• सञ्जय मित्र

औंसी र नेपाली साहित्यबीच सकारात्मक संयोग छ । निकै गहिरो नाता रहेको देखिन्छ । नेपाली साहित्यको आकाशमा औंसीको रातमा दुई सूर्योदय भएको पाइन्छ । नेपाली साहित्यमा रुचि लिनेहरूले बुझेका छन्– मोतीराम भट्टको जन्म भदौ कृष्ण औंसीको दिन र लक्ष्मीप्रसाद देवकोटाको जन्म कात्तिक कृष्ण औंसीको दिन भएको हो ।

भट्ट र देवकोटामा एउटा समानता छ– दुवैजना अनेक विधामा कलम चलाउने तर काव्य विधामा बढी पहिचान कायम हुन पुगेका साहित्यकार हुन् ।

तिथिमितिमा विश्वास गर्ने साहित्यकारहरूले वर्षभरिमा जुनकुनै महीनाको औंसी आउँदा सबैभन्दा पहिले मोतीराम भट्टलाई किन सम्झन्छन् भने मोतीराम भट्टको जन्मदिवस वा स्मृति दिवस यही तिथिकै हिसाबले मनाउने चलन छ । यसको वास्तविक कारण यो हो कि नेपाली साहित्यमा एक युगको प्रतिनिधित्व गर्ने मूद्र्धन्य साहित्यकार मोतीराम भट्टको जन्म र मृत्यु एकै थितिमा अर्थात् भदौ कृष्ण औंसीकै दिन भएको थियो । यस संयोग वा वियोगले भट्टलाई नेपाली साहित्यले यसै दिन सम्झने गरेको छ भने देवकोटालाई लक्ष्मीपूजाको दिन भनेर चिनिने भएकोले वास्तवमा त्यस दिन औंसी नै भएपनि औंसीको हिसाबले भन्दा पनि लक्ष्मीपूजाको हिसाबले देवकोटाको जन्म दिवस मनाउने गरिएको छ ।

मोतीराम भट्टलाई कतिपयले युगकवि भनेका छन् । कतिपयले युवाकवि भनेका छन् । यी दुई उपाधिका योग्य नै हुन्, साहित्यकार भट्ट ।

भट्टलाई युवा कवि किन भनिन्छ भने उनी युवावस्थामा नै बिते । युवावस्थामा मात्र बित्नु चाहिं युवाकवि भनिनुको कारण होइन । युवाहरूलाई प्रोत्साहित गरे । युवाहरूको सङ्गठन बनाए । मोती मण्डली त प्रख्यात नै छ । युवाहरूको लागि साहित्य सिर्जना गरे । आज साहित्यमा जुन शृङ्गार धाराको बाहुल्यता छ, नेपाली साहित्यमा यसलाई भिœयाउने काम नै मोतीराम भट्टले गरेका हुन् । मोतीराम भट्टका शृङ्गारिक धाराका रचनाहरू अहिले पनि उत्तिकै पढिन्छन् ।

नेपाली साहित्यलाई अनेक नवीनता दिने मोतीरामको साहित्यको युगलाई मोतीयुग पनि भनिन्छ । यसै कारण भट्टलाई युगकवि पनि भनिएको हो । मोतीराम भट्टले आफ्नो समयको नेपाली साहित्यको सम्पूर्ण सेरोफेरोलाई आफ्नो अनुकूल बनाउन सकेका थिए । युगलाई नियन्त्रण गर्ने, नवीन युगको सुरुआत गर्ने, त्यस युगको नेतृत्व गर्ने जस्ता गुणका कारणले मोतीराम भट्टलाई युगकवि भनिएको हो । यद्यपि उनी कविताको क्षेत्रमा मात्र सीमित थिएनन् । मोतीराम भट्टले नेपाली साहित्यलाई समालोचना, जीवनी, अनुसन्धान, गजलजस्ता अनेक नयाँ कुरा दिएका छन् । नयाँ कुरा दिंदा भट्टले जसरी खोज गरे, अनुसन्धान गरे र जसरी आफ्नो कर्मलाई आधिकारिकतापूर्वक पुष्टि गरे, त्यसलाई नेपाली समाजले पत्यायो, नेपाली साहित्यले मान्यो । नेपाली साहित्यलाई सक्षम बनाउन अति विशिष्ट भूमिका खेलेको हुनाले भट्ट साँच्चिकै आफैंमा युग बन्न पुगे । त्यस जमानामा साहित्यकारलाई कवि नै भन्ने गरिन्थ्यो । यस कारण भट्टलाई युगकवि भन्नेहरूले गुह्यार्थमा युगसाहित्यकार भनेका हुन् ।

हुनत के भनिन्छ भने अँध्यारोमा एउटा जूनकीरीको प्रकाशको पनि महŒव हुन्छ तर वर्षभरिमा सबैभन्दा अँध्यारो दिन मानिने भदौको औंसीको अँध्यारोमा जन्मेका भट्ट जूनकीरी होइन, नेपाली साहित्यको मोती बनेका छन् । साहित्यको क्षेत्रमा दिएको कर्मले उनी नेपाली साहित्यको मोती बन्न पुगेका छन् । यस अर्थमा भट्ट युगकवि, युगसाहित्यकार, युवाकवि जस्ता उपाधिभन्दा निकै माथि छन् । भट्टले आफू सिर्जना गर्ने मात्र नभई सर्जकलाई पहिचान र सम्मान दिलाउने कार्यमा जुन इमानदारी र निस्स्वार्थता देखाएका छन्, त्यसले पनि उनलाई आफ्नो युगको भाषा र साहित्यको क्षेत्रका सर्वाधिक उच्च व्यक्तित्व प्रमाणित गरिदिएको छ ।

भट्ट साहित्यिक सङ्गठक तथा प्रोत्साहक त थिए नै । उच्चकोटिका साहित्य सर्जक थिए । वास्तवमा साहित्यमा के देखिएको छ भने जसले राम्रो साहित्य सिर्जना गर्न सक्छ, उसलाई साहित्यको क्षेत्रले बढी पत्याएको हुन्छ । साहित्यिक क्षेत्रमा उच्च कलात्मक तथा कालजयी साहित्य सिर्जना गर्न सक्नेले नै लामो समय आफूलाई चिनाइरहन सक्छ । साहित्यको क्षेत्रमा साहित्यकारलाई भन्दा पनि तिनको सिर्जना अर्थात् साहित्यलाई बढी पत्याउने हुन्छ । अहिलेसम्मको प्रवृत्ति यही नै हो र मोतीराम भट्टको युगमा पनि यही थियो ।

मोतीराम भट्टले नेपाली साहित्यलाई जुन किसिमले सेवा दिएका छन्, त्यो नभूतो थियो । वास्तवमा नेपाली साहित्यको सबै किसिमले सेवा गर्ने व्यक्तित्व कुनै पनि भाषामा कमै पाइन्छन् । भाषा र साहित्यको सेवामा आफ्नो जीवन नै अर्पण गर्ने, आफूलाई सम्पूर्णरूपमा समर्पण गर्ने तथा अरूलाई कसरी हुन्छ प्रेरित तथा प्रोत्साहित गर्ने व्यक्तित्व जहाँ पनि निकै कम हुन्छन् । मोतीराम भट्ट त्यस्ता निकै कम व्यक्तित्वमध्ये हुन् । यसै कारण मोतीराम भट्टलाई युगका प्रवर्तक पनि भनिन्छ कि उनले नयाँ युगको प्रवर्तन गरेका छन् । यसरी कैयौं युगपछि कुनै भाषाको सेवाका लागि कुनै कुनै देशमा मोतीराम भट्टजस्ता व्यक्तिको जन्म हुन्छ ।

आजसम्म मोतीराम भट्टका रचनाहरू विद्यालय तथा विश्वविद्यालय तहमा अध्यापन हुनुको कारण पनि यही हो कि उनका रचनाहरूले युगलाई जितेका छन् । हुनत सबै सर्जकका सबै रचना समान नै हुँदैनन् । केही रचनाले तत्काललाई मात्र ओकलेको हुन्छ अर्थात् तात्कालिक यथार्थलाई मात्र अभिव्यक्त गरेको हुन्छ तर कतिपय रचना भने आउँदा युगलाई पनि बाटो देखाइरहेका हुन्छन् । तात्कालिक यथार्थ र युगीन चेतना दुवै किसिमका रचनामा अब्बलता भट्टको प्रवृत्ति देखिएको छ । यही प्रवृत्तिले मोतीराम भट्ट आज पनि युवा तथा प्रौढ सबै किसिमका साहित्यकारका माझमा प्रिय छन् ।

युग जति बितिरहेको छ, मोतीका रचना र तिनले गरेका काम दुवैले थप महŒव पाइरहेका छन् । तिनीहरूमा त्यत्तिकै निखार आइरहेको छ । उनका रचनाहरूले स्वाभाविकता ग्रहण पनि गरिरहेका छन् । केही रचना त यस्ता छन्, जुन जहाँ पनि र जहिले पनि समभाव राख्ने क्षमता राख्छन् ।

गहिराइमा पस्नुपर्छ मोती बनेर आउन

सबैको मन मन्दिरमा प्यारो बनेर आउन ।

मोतीराम भट्टले आदिकवि भानुभक्तलाई चिनाएका छन् । आदिकविलाई चिनाउने काम मात्र नगरेर वास्तवमा नेपाली साहित्यलाई एउटा पहिचान र एउटा उचाइ प्रदान गरेका छन् । भौतिक शरीरको दृष्टिकोणले निकै कम अवधि अर्थात् तीस वर्ष मात्र बाँचेका मोतीराम भट्टको साहित्यिक जीवन अनन्तकालसम्मको रहेको छ । आज विश्वभरमा यस महान् स्रष्टालाई नेपाली साहित्यको उज्ज्वल नक्षत्र भनेर सम्मान गर्दछन् ।

र अन्त्यमा, उनी पिता बन्न पाएनन्– यस अर्थमा उनले नेपालमा जन्माएका अनेक विधाहरूले उनलाई

पिता मानेका छन् । उनका सन्तान थिएनन्– यस अर्थमा उनका सम्पूर्ण कृति र सिर्जना नै उनका अजर अमर सन्तान बनेका छन् । आज पनि मोतीराम भट्टले एक पिताको रूपमा र उनका सिर्जनाहरूले सन्तानको रूपमा नेपाली साहित्यको सेवा गरिरहेका छन् । यी अजर अमर सर्जकप्रति अनन्त श्रद्धा र सम्मान प्रकट गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here