• सञ्जय मित्र

साहित्य यस्तो माध्यम हो, जसले मानिसलाई पछि र परन्तुसम्म चिनाइरहन्छ । के भनिन्छ भने पत्रकारिताले मानिसलाई तत्काल चिनाउँछ तर साहित्यले मानिसलाई पछि मात्र चिनाउँछ । यसको अर्थ यो पनि हो कि पत्रकारिता क्षेत्रमा पत्रकारिता गरिरहुन्जेल मानिसले चिन्छन् र पत्रकारिताबाट ओझेल परेपछि मानिसले बिस्तारै बिर्सन्छन् । तर साहित्यमा भने पछि र परन्तुसम्म मानिसले चिन्दै जान्छन् । एक पुस्ताबाट अर्को पुस्तामा चिन्ने बढ्छन् र कालान्तरमा झन् बढी चिन्ने मानिसको सङ्ख्या बढेको हुन्छ । हो, पत्रकारलाई चिन्ने भूगोल र कालको तुलनामा साहित्यकारलाई चिन्ने भूगोल र कालको विस्तार ठूलो हुन्छ । यद्यपि पत्रकारितामार्फत पनि साहित्यकारलाई चिन्न वा चिनाउन सजिलो हुन्छ भने साहित्यकारले पत्रकारलाई खासै चिनाउनु आवश्यक हुँदैन ।

नेपाली भाषाको साहित्यमा भानुभक्त आचार्यलाई आदिकविको उपाधि दिने साहित्यकार हुन्– मोतीराम भट्ट । मोतीराम भट्टले भानुभक्तका रचनाहरूको सङ्कलन गरी प्रकाशन गराए, भानुभक्तका रचनाहरूको समालोचना लेखे, भानुभक्तको जीवनी पनि तयार पारे । वास्तवमा भानुलाई चिनाउने काम नै भट्टले गरेका हुन् । भट्टले भानुको रामायणको पनि चर्चा गरेका छन् र भट्टले पहिलो चोटि भानुभक्त आचार्यलाई आदिकविको उपाधि दिएका हुन् । भानुभक्त आचार्यभन्दा पहिले पनि नेपाली भाषामा धेरै कविले कविता सिर्जना गरेका छन् । कतिपयका कविता निकै राम्रा पनि छन् । युगलाई जितेका कविताहरू पनि नभएका होइनन् तर केही रचना वा कृति भएर मात्र होइन कि भानुभक्तले तत्कालीन समाजलाई बुझेर, जुन कलात्मकता र व्यङ्ग्यात्मकतासहित फुटकर र अन्य काव्यको सिर्जना गरे, ती आफैंमा नभूतो थियो । साथै रामायणको प्रकाशनले त भानुभक्तलाई नेपाली लोकजीवनमा यसरी स्थापित गरिदियो कि भानुभक्त र रामायण पर्यायवाची बन्न पुगे ।

भानुभक्तभन्दा पछि पनि रामायण लेख्ने काम भएको छ । रामायणलाई आफ्नै किसिमले लेख्नेहरू अन्य नेपाली सर्जक पनि छन् । नेपाली भाषामा पनि दर्जनले रामायणको रचना गरेका छन् । तर भानुको जुन प्रियता छ, त्यो अद्वितीय छ । भानुले लेखेको रामायण अहिलेसम्म पनि सबैभन्दा चर्चित र लोकप्रिय भइरहनुमा यसका आफ्नै मौलिकताहरू हुनु हो । भानुभक्तले लेखेको रामायणलाई कतिपयले अध्यात्म रामायणको नेपाली अनुवाद पनि भनेका छन् तर यसलाई अनुवाद मात्र भनेर पुग्दैन । मूल आख्यानलाई नेपालीकरण गरिएको छ भन्न सकिन्छ । संस्कृतबाट नेपालीमा भाषान्तर मात्र होइन भानुभक्तको रामायण । धेरै अध्ययनले यो स्पष्ट पारिसकेको छ कि भानुभक्तको रामायणमा पर्याप्त मौलिकता छ । नेपाली परिवेशमा लेखिएको रामायण भएकोले नै यसलाई सर्वसाधारणले पनि मन पराएका हुन् । सर्वसाधारणले मन पराएको मात्र होइन, तत्कालीन समाजको परिवर्तनमा पनि यस कृतिले भूमिका निर्वाह गरेको देखिन्छ ।

एउटा कृतिले पनि समाजको परिवर्तनमा भूमिका निर्वाह गर्दछ भन्ने कुरामा कतिपयलाई पत्यार नहोला । अझ त्यो समयमा जुन समयमा अहिलेभन्दा निकै कम साक्षरता थियो र अहिलेभन्दा निकै कम चेतना थियो । एउटा सामान्य उदाहरण हेरौं । केही दशक पहिले रामायण धारावाहिक टेलिभिजनमा प्रसारण हुँदा एकातिर टेलिभिजनको बिक्री बढेको थियो भने अर्कोतिर टेलिभिजनमा विभिन्न भूमिकामा देखिने पात्रहरूलाई सोही अनुसारको व्यवहार हुन थालेको थियो । रामायणका राम, सीता र लक्ष्मण पात्रहरू अहिले पनि जीवित नै छन् र अहिले पनि विभिन्न कार्यक्रममा आइरहन्छन् । रामायणसितको भूमिकाको बारेमा अहिले पनि रोचक प्रसङ्गहरू सुनाइरहन्छन् । तिनीहरूले भन्ने गर्छन् कि उनीहरूलाई साक्षात् भगवान नै मान्ने मानिसको समुदाय नै ठूलो छ । अनेक ठाउँमा पुग्दा उनीहरूले त्यही भूमिकाको व्यवहार पाउने गरेका छन् । देश र विदेशमा पनि उनीहरूप्रति श्रद्धा र सम्मान अहिलेसम्म पनि छँदैछ । यहाँसम्म कि कतिपय मानिसले अहिले पनि राम, लक्ष्मण र सीताको फोटो भनेर बजारमा पनि बिक्री तिनै पात्रको हुने गरेको छ र धेरैले तिनैको फोटोप्रति अत्यन्त श्रद्धा र विश्वासका साथ पूजा तथा आरती पनि गर्ने गरेका छन् । अहिले त चेतना र शिक्षा दुवैमा विस्तार भएको छ तर पनि मानिसको आस्था र विश्वासमाथि प्रश्न उठाउन त्यत्ति सजिलो छैन ।

मोतीराम भट्टले भानुभक्त आचार्यलाई चिनाउँदै गर्दा त्यसभन्दा पहिले कुनै साहित्यकारले अन्य कुनै साहित्यकारका बारेमा त्यसरी चिनाउने चलन खासै थिएन । भट्टले आचार्यलाई नै किन चिनाउने प्रयास गरे ? किन आचार्यलाई नै आदिकविको उपाधि दिए । किन आचार्यले दिएको उपाधिलाई सय वर्षभन्दा बढी समय बितिसक्दा पनि कसैले चुनौती दिन सकेका छैनन् ? यदि कसैले दिएको भएपनि त्यो व्यक्तिगत बनेर रहेको छ र नेपाली समाजले भानुभक्त आचार्यलाई आदिकवि मानेको छ, मान्दै रहने पनि छ । आदिकवि भानुभक्त आचार्यका कविताहरूले वर्तमानलाई बोलेको त हो नै, भविष्यलाई पनि समातेर राखेको छ । रामायण एउटा दृष्टान्त हो । के भनिन्छ भने रामायणले गर्दा नेपाली भाषाको एकीकरण सम्भव हुन सकेको हो । पृथ्वीनारायण शाहले नेपालको भूगोलको एकीकरण गरे र भानुभक्त आचार्यले नेपाली भाषाको एकीकरण गरे । नेपाली समाज जहाँसम्म जोडिएको थियो र छ, त्यहाँसम्मका सबैको प्रिय र एकमात्र प्रिय ग्रन्थ रामायण बन्न पुग्यो । यस कृतिको लोकप्रियताले नै हुनुपर्छ दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिक दशकौंदेखि ठडिइरहेको छ । त्यहाँका एक साहित्य साधक भन्छन्–  यहाँका सबै नेपाली समुदायमा भानुभक्तको रामायण घरघरमा एउटा पूज्य ग्रन्थको रूपमा रहेको छ ।

हिन्दू समुदायको लागि रामायण पूज्य ग्रन्थ हो, यसमा सन्देह छैन । यस ग्रन्थलाई धेरैले पूजा गर्ने भएकाले यसलाई पुण्य ग्रन्थ पनि मान्छन् । रामायणप्रति श्रद्धा र विश्वास रहेको कारणले त्यस जमानाका नेपाली मातृभाषी तथा नेपाली समाजले यसलाई घरको एउटा पूज्य ग्रन्थको रूपमा मात्र नराखेर सामाजिक ग्रन्थको रूपमा लिएको देखिन्छ । कोही एकले रामायण वाचन गर्ने तथा अन्यले सुन्ने काम गरेका थिए । रामायणलाई सुन्ने तथा सुनाउने कामलाई पनि पुण्यको काम त्यस जमानामा मानिएको पाइएको छ । यसैले कतिपयले कानले सुनेकै भरमा यसका श्लोकहरू गाउने गरेका थिए । रामायणको श्लोक गाउँदा एकातिर धर्मको प्राप्ति हुने र अर्कोतिर मुक्ति पाउनेसम्मको आस्था त्यस बेलाको समाजमा रहेको थियो । यही कारणले जो आफूलाई सक्षम बनाउन सक्ने विश्वास राख्थे, रामायण पढ्नकै लागि साक्षर बन्थे । रामायण आफैंले पढेर अद्भुत र अलौकिक सुख प्राप्त गर्नेहरू थिए र यही अद्भुत तथा अलौकिक सुखसत्ता प्राप्त गर्नका लागि कतिपय मानिस साक्षर बनेका थिए । हो, रामायणले तत्कालीन समाजको साक्षरतामा वृद्धि गरेको इतिहास देखिन्छ ।               

रामायण आफ्नै मुखले पढ्न र रामायण पढ्दाको आनन्द अनुभूति गर्न, म पनि रामायण पढ्न सक्छु र रामायणलाई आफैंले पढेर बुझ्न सक्छु भन्ने आफैंलाई पार्न पनि धेरै मानिसले आफूमा साक्षरता ल्याएका थिए । यस प्रकारका साक्षरताको एउटा विशेषता के रहेको मानिएको थियो भने लेख्न खासै जान्दैनथे तर पढ्न भने सक्थे । कतिपय मानिस यस्ता पनि थिए कि जसलाई रामायण पढ्न जति सजिलो थियो, त्यत्ति सजिलो अन्य कुरा पढ्न थिएन । हुनत त्यत्तिखेर पढ्नुपर्ने सामग्रीको अभाव थियो होला र विपन्नताको कारणले अन्य ग्रन्थ किन्ने क्षमता थिएन वा सहजतापूर्वक उपलब्ध हुने वातावरण थिएन । तर धेरैका लागि विपन्नता वा क्षमताभन्दा धेरै अलग रामायण हुन जान्थ्यो । रामायणलाई आफ्नो घरमा राख्न पाएकोमा मनमा शान्ति हुने वा आध्यात्मिक सुखको प्राप्ति हुने धेरैको विश्वास रहेको थियो । यस विश्वासले नै हुनुपर्छ मानिसमा रामायण पढ्न सक्नुपर्दछ । यदि रामायण पढ्न सकियो भने मुक्ति पाइन्छ । रामायण पढेर नै सुख र मुक्ति दुवै पाइने अर्थात् लौकिक सुख र अलौकिक सुख पाइने मनोविज्ञान रामायणले बनाएको थियो । यसर्थ रामायणको कारणले भानुभक्त त्यस युगका धेरैका घरमा पुगेका थिए । मोतीराम भट्टले भानुभक्त आचार्यलाई आदिकवि भनेर घोषणा गर्दा जे जति आधार दिए, तिनीहरूप्रति नेपाली समाजमा पछि र परन्तुसम्म पनि श्रद्धामा वृद्धि भइरह्यो । अहिलेसम्म पनि नेपाली भाषा र साहित्य दुवै क्षेत्रमा भानुभक्तलाई एक किसिमले मानक नै मान्ने गरिएको पाइन्छ ।

असार २९ गते भानुभक्त आचार्यको जन्मदिन थियो । यस हप्ता विश्वका धेरैजसो देशमा भानुभक्त आचार्यप्रति सम्मानका साथ प्रत्यक्ष वा भर्चुअल वा दुवै किसिमले आदिकवि भानुजयन्ती मनाइन्छ । भानुको जन्मस्थललाई विशेष तीर्थस्थलको रूपमा लिइन्छ । साँच्चै भानुभक्त आचार्यका कालजयी रचनाहरू आज पनि विद्यालय र विश्वविद्यालयमा यत्तिकै पढाइनन् । युगौंयुगसम्म मानिसलाई प्रेरणा र जीवनोपयोगी सन्देश दिने आदिकवि भानुभक्त आचार्यका रचनाहरूमा आदिकवि जीवित रहिरहन्छन् र समाजलाई मार्गदर्शन गरिरहन्छन् । भानुजयन्तीको अवसरमा उनीबाट एउटा सन्देश भने सबैले लिइराख्नुपर्ने देखिन्छ, “भोगाइ सबैको हुन्छ, अनुभूति सबैले गर्छन् तर अभिव्यक्त गर्न सकिन्न । यस कारण देखेको, भोगेको र अनुभूति गरेको सम्पत्तिलाई अक्षरको रूप दिनुहोस्, जसरी भानुभक्त आचार्यले दिए । यही अक्षरको रूपमा आफूलाई मानिसले लामो समयसम्म जीवित राख्न सक्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here