काठमाडौं, २५ असार÷रासस
बर्खायामसँगै नाइरोबी फ्लाइ कीरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको कीरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।
प्रायःजसो वर्षायाममा देखिने उक्त कीरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको कीरा देखिएको महाशाखाको कीटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।
काठमाडौंको सिभिल अस्पतालमा उक्त कीराका कारण सङ्क्रमित भएका दुईजनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त कीराको सङ्क्रमणका कारण तीन÷चार जना बिरामी भेटिएका थिए । “अहिले पनि नाइरोबी फ्लाई कीरा देखिन थालेको छ । कीरा बाहिरी मुलुकबाट नआई यही उत्पादन हुने गर्दछ,” दाहालले भने, “कीराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलो रूपमा यो कीराले सङ्क्रमण ल्याउँदैन ।”
मानिसको शरीरमा आएर बस्ने र मानिसले कीरालाई हातले फाल्दा कीरामा थिचिन गई रस निस्कन्छ ।
उक्त रसमा रहेको पेडेरिन तŒव एसिडले छालामा सङ्क्रमण गराउँछ । उनी कीरालाई शरीरबाट सजिलै फाल्न सक्ने हो भने सङ्क्रमण नहुने बताउँछन् ।
“कीरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन,” दाहालले भने, “कीरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिंदा कीराबाट एसिड निस्कन्छ । जुन एसिडले शरीरलाई हानि गर्दछ ।”
एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको कीटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए । “लक्षण देखिएपछि धेरै मानिस आफैं सन्चो भएर जान्छन्,” उनले भने, “सन्चो नभएका नजीकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्दछ ।”
प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त कीरा देखिने र प्रजनन गराउने गर्दछ ।
कीराबाट हुने सङ्क्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनी बताउँछन् । कीराको सङ्क्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र कीराविज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए ।