प्रस, वीरगंज, १४ असोज/
हालै सरकारले जारी गरेको वैकल्पिक शिक्षा प्रणालीमा तोकिएको कार्यप्रणाली सुन्नमा अति राम्रो लागे तापनि व्यवहारमा उतार्न धेरै कठिनाइ भइरहेको शिक्षकहरूले बताएका छन्।
विद्यालयहरूलाई मौखिक सूचनाको आधारमा टोलटोलमा गएर तथ्याङ्क सङ्कलन गर्न र पढाउन भनिए तापनि कुनै पनि प्रकारको पत्र विद्यालय वा शिक्षकहरूलाई नदिएको गुनासो उनीहरूले गरेका छन्। केही विद्यालयले शिक्षकहरूलाई सहयोग गर्नु भनी पत्र दिएका छन्। यस कुरालाई सम्बन्धित टोलका अभिभावकहरूले स्वीकार गरेका छैनन्।
एकजना शिक्षक रानीघाटमा पढाउन जाँदा प्रहरीले पत्र मागेको र ती शिक्षकसँग पत्र नहुँदा पढाउन दिइएन। अर्का एकजना शिक्षकसँग अभिभावकहरूले तपाईंहरूको कोरोना बीमा सरकारले गरिदिएकोले तपाईंहरू ढुक्क हुनुहुन्छ तर हाम्रो सन्तानलाई कोरोना भएमा विद्यालय वा महानगरपालिका कसले उपचार खर्च बेहोर्ने भनी सोधेका थिए। यसैगरी, एकजना वडाध्यक्षले प्रहरीलाई फोन गरी शिक्षक टोलमा पढाउन आएका छन् के गर्ने भनी सोध्दा प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई सोध्नु भनेको थियो।
अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयले वैकल्पिक शिक्षा प्रणाली अँगाली पढाउन भनेकोमा शिक्षकहरू टोलटोलमा गई पढाउँदा कतिको उचित र प्रभावी हुनेछ। के त्यहाँ कोरोनाको सन्त्रास हुुँदैन ? के कोरोना विद्यालयमा गएर पढ्दा मात्र लाग्ने हो ? के स्थानीय सरकारले वैकल्पिक शिक्षाका आवश्यक उपकरण तयार गरिसकेको छ ? अर्थात् रेडियो, टेलिभिजन, अनलाइन आदि कुन माध्यमले शिक्षा दिने, सोको तयारी के स्थानीय सरकारले गरेको छ ? विद्यालयले यी कुराहरू कसरी विद्यार्थीहरूलाई उपलब्ध गराउन सक्छ भनेको छ ? के यसका लागि कुनै प्रकारका तालीम प्रधानाध्यापक, शिक्षकहरूलाई प्रदान गरिएको छ ?
त्यहीं अर्कोतिर सामाजिक सञ्जालमा जुन फोटाहरू राखिएका छन्, ती मात्र देखावटी हुन्। नगवामा उपस्थित सयजना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइएको पाइएको छ भने त्यहाँ शौचालयको व्यवस्था नभएको कारण विद्यार्थी र शिक्षकलाई पर्ने अप्ठेरोबारे के नगरपालिकालाई थाहा छ ? टोल–टोलमा गएर पढाउँदा विभिन्न कक्षा र माध्यमका विद्यार्थीहरूलाई दुईजना शिक्षकले कसरी पढाउन सक्छन् भन्नेबारे के कसैले सोचेको छ ? अङ्ग्रेजी माध्यममा पढाउँदा नेपाली माध्यमलाई गा–हो हुने र नेपालीमा पढाउँदा अङ्ग्रेजी माध्यमलाई गा–हो हुने कुरा के महानगरपालिकालाई थाहा छ ? के यही हो वैकल्पिक शिक्षा प्रणाली ?
त्यहीं दिनदिनै टोल–टोल चहार्दा धेरै शिक्षक बिरामी पर्न थालेका छन्। यसतर्फ शिक्षासँग सम्बन्धित सबै निकायले ध्यान पु–याउनु र ठोस उपाय अवलम्बन गर्नु आवश्यक छ। अन्यथा यो नाटक मात्र साबित हुनेछ।