• सञ्जय मित्र

 “अहिले मान्छेहरूले बिर्सिसके कि यहाँ कुनै दिन एउटा बस्ती थियो । यस बस्तीले अनेक सभ्यताको जन्म दिएको थियो ।” रमियाको काँधमा हात हाल्दै खेन्हरियाले भन्दा रमियाको अनुहारमा विस्मयको भाव देखियो ।

 “तिमी मरेको चार दिन भएको छैन, तर यो मूर्घटियामा बस्ती थियो भन्छौ । जिउँदो रहुन्जेल कहिल्यै यस्तो कुरा गरेनौ ।” काँधबाट हात झट्कार्दै रमियाले अस्वीकारोक्तिपूर्ण संशय व्यक्त गरी ।

 “तिम्रो चिताको आगो पनि निभिसकेको छैन । शायद श्राध भएपछि तिमी यहाँ देखा पनि पर्दिनौ । तर म चाहिं यहीं दुईचोटि चितामा राखी भइसकेको छु । तेस्रोचोटि पनि यही मर्ने रहर छ ।” अलिक गम्भीर भएर खेन्हरियाले भन्यो ।

 “तिमी पुरुषहरूलाई सजिलो छ । जहाँ जन्म्यो त्यहीं मर्न पाउँछौ तर हामी महिलाको कुनै ठेकानै हुँदैन । जन्म हुने गाउँ एउटा हुन्छ र बिआह भएर जाने गाउँको ठेकान हुँदैन जहाँ मर्नुपर्छ । बिआहपछि महिलाले आफ्नो पहिचान पनि गुमाउनुपर्छ । महिलाको नाम पनि हराउँछ । नइहरको गाउँको नामबाट बोलाइने नयाँ नाम हुन्छ । कहाँ जन्मनु परेको थियो र कहाँ मर्छ भन्ने सम्झना गर्न महिलाले आवश्यकै पर्दैन । अहिले लमाहा र चानीको पानी एक ठाउँमा मिसिएजस्तो महिलाको जीवन यात्रा कहाँ कहाँ भएर गुज्रिन्छ महिलालाई थाहै हुँदैन । मैले पहिले–पहिले कहाँ मर्नुपरेको थियो भन्ने सम्झना पनि गर्दिनँ । तिमीलाई यस ठाउँको किन माया लागेको होला, खेन्हा ?”

खेन्हरियालाई खेन्हा भनेरै सबैले बोलाउँथे । कसैले दुलार गरेर खेन्हाइ पनि भन्थे । ऊ मरेको चार दिनपछि उसको बोलाउने नामबाट सम्बोधन सुन्दा अलिक सुखद अनुभूति भयो उसलाई । उसले भन्यो – “ऊ तिम्रो चिता हो । यो मेरो चिता हो । चितामा सुतेपछि शरीर हुने भनेको खरानी नै हो । तर मलाई यहीं पुनःपुनः खरानी हुने रहर छ । एकचोटि चितामा सुतेपछि फेरि यहाँ चितामा सुत्न आउन कैयन सय बरिस लाग्छ ।”

बीचमा कुरो काट्दै रमियाले तर्क दिई –“यो त देखिरहेको छु कि एकातिरबाट लमाहा बगेकी छ, अर्कोतिरबाट चानी आएर मिसिएकी छ । लमाहा र चानीको मिलनस्थल त जीवन र मृत्युको सङ्गमस्थल हो । साधारण शरीरधारी मानिस भन्दछ कि मानिसको अन्तिम संस्कार हुन्छ यहाँ । यो मूर्घटिया हो । तर हामीजस्ता भौतिक शरीर चर्मचक्षुले देख्न नसकिने सूक्ष्म शरीरधारीले बुझ्दछौं कि यहाँबाट मानिसको वास्तविक जीवन शुरू हुन्छ । तर तिमी किन यहाँ बारम्बार आउन चाहन्छौ, त्यो भन न ।”

 “कुनै हतार नहुने त हामी मात्र न हौं । अब मेरो श्राध भएपछि बल्ल मलाई कहीं कतै जाने अवसर मिल्छ । तिमीलाई त अझै यहाँ धेरै दिन बस्नुछ । तिम्रो उत्सुकता धेरै छ । भर्खर मानव शरीर छोडेकालाई केही दिनसम्म मानवीय भोक, तिर्खा, हतार, उत्सुकता र दैनिकीको तलतल लागिरहन्छ । यसैमा तिमी अलिक बोल्न मन पराउनेमा पनि पछ्र्यौ ।” थोरै मुस्कानसाथ व्यङ्ग्यमिश्रित जिस्क्याइ रमियाले पनि बुझी । अनि रमियाले भनी – “शायद यही होला तर तिमीले मेरो उत्सुकतालाई झन् धकेलिरहेका छौ ।

 “ऊ त्यो परको चौर देखिरहेकी छ्यौ ? हो, त्यो दोहर हो । जयनगरको दोहर । मुस्लिमहरूले त्यस नगरमाथि जय गर्नु अघिसम्म त्यसको नाम देवग्राम थियो । यहाँका सज्जनहरू देवतासमान थिए । सर्वसाधारण नै देवता समान थिए । जब देवग्राममाथि सिमरौनगढतिरबाट विजय गर्दै आएका मुसलमानहरूले आक्रमण गरी जय हासिल गरे तबदेखि यो जयग्राम कहलिन थाल्यो । म साक्षी छु यसको । अहिलेको जन्ममा बल्ल सुनें –जयग्राम पनि जयनगर भइसकेछ । समय फेरिएको छ, बस्तीमा धेरै बदलाव आएको छ तर प्रकृति त उही हो । मजस्ता धेरै जीवनयात्रीले यो दृश्य देखेको र देखिरहेको हुनुपर्छ ।” खेन्हाले रमियाको उत्सुकता झन् बढायो ।

 “अनि अघि तिमीले भनेको धेरै सभ्यताको जन्म दिएको बस्ती त्यो देवग्राम थियो कि अहिले हामी बसेको ठाउँको ? कि दुवै ग्राम एकै थिए ?”

खेन्हाले स्पष्ट पा¥यो । “त्यो देवग्राम थियो र यो गेंडाही । गेंडा (गैंडा) बस्ने ठूलो जङ्गल थियो, गेंडालाई धपाएर बसेको बस्ती गेंडाही कहलियो र कालान्तरमा गेडही हुन पुग्यो ।”

 “हैन, गेडही ऊ त्यो गाउँ होइन ?” रमियाले फेरि प्रश्न गरी ।

रमिया अधीर थिई वा छे । तातो सवालको तत्काल जबाफ खोज्ने बानी कुन्नि कुन जन्म वा गाउँमा कहिले पसेको हो, उसलाई थाहा छैन । झन् केही दिन पहिले मात्र आफ्नो शरीरलाई जलाएको देखेकी छे । मरेपछि तत्कालै मुक्ति खोज्ने रमियालाई कहीं पनि प्रतीक्षा पट्यार लाग्छ ।

खेन्हाले नम्र भएर भन्यो – “हो, त्यहीं हो गेडही । तिम्रो घर, मेरो पछिल्लो जन्म गाउँ । तर मेरो यसभन्दा पहिलेको जन्म अहिले हामी बसेको ठाउँमा भएको हो । पहिले गेडही यही लमाहा र चानीको सङ्गमस्थलमा थियो । सङ्गमभन्दा उत्तरको जुन अनकन्टार, दुर्गम र दुर्जन ठाउँ हो, यही हो हजारौं वर्ष पुरानो इतिहास भएको गेडही ।”

 “अनि किन र कसरी त्यहाँ गयो गाउँ ?” रमियाको जिज्ञासा झन् बढ्यो ।

 “देवग्राममाथि जय गरेपछि मुसलमानहरू गेडहीमाथि पनि आक्रमण गर्ने योजनामा थिए तर यस गाउFँका केही वीरहरू देवग्राममा आक्रमण नगर्न आग्रह वा सम्झौता गर्न गए । तिनीहरूले मानेनन्, झडप भयो । कोही पनि हारेन । केही दिन समय शान्त रह्यो । अनि फेरि आक्रमण गर्ने कुरो सुनियो । फेरि वीर युवकहरूको टोली पुग्यो । दोहराएर कुराकानी भयो, झगडा भयो, झडप भयो । फेरि पनि कोही हारेन ।

त्यही दोहराएर झडप भएको ठाउँ दोहर हो । दोहोरो सहमति भएको ठाउँ दोहर हो ।

तर पनि गेडहीमा डर थियो । राति आरामले निद्रा लाग्दैनथ्यो गेडहीलाई । अनि एक दिन छलफल गरेर नकटीमाईलाई साक्षी राखी यहाँभन्दा केही पूर्व गेडही बसाइँ स¥यो । यस गाउँमा दोस्रोचोटि लमाहालाई भेट्न चानी मोडिएको कुनामा बसेको गेडहीमा जन्मेको हुँ । अहिले पुर्नी गेडही भनिने ठाउँ तीनतिरबाट पानीले घेरिएको एकदमै सुरक्षित थियो । पूर्व र दखिनमा एउटै नदी, गाउँसँगै टाँसिएर बहने एउटा ठूलो पैनी थियो जुन ओलारमा गएर चानीमा मिसिन्थ्यो । सबैमा बारै महीना पानी बहन्थ्यो । अझ पश्चिमबाट यही लमाहा नदीले सुरक्षित पारेको अत्यन्त रमणीय ठाउँ थियो । अहिले भद्रगोल बन्दैछ ।” खेन्हाको कथा सुन्दासुन्दै नजीकै रमियाले देखिन् नकटीमाईलाई । नकटीमाईको नामोच्चारण गरेको थियो खेन्हाले । नाम उच्चारण भएपछि देवी प्रकट भइन् । लमाहा र चानीको सुन्नर मिलन भएको ठाउँकी देवी हुन् नकटीमाई । आज पनि नकटीमाई पूजित देवी हुन् ।

जीवित शरीर भएको भए रमिया एकदमै डराउँथी देवीलाई देखेर । वा देवीलाई देख्न सक्दिनथी । मरेपछि देउता र मानिस बराबर हुन्छन् । कुरा गर्न सक्छन् । सँगै बस्न सक्छन् । मनको गतिले हिंड्न सक्छन् । शरीर नभएपछि खानाको आवश्यकता पर्दैन, तिर्खा लाग्दैन । अर्पण र तर्पणको भाव भनूँ वा अंशले शक्ति प्राप्त हुन्छ । स्फूर्ति र आलस्य दुवैमाथि विजय हुन्छ । कहीं कतै नाम लिएर वाणी वा हृदयले बोलाउँदा सुन्छन् । त्यसैले नामोच्चारण हुनासाथ सुन्नरमाई उपस्थित भएकी थिइन् । आफ्नो संशय दूर गर्न रमिया प्रश्न तेस्र्याउँछिन् –                                 “मलाई कति दिनसम्म यसरी यताउति गरिरहनुपर्छ ?”

 “यहाँ मेरो संरक्षणमा बस्न पाउने भनेकै श्राद्ध नहुन्जेल हो । धेरै पहिले श्राद्ध सकिएपछि पनि बस्ने अनुमति दिन्थें र मन लागुन्जेल रमाइरहने छुट दिएको थिएँ तर यस छुटको बेफाइदा उठाउँदै मेरा प्रिय ग्रामवासीलाई केही आत्माले दुःख दिन थालेका थिए । त्यसैले अब यहाँ कसैलाई बस्न दिन्नँ । जो जति प्रिय भए पनि आफ्नो निर्धारित समयमा यहाँबाट जानुपर्छ ।” नकटीमाईको जबाफ सुनेर रमिया ढुक्क भई । नकटीमाईले फेरि थपिन् –“यो खेन्हरियालाई थाहा छ, यहाँको नियम । यो अनुभवी हो । यसलाई मानिस कसरी आउँछ र जान्छ भन्ने राम्ररी थाहा छ । जहाँसम्म मलाई सम्झना छ – यस गाउँमा यो दुईपटक आइसक्यो ।”

 “के तपाईं मूर्घटियाकी देवी हो ?”

 “ए, खेन्हा ? तिमी शान्त छौ अहिले । अलिकति बताइदेऊ त मेरो बारेमा ।”

अनि खेन्हाले सम्झाउँदै भन्यो रमियालाई–“मुर्दा लिएर आउनेहरूले पूजा गर्दैनन् । तिमी छठ पबनी गर्न आउँदा यहाँ पूजा गथ्र्यौ कि गर्दिनथ्यौ ?”

 “जनिजातहरू मुर्दा जराउन कहिल्यै आउँदैनन् । त्यसैले मैले थाहा नपाएकी हुँ । छठमा त मैले धेरै पूजा गरेकी छु नकटीमाईको । तर पनि मलाई जान्न मन लाग्यो कि नकटीमाईलाई यस गाउँले जन्मायो कि नकटीमाईले यस गाउँलाई जन्म दिएकी हुन् ?” रमियाको प्रश्नको अन्त छैन ।

 “दुवै गलत हुन् । वैशालीबाट नदीको किनारैकिनार मानिसको एउटा हुल यस दुईतिर भनूँ वा तीनतिरबाट नदी भएको र पानीको कहिल्यै कमी नहुने ठाउँमा आएर बस्न खोज्दा गेंडाले आक्रमण गरेको थियो । किनभने यहाँ गेंडाहरूको बथान बस्थ्यो । गेंडाको बस्तीमाथि मानिसको हस्तक्षेप भएको थियो । जङ्गली जानवरसित लड्न सबैभन्दा ठूलो हतियार आगो थियो । लप्कायुक्त अगुल्टाले लखेटेपछि उत्तरतिर भागेका गेंडाहरू कहिल्यै फर्केनन् ।” खेन्हा बेलीबिस्तार लगाउँदै थियो कि रमिया फेरि बीचमा बोलीहाली –“तिमी प्यास मरेपछि पानी दिन्छौ ।”

 “अर्काको भरमा आफ्नो तिर्खा कहिल्यै मेटिंदैन । जसलाई जस्तो तिर्खा लाग्छ उसलाई त्यस्तै पानीको आवश्यकता पर्दछ । दिनेले त आफूसित जस्तो पानी छ, त्यस्तो दिने न हो ।” नकटीमाईले भनिन् ।

शायद रमियाले बुझिन । खेन्हातिर हेरिरही । खेन्हाले फेरि भन्न शुरू ग¥यो –“बस्तीका मानिसले थाहा पाए कि सङ्गमस्थलको पानीको सुरक्षा गर्ने देवी हुन् नकटीमाई ।”

एउटा भैंसबार आएर नजीकै दिसा बस्न खोज्दैछ । तीनैजना कता अलप भए कता ।

दिसा बस्दै गर्दा अस्ति पोलेको मुर्दाको खरानी अलिकति उडेकोजस्तो देख्यो भैंसबारले ।

भूतमाथि उसको अलिकति पनि विश्वास छैन तर मनमा भने चिसो पस्यो । थोरै पर उसको भैंसीले उसैलाई हेरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here