काठमाडौं, ५ भदौ/रासस
नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरी राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चित छन् ।
स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको हिजो निधन भयो । उनको निधनले सबैलाई दुःखी तुल्याएको छ । उनमा रहेको बौद्धिकता, स्पष्टता र सादगीको सर्वत्र चर्चा भएको छ । पछिल्लो समय गिरीलाई नजीकबाट नियालेका अनुसन्धाता दिनेश प्रसाईंसँग गरिएको कुराकानीको सम्पादित अंश ः
नेहरू विश्वविद्यालयले जुराएको भेटघाट
“प्रदीपजीसँग मेरो विशेष भेटघाट २०६० सालदेखि भएको हो । तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को दोस्रो कदमपछि उहाँसँग मेरो नयाँ दिल्लीमा भेट भयो । नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा अनुसन्धानका सिलसिलामा भएको भेटघाट मेरा लागि निकै स्मरणीय छ । २०६२–६३ को लोकतान्त्रिक आन्दोलनका समयतिर हामीले नयाँ दिल्लीबाट लोकतन्त्र भन्ने पत्रिका निकाल्थ्यौं । त्यसका लागि प्रदीपजीले प्रत्येक अङ्कका लागि १० हजार रुपियाँ जुटाइदिनुहुन्थ्यो । उक्त पत्रिकाका लागि नेताहरूको लेख उपलब्ध गराउन सहयोग गर्नुहुन्थ्यो । पत्रिकाका प्रधान सम्पादक शैलेश आचार्य हुनुहुन्थ्यो भने म कार्यकारी सम्पादक थिएँ । एक महीनादेखि दुई/तीन महीनाको अन्तरालमा निस्कने उक्त पत्रिका हामीले छ अङ्कसम्म प्रकाशन ग¥यौं ।
नेपालमा लोकतन्त्रका लागि माओवादी र संसदीय दलहरू मिल्नुपर्छ भन्ने सन्देशलाई उक्त पत्रिकाले जोड दिने गरेको थियो । लोकतन्त्रका पक्षमा विभिन्न लेख, रचना पत्रिकामा छापिन्थे । तत्कालीन राजनीतिका सम्बन्धमा नरहरि आचार्य, प्रदीप ज्ञवाली, बाबुराम भट्टराईलगायत विभिन्न नेताका लेख उक्त पत्रिकाका माध्यमबाट प्रकाशन हुन्थे । उक्त पत्रिकाका सिलसिलामा उहाँसँग राम्रै छलफल तथा भेटघाट हुन्थ्यो । नेपालमा लोकतन्त्रको स्थापनापछि पनि विद्यावारिधिका सिलसिलामा मैले त्यस पछिका चार वर्ष नयाँ दिल्लीमा नै बिताएँ । त्यसबीच प्रदीप गिरी भारत आउँदाजाँदा बाक्लै भेटघाट हुने गरेको थियो ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा त्यस बेला नेपालबाट विद्यावारिधिका लागि गएका २०–२५ जना साथी मिलेर ‘टक सिरिज’ पनि चलाउँथ्यौं । उक्त सिरिजमा साहित्य, सङ्गीत, दर्शन, राजनीतिका विषयमा चर्चा–परिचर्चा हुन्थ्यो । भारतका ठूला–ठूला विद्वान् पनि सहभागी बन्ने गर्दथे । र त्यसमा प्रदीप गिरीको उपस्थिति हाम्रा लागि गर्वको विषय हुन्थ्यो । भारतीय विद्वान् पनि उहाँलाई निकै आदर–सम्मान गर्दथे । उहाँको बौद्धिकता नेपालको मात्र नभई भारत र समग्र दक्षिण एशियाकै लागि गर्व गर्न लायकको थियो ।”
चारै भाषामा राम्रो दख्खल
“बौद्धिकताको हिसाबले मात्र नभई उहाँको विभिन्न भाषामा उत्तिकै दख्खल थियो । गिरीको नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारै भाषामा राम्रो ज्ञान थियो । यी चारै भाषामा उत्तिकै राम्ररी लामो समयसम्म बहस गर्न सक्ने उहाँको अचम्मको क्षमता थियो ।”
अचम्मको सादगी
“उच्चस्तरको बौद्धिक नेता भएर पनि गिरीमा अचम्मको सादगी थियो । हामीहरू नयाँ दिल्लीमा त्यस बेला अटोमा हिंड्ने गर्दथ्यौं । टाउकोमा फेटा बाँधेर हिंड्ने गिरीसँग म ठूलो छुँ भन्ने भावना कहिल्यै पनि देखिएन । दिल्लीमा त्यहाँको राजनीतिसँगै विश्व राजनीतिमा प्रभाव पार्ने ठूला–ठूला नेता तथा साहित्यकारसँग उहाँको बृहत् सम्बन्ध थियो । सोनिया गाँधी, करण सिंहजस्ता नेताहरूसँग उहाँको सीधै सम्पर्क थियो । नेपालबाट जाने नेताहरूले भारतीय नेतासँग भेट गराउन उहाँलाई भेट्न खोज्दथे । तर उहाँमा सकेसम्म यहाँबाट गएका नेतासँग नभेट्ने अचम्मको बानी थियो ।
अध्यात्ममा अत्यधिक रुचि रहेका कारण पनि उहाँ समयसमयमा भारतका विभिन्न स्थानमा रहेका सन्यासीको अखडामा गएर समय बिताउनुहुन्थ्यो । सामान्य खानपिन रुचाउनुहुने गिरीले प्रायः सादा खाना, दही, दुई/तीनवटा रोटी र समयानुसार तरकारी खानुहुन्थ्यो । मैले उहाँले धूमपान गरेको देखिनँ । विसं २०६०–६१ देखि नै उहाँ पथ–परेजमा बस्ने गर्नुभएको थियो । अध्ययन सकेर नेपाल फर्केपछि मैले पोखरामा सञ्चालन गरेको जलमहल होटेल उहाँ आउँदा प्रायः बस्ने स्थान हो । जलमहलमा कोठा अपुगै भएका अवस्थामा बाहेक उहाँ यहीं बस्ने भएकाले उहाँसँग दिल्लीपश्चात् पनि निरन्तर छलफल एवं अन्तक्र्रिया हुने गरेको थियो ।”
अरूलाई अध्ययनमा प्रेरित गरिरहने
“प्रदीप गिरी आफू मात्रै अध्ययन गर्ने होइन, अरूलाई पनि अध्ययन गर्न प्रेरित गरिरहनुहुन्थ्यो । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारतजस्ता ग्रन्थ पढ्न अभिप्रेरित गर्नुहुन्थ्यो । आफू पनि निरन्तर पढिरहने उहाँ एकै दिनमा तीन/चारवटा पुस्तक पढ्ने गर्नुहुन्थ्यो । नयाँ दिल्लीको दरियागंजमा प्रत्येक आइतवार पुराना पुस्तक बिक्री हुने गरी हाट लाग्ने गर्दछ । त्यहाँ गएर गिरीले प्रत्येक पटक २०/३० वटा पुस्तकसम्म किन्ने गर्नुहुन्थ्यो ।
त्यस्तै जवाहरलाल नेहरू विश्वविद्यालय नजीकै वसन्त विहारमा पनि विभिन्न विषयका पुस्तकहरू किन्न जाने गर्नुहुन्थ्यो । त्यहाँ विशेषतः सामाजिक अध्ययन विषयका पुस्तकहरू पाइन्थ्यो । नयाँ दिल्लीकै बौद्धिक व्यक्ति पुग्ने खान मार्केटमा पनि उहाँ समयसमयमा पुगेर किताब किन्ने गर्नुहुन्थ्यो । मेरो अनुभवमा उहाँले किताब नकिनेको कुनै हप्ता नै हुँदैनथ्यो । पोखरामा दुईपटकसम्म साहित्य मेलामा उहाँले गर्नुभएको दन्त्य कथा र महाभारतका पात्र विषयक परिचर्चा अहिले पनि उत्तिकै चर्चामा छ ।”
कार्यक्रममा बोलाउन ४ बजेपछिको समय उपयुक्त
“नयाँ दिल्लीमा टक सिरज तथा अन्य वैचारिक कार्यक्रममा सहभागी हुन अपराह्न ४ बजेपछिको समय राख्ने गर्दथ्यौं । राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपराह्न १२ देखि १ बजेसम्म उहाँलाई सुत्नुपथ्र्यो । उहाँको उपस्थितिले कार्यक्रमको गरिमा नै उचा हुने भएकाले उहाँको समयलाई बाधा नपनेगरी हामी कार्यक्रम तय गर्दथ्यौं ।”
भारतीय नेताहरूसँग राम्रो सम्बन्ध
“गिरीको भारतीय नेताहरूसँग अचम्मलाग्दो नजीकको सम्बन्ध थियो । उहाँको करण सिंहलगायत नेतासँग भएको केही भेटघाटमा मैले सँगै जाने अवसर पाएको छु । करण सिंहले उहाँलाई अत्यन्त आदर गर्नुहुन्थ्यो । जुन मैले प्रत्यक्ष देखेको छु । भारतीय नेताहरू नीतीश कुमार, लालूप्रसाद यादव, बिपी त्रिपाठीलगायत नेतालाई उहाँले प्रशिक्षण दिनुभएको छ । भारतीय राजनीतिमा राम्रो प्रभाव राख्ने अधिकांश नेताहरूसँग उहाँको अचम्मको सुमधुर सम्बन्ध थियो । भारतमा इन्दिरा गाँधीको सङ्कटकालको समयपछि उहाँले भारतमैं रहेर ‘सोसलिस्ट मुभमेन्ट’को नेतृत्व पनि गर्नुभएको थियो । विशेषगरी गाँधीवादी विचारक गिरीको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजीकको सम्बन्ध थियो । उहाँको सोनिया गाँधी, इन्दिरा गाँधी, राजीव गाँधीलगायत नेतासँग पनि राम्रै सम्बन्ध थियो ।”
तेस्रो प्राथमिकतामा राजनीति
“त्यत्रो बौद्धिक र प्रभावशाली नेता भएर पनि उहाँको राजनीति भने तेस्रो प्राथमिकतामा थियो । उहाँको पहिलो प्राथमिकता साहित्य र दोस्रो अध्यात्म हो । राजनीतिलाई किन प्राथमिकतामा राख्नुहुन्न भन्ने जिज्ञासामा ‘म राजनीतिबाट ‘डिस्टर्ब’ हुन चाहन्नँ’ भन्नुहुन्थ्यो । उदार स्वभावका उहाँ सबै राजनीतिक दललाई उत्तिकै सहयोग गर्नुहुन्थ्यो । उहाँ सबैको मान्छे हुनुहुन्थ्यो । आफ्नै पार्टीको पनि उहाँले स्पष्टरूपमा आलोचना गर्नुहुन्थ्यो ।”
गिरीबाट सिक्नुपर्ने पाठ
“सादगीपनसँगै गिरीको इमानदारी, निष्ठा, अध्ययनशीलता जो पनि नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगार सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरीले सधैं गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाउनुभयो । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उहाँले ‘कदमजम’ को नारा अघि सार्नुभएको थियो । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उहाँले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेसीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहनुभयो ।”