जनकपुरधाम, ३ वैशाख/रासस

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमैं स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् ।

जनकपुरधाममा शनिवार आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमैं निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरीकाले सारेमा मुलुकमा दुर्घटना निम्तिन सक्ने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए ।

निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचनविपरीत हुने खालको अभिव्यक्ति आइरहनु दुःखद भएको जिकिर गरे । निर्वाचन आचारसंहितालाई सामान्यरूपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केहीसँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिए ।

आचारसंहिता उल्लङ्न गरेमा कारबाही गरिन्छ

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्न गर्नेलाई तोकिएबमोजिमको हदैसम्मको कारबाही हुने बताएका छन् ।

निर्वाचन आयोगले शनिवार हेटौंडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताए ।

आयुक्त भण्डारीले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखीकरण दिइसकेको उल्लेख गर्दै निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारमा भर नपर्न सबैसँग आग्रह गरे । “लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुन्छ,” उनले भने । आयुक्त भण्डारीले आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, यसको उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भव्य र सभ्यरूपमा सम्पन्न गराउनका लागि यहाँका सञ्चारमाध्यमले महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचनमा विगतमा कारबाही कम भएको देखिए पनि यसपटक यस्तो नहुने भन्दै आचारसंहिता पालना गर्न लगाउन पनि मिडियाले महŒवपूर्ण भूमिका खेल्नुपर्ने बताए । सञ्चारमाध्यममा आएका समाचारलाई आयोगले सूचनाका रूपमा लिनेसमेत उनको भनाइ छ ।  

प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्केले निर्वाचनको समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, फेक समाचार, सूचना कसरी चिन्ने र प्रकाशन/प्रसारणमा रोक लगाउनाका साथै काउन्सिलबाट हुने कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनील खड्काले निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिड्ढा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here