गर्मीमा स्वीमिङपुल, पोखरीमा नुहाउन कसलाई मन पर्दैन । पौडी खेल्नुको धेरै फाइदा छ तर यसका बेफाइदाहरू पनि छन् । टन्टलापुर घाम र गर्मीका कारण फङ्गल इन्फेक्शन हुन्छ र स्वीमिङपुलमा नुहाउँदा यो झनै बढ्छ । हाम्रFे शरीरमा जहाँ बढी नमी हुन्छ त्यहाँ घर्षण भएपछि फङ्गल इन्फेक्शन हुन्छ । जस्तै तिघ्रा, छाती, हातखुट्टा, औंलामा सङ्क्रमण हुन्छ । यस्ता सङ्क्रमण स्वीमिङपुलमा नुहाउने अरूमा सजिलै फैलिन्छ ।
स्वीमिङपुलको पानीमा ब्याक्टेरिया मार्न क्लोरिन प्रयोग गरिन्छ । यो निकै शक्तिशाली केमिकल हो । जसले गर्दा रैसेज हुन्छ । छालामा रातोपन, सुन्निने र चिलाउने समस्या हुन्छ । यो बढेपछि एक्जिमाको रूप लिन्छ ।
एउटा अध्ययन अनुसार अमेरिकामा सन् २०१४ देखि २०१६ को बीच स्वीमिङपुल र वाटर पार्कमा क्रिप्टोस्पोरिडियम अर्थात् क्रिप्टोबाट हुने रोग दुई गुना बढेको थियो । क्रिप्टो एउटा परजीवी हो जुन हाम्रो आन्द्रा र सास लिने तन्त्रलाई प्रभावित गर्छ । यसबाट लामो समयसम्म पखाला पनि हुन सक्छ । पुलको फोहर पानी हाम्रो मुखभित्र पस्छ जसले गर्दा पखाला लाग्न सक्छ । यसको अलावा स्वीमिङ पुलको फोहर पानीका कारण ई–कोलाई र हेपाटाइटिस ‘ए’ पनि हुन सक्छ । स्वीमिङपुलमा नुहाउनेहरूलाई जुम्राको समस्या पनि हुन सक्छ । जुम्रा सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
यद्यपि धेरैले भन्छन् क्लोरिनको पानीले जुम्रा मर्छ तर यस्तो हुँदैन । जुम्रा स्वीमिङपुलको पानीमा २० मिनेटसम्म रहँदा बेहोश त हुन्छ तर मर्दैन । सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन अनुसार स्वीमिङपुलमा यदि क्लोरिन र पिएच लेभल ठीक भएन भने पौडीबाज बिरामी हुन सक्छ । यसैले कीटाणु मार्न पिएच लेभल ७.२, ७.६ र ७.८ हुनुपर्छ । यो मात्राले शरीरलाई नोक्सान पु¥याउँदैन । यसको अलावा क्लोरिनको सही मात्राले इ–कोलाई जस्ता ब्याक्टेरियालाई केही मिनेटमैं नष्ट गर्छ । जबकि हेपाटाइटिस ए भाइरस १६ मिनेटमा, गिएरडिया ४५ मिनेट र क्रिप्टोस्पोरिडियम जस्ता कीटाणु १० दिनमा नष्ट हुन्छ ।
तसर्थ स्वीमिङ पुलमा नुहाएपछि नाङ्गो खुट्टा घुम्नुहुँदैन, चप्पल लगाउनुपर्छ, स्वीमिङ गर्नुभन्दा पहिले र पछि शावरमा नुहाउनुपर्छ, शरीरमा घाउ, चोटपटक, सङ्क्रमण छ भने नुहाउनुहुँदैन, कपाल खुला राख्नुहुँदैन ।