स्थानीय तहको निर्वाचन सकिएसँगै मतगणना कार्य पनि सकिने क्रममा छ । देशभर महानगरमा विराटनगरबाहेक उपमहानगर, नगर र पालिकाहरूको गणना कार्य ढिलागरी सकेको छ । पाँचवटा महानगरपालिकाको गणना जारी रहे पनि यी महानगरहरूमा मतगणनामा देखिएको असाधारण मतान्तरले कसको जीत हुन्छ भनी सबैले अनुमान लगाइसकेका छन् । अब महानगरको गणनाले औपचारिकता पूरा गर्ने कार्य मात्र बाँकी छ । उदाहरणका लागि वीरगंज, काठमाडौं, भरतपुर आदिलाई लिन सकिन्छ । काठमाडौंमा बालेन्द्र शाहको अग्रता छ भने वीरगंजमा राजेशमान सिंह र भरतपुरमा रेणु दाहालको । महानगरमा रेणु दाहाल दोस्रो कार्यकालको लागि निर्वाचित हुने लगभग पक्का भइसकेको छ भने बाँकी पाँचवटै महानगरमा नयाँ अनुहारलाई जनताले मत दिएर विजयी गराउँदैछ । पहिलो स्थानीय चुनावमा महानगर, उपमहानगर, नगर र गाउँपालिका गरी ७५३ वटा पालिकामा जनताले करीब–करीब नयाँ अनुहारलाई जिताएको छ । यसको अर्थ के हो भने पहिलो स्थानीय चुनावमा जितेकाहरूले जनअपेक्षा अनुरूप काम गरेनन् ।
पर्सा र बारा जिल्लाको नै समीक्षा गर्ने हो भने यहाँका पालिकाहरूमा निवर्तमानहरूले घोषणा गरेको त परै जाओस् तत्काल जनताको लागि आवश्यक कार्यहरू पनि कमै गरे । सरकारले जनताको घरदैंलोमा सिंहदरबार भनेर तेस्रो तहको सरकारको मान्यता दिएको छ, स्थानीय तहलाई । सोही अनुरूपको बजेट पनि विनियोजन भयो । तर पालिकाहरूमा आएका बजेटको यति चरम दुरुपयोग भयो, जसको कुनै लेखाजोखा नै छैन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको कामभन्दा आफ्नो सेवा र सुविधामा बढी ध्यान केन्द्रित गरे । पालिकाहरूको भवन निर्माण, वारुणयन्त्र, एम्बुलेन्स खरीद, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, औषधि, चिकित्सकीय सेवा, पालिकास्तरमा शिक्षाको स्तरोन्नति, सडक, बत्ती, इन्टरनेट सेवा, ज्येष्ठ नागरिक, अपाङ्गहरूलाई सहज भत्ता वितरण व्यवस्था आदि काममा ध्यान केन्द्रित गरेनन् । पालिका अध्यक्ष, उपाध्यक्षहरू चार चक्के गाडीमा सवार भए भने वडाध्यक्षहरू मोटरसाइकल, मोबाइलमा रुमलिए । पालिकामा विकासको मुद्दा उठान भएन । वर्षमा एक दिन त्यो पनि बजेट पारित गर्दा जनप्रतिनिधिहरूले सेवा र सुविधाको कुरा उठान गर्दै विवाद र विरोध गरेको पाइयो । पाँच वर्षसम्म जनप्रतिनिधिहरूले गरेका काम देखेर नै जनताले सही बखतमा आफ्नो निर्णय दिएको छ । जनताले गर्ने सही निर्णय पनि यही बखत हो । पाँच वर्षसम्मको मूल्याङ्कन निर्वाचनमा गर्ने । अहिलेको मतदानले जनता धेरै हदसम्म जागरूक भएको आभास हुन्छ ।
हिजो जितेकाहरूले मत प्रभावित गर्न पैसा र भोजभतेरको खोला बगाएको पनि सुनियो । तर उनीहरूमध्ये पर्सा र बाराका पालिकामा एकाध जनप्रतिनिधि मात्र दोहोरिएका छन् । चुनावमा जेसुकै वाचा गर्दा पनि हुन्छ, जे जस्तो आश्वासनका पोकाहरू बाँडे पनि हुन्छ र पाँच वर्षपछि सबै कुरा जनताले पैसा अनि भोजभतेरमा बिर्सन्छ भन्ने कुरा अहिलेको मतपरिणामबाट गलत साबित भएको छ । आगामी दिनमा जितेका जनप्रतिनिधिहरूले पुराना गलती दोहो¥याएको खण्डमा अर्काे चुनावमा उनीहरूलाई पनि जनताले लोप्पा खुवाउन बाँकी राख्दैन भन्ने कुरालाई मनन गरेर कार्य गर्दा उनीहरूको लागि बेस हुन्छ ।