–सुशीला रेग्मी

रामपुर, १८ वैशाख/रासस

पर्साको सखुवाप्रसौनी गाउँँपालिका–३ स्थित कौवावनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदूरीमा व्यस्त रहने माझीलाई आइतवार पनि कामले फुर्सद छैन । उनी आइतवार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसकेका छन् ।

दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका छन् । यसरी नै उनले करीब तीन दशक बिताए । श्रमिक दिवसको दिन पनि उनले आराम गर्ने समय पाएका छैनन् । उनी भन्छन्, “श्रमिक दिवस भनेको के हो ? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुलो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उनी मजदूरी गरेबापत दैनिक रु ६०० ज्याला बुझ्छन् । त्यसैबाट चार छोराछोरी र पत्नीको पालनपोषण गर्नुपर्ने बाध्यता छ ।

सोही ठाउँकै २५ वर्षीय राजु माझी मजदूरीमैं व्यस्त छन् । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खट्छन् । आइतवार परेको मजदूर दिवसबारे आफू पनि बेखबर रहेको उनले बताए । “श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आस छैन, घरमा छोराछोरी, पत्नी पाल्नै प¥यो, आफ्नो दुःख आफैंसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँँ–ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइन्थ्यो,” उनले भने ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँँपालिका–४ पूर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन भ्याइनभ्याइ छ । मे १ तारिख अर्थात् आज मनाइने श्रमिक दिवसबारे उनलाई जानकारी भएपनि यस दिवसले आफूहरूको जीवनस्तरमा कुनै फरक ल्याउन नसकेको उनी बताउँछन् । यसैले आज पनि काममैं व्यस्त छन् उनी । उनी यस अनौपचारिक क्षेत्रमा गएको पाँच वर्षदेखि श्रम गर्दै आएका छन् । उनको दैनिक ज्याला रु ७५० छ ।

उनी भन्छन्, “एक दिन काम छाडियो भने रु ७५० गुम्छ, ठेकेदारले घण्टा गन्ती गरेर मात्रै ज्याला दिन्छन्, श्रमिक दिवस भनेर कहिल्यै छुट दिंदैनन्, एक दिन रमाएर के गर्नु, पेट पाल्नै प¥यो ।” श्रमिक दिवस मनाइरहँदा समय अनुसार श्रमिकको पारिश्रमिक वृद्धि, गाउँँघरमा नै रोजगार, विदेशिएकालाई स्वदेशमैं बस्ने वातावरण मिलाइदिन सरकारसँग उनको अनुरोध छ ।

रामपुर नगरपालिका–७ बहखोलाका बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले छ वर्षदेखि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । दैनिक आठ घण्टा खटेर काम गरेबापत रु ७५० ज्याला पाउँछन् । रामपुर क्षेत्रमा हाल छवटा घर बनाउने जिम्मेवारी लिएका रानालाई कामको व्यस्तताले श्रमिक दिवस मनाउने फुर्सद नै छैन ।

सरकारले श्रमिक मजदूरको हकहितका लागि काम गर्छौं भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उनी गुनासो गर्छन् । चुनाव आएसँगै नेता, कार्यकर्ताले उनलाई धेरै आश्वासन पनि देखाए । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदूरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उनी बताउँछन् । “हामीजस्ता तल्लास्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैं झूटा आश्वासन मात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महँगी बढिरहेको छ, सो अनुसार पारिश्रमिक वृद्धि

हुनुप¥यो, निरन्तर काम पाए भयो,” उनले भने ।

निस्दी गाउँँपालिका–४ मित्यालका १७ वर्षीय खुमबहादुर खाम्चा आइतवार घरको गारो लगाउने, सिमेन्ट बोक्ने काममा व्यस्त देखिन्छन् । मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा उनलाई भने दिनभर काम गरेको ज्यालाले घरमा बिहान–साँझ खाद्यान्नको जोहो पुग्छ भन्नेतिर मात्रै ध्यान छ ।

पारिवारिक अवस्था नाजुक हुँदा कक्षा ६ मा अध्ययन गरिरहेका उनी बीचमैं छाडेर विभिन्न ठाउँमा घर भवन, पुल पुलेसा, सडक निर्माणलगायतका क्षेत्रमा दैनिक मजदूरी गरी बुझेको ज्यालाबाट घर धान्नुपर्ने बाध्यता छ । सरकारले श्रमिक मजदूरको हकहितका लागि उपलब्धिमूलक काम गर्न नसक्दा यसरी अनौपचारिक क्षेत्रमा काम गर्ने प्रायः सबै मजदूर असन्तुष्ट छन् । राज्यले तोकेको न्यूनतम पारिश्रमिक पनि पाउन नसकेको श्रमिकहरूको गुनासो छ । उनीहरूको गुनासो छ– उहिलेको ज्याला अहिले छ, तर महँगीको हिसाब गर्ने हो भने दैनिक ज्यालाले खानलाउनै पुग्दैन ।

आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस । विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनलाई उत्सवका रूपमा मनाइने पर्व हो आज । विश्वका कैयौं देशमा सार्वजनिक बिदा नै दिएर मजदूर दिवस मनाइन्छ । तर खास मजदूरी गर्ने वर्ग भने यो दिवसबाट नेपालमैं पनि बेखबर रहने गर्दछ ।

देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने मजदूरहरू भने श्रममैं रहन्छन् र बेखबर हुने गर्दछन् । यहाँका लाखौं श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् । त्यसैले यो वर्गका श्रमिकले आजका दिनको बिदा या सुविधा पाउँदैनन् ।

यसरी जसको अधिकारका लागि सरकारले सार्वजनिक बिदा नै दिएर पर्वको आयोजना गर्छ, ती श्रमिक आज पनि श्रममैं रहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here