• सञ्जय मित्र

आजभोलि मजस्तो पिएलाई हैरान छ । मजस्तो भन्नाले कुनै विशेष अर्थ दिंदैन भने सोझै माननीयज्यूले नियुक्त गरेको पिए बुझ्नुपर्छ । उसो त पिएको कुनै भ्याकेन्सी भएको थाहा छैन । पिए नियुक्त भएपछि खै के मनमा आएर हो, एकचोटी पिए सेवा आयोगको बेब्साइट खोलेर पिएको पाठ्येक्रम र योग्यता जान्न खोज्या थें तर पढेलेखेको भए पो था पाउनु । उत्निखेरै मनमा एउटा भावना प्रादुर्भाव भो – पढ्या–लेख्या मनुवाका लागि लोक्सेवा आयोग त छँदैछ नि । हाम्लाई पो खाँचो हुन्छ त माननीयज्यूहरूको ।

पिए सेवाको जागीर केही पढ्या लेख्या मनुवाहरूले नै बिगारेका हुन् । पढेर लेखेर ज्ञान आर्जन गरेर इमानदार हुनु, कर्तव्यनिष्ट हुनु र पढाइलेखाइको इज्जत राख्नु कता हो कता, हाम्जस्ताले गर्ने पिएको नोकरी पनि गर्छन् ।

पिएको नोकरी गज्जबको छ । न स्थायी न अस्थायी । मन मिलेसम्म गर्न पाइने सरकारी नोकरी यही हो । सरकारले दिएको पैसा पिएले तलब पाउने भएकोले सरकारी नोकरी भन्दा अत्युक्ति नहोला ।

म श्रीमान् हुँ र मेरी श्रीमती मेरो मालिक । भन्नुको तात्पर्य म आफ्नै श्रीमतीकै पिए हुँ । अलिकति होशियार केटी हेरेर पैलै बुद्धि पु¥याई बिहे गर्दा एस्तै फाइदा हुने रेछ ।

अ‍ैले जमाना छ समानुपातिक समावेशीको । मेरी श्रीमती एही योग्यताका कारण माननीय बनेकी हो र म माननीयज्यूको पिए हुनुमा माननीयज्यूको आज्ञाकारी र अनुशासित पति हुनु पनि हो । म पैलेदेखि यति योग्य अवश्य थिएँ कि पत्नीजीको अगाडि चूँसम्म बोल्दिनँथे । मेरो यही योग्यताले पत्नीजीको मनमा नेताइन बन्न मलजल गरेको हो । कैलेकाहीं मलाई झर्केर गर्ने गाली र चाडपर्वमा एक दुर्ई थप्पड खाँदा पनि केइ नबोल्न नसक्ने मेरो पुरुषार्थले मेरो योग्यता प्रमाणित गरेको हो ।

राजनीतिमा पार्टी परिवर्तनको जुगमा छौं । जस्ले जता जस्सरी सुविधा पाउँछ, पार्टी परिवर्तन गरे हुन्छ । मलाई त पार्टी परिवर्तन गर्नै पर्दैन । माननीयज्यूको पार्टी परिवर्तन भयो कि छायाजस्तै स्वतः परिवर्तन भइहाल्छु ।

मेरो एक छिमेकी छ पिए । ऊ मेरो भाइ हो । मैले नै सोर्स लगाएर उस्लाई पिए बनाइदिएको हुँ । भन्न त मैले आफ्नै भाइ भनेको छु तर मेरो भाइसाइ केइ पनि होइन । रातबिरात म उस्को घर जान्छु र रातबिरात मेरो घर पनि आउँछ ऊ । आज मेरो माननीयज्यूको कतै कुनै कार्यक्रम छैन र संयोगले भाइ पनि घरैमा छ । बार्दलीमा आँखा जुध्छ ।

म ः आईँँ, तँ आज घरै ?

ऊ ः तिम्रो माननीयज्यू घरमैं हो ?

म ः माननीयज्यूले मेरो जुठो भाँडो माझिसक्नु भयो । मैले नुहाएको कट्टु धुँदै हुनुहुन्छ । माननीयज्यूलाई रेडी हुन एक घन्टा लागिहाल्छ । अँ, तिम्रो माननीयज्यूलाई सञ्चो भएन कि ?

ऊ ः कैले बिसञ्चो होला र छुट्टी पाऊँला भन्ने लागिरहन्छ ।

म ः तँ आज घरैमा हो ?

ऊ ः किन घरमा नदेखिएर म अन्तै देखिराछु ? मेरो यो बरन्डा तिम्लाई कतै बाहिर देखिया छ ?

म ः अरे गधा, मैले जान्न खोजेको आज तिमी किन घरमैं ?

ऊ ः म आफ्नो घराँ नभएर तिम्रो घराँ हुनुपर्ने हो ?

म ः तिम्रो माननीयज्यू कहाँ जानुभएको छ ?

ऊ ः उहाँ आफ्नै घराँ र म आफ्नै घराँ ।

म ः किन ?

ऊ ः आज दुर्ई पार्टीका सरदारहरू आउने रे । दुई पार्टीले मेरो माननीयज्यूलाई अफर गरिरहेका छन् । कुन पार्टीले बढी बोली लगाउने हो ? उतैतिर जान सजिलो हुन्छ, त्यहीं भएर फोन नगरेसम्म म घरमैं बस्नुपर्ने हो तयारी भएर । फोन बज्यो कि कुद्यो ।

म ः तिम्रो माननीयज्यूको डाँक बढाबढमा जल्ले बढी दाम लगाउँँछ, उतै जाने हो ?

ऊ ः मेरो माननीयज्यूलाई हेप्छस् ? पिएको कट्टु धुने तिम्रो माननीयजस्तो भन्ठान्यौ कि के हो ?

म ः जे भए नि घरको कुरो घरमैं छ । तेरो माननीयज्यूलाई जुन दलले बढी चिल्लो दल्छ, त्यतै लच्किने हो कि होइन ?

ऊ ः राजनीतिमा लागेपछि पद, पैसा र हैसियत चाहिन्छ । जल्ले दिन्छ त्याँ आफैं सम्मान आइहाल्छ नि । अ‍ैलेसम्म सप्पैतिर यस्तै हुँदै आको छ ।

म ः तैंले तेरो माननीयज्यू अ‍ैलेसम्म कति पार्टीको फेरो लगाको जानकारी पाछौ ?

ऊ ः धेरैले सम्मान गर्नु र एकपछि अर्को पार्टीलाई सम्मान गर्दै तिनीहरूको सदस्यता ग्रहण गर्नु र फेरि तिनलाई छाड्नु सप्पैले सक्ने कुरो हो र ? हाम्रा माननीयज्यूहरूले जब देख्नुहुन्छ कि अब मभन्दा बढी इमानदार कोइ छैन तब एक फड्को मार्नुहुन्छ ।

म ः भन्न खोजेको दल बदल्नुहुन्छ ?

ऊ ः हो नि । कैलेकाइँ त एत्तिखेर कुन दलको माननीयज्यूको पिए छु, त्यैं पनि सम्झिनुपर्ने हुन्छ । अझ चुनावको समय नजीकिंदा त झन् धेरै हुन्छ ।

म ः मेरो माननीयज्यूको पनि त्यै हालत त हो नि । एकै छिनाँ कुन पार्टी र फेरि अर्को छिनाँ कुन पार्टी । बरु बिरालोलाई डेरा सार्न अप्ठ्यारो हुँदो हो तर हाम्रा माननीयज्यूलाई पार्टी सार्न कुनै अप्ठ्यारो लाग्दैन ।

ऊ ः कुनै पार्टीको चिह्नबाट चुनाव जित्ने सांसदलाई यस्तो मौका हुँदैन । तिम्रो माननीज्यू स्वतन्त्र हुनुहुन्छ र मेरो माननीयज्यू एक्लै आफ्नो पार्टीबाट । समानुपातिकबाट समावेशी आधारमा सांसद बनेपछि सुटुक्क अर्को दल दर्ता गरेको । आफ्नै हातमा डाँडु र आफ्नै हातमा पन्यु ।

म ः ए मूला, तेरो माननीयज्यू अ‍ैलेसम्म कति दल बदल्नु भो ?

ऊ ः पख, अ‍ैले म डायरी हेरेर भन्छु । तिम्रो माननीयज्यूको दलको ठेगान छ ?

म ः एकै दलमा रहिरहने नेताको कुनै भैलु हुँदैन । एकै ठाउँमा जमिरहने पानी फोहोर हुन्छ । नेता भनेको गतिशील हुनुपर्छ । जनताले पनि नेताको बौद्धिकता, विद्वता र इमानदारी यसैमा देख्छ । एकै ठाउँमा रहिरहने नेता कहिल्यै नचल्ने वा धार नलाग्ने खुकुरीजस्तो खिया लाग्न पुग्छ ।

ऊ ः खूब बोलिस् । तेरो दर्शन सुनेर त तिम्री श्रीमती होइन, तिमी सांसद हुनुपथ्र्यो ।

म ः मेरै लगानी, सङ्घर्ष र त्यागले त पार्टीले समानुपातिकबाट उल्लाई माननीय बनाएको हो ।

ऊ ः तिम्रो छलकपट, दाउपेच र षड्यन्त्रले काम ग¥यो । अनि त, केही वर्षमैं सप्पै शहराँ घर–घडेरी जोरिस्, गाडी र ब्यांक ब्यालेन्स बनाइस् ।

म ः यो त राजनीतिको कमाइ हो । राम्रो मान्छेलाई जताबाट दाम आउँछ उतै काम गर्नुपर्छ । आखिर यसै देशको लागि राजनीति गरेको न हो ।

ऊ ः अँ आज तिम्रो माननीयज्यू कुन पार्टी को ?

म ः बिहान ओछ्यानमा सँगै हुँदासम्म त कुखुरी पार्टी भन्थी । अ‍ैले चिया खाने बेलाँ खुकुरी पार्टी रे । तेस्पछि अ‍ैलेको प्रगति मलाई था भएन । अनि तिम्रो ?

ऊ ः त्यै त भन्या । अ‍ैलेसम्म फोन आएन । दुईटा पार्टी बस्या होलान् । तेस्रो पार्टीले फोन गरेर अझ बढी मोल लगाएको होला, अनि कुरो मिलेन होला ।

म ः म त जनतालाई भेंडा ठान्छु । एस्ता माननीयज्यू जसको आफ्नो पार्टीको ठेगान छैन, जल्ले सप्पैभन्दा बढी मोल वा झोल दिन्छ, उतैतिर लहसिनेलाई पनि के पत्याएका होलान् ? एसरी पत्याउने भेंडा नै होइन ।

ऊ ः हाम्रो जातको बहुमत छ । जातको नेतालाई जातले पत्याउने हो । जुन जातको जनता हुँदैन, त्यो जातको नेताले केइ प्रगति गर्न सक्दैन ।

म ः त्यै त, जातको पछाडि, व्यक्तिको पछाडि कुदेको छ । चुनावको बेला मासुको पछाडि, रक्सीको पछाडि र पैसाको पछाडि आफूलाई केन्द्रित बनाउने जनतालाई के भन्ने ?

ऊ ः तिम्री माननीयज्यूले इशाराले बोलाउँदै हुनुहुनुहुन्छ । देखिस्, एकछिन गफ गर्न दिन्छन् माननीयज्यूहरू ?

म ः मेरो पनि माननीयज्यूको पार्टी बदलेजस्तो छ ।

हामी एक अर्काको मुख हेरेर हाँस्दैछौं । त्यत्तिबेलै मेरो माननीयज्यूको प्रश्न आउँछ – अ‍ैले चैं म कुन पार्टीको रे ?

जिस्क्याउँदै उत्तर दिन्छु – जाँ बोलाएको छ, त्यहीं गएर कार्यकर्तालाई सोधे पनि हुन्छ नि, केको लाज ? हामी एकै पार्टीको दास हो र, पार्टीको नाम याद राख्नैपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here