• अनन्तकुमार लाल दास

विद्यार्थीहरूलाई पढाउनु जति कठिन छ, त्यसभन्दा बढी कठिन कार्य उनीहरूलाई प्रोत्साहित गर्नु हो । चाहे तपाईं आधारभूत कक्षा वा माध्यमिक कक्षामा पढाइरहनुभएको छ, विद्यार्थीहरूसँग स्वयं काम गराउनु र पढ्नको लागि प्रोत्साहित गर्नु चुनौतीपूर्ण कार्य हो । तर थुप्रै यस्ता तरीका छन्, जसले विद्यार्थीहरूको लागि पढाइ रोचक र आनन्ददायक बनाइदिन्छ ।

सबैभन्दा पहिले के बुझ्नुपर्छ भने विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु किन चुनौतीपूर्ण हुन्छ ? विद्यार्थी जीवनमा उनीहरूको भेट जति मानिससँग हुन्छ सबैले उनीहरूको जीवनमा ‘शिक्षक’ को काम गर्छन् । हरेकको प्रयास उनीहरूलाई प्रोत्साहित गर्नु र उसलाई यस्तो नागरिक बनाउनु हुन्छ, जसमाथि दुनियाँलाई गर्व होस् । यति बढी हस्तक्षेपले गर्दा उनीहरू आफ्नो पहिचान खोजिरहन्छन् किनभने सबै उनीहरूलाई प्रभावित गर्न र शङ्काको दृष्टिले हेर्छन् । विद्यार्थीले आफूलाई चिनेपछि हरेकद्वारा दिइने दबाब झेल्ने नीति अँगाल्छन् । अर्थात् विश्वासिलो मानिसको कुरा त्यसबेला चुनौती बन्छ जब गलत व्यक्ति उनीहरूलाई प्रोत्साहित गर्ने कोशिश गर्छ ।

यदि तपाईं विद्यार्थीहरूलाई प्रोत्साहित गर्न खोज्दै हुनुहुन्छ भने तपाईंले के साबित गर्नुपर्छ भने उनीहरूले किन तपाईंको कुरा सुन्नुपर्छ ? उनीहरू पहिलो दिन तपाईंमाथि शङ्का गर्छन् तर तपाईंले उनीहरूको विश्वास र सम्मान जित्ने प्रयास गर्नुपर्छ । यसको लागि तपाईंले केही यस्तो गर्नुपर्छ जसले उनीहरूको ध्यान तपाईंतिर आकर्षित होस् । यसको लागि आफ्नो कुरालाई सही ढङ्गले प्रस्तुत गर्नुपर्छ अर्थात् सही समयमा सही कुरा गर्नुपर्छ । थोरै बोल्ने अर्थात् ‘अधिकाप्रसाद’ नबन्ने । उनीहरूको दृष्टिमा तपाईं पढेलेखेको, समझदार र निडर देखिनुपर्छ ।

शिक्षकको ठूलो आँखा, अनुहारमा हलुका मुस्कान र जोशले विद्यार्थीहरूलाई धेरै खुशी दिन्छ । तपाईंको विषयमा रुचि नभए पनि तपाईंको व्यवहारले उनीहरूलाई खुशी प्रदान गर्छ । यदि शिक्षकहरू मनले विद्यार्थीहरूलाई पढाउँछन् भने उनीहरू  अवश्य पढ्ने कोशिश गर्छन् । शिक्षकहरूले के बुझ्नुपर्छ भने मभित्र त्यो बल छ जसबाट आफ्नो विषयलाई उनीहरूको सामु सही तरीकाले प्रस्तुत गर्न सक्छु । शिक्षकहरू कक्षामा प्रवेश गर्दा राम्रो देखिनका लागि आफ्नो वेशभूषामा ध्यान दिनुपर्छ । एउटा साधारण शिक्षकले जे गर्छ त्योभन्दा अलि बढी गर्ने प्रयास गर्नुपर्छ । अर्थात् यदि कुनै विद्यार्थीलाई समयमा गृहकार्य पूरा गर्न कठिनाइ भइरहेको छ भने उसलाई एक्लै बोलाएर कारण बुझ्ने प्रयास गर्नुपर्छ । उसको समस्या ध्यानपूर्वक सुन्नुपर्छ । उसको हरेक प्रश्नको जवाफ शिक्षकले दिनुपर्छ तर ध्यान के राख्नुपर्छ भने विद्यार्थीले तपाईंबाट कुनै अवाञ्छित फाइदा नउठाओस् ।

विद्यार्थी तपाईंको विषयमा सधैं प्रोत्साहित रहोस् भन्ने चाहनुहुन्छ भने उनीहरूलाई पाठ्यक्रमभन्दा अलि बढी पढाउनुहोस् । तपाईंको विषयमा कुनै नौलो गतिविधिबारे विद्यार्थीहरूलाई जानकारी गराउनुहोस् । उदाहरणका लागि विज्ञान विषयको कुनै पाठसँग सम्बन्धित कुनै लेख वा त्यसको सारांश वा त्यससँग सम्बन्धित कुनै चित्र वा भिडियो कक्षामा देखाउन सक्नुपर्छ । ध्यान के दिनुपर्छ भने तपाईंको यस प्रयासले विद्यार्थीहरूमा विषयप्रति रुचि उत्पन्न होस्, लेख वा भिडियोप्रति होइन । शिक्षकले यस्तो गृहकार्य दिनुपर्छ जसमा उनीहरूलाई केही सोच्नुपर्ने होस् । विद्यार्थीलाई पढाउँदा कहिलेकाहीं हँसी–ठट्यौली पनि गर्नुपर्छ किनभने यदि तपाईं सधैं गम्भीर बनिरहनु हुन्छ भने उनीहरूलाई तपाईंसँग घुलमिल गर्न कठिनाई हुन्छ । यसको अर्थ हरेक कुरामा ठट्यौली गर्नु होइन तर यदि तपाईं पढाइको वातावरण अलि रोचक बनाउनुहुन्छ भने विद्यार्थीहरू सजिलै प्रोत्साहित हुन्छन् र तपाईंले भनेको कुरा पनि मान्छन् ।

आफ्नो विषयतर्फ विद्यार्थीहरूलाई केन्द्रित गर्न उनीहरूलाई के विश्वास दिलाउनुपर्छ भने तपाईं एउटा योग्य शिक्षक हो । यसको लागि शिक्षकले आफ्नो दक्षता कक्षामा प्रस्तुत गर्नुपर्छ । जागीरको अन्तर्वार्ताको लागि जसरी प्रस्तुत भइन्छ, एउटा शिक्ष्Fकले कक्ष्Fामा त्यसैगरी प्रस्तुत हुनुपर्छ । विद्यार्थीसँग कुरा गर्दा गर्व देखा पर्नुपर्छ । वर्तमान समय इन्टरनेटको युग हो । यदि तपाईंमा  विषय सम्बन्धित जानकारीको अभाव देखिन्छ भने तपाईंले भनेको कुरा उनीहरूले मान्दैनन् । यसैगरी जुन विद्यार्थीलाई तपाईंको बढी आवश्यकता छ त्यसमाथि विशेष ध्यान दिनुपर्छ । यदि कुनै विद्यार्थी बिरामी छ व दुःखी देखापर्छ भने कक्षा पछि यस सम्बन्धमा बुझ्ने प्रयास गर्नुपर्छ । यदि उसले भन्छ म ठीक छु भने बढी सोधपुछ नगर्नुहोस् । मात्र के भन्नुहोस् भने मलाई यस्तो प्रतीत भयो कि तिमी परेशान छौ । यही कुराले उसलाई बढी परिश्रम गर्न प्रोत्साहित गर्छ । यदि कुनै विद्यार्थी पटक–पटक गृहकार्य गर्दैन भने केही गडबड छ भन्ने बुझ्नुपर्छ र उसलाई सहयोग गर्नुपर्छ । उसका लागि केही सजिलो सवाल हल गर्न दिनुपर्छ तर के पनि भन्नुपर्छ भने यस्तो छूट फेरि पाइन्न ।

विद्यार्थीहरूलाई उनीहरूको मनका कुरा पोख्ने अवसर दिनुपर्छ किनभने यदि विद्यार्थीहरूलाई भाषण मात्र दिनुहुन्छ भन्ने उनीहरू कहिल्यै पनि प्रोत्साहित हुँदैनन् । तपाईं उनीहरूको विचार सुन्न इच्छुक भएको कुरा उनीहरूले महसूस गर्छन् भने  आफ्नो राय खुलेर तपाईं समक्ष व्यक्त गर्छन् । विद्यार्थीहरूलाई कक्षामा प्रोत्साहित राख्नको लागि एक वा दुई विद्यार्थीसँग मात्र उसको नाम लिएर प्रश्न सोध्नुहोस् किनभने कुनै पनि छात्रले जसलाई प्रश्नको जवाफ थाहा छैन शिक्षक सामु उभिन चाहँदैन । यसरी एक–दुई दिन गरियो भने नपढेर आउने छात्र पनि पढेर आउन थाल्छ । विद्यार्थीहरूलाई के अनुभव गराउनुपर्छ भने पढाइको असर दुनियाँमाथि पर्छ । अर्थात् उनीहरूसँग समाज, देश र विश्वसँग जोडिएको सरोकारका विषयमा पनि चर्चा गर्नुहोस्, जसबाट उनीहरूलाई प्रोत्साहित गर्न सकियोस् । यसको लागि स्वयं शिक्षकले पनि तयारी गर्नुपर्छ ।

विद्यार्थीहरूलाई सजिलै प्रोत्साहित गर्नको लागि उनीहरूलाई एक्लै वा समूहमा कुनै काम गर्न भन्नुपर्छ । अर्थात् उनीहरूसामु चुनौती पेश गर्नुपर्छ । उनीहरूलाई व्यक्तिगतरूपमा जिम्मेवारी सुम्पिंदा उनीहरू बढी खुशी अनुभव गर्छन् । यसैगरी समूहमा काम गर्न लगाउँदा विद्यार्थीहरूले एकअर्कालाई बुझ्ने र उनीहरूसँग भएको जानकारीलाई फरक दृष्टिकोणले हेर्ने मौका पाउँछन् र सफल हुनका लागि प्रोत्साहित हुन्छन् । शिक्षकहरूले विद्यार्थीलाई बढी अङ्क आउने प्रश्न गृहकार्यको रूपमा दिनुपर्छ यसबाट उनीहरूलाई आफ्नो ज्ञानलाई बेग्लै उचाइसम्म लिएर जाने अवसर प्राप्त हुन्छ । विज्ञानजस्तो विषय राम्ररी बुझाउनको लागि पाठसँग सम्बन्धित यू ट्यूब सामग्री, इन्टरनेट वा कुनै किताबको अध्ययन गर्न पनि भन्नुपर्छ तर यसको लागि शिक्षकहरूलाई पनि यसबारे पूर्ण ज्ञान हुनु आवश्यक हुन्छ । विद्यार्थीहरूलाई यस्तो गृहकार्य दिनुपर्छ जसमा तपाईंको विषयको बढी उपयोग होस् ।

शिक्षकहरूले ध्यान दिनुपर्ने कुरा के हो भने विद्यार्थीहरू विकल्प हासिल गरेर बढी उत्साहित हुन्छन् । उनीहरूलाई आफ्नो समूह निर्माण स्वयं गर्ने विकल्प दिनुपर्छ वा उनीहरूलाई प्रश्नहरूको विकल्प पनि दिन सकिन्छ । यसबाट विद्यार्थीहरूलाई कुनै काम गर्न सजिलो हुन्छ र विषयमाथिको बुझाइ पनि गहिरो हुँदै जान्छ । यसको लागि शिक्षकहरूको सुझाव प्रस्ट र सार्थक हुनुपर्छ । यदि विद्यार्थीहरूलाई आफ्नो बलियो र कमजोर पक्षबारे थाहा हुन्छ भने उनीहरू झन् प्रोत्साहित हुन्छन् । पढाइमा रुचि नदेखाउने विद्यार्थीमाथि केही समय खर्चेर तपाईं के चाहनुहुन्छ र सफलता उनीहरूको लागि कति महŒवपूर्ण छ भनी बताउनु आवश्यक हुन्छ । यसर्थ शिक्षकहरूले त्यस्ता विद्यार्थीहरूसँग एक्लैमा कुराकानी गर्नुपर्छ । यसबाट उनीहरूलाई के विश्वास हुन्छ भने तपाईं उसमाथि व्यक्तिगतरूपमा ध्यान दिइराख्नुभएको छ । यदि उनीहरूलाई तपाईं के चाहनुहुन्छ भन्ने थाहा हुँदैन भने उनीहरू प्रोत्साहित हुँदैनन् । यस कारण उनीहरूलाई स्पष्ट निर्देशन दिनुपर्छ । एउटा यस्तो शिक्षक जो सबै प्रश्नको जवाफ दिन तत्पर छ, त्यस्तासँग विद्यार्थी धेरै प्रोत्साहित हुन्छन् ।

कक्षामा भाषण दिनु सजिलो छ तर त्यसमा कक्षाको कुरा मिसाउँदा विद्यार्थीहरू प्रोत्साहित हुन्छन् । अर्थात् १०–१५ मिनेट किताबमा भएको कुरा पढाउने त्यसपछि कक्षालाई समूहमा विभाजन गरी कार्य दिने, जसमा भर्खरै सिकेका कुरा दोहो¥याउन परोस् । त्यसपछि उनीहरूलाई पाठसम्बन्धी भिडियो देखाउने वा पढाएको कुरा बोर्डमा लेखेर सम्झाउन भन्न सकिन्छ । यस्ता कार्यक्रमबाट उनीहरू उत्साहित र प्रोत्साहित हुन्छन् । शिक्षकहरूले के कुरा ध्यानमा राख्नुपर्छ भने बोल्ने भाषा, पढाउने कुरा, सुन्ने तरीका वा जे पनि गर्दा सरलरूपमा प्रस्तुत हुनुपर्दछ र विद्यार्थीहरूको हरेक क्रियाकलापमा रिसाउनुहुँदैन । उनीहरूलाई के महसूस हुनुपर्छ भने उनीहरूको पढाइभन्दा बढी तपाईंको लागि केही महŒवपूर्ण छैन । शिक्षक र विद्यार्थीबीच सम्बन्ध बलियो हुनुपर्छ । उनीहरूलाई के पनि महसूस हुनुहुँदैन भने तपाईं शिक्षक होइन, उनीहरूको साथी हो । यहाँ सधैं आफ्नो मर्यादा कायम राख्नुपर्छ । तपाईं बेग्लै खालको र एउटा राम्रो शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ । यसका लागि सधैं सतर्क भई बस्नुपर्छ ।

तपाईंले बिर्सेर पनि उनीहरूलाई आफ्नो कमजोरी वा परेशानी बताउनुहुन्न । तपाईं कहिल्यै कमजोर वा असहाय देखिनुहुन्न । यदि विद्यार्थीहरू कुनै परेशानी लिएर आउँछन् भने आफ्नो अनुभवको आधारमा सुझाव दिनु बेस हुन्छ । पढाउँदा अनुहारमा मुस्कान हुनुपर्छ तर बढी होइन तर कहिलेकाहीं कुनै विद्यार्थीलाई हेरेर पनि मुस्कुराउनुपर्छ । तपाईंको पहुँच सबैसम्म हुन सक्दैन । यसको लागि सधैं तयार हुनुपर्छ र एउटा कुशल शिक्षकको रूपमा विद्यार्थीहरूलाई विश्वास दिलाउनुपर्छ कि तपाईं उनीहरूलाई सुयोग्य नागरिक बनाउन प्रोत्साहित गरिराख्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here