सङ्क्रमित महिलाले छोरा पाइन्, कोभिड बिरामीको उपचारको व्यवस्था वीरगंज हेल्थकेयरमा

0

प्रस, वीरगंज, १४ असोज/
    कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया गरी बच्चा जन्मिएको छ।
    वीरगंज, रामगढवा निवासी २५ वर्षीया महिलाको वीरगंज हेल्थकेयरमा बुधवार बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रियामार्फत् छोरा जन्मिएको अस्पतालका अध्यक्ष डा अबुलहैस अन्सारीले जानकारी दिए। अहिले आमा र छोराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
    गर्भवती महिला सङ्क्रमित भएपछि नेशनल मेडिकल कलेज कोभिड अस्पतालले भर्ना लिन नमानेपछि घरमैं अक्सिजन लिंदै उपचार गराइरहेकी थिइन्।
    सो घटना समाचारमा आएपछि नारायणी अस्पतालले एम्बुलेन्स पठाइ भर्ना लिएको थियो। नारायणी अस्पतालबाट उनलाई वीरगंज हेल्थकेयरमा पठाइएको थियो र त्यहाँ उनको शल्यक्रियामार्फत् बुधवार बच्चा जन्मिएको हो।
    नारायणी अस्पतालको पहल तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा निजी अस्पतालमा सङ्क्रमित गर्भवती महिलाको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले बताए।
    केही दिनअघि एकजना सङ्क्रमित मिर्गौला रोगीको वीरगंज हेल्थकेयरमा डायलोसिसको व्यवस्था गरिएको डा ठाकुरले बताए।
    दुई दिनअघि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा नेशनल मेडिकल कलेज कोभिड अस्पतालले सुत्केरी महिला, मिर्गौला रोगी तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई भर्ना नलिएको विषयमा विवाद भएको थियो।
    कलेजका निर्देशक डा प्रमोद सर्राफले बैठकमा नारायणी अस्पताल पुनः कोभिड अस्पताल बनाएर साधारण बिरामीहरूलाई आफ्नो अस्पतालमा पठाउनुपर्ने भनेपछि प्रमुख जिल्ला अधिकारी आसमान तामाङले प्रतिवाद गरेका थिए। त्यसपछि बैठक स्थगित भएको समाचार स्रोतको दाबी छ।
    तर पछि केन्द्रको बैठकले नारायणी अस्पताललाई कोभिड अस्पताल  नबनाउने तर विकल्पका लागि वीरगंज हेल्थकेयरमा छुट्टै वार्डमा कोरोना सङ्क्रमितहरूलाई सेवा दिन पहल गर्ने र सो खर्च नेपाल सरकारले दिने निर्णय गरेको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here