धनुषा, २७ जेठ/रासस
मुख्यमन्त्री लालबाबू राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ
भने ।
उनले भने–“मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँँठाउँमा हुनुपर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यविना समृद्धि र विकास सम्भव
छैन ।”
मुख्यमन्त्री राउतले स्थानीय सरकारहरूले ल्याउने विकास निर्माणको योजनाहरूमा काँधमा काँध मिलाएर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिए । प्रशिक्षणमा सरकार सञ्चालन तथा विकास निर्माणसँग सम्बन्धित जानकारी दिइने जनाइएको छ ।
मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धनुषा र पर्साबाहेक छ जिल्लास्थित स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता छ । प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।