प्रस, वीरगंज, १२ जेठ/

नेपाल सरकारले ४७ वटा वस्तुमा शतप्रतिशत मार्जिन राखेर आयात गर्नुपर्ने नियम लागू गरेपछि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारबाट नेपाल आउने मालवस्तुको आयातमा कमी आएको छ ।

गत वैशाखमा मालवस्तुको आयात घट्दा त्यसको नकारात्मक असर राजस्वमा पनि परेको भन्सार अधिकारीको भनाइ छ । सवारीसाधन, फलामजन्य औद्योगिक कच्चा पदार्थ, स्पेयर पाट्र्स, तयारी कपडा तथा सौन्दर्य सामग्री, मदिरालगायतका सामानको आयातमा कमी आएको छ ।

भन्सार कार्यालयले गत वैशाखमा रु चार अर्ब ५८ करोड आठ लाख ५५ हजार राजस्व असुली गर्नुपर्नेमा रु तीन अर्ब ७५ करोड १० लाख ५९ हजार मात्र राजस्व सङ्कलन गरेको छ । अर्थात् वैशाखको निर्धारित लक्ष्यभन्दा अर्थात् एक महीनामा ८३ करोड कम राजस्व असुली भएको छ ।

त्यसैगरी, चालू आवको साउनदेखि वैशाखसम्म रु ४३ अर्ब ५२ लाख ९२ हजार राजस्व लक्ष्य रहेकोमा रु ४१ अर्ब ४४ करोड ९८ लाख ७८ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here