भारतको केरला राज्यमा एकपछि अर्को सङ्क्रमण देखिएको छ । पहिले वेस्ट नाइल फिभर, त्यसपछि टोमैटो फ्लु र नोराभाइरसको सङ्क्रमण फैलिएको थियो । अब यहाँ एन्थ्रेक्स सङ्क्रमण देखिएको छ । यस प्रकोपको कारण यहाँको बँदेलहरूको मृत्यु भइरहेको छ । केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जको भनाइ छ– अथिरापिल्ली वनक्षेत्रमा जङ्गली सुङ्गुरको मृत्यु भएको छ र जाँच गर्दा एन्थ्रेक्स पुष्टि भएको छ । स्वास्थ्य विभागको भनाइ छ, सुङ्गुरलाई पुर्ने स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउनुपर्छ । उनले एन्थ्रेक्सको प्रसार रोक्न तत्काल पाइला चाल्नुपर्ने बताएका छन् ।
के हो एन्थ्रेक्सः अमेरिकी स्वास्थ्य एजेन्सी सिडिसी अनुसार एन्थ्रेक्स ग्राम पोजिटिभ ब्याक्टेरियाबाट फैलिने बिमारी हो । यसको वैज्ञानिक नाम बेसिलस एन्थ्रेसिस हो । यो ब्याक्टेरिया माटोमा पाइन्छ र सजिलै जङ्गली वा पालुवा जनावरसम्म पुग्छ । सङ्क्रमित जनावरको सम्पर्कमा आएपछि वा रोगी जनावरको उत्पादन प्रयोग गरेपछि मान्छेलाई पनि सङ्क्रमित गर्न सक्छ ।
एजेन्सी अनुसार सङ्क्रमण मान्छेमा होस् वा जनावरमा दुवैमा सङ्क्रमणले गम्भीर रूप लिन सक्छ र मृत्यु पनि हुन सक्छ । मान्छेको शरीरमा ब्याक्टेरिया पुगेपछि यसले तीव्र गतिमा आफ्नो सङ्ख्या बढाउँछ र टक्सिन छाड्छ, जसले अवस्थालाई गम्भीर बनाउँछ । यो ब्याक्टेरिया शरीरमा कैयौं प्रकारले पुग्न सक्छ । सासबाट, दूषित खानपान वा छालाको रोग भएपछि पनि ब्याक्टेरिया शरीरभित्र पस्न सक्छ ।
लक्षणः सिडिसी अनुसार सङ्क्रमणपछि छालामा घाउ–खटिरा आउने, ज्वरो, कम्पन, छाती दुख्ने, बान्ता हुने, पेट, टाउको, शरीर दुख्ने, थकाइ लाग्ने यसका प्रमुख लक्षण हुन् ।
उपचारः मान्छे सङ्क्रमित भएपछि खोपबाट बचाउन सकिन्छ । एन्थ्रेक्स थुप्रै प्रकारको हुन्छ तर यसको सबै मामिलामा एन्टिबायोटिक दिएर लक्षण र ब्याक्टेरियाको असरलाई नियन्त्रण गर्न सकिन्छ । सङ्क्रमणपछि एन्थ्रेक्सको ब्याक्टेरियाले स्पोर्सलाई रिलिज गर्छ र आफ्नो सङ्ख्या बढाउँछ । सङ्ख्या बढेपछि यसले बढी मात्रामा टक्सिन यानी विषाक्त पदार्थ उत्पादन गर्छ । यसलाई रोक्न एन्टिटक्सिन औषधि दिइन्छ ।
कसरी जोगिनेः सिडिसी अनुसार यसबाट जोगिन खोप लगाउन सकिन्छ । यसको अलावा यात्राको क्रममा सङ्क्रमण भएको क्षेत्रमा बस्ने जनावरको सम्पर्कदेखि टाढा रहनुपर्छ ।