• कुमार रुपाखेती

लक्ष्मी साहित्य समाज, पर्साले बर्सेनि भानु जयन्ती मनाउँथ्यो । भानु जयन्तीको दिन यो समाजले बिहान प्रभातफेरी, दिउँसो साहित्यिक कार्यक्रम गरेर भानुप्रति प्रेम दर्शाउँथ्यो । विगत दुई वर्ष कोरोना प्रकोपले गर्दा समाजले यो कार्यक्रम स्थगित ग¥यो भने यसपटक २०९औं भानुजयन्तीसमेत विभिन्न बाधा अडचन (सरकारी)ले गर्दा वीरगंजमा सम्पन्न गर्न लक्ष्मी साहित्य समाज असफल भयो । कुनै सरकारी सहयोगविना विभिन्न जिल्लामा साहित्यप्रेमीहरूले आदिकवि भानुजयन्ती मनाउँदै आएका छन् । सरकारले भानुलाई आदिकविको पदवीले विभूषित गरे पनि भानु र भानुका साहित्यबारे आमनेपालीलाई जानकारी गराउन कुनै मतलब राखेको देखिंदैन ।

मधेस आन्दोलनका बखत जनकपुरधाम (हाल मधेस प्रदेशको राजधानी)को भानुचोकमा रहेको भानुको सालिक र वीरगंज बसपार्क भानुचोकमा रहेको भानुको सालिक एकैपटक ढालिएका थिए । तर वीरगंज र जनकपुरधाममा भाँचिएका भानुको सालिक अहिलेसम्म कसैले ठड्याउने जमर्को गरेको छैन । साहित्यको नाममा चलखेल गर्ने थुप्रै संस्था यही वीरगंजमा सक्रिय देखिन्छन् तर भानुको सालिक बनाउनेबारे सबै मौन देखिन्छन् । साहित्य विकास र साहित्यिक कार्यक्रमका लागि भन्दै वीरगंजमा सरकारी, गैरसरकारी संस्थाहरूबाट चन्दा र सहयोग लिने र दिनेहरूसमेत भानुभक्तबारे लाटो–बहिरो बन्ने गरेका छन् । यदाकदा साहित्य अनुरागी स्व अरुण विक्रम शाहले भानुचोक वीरगंजमा भानुको सालिक पुनर्निर्माण गर्नुपर्छ भनिरहन्थे । अब न अरुण छन् न भानु । भर्खरै भानु जन्मस्थानमा एउटा दरिलो र दिगो गुरुयोजना बनाएर अघि बढ्ने जमर्को भानु साहित्य उद्यान तनहुँले गरेको छ ।

भानुको जन्म हालको भानु नगरपालिका–४ चुँदी रम्घा गाउँमा विसं १८७१ मा भएको थियो, उनको देहावसान विसं १९२५ मा भएको हो । नेपाली भाषामा उल्था गरिएको रचयिता भानुभक्त आचार्यको रामायण नेपालका सबै क्षेत्रमा लोकप्रिय छ । त्यसो त बेलाबेला भानुबारे अझै गहन अध्ययन, अनुसन्धान गर्न चुँदी रम्घामा उत्कृष्ट प्राज्ञिक केन्द्र बनाउने हल्ला पनि चल्छ तर टाँयटाँय फिस्स हुन्छ । त्यसो त विभिन्न गैरसरकारी संस्था र स्वदेश र विदेशमा बस्ने नेपालीहरूसमेत भानु जन्मस्थलको विकास, भानुबारे अझै गहिरो अनुसन्धान गर्न आर्थिक सहयोग गर्नसमेत तत्पर देखिन्छन् । तर न नेपाल सरकार, न तनहुँमा भानुको नाममा पसल थापेर व्यापार गर्नेहरू कोही यसबारे सक्रिय देखिन्छन् । यसरी सहयोग गर्न चाहनेहरू पनि धन पनि रह्यो, मन पनि रह्यो भन्न थालेका छन् । भानुभक्तको तत्कालीन बस्तीको अवस्था पर्सा जिल्लाको शिकारीवासभन्दा पनि गइलगुजरल र अनकन्टार छ । भानुकालीन बस्तीको पुनस्र्थापना नै सबैभन्दा महŒवपूर्ण र प्राथमिकताको काम हो । भानु जन्मेको यो डाँडामा खानेपानी, यातायात, विद्यालय, स्वास्थ्य चौकी आदि अत्यन्तै जरुरी देखिन्छ, यी सुविधा नभएकाले नै त्यहाँ बस्ती न्यून हुँदै गएको छ । त्यसो त भानु जन्मस्थललाई साहित्यिक पर्यटनस्थल बनाउन पनि सकिन्छ ।

यसपालि साहित्य समाजले भन्दा विश्व हिन्दू परिषद्ले देशका विभिन्न भागमा भानुजयन्ती मनाएको पाइयो । जनकपुरधाममा त विश्व हिन्दू परिषद्ले प्रभातफेरी, नगरपरिक्रमा गरी भानुचोक जनकपुरमा साहित्यिक भेला गरी भानुको सालिक पुनर्निर्माण गर्ने घोषणासमेत ग¥यो ।

भानुजयन्ती भारतको दार्जिलिङ, सिक्किम, खस्र्याङमा त विशेष चाडझैं नेपालीभाषीहरूले धूमधामले मनाएको समाचार छ । दार्जिलिङमा त एउटा चौबाटोमा भानुको आदमकद सालिक नै छ । विश्वमा विभिन्न मुलुकमा बस्ने नेपालीभाषीले समेत भानुजयन्ती मनाएका छन् । घाँस काटेर कुवा खनाउने एउटा गरीबबाट प्रेरणा पाएका भानुभक्तले आफूलाई घाँसीभन्दा तल ठान्दै– ‘म भानु भैकन आज यस्तो’ भन्ने सारगर्भित रचना नै लेखेका थिए । नेपाली भाषा उत्थानमा भानुको महŒवपूर्ण भूमिका छ, त्यसैले मन, वचन र कर्मले साहित्य अनुरागी भानुका कृतिहरूबारे प्रचारप्रसार जरुरी छ । सम्झनाका लागि भएपनि वीरगंज बसपार्कको भानुचोकमा भानुको सालिक पुनस्र्थापनाका लागि होस्टेमा हैंसे गरौं न !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here