन्तरता दिन सकिन्छ भने अर्कोतिर यसको प्रयोग स्वाध्ययनको लागि पनि गर्न थालिएको छ । यसलाई साक्षरता अभियानसँग जोडेर लग्दा झन् फलदायी हुन सक्ने अनुमान गरिएको छ ।
वर्तमानमा शिक्षाको उद्देश्य मात्र जागीर प्राप्तिको लागि नभई राष्ट्र र समाजको विकास सँगसँगै व्यक्तिगत विकासतर्फ पनि लक्षित हुनुपर्ने देखिन्छ । यसका लागि आम सोचाइमा परिवर्तन आवश्यक छ । जबसम्म विद्यार्थीहरूले शिक्षा आर्जन गरेर मालिक बन्ने उद्देश्य राख्दैनन् त्यति बेलासम्म उनीहरूलाई निर्देशनको आवश्यकता भइरहन्छ किनभने निर्देशन नोकर (प्रवृत्ति) लाई दिइन्छ मालिकलाई होइन । अर्थात् अब हाम्रो शिक्षा विद्यार्थीहरूलाई मालिक बनाउनेतर्फ लक्षित हुनुपर्छ । यसको लागि शिक्षामा श्रमको महŒव, उद्यमशीलता, सम्पत्ति भनेको के हो र पैसाले व्यक्तिको लागि कसरी काम गर्छ भन्ने कुराहरू समावेश गर्न बढी आवश्यक छ । भनिन्छ “एउटै विचारले जीवनलाई परिवर्तित गरिदिन्छ ।” यसर्थ आधुनिक शिक्षा हाम्रो सोच परिवर्तन गर्ने खालको हुनुपर्छ । आज घोकेर होइन, गरेर सिक्ने बानी विकास हुनु आवश्यक छ । आज सैद्धान्तिक परीक्षाको साटो क्रियाकलापमा आधारित परीक्षा आवश्यक छ । अर्थात् शिक्ष्Fाले सहज जीवनयापनका लागि आधार तयार गर्नुपर्छ । पाठ्यक्रममा त्यस्ता कुरा समावेश गर्नु आवश्यक छ जुन जीवभरि काम लाग्छ र जसले उसको व्यक्तिगत जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । लक्षित समूहसम्म शिक्षा पुग्छ भने उनीहरूको आत्मविश्वासमा वृद्धि हुन्छ र उनीहरू ठगिनबाट जोगिन्छन् । अर्थात् दार्शनिक रूसोको शब्दमा ‘शिक्षा जीविकाका लागि होइन जीवनको लागि हुनुपर्छ ।’
सन् १९६५ मा युनेस्कोले हरेक वर्ष सेप्टेम्बर ८ लाई ‘विश्व साक्षरता दिवस’को रूपमा मनाउने घोषणा गरेको छ र हाम्रो गणतान्त्रिक सरकारले पनि सोही दिनलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको छ । यस दिनलाई हरेक खाले शैक्षिक संस्था, शैक्षिक निकाय र शिक्षासँग सरोकार राख्ने सबैले साक्षरता जागरण पैmलाउने दिनको रूपमा प्रयोग गर्नुपर्ने हो तर हाल यो औपचारिकतामा मात्र सीमित हुन पुगेको छ, जुन उचित होइन । शिक्षासँग सरोकार राख्ने धेरैजसो ठाउँमा यस दिन या त बिदा हुन्छ वा नाम मात्रको सानोतिनो कार्यक्रम र सो पनि हिजोआज छापाको माध्यमले मात्र थाहा हुने गर्छ । शिक्षा, जुन सबैको सरोकार र चासोको विषय हो त्यसप्रति समाज संवेदनशील र गम्भीर नहुनु दुःखद विषय हो । आज मोबाइल र इन्टरनेट हाम्रोजस्तो विकासशील मुलुकमा पनि शिक्षा र साक्षरताभन्दा बढी नचाहिंदो सञ्चार र समय बिताउने माध्यमको रूपमा बढी प्रयोग भइरहेको छ जुन भविष्यको लागि गम्भीर चिन्ताको विषय बनेको छ । आज पनि हाम्रो समाजमा अक्षर नै नचिन्ने अनि औंठाछाप मानिस छन् । यसर्थ समृद्ध र सुखी नेपालको परिकल्पना ‘अक्षर र अङ्क’सँग सबै मानिसको परिचय नगराई सम्भव हुँदैन ।
सबैलाई साक्षर र शिक्षित बनाउनु सरकारको मात्र हैन, हामी सबैको दायित्व हो । औपचरिक वा अनौपचारिक जुनसुकै माध्यमबाट शिक्षाको विस्तार गर्नु राज्यसँगै हाम्रो दायित्व पनि हो । एउटा जागरुक नागरिकको रूपमा हामी सबैले यसलाई स्वीकार गर्नैपर्छ । राज्यको आँखा पनि झुपडी र भोको पेटसम्म पुग्न जरूरी छ । जनता शिक्षित भएन भने सरकारको लगानी बालुवामा पानी खनाएजस्तै हुन्छ । विद्या नै सबैभन्दा ठूलो धन भएकोले यसबाट कसैलाई पनि वञ्चित गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हुनेछ । जीवनलाई सार्थक बनाउने यो धन सबैको पहुँचमा हुनु आवश्यक छ । यसको लागि हामी सबैले ‘ठूलो वर्णमाला’ पढाएर वा निश्श्ुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण सिर्जना गरेर वा विद्यालयसम्म पु¥याउने प्रायोजक खोजेर सक्दो सहयोग जुटाइदिनुपर्छ ।