-राजेश मिश्र

पैसा र बुद्धि नाम गरेका दुईजना मिल्ने साथी थिए । उनीहरूलाई एकअर्काको प्रयोग कसरी गरिन्छ ? कसले सदुपयोग गर्छ ? कसले दुरुपयोग गर्छ ? आदि कुराहरू राम्ररी थाहा थियो । मानवीय हर्कत उनीहरूभन्दा बढी अरू कसैलाई थाहा हुने कुरै भएन । मानवीय कर्तुतबारे चर्चा गर्दै उनीहरूबीच सधैं हाँसो र ठट्टा भइरहन्थ्यो । एकदिन पैसाले बुद्धिसँग हाँस्दै भन्यो, “मित्र, मेरो सहारा नलिने संसारमा कोही पनि छैन, मविना दुनियाँ टिक्न सक्दैन, त्यस कारण म तिमीसँग छु भने तिमीले केहि चिन्ता लिनुपर्दैन ।” प्रतिउत्तरमा बुद्धिले भन्यो, “जब तिमी कालोबजारी र भ्रष्टाचारीहरूको फन्दामा पर्छौंं, त्यो बेला तिम्रो अवस्था के हुन्छ ? बिर्स्यौ कि क्या हो ?” यसरी पैसा र बुद्धिबीच आफूलाई अब्बल साबित गर्ने होड चलिरहन्थ्यो । एकअर्काविरुद्ध पक्ष र विपक्षको कित्तामा उभिए तापनि नङ र मासुझैं गाँसिएको उनीहरूको सम्बन्ध एकअर्काविना अधूरो र अपूरो थियो । उनीहरूबीच प्रायः भइरहने विवाद हाँसोठट्टामा परिवर्तन हुन्थ्यो । बुद्धिलाई पैसा र पैसालाई बुद्धिको आवश्यकता पर्ने भएकोले दुवै एकअर्काका परिपूरक थिए ।

०००

चुनावको समय थियो । पैसा र बुद्धिले फुर्सत पाउँथेनन् । चुनावलाई लक्षित गरी उनीहरूको इच्छाविपरीत दुरुपयोग भइरहेको थियो । उम्मेदवारहरूको गोजी पैसाले र मस्तिष्क बुद्धिले भरिभराउ थियो । शायद उम्मेदवारहरूलाई आफ्नो योग्यता, कार्यक्षमता, इमानदारिता र कार्यकर्ताहरूमाथि अविश्वास भएर नै होला, उनीहरूको आशा र भरोसा केवल पैसा र बुद्धि नै थिए । पैसा र बुद्धिले नचाहँदा नचाहँदै पनि उम्मेदवारहरूको कब्जामा रहेकाले हुकुम निर्वाह नगर्नुको विकल्प थिएन । पैसा र बुद्धिलाई उम्मेदवारहरूले अनावश्यक दुःख दिनुहुँदैन भन्ने कानूनमा अङ्कित कुराहरूको प्रतिपालकको तर्फबाट पनि उनीहरूलाई सहयोग प्राप्त भइरहेको थिएन । त्यस कारण आकाहरूको आदेश पालना गर्न उनीहरू विवश थिए । मौन अवधि घोषणा भइसकेपछि त पैसा र बुद्धिलाई झन् तनाव भयो । किनभने लुकीछिपी वा रातिको समयमा कसैले नदेख्ने गरी बुद्धिको भ-याङ चढाएर मतदाताको घरदैंलोमा पैसालाई पठाइन्थ्यो ।

०००

गोधूलिको समय थियो । महिलाहरू रातिको खाना पकाउने कार्यमा व्यस्त थिए । गृहिणीहरूबाहेक परिवारका अधिकांश सदस्य आआफ्नो द्वारमा बसेर गफ गरिरहेका थिए । पोलमा झुन्डिइरहेको बत्तीको मधूरो प्रकाशले पनि द्वारहरूमा बसिहरहेका मानिसहरूलाई चिन्न कठिन थियो । पाँच वर्षअघि प्रत्येक पोलमा बत्ती जडान भएको थियो । बिस्तारै ती बत्तीहरू खराब हुँदै गए । तर परिवर्तन र मर्मत भएन । निर्वाचनको घोषणा भएपश्चात् मर्मत गरेर झिलिमिली पार्ने कार्यले गति लियो । यसमा सरकारी ढुकुटीको भागबन्डा पैसा र बुद्धिभन्दा बढी अरू कसलाई थाहा हुन सक्थ्यो ।

अँध्यारो रातमा दश/बा-ह जना मानिसको झुन्ड यताउति हेर्दै अघि बढिरहेको थियो । द्वारमा बसिरहेका मानिसहरूले चिन्ने प्रयास गरिरहेका थिए । तर पर्याप्त उज्यालो नभएकोले उनीहरूलाई चिन्न सक्ने अवस्था थिएन । वैवाहिक लगनको समय भएकोले जन्तेहरू गन्तव्यतर्फ जाँदै होलान् भन्ने मानिसहरूको अनुमान थियो । पहिलो झुन्ड अन्तध्र्यान नहुँदै बत्तीको मधूरो प्रकाशमा पुनः मानिसहरूको अर्को झुन्ड देखा प-यो ।

अबेर राति भएकोले मानिसहरू भोजन गर्नका लागि घरभित्र जान थाले । त्यसपछि झन् सन्नाटा छायो । जूनकीरी र कुकुरहरूको आवाज प्रतिध्वनित भइरहन्थ्यो । कुकुरहरूको भुकाइका कारण एकजना वृद्ध ब्यूँझिए । सबैलाई थाहा छ, रातिको समयमा अनावश्यक गतिविधि आभास भइसकेपछि कुकुरहरू भुक्दै लखेट्छन् । कुकुरहरूको भागदौड र भुकाइले गहिरो निद्रामा रहेका एकजना वृद्धको आँखा खुल्यो । उनी कोल्टो फेरे । कुकुरहरू उनकै घरअगाडिको सडकमा भुकिरहेका थिए । उनलाई कसैले ढोकाको सिक्री बजाएको आभास भएको थियो । उनी ओछ्यानमा बसे । हातले आँखा र अनुहार पुछे । उनी एकाग्र भएर हर्कततर्फ केन्द्रित भए । शान्त मुद्रामा थिए । सोही बेला पुनः ढोकाको सिक्री बज्यो । मुख्य ढोकाको सिक्री बजेको उनलाई यकीन भएपछि गर्जनाद गरे, “के ह हो ?” अर्थात् “को हो ?” उताबाट पुनः सिक्री र मानिसको स्वरको मिश्रित आवाज प्रतिध्वनित त भयो तर आवाज चिन्न सकेनन् । वृद्धले ठूलो स्वरमा कराए, ‘चोर–चोर’ । यो कुरा छिमेकीहरूसम्म पुग्यो । छिमेकीहरूले पनि चोर–चोर भन्दै कराए । वुद्धको घरअगाडि छिमेकीहरू आइपुगे । चोर–लफङ्गाहरू होलान् भन्दै शङ्का–उपशङ्का जाहेर गर्न थालियोे । धेरै बेरको कुराकानीपछि छिमेकीहरू आआफ्नो घरतर्फ लागे ।

०००

हल्लाखल्ला मच्चिएको थियो । अँध्यारो रातमा गाउँको चोकमा भनाभन चलिरहेको थियो । गाउँका प्रायःजसो मानिसहरू उठिसकेका थिए । वृद्धको घरको सिक्री पुनः बजेको थियो । एक समूहले उनको ढोकाको सिक्री बजाइरहँदा अर्को दुई/तीन वटा समूह त्यहाँ आइपुगे । एकले अर्को समूहलाई देखेपछि त्रसित भए । भागाभाग मच्यो । एक समूहले अर्को समूहलाई निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप–प्रत्यारोप लगाउन थाले । सबै आफूलाई विशुद्ध साबित गर्नमा तल्लीन थिए । गोधूलिको समय गाउँको चक्कर लगाइरहेका समूहहरू सुनसान रातको पखाईमा थिए । सबै आआफ्नै मनसायमा पूर्ति गर्ने उद्देश्यमा थिए ।

ती वृद्ध गाउँका भलादमी व्यक्तिमा गनिन्थे । उनले भनेको कुरा गाउँलेहरू मान्थे । त्यस कारण जसरी भएपनि वृद्धलाई पैसाको प्रलोभन दिएर उनको समर्थन प्राप्त गर्ने होडमा प्रायः सबै दल थिए । रातिको समय बुद्धि र पैसा दिएर वृद्धको भावना खरीद गर्न आएका थिए । अहिले बुद्धि र पैसा खुशी थिए । किनभने प्रायः दुरुपयोग भइरहने उनीहरू आज दुरुपयोग हुनबाट जोगिएका थिए ।

०००

चुनाव सकिसकेको थियो । आजदेखि मतगणना कार्यक्रम थियो । बुद्धि र पैसा आज तनावमुक्त थिए । उनीहरू रमाउँदै यताउति डुलिरहेका थिए । उम्मेदवारहरू तनावमा थिए । चारैतिर जीत र हारको चर्चा चरममा थियो । त्यहीं भीडमा पैसा र बुद्धिले मानिसहरूको कुरा सुनिरहेका थिए । भीडको हिस्सा बनेका पैसा र बृद्धि आश्चर्यचकित मुद्रामा मानिसहरूको अनुहार नियालिरहेका थिए । मतदानस्थलमा आम मानिसहरू थिएनन् । नेता तथा कार्यकर्ताहरूको घुइँचो लागेको थियो । बाहिर खुशियाली प्रकट गरे पनि भित्र जीत–हारको आशङ्का र त्रास बढी थियो । मतगणना स्थलमा कुर्ता र पाइजामामा सुसज्जित एक नेता दन्किरहेका थिए ।

पैसा र बुद्धिको बीचमा खासखुस शुरू भयो । पैसाले बुद्धिसँग भन्यो, “मित्र, मलाई यो नेताको चर्तिकला राम्रोसँग थाहा छ ।” बुद्धिले पैसाको अनुहारमा एकटकले हेर्दै भन्यो, “यसले मलाई पनि कम दुरुपयोग गरेको छैन ।” पैसाले प्रतिउत्तरमा भन्यो, “हो मित्र, आज हामीहरू यिनीहरूको चङ्गुलबाट मुक्त छौं, आजदेखि यिनीहरू अपवादबाहेक हामीलाई आम जनताको घरमा पु¥याउने कार्यमा देखिनेछैनन् ।”

०००

वैशाख ३० गते शुक्रवारको दिन मतदान कार्यक्रम सम्पन्न भयो । अपवादका घटनाबाहेक मतदान कार्यक्रम शान्तिपूर्ण नै सम्पन्न भएको थियो । आज वैशाख ३१ गते शनिवार अर्थात् आजदेखि मतगणना कार्य शुरू हुँदैछ । कतै मतगणना शुरू भइसकेको छ भने कतै शुरू हुने तर्खरमा छ ।

अहिले पालिकाको भविष्य तथा उम्मेदवारको भाग्य मतपेटिकाभित्र बन्द छ । घरदैंलोलगायतका विविध व्यस्तताबाट मुक्त उम्मेदवारहरूलाई अहिले परिणामको चासो र चिन्ताले मानसिक अशान्ति भइरहेको छ । एकपटक विजयी भइसकेपछि सधैं आफू नै सत्तामा बस्न पाइन्छ भन्ने होइन । नेतृत्व परिवर्तनशील हुन्छ । जितेपछि मात्तिने र हारेपछि आत्तिने होइन । विजयी हुनेहरूले जनताको नेतृत्व गर्दै उन्नतिको मार्गमा अघि बढ्नुपर्छ । नेतृत्व भनेको अधिकार होइन, जिम्मेवारी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here