जीतको जुलूसमा हिंड्दाको त्यो दिन

0

-सञ्जय मित्र
बाल्यकालमा पहिले चुनावको प्रचारमा पनि हिंडेको छु र जीतको जुलुसमा पनि । आफ्नो कुनै पक्ष हुँदैन बालबालिकाको । बुबा वा दाजुले जसलाई राम्रो भन्छन्, सोही उम्मेदवार नै संसारमा सबैभन्दा ठूला र राम्रा लाग्छन् । आफूले जुलूसमा हिंड्नुपर्ने व्यक्तिका चाहिंदा नचाहिंदा वा जानिंदा नजानिंदाका उच्चतम श्रेणीका विशिष्ट विशेषणहरू आफैं जोड्छन् बालबालिकाहरू । अहिले त सामाजिक सञ्जालको युग छ । एकछिन सामाजिक सञ्जाल नहेर्दा वा एकछिन नेटवर्कभन्दा टाढा हुँदा किशोरदेखि प्रौढसम्म सबैलाई खल्लो लाग्न शुरू भइहाल्छ । तर पहिले यस्तो थिएन । गाउँमा सार्वजनिक सञ्चारको एउटै साधन हुन्थ्यो– ठूलो हर्न । महाजनको घरको माथिल्लो भागमा राखिएको हुन्थ्यो र त्यसको आवाजले सबैले थाहा पाउँथे । चुनावको समयमा जुलूसको कुरो पनि धेरैलाई त्यहींबाट थाहा हुन्थ्यो । र जब हामीजस्ता साना बालकहरूको कानमा जुलूसको खबर पुग्दथ्यो, तब त्यसबाहेक अरू केहीको पनि प्रतीक्षा हुँदैनथ्यो ।

चुनावको प्रचारको जुलूस र चुनाव जितेपछिको विजय जुलूसमा धेरै भिन्नता हुन्छ तर बाल्यकालमा भने जुलूस त केवल जुलूस हुन्छ । राजाको जन्मोत्सवको जुलूस वा गौरीनन्दन शिवदुलारे भन्दै चकुचनाको समयमा भदौ महीनामा निकालिने जुलूस, कुनैमा फरक हुँदैनथ्यो । जुलूसमा लगाइने नारा फरक हुन्थ्यो । नाराको अर्थ के हो, त्यससित के मतलब ? हामीले त जिन्दाबाद भन्नुपर्नेमा जिन्दाबाल भने पुग्यो । यही जिन्दाबाल भन्नुको जुन आनन्द छ, उत्साह छ, त्यसैमा त सबैथोक छ ।

सम्भवतः २०४२ सालको निर्वाचन हुनुपर्छ । त्यसमा मैले पहिलोचोटि चुनाव जितेको विजय जुलूसमा सहभागी भएको थिएँ । विजय जुलूस गाउँ पञ्चायतको चुनावको थियो कि जिल्लाबाट निर्वाचित भएर जाने राष्ट्रिय पञ्चायतको, अहिले बिर्सें । चुनावलाई त पहिले नै निकै नजीकबाट देखिसकेको थिएँ तर विजय जुलूसको स्वाद भने धेरैपछि मात्र थाहा हुन सक्यो । विजय जुलूसमा उत्साह मात्र होइन, खुशी पनि मिसिएको हुन्छ । त्यो खुशी जो अबिर र मालाले देखाइरहेको हुन्छ । हो, प्रचारको जुलूसमा जिन्दाबाद नारा त लगाइन्छ तर जहाँ पनि अबिर र जहाँ पनि माला लगाउने अनि जितेकोलाई ढोग्न जाने चाहिं हुँदैन । यो सम्झना चाहिं विजय जुलूसको मात्र हुन सक्छ ।

जितेका मानिसलाई मैले चिनेको थिइनँ । जितेको मानिसलाई मेरो गाउँका मानिसले चाहिं चिनेका थिए । जितेको मानिसलाई चिनेको गाउँका मानिसले राम्रो भनिरहेका थिए र चिनेको पनि बताइरहेका थिए । हाम्रो गाउँमा जितेको मानिस आउने कुरो थियो । जितेको मानिस गाउँमा आउँदा के के खुवाउने र के के माग्ने भन्ने कुरो चलेको थियो । केही मानिसले शिवनगरबाट मिठाइ ल्याउने कुरा गरिरहेका थिए तर जो मानिसले चाहिं चिनेका थिए, उनले नै मिठाइ ल्याए । अरूले मिठाइ खुवाउने चासो देखाएनन् वा सामथ्र्य थिएन, अहिले सम्झना छैन ।

अलिकति कुरो बुझ्ने भइसकेको थिएँ । कुरो बुझ्ने भइसकेको भएपनि होशियार भने थिइनँ । गाउँमा जुलूस आउने दिनको कुरो हो । त्यस दिनसम्म मोटरसाइकलमा एकजना मानिस आए । हामी मोटरसाइकललाई भटभटिया भन्थ्यौं । भटभटियाको आवाज करीब गाउँभर सुनिन्थ्यो । त्यसको धूवाँ सँुघ्न अलिक साना केटाकेटीहरू दौडे तर आफ्नो उमेर धूवाँ सुँघ्नेभन्दा अलिक बढी भइसकेको थियो ।

मनमनै सुँघ्न पाए हुन्थ्यो भन्ने थियो तर लोकलाज लाग्ने अवस्था थियो किनभने म पढुवा विद्यार्थी भइसकेको थिएँ । मनमा धूवाँ सुँघ्ने चाहनालाई दबाएर भटभटियाको धूवाँ नसुँघे पनि हावामा भने त्यसको गन्ध थियो । त्यो गन्ध निकै राम्रो वा स्वादिलो लागेको थियो ।

अनि केही बेरमा एउटा जीप आयो । जीपबाट धेरै मानिस ओर्ले । जीप रोकिएपछि मानिसहरू ओर्लिन शुरू गर्नुभन्दा पहिले नै मोटरसाइकलमा आएको मानिसले फलानो जिन्दाबादको नारा लगाए । हामी सबैजनाले एकै स्वरमा जिन्दाबाद–जिन्दाबाद भन्यौं । जसै त्यो जितेको भन्ने मान्छे ओर्ले तिनको घाँटीमा मालैमाला र निधारभरि अबिरै अबिर लाउने काम भयो । आफ्नो घाँटीबाट एउटा माला निकालेर गाउँका तिनै मानिसको घाँटीमा लगाइदिए, जसले चाहिं गाउँमा प्रबन्ध गरेका थिए । उनलाई पनि लाग्यो कि जितेको मानिसको प्रतिनिधि यस गाउँमा म नै हुँ वा जितेको मानिसले पनि सबैलाई आफ्नो प्रतिनिधि उही भएको सबैलाई देखाएका थिए ।

त्यहाँ उपस्थित सबैले जय जयकार गर्दै जसको हातमा माला थियो, लगाइदिए । हात त सबैले जोडेका थिए । हात जोडेर तिनले पनि अभिवादन फर्काएका थिए । अनि एकछिन अलमल नगरी त्यहाँबाट गाउँतिर त्यत्तिकै सबै मानिसको हुल निस्क्यो । सबैभन्दा अगाडि तिनै जितेका मानिस थिए र उनीसँग अगाडि एक/दुई जना अरू थिए । अगाडि हिंडिरहेकाहरूले भने दुवै हात जोडेका थिए र लगभग एकै सुरमा हिंडिरहेका थिए । पछाडिबाट जिन्दाबादको नारा लागिरहेको थियो र अरू के के नारा लागिरहेको थियो, सम्झना भएन । तर नारा धेरै किसिमका थिए । जुलूस गाउँमा पुगेपछि अझ धेरै मानिस थपिएका थिए । सडकका दायाँ र बायFँ घर हुनेहरू पनि कोही फूल र कोही माला लिएका थिए ।

माला उनको घाँटीमा लगाइदिइरहेका थिए भने फूल हातमा दिइरहेका थिए । महिलाहरू कमै सडकको छेउमा देखिएका थिए । आफ्नो घरको मूल द्वार र अझ बढी झ्यालमा उभिएर जुलूसलाई हेरिरहेका थिए ।

जुलूसमा जिन्दाबाद भन्नु नै ठूलो उत्साह थियो । गाउँका कुनै ठूलो मानिसको घरको अगाडि पुग्दा अझ चर्को स्वरमा नारा लाग्दथ्यो । मानिसहरू मच्चिई मच्चिई नारा लगाउँथे । त्यस्ता ठूला मानिसले आफैंले घरबाट निस्केर फूलको माला घाँटीमा लगाउँदै मिठाइ पनि आफ्नै हातले मुखमा खुवाउँथे । कुनै कुनै घरमा पुग्दा भने जुलूसका सहभागीले पनि पानी वा सर्बत वा अन्य केही यस्तै पिउन पाउँथे । यही नै ठूलो सम्मान मानिन्थ्यो । यसैगरी, गाउँभर जुलूसले परिक्रमा ग¥यो । लगातार गाउँ घुम्ने काम सकिएपछि एउटा फूलबारीमा पुग्यो । त्यहाँ जितेका मानिसले के के भाषण गरे, अहिले अलिकति पनि सम्झना छैन । तर भाषण सकिएपछि उपस्थित सबैलाई के हो, केही खानेकुरा बाँडेका थिए । सबैले त्यो खानेकुरा खाँदै जितेको मानिसको गुनगान गर्दै आफ्नो घर फर्केका थिए । लगभग धेरै मानिस घर फर्किइसकेपछि म पनि घर फर्केको थिएँ । घर फर्केपछि बल्ल जीउ गलेको, खुट्टा दुखेको तथा शरीरमा अलिकति असन्तुलन जस्तो महसूस भएको थियो । घर पुग्दा त शरीर पूरै लखनरान भइसकेको थियो ।

मेरो पैतालामा हो कि खुट्टामा अलिकति घाउ थियो । घाउ पुरानो भइसकेको थियो । घाउमा अलिकति पीप थियो । अब घर पुग्नासाथ घाउको कमाल शुरू भयो । घाउ दुख्न शुरू भयो । घरमा आमाले जुलूसमा नजा, जुलूस यहीं घरमैं आउँछ अनि अलिकति घुम्नू, तिम्रो घाउ दुख्छ भन्नुभएको थियो तर मानेको थिइनँ । अहिले जुलूस सकिनासाथ घाउले दुःख दिन शुरू गरिहाल्यो । सकेसम्म दुखाइलाई सहने प्रयास गरिरहेको थिएँ तर सहन नसक्ने भएपछि कन्न थालें । अनि आमा झन् कराउन थाल्नुभयो । आमाले शुरूमा त ठीकै भयो, भनेको मानिनस् अनि दुःख पाइस्, तिम्रो स्वभावको दबाइ यही हो भनेर गाली गर्नुभयो तर पछि अलिकति खानेतेल तताएर ल्याएर खुट्टामा मालिस गरिदिनुभयो । घाउलाई सफा पारिदिनु भयो । बिस्तारै दुखाइ कम हुँदै गयो ।

जितेको उम्मेदवारको चर्चा गाउँभर भयो । अब धेरै राम्रो भयो । यस गाउँलाई चिनेको मानिस ठूलो पदमा विजयी भयो । मानिस धेरै राम्रो हो । गरीबलाई पनि खूब हेरविचार गर्छ । गाउँमा कुनै सङ्कट आउँदैन । प्रहरी प्रशासनमा
केही प¥यो भने अब यस गाउँका मानिसको सहयोग धेरै हुन्छ । जुलूसको केही दिनपछि त यी कुराहरू बिस्तारै पातलिंदै गए । विजय जुलूसमा गएको पनि सबैले बिर्सिंदै गए । उक्त विजय जुलूसमा सहभागी भएका मानिसहरूको चाहना फलीभूत भयो कि भएन ? कसले खोजीनिधी गर्ने यस्ता कुराहरू ? तर मलाई लाग्छ, ती जितेका मानिस फेरि कहिल्यै मेरो गाउँ आएनन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here